बाँकेमा करिब १ लाख चिठ्ठी हुलाकबाटै
आज शनिबार विश्व हुलाक दिवस । प्रविधिको प्रयोग बढ्दै जाँदा चिठ्ठी पत्र आदानप्रदानमा हुलाकको प्रयोग घट्दै गयो । तर, अझै पनि आधिकारिक माध्यम भने हुलाक कायमै रहेको छ । इन्टरेनट, फ्याक्स, फोन, कुरियरका कारण हुलाकबाट चिठ्ठी आदानप्रदान हुन कम भएको हो । तर, विदेशबाट आउने चिठ्ठीपत्र, पार्सल आदानप्रदानका लागि अझै हुलाककै प्रयोग हुने गरेको छ ।
जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्द प्रसाद पाण्डेले बार्षिक १ लाखको हाराहारीमा बाँकेबाट चिठ्ठी, पार्सल आदान प्रदान हुने जानकारी दिएका छन् । त्यसका लागि जिल्लामा ११ वटा इलाका, ३५ वटा अतिरिक्त हुलाक कार्यालयमा १ सय ४० जना कर्मचारी कार्यरत रहेका छन् ।
कानुनी कागजपत्र हुलाकमार्फत नै पठाइने गरेको छ । हुलाक मार्फत पठाइएको चिठ्ठीपत्र आधिकारिक मानिने गरेको छ । ‘हुलाकको महत्व अझै घटेको छैन, बैंक, वित्तिय संस्था, अदालत, विदेशबाट आउने आधिकारिक माध्यम हुलाक नै हो’, हुलाक बाँके प्रमुख पाण्डे भन्छन् ।
सरकारले हुलाकका लागि स्पष्ट योजना बनाएर कार्यान्वयनमा नल्याउँदा वर्तमान अवस्थामा सेवा दिन नसकिएको सम्बद्ध बताउँछन् । ‘हुलाक प्रति मानिसको विश्वास घटेको छैन, दु्रत रुपमा चिठ्ठीपत्र आदानप्रदान गर्न सक्ने हो सेवाग्राही बढ्दै जानसक्छ’, उनीहरु भन्छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले हुलाक सेवालाई समयानुसार विविधिकरण गरिने बताएका छन् । हुलाक सेवा विभागद्वारा १४७औँ विश्व हुलाक दिवसका अवसरमा काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उनले नयाँ प्रविधिसँग सेवालाई जोड्नपर्ने बताएका थिए ।
सरकारी डकुमेन्ट हुलाकबाट गर्नुपर्ने बताउँदै उनले त्यसले सरकारी कागजात सुरक्षित भई आयवृद्धिसमेत हुने विश्वास व्यक्त गरेका थिए ।
हुलाक कार्यालयहरुले चिठीपत्रहरु आयात निर्यात सँगै धनादेश दर्ता तथा भुक्तानी, एकसय वाटसम्मको रेडियो नविकरण, पोष्ट बक्स सेवा, केवल कार्ड इजाजतपत्र, नविकरण तथा रोइलिटी बुझने, पत्रपत्रिका दर्ता, टिकट दर्ता, पत्रकारको रातो कार्ड नविकरण, अनलाइन नविकरण लगायतका सेवाहरु उपलव्ध गराउदै आइरहेको छ ।
नेपालमा भने १९३५ बाट हुलाक सेवा शुरु भएको हो । सन् १९५६ मा नेपालले विश्व हुलाक संघको सदस्यता लिएको थियो । हाल ७० जिल्लामा ८४२ इलाका र ३ हजार बढी अतिरिक्त हुलाक कार्यालय छ । त्यस्तै १७ हजार बढी जनशक्ति परिचालित छन् । हुलाक विभागका महानिर्देशक इन्दु घिमिरेले आधारभूत सेवाअन्तर्गत चिठी, पत्र, पार्सल सेवा देश विदेशमा उपलब्ध गराइएकामा वि.सं २०५४ देखि एक्सप्रेस मेल सर्भिस सुरु गरी ३९ देशमा विस्तार गरेको जानकारी दिएकी छन् ।
जिल्ला हुलाक कार्यालय बाँकेले भोलि आइतबार विश्व हुलाक दिवसको अवसर पारेर औपचारिक कार्यक्रम गर्ने कार्यालय प्रमुख पाण्डेले जानकारी दिएका छन् ।
हुलाकमा १४ करोड बचत
हुलाक बचत बैंकको शुरुवात सन् १८६१ देखि बेलायतबाट भएको मानिन्छ । हाल विश्वका ७० भन्दा बढी मुलुकका हुलाक प्रशासनले हुलाक बचत बैंक सेवा सञ्चालन गर्दै आएका छन् ।
नेपालमा हुलाक ऐन, २०१९ अन्तर्गत जारी भएको हुलाक बचत बैंक नियमावली, २०३३ अनुसार आर्थिक वर्ष २०३३÷३४ देखि हुलाक बचत बैंकको अभ्यास प्रारम्भ भएको हो । हुलाक ऐन तथा हुलाक बचत बैंक नियमावलीमा हुलाक बचत बैंकसम्बन्धी छुट्टै परिभाषा गरिएको नभए तापनि हुलाक कार्यालयहरुबाट सञ्चालित भएकैले यसलाई हुलाक बचत बैंक भनिएको हो ।
हुलाक बचत बैंकको सञ्चालनका लागि खटिने जनशक्ति सम्बन्धित हुलाक कार्यालयको दर बन्दीमा कार्यरत कर्मचारीहरुनै हुन । यसले छुट्टै र स्वायत्त रुपमा कार्य नगरी हुलाककै अर्को सेवाका रुपमा कार्य गर्दै आइरहेको छ ।
जिल्ला हुलाक कार्यालय बाँकेका अनुसार हुलाक बचत बैंकमा करिब १४ करोड रुपैयाँ बचत रहेको छ । ‘बैंकले ज्येष्ठ नागरिकलाई ७ र सर्वसाधारणलाई ६ प्रतिशत ब्याज बचतमा दिंदै आएको छ, जसमा ब्याज कर लाग्दैन’, हुलाक कार्यालय बाँकेका प्रमुख गोविन्द प्रसाद पाण्डेले भने, ‘हाल १ हजार ८ सय जनाले हुलाक बचत बैंकमा रकम बचत गरेका छन् ।’