शाहिदा शाह
दुई महिलाको न्यायका लागि भन्दै बाँकेमा उठाइएको आवाज प्रति ठोस कदम प्रहरीले नचालेको भन्दै गत असोज १ गतेदेखि नेपालगन्ज–काठमाडौं पीडित परिवारका सदस्य र अधिकारकर्मी पैदल यात्रा गरे । प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर न्यायको गुहार लगाउन उनीहरु २० दिनमा अनेकन कष्ट सहेर काठमाडौं पुगे । त्यहाँ पक्राउ परे, छुटे र पुनः आन्दोलनलाई निरन्तरता दिए । आन्दोलनको अगुवाई गरेकी रुबी खानलाई भने प्रहरीले यसअघि नै नियन्त्रणमा लिई नेपालगन्ज ल्याएको छ ।
काठमाडौं पुगेकै दिन रुबीलाई माइतीघर मण्डलाबाट बहुविवाहको मुद्दामा योजनाबद्ध रुपमा प्रहरीले समातेर नेपालगन्ज ल्याएको हो । २० दिन हिडेर काठमाडौं पुगेकी रुबीको खुट्टामा घाउ भएको छ । प्रहरीले उनको उपचार भेरी अस्पतालमा गराएर पुनः हिरासतमा राख्यो । यसले आन्दोलनलाई तितरवितर पार्न सकिने प्रहरी ठम्याइ देखिन्छ ।
आफुमाथि अन्याय भएको भन्दै रुबीले हिरासतमै आपरण अनसन थालिन् । अनसनमा बसेकी रुबीको अवस्था नबिग्रियोस् भनेर प्रहरीले उनलाई अस्पताल लगेर स्लाइन चढाएको छ । रुबीलाई आइतबार विहान जिल्ला प्रशासन कार्यालय पुर्याएको थियो । रुबीलाई भेट्न स्थानीय महिला अधिकारकर्मी, मानव अधिकार आयोग, पत्रकार, अधिवक्ता र उनको परिवारले भटेको छ ।
रुबीले आफु आमरण अनसनमा रहेकोले तीन देखि पानी पनि नखाएको बताएकी छन् । ‘प्रहरीले पक्राउ पुर्जी बिना नै हिरासतमा लिएको हो । मलाई पक्राउ पुर्जी दिएको छैन । निर्मला कुर्मीको अभियुक्त पक्राउ नगरेकोले हामी यो आन्दोलन थालेका हौं । हाम्रो आन्दोलनलाई कमजोर पार्न खोज्ने यो षडयन्त्र गरेका हुन् । किनकी हामीले आन्दोलन १३ गतेबाट सुरु गरेका हौं । बहुविवाहको मुद्दा २३ गते दर्ता भएको छ । मैले अदालतमा सम्बन्ध विच्छेदको रीट नै हालेकी छु’, प्रशासनमा दैनिक नेपालगन्जसँग कुरा गर्दै उनले भनिन्, ‘बादशाह कुर्मीले तमसुक गराएको र निर्मला धोबीलाई सामुहिक बलात्कार गरिएको कुरा उजुरीमा नै लेखिएको छ ।’
प्रहरी हिरासतमै अधिकारकर्मीहरुबीच रुबीले भनिन्, ‘निर्मला कुर्मीले दोस्रो विवाह गरेकी छैनन् । उनको अपहरण पश्चात सामुहिक बलात्कार गर्ने व्यक्ति मध्ये अर्जुन कुर्मी पनि हुन् ।’ अर्जुनलाई निर्मलाको पति भनिएको छ ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले अदालतको आदेश अनुसार रुबीलाई पक्राउ गरेको जानकारी दिएका छन् । उनले भने, ‘प्रहरीले २०७८ असोज ६ गते भएको सुनुवाई पश्चात अदालतको आदेश अनुसार पक्राउ गरेको हो । उजूरी आइसकेपछि पक्राउ गर्ने आदेश अदालतबाट आइसकेपछि प्रहरीले पक्राउ गर्नुपर्छ ।’
रुबीमाथि मो.शेर बागवानकी जेठी पत्नीले उजुरी गर्नुपर्ने हो तर उनको उजुरी आएको छैन । तेस्रो व्यक्तिले उजुरी दिएको छ । घटना अनुसन्धानमा लापरबाही भएको भन्दै प्रहरी अधिकारीहरुबिरुद्ध बिभागिय कारबाही माग गरेपछि यसमा बाँके प्रहरी रुबीविरुद्ध योजनाबद्ध लागेको देखिन्छ ।
प्रहरी नायब उपरीक्षक न्यौपानेले रुबीले उठाएका मुद्दामा प्रहरीले अनुसन्धानमा कुनै कमी, कमजोरी नगरेको दाबी गरेका छन् । ‘आत्महत्या गरेकी नन्कुन्नी धोबीको पोष्टमार्टम रिपोर्ट अनुसार आत्महत्या नै भएपछि हिरासतमा लिने कुरा आएन । अनुसन्धानको प्रकृया हुन्छ त्यस अनुसार हिड्नुपर्छ’, प्रहरी प्रवक्ता समेत रहेका न्यौपानेले भने, ‘रुबी सहितको माग थियो किटान गरिएका व्यक्ति तत्काल हिरासतमा लिनुस् भन्ने । वारदातको पुस्ट्याई हुनका लागि प्रमाण नपुगेपछि हिरासतमा लिन मिल्दैन । तथापि पछि हामीले पति रामकुमार धोबी र जेठाजु इतबारी धोबी दुबैलाई दुरुत्साहन मुद्दा चलायौं, उनीहरु पुर्पक्षका लागि कारागार चलान भएका छन् । निर्मला धोबीको घटनामा उनको पति अर्जुन कुर्मीको बयान लिएका छौं । पतिका अनुसार ठगीको मुद्दा हुन आउँछ । त्यसमा हामी अनुसन्धान गरिरहेका छौं ।’
निर्मलाको मृत्यु कालगतिले भएको हो भनी फोटो सहित उनका पति अर्जुनले बयान दिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । यो कुरामा रुबी नेतृत्वका आन्दोलनकारीहरु कोहीपनि सहमत छैनन । सबैको भनाइ छ, ‘घटनाको उच्चीतरीय अनुसन्धाान हुनुपर्छ ।’
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले दुवै घटनामा प्रहरीमा आए अनुसार उजुरीको अनुसन्धान गरिरहेको जानकारी दिएका छन् । ‘अनुसन्धानका पाटा हुन्छन् त्यसमा समय लाग्छ । रुबी खानको ठाडो भनाइ थियो, किटान गरिएका जतिलाई समातेर खोरमा हाल्नु । हामी प्रकृयामा जानुपर्छ र त्यसमा समय लाग्छ । उनले धैर्य गर्नु भएन र आन्दोलन थाल्नुभयो । हामीले प्रकृयामा कतै चुकेका छौं भने हामीलाई सच्याउनुस् । यदि हामी गल्ती गरेका छौं भने कारबाही भोग्न तयार छौं ।’
बाँके प्रहरीले आमरण अनसनमा रहेकी रुबीलाई प्रहरीले अस्पतालमै राख्ने तयारी गरेको छ । ‘रुबी खानले खाना खान मान्नुभएको छैन, जसका कारण उहाँको स्वास्थ बिग्रन सक्ने भएकाले अस्पताल लग्ने तयारीमा छौं’, दैनिक नेपालगन्जसँग बाँके प्रहरीका प्रहरी नायब उपरीक्षक न्यौपानेले भने ।
बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका ७ स्थायी बासिन्दा रुबीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेपछि उनको अवस्था सार्वजनिक गर्न माग गर्दै शनिबार देखिनैं माइतीघरमा प्रदर्शनसमेत भएको छ ।
२४ घण्टा भित्र सर्वोच्चमा उपस्थित गराउन आदेश
लिखित जवाफ सहित अनुसन्धान अधिकारीलाई बोलायो सर्वोच्चले
माइतीघर मण्डलाबाट शुक्रबार राति पक्राउ परेकी नेपालगन्जकी रुबी खानलाई प्रहरीले शनिबार साँझ नेपालगन्ज ल्याएको थियो । रुबीलाई प्रहरीले पक्राउ गरेपछि सर्वोच्च अदालतमा हालिएको बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाई गर्दै सर्वोच्च अदालतले २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ ।
पक्राउपछि अधिवक्ता मोहना अन्सारीले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आइतबार प्रहरी वृत्त लैनचौर काठमाडौंमाथि यस्तो आदेश दिएको हो । अदालतले रुबीलाई थुनामा राख्नु पर्ने कारण, छाड्नुपर्ने हो होइन, छाड्नु नपर्ने भए सोको कारण खुलाई २४ घण्टा भित्र रुबीलाई थुनामा राख्ने कार्यालयका अधिकारीलाई रुबी सहित अदालतमा उपस्थित हुन आदेश दिएको हो ।