गजेन्द्र हमाल र महेश्वर गहतराज मन्त्री नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी छन् ।
नयाँ गठित मन्त्रिपरिषद्मा बाँकेका गजेन्द्र बहादुर हमाल र महेश्वर गहतराजलाई मन्त्री बनाइएको छ । काँग्रेसका पुराना नेता हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति र नेकपा माओवादी केन्द्रका गहतराजलाई युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी दिइएको हो । शेरबहादुर निकट गजेन्द्र पछिल्लो पटक राजनीतिमा त्यति सक्रिय रहेका छैनन् । संघीय सांसद गहतराज बाँके क्षेत्र नं. १ बाट संघीय सांसद हुन् । उनी तत्कालीन माओवादीको सशस्त्र विद्रोहका क्रममा बाँके बर्दियामा रहेर सैन्य मोर्चा सम्हालेका थिए ।
शुक्रबार राष्ट्रपतिले गठनको गरेको मन्त्रीपरिषद्मा शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या र जनार्दन शर्मा अर्थमन्त्री रहेका छन् ।
त्यसैगरी डा मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, डा. नारायण खड्का परराष्ट्र, रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, दिलेन्द्रप्रसाद बडू कानून, न्याय तथा संसदीय मामिला, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका हुन् ।
त्यस्तै महेन्द्रराय यादव कृषि तथा पशुपन्छी विकास, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शशि श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, रामकुमारी झाँक्री सहरी विकास, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्ति, रामसहायप्रसाद यादव वन तथा वातावरण, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, महेश्वरजंग गहतराज युवा तथा खेलकूदमन्त्रीमा नियुक्त भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उमेश श्रेष्ठ राज्यमन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भवानीप्रसाद खापुङ राज्यमन्त्री स्वास्थ्य तथा जनसंख्या, बोधमायाकुमारी यादव राज्यमन्त्री शिक्षा, विज्ञान तथा प्रविधि नियुक्त हुनुभएको राष्ट्रपतिको कार्यालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
दाजु संघमा र भाई प्रदेशमा मन्त्री
प्रदेश सरकारमा बाँकेबाट काँग्रेसका सुरेन्द्र हमाललाई वन वातावरण तथा भूसंरक्षण मन्त्रीमा पठाउने निर्णय काँग्रेसले गरिसकेको छ । अन्य मन्त्री पनि टुङ्ग्याएको काँग्रेसले आफ्नो भागमा परेको ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री कसलाई बनाउने भन्ने निर्णय नगर्दा मन्त्रीपरिषद् बिस्तार रोकिएको नेकपा माओवादी केन्द्रका एक नेताले जानकारी दिएका छन् ।
बाँकेबाट संघीय सरकारमा मन्त्री बनेका गजेन्द्र बहादुर हमाल र प्रदेशमा मन्त्री बन्न सिफारिस भएका सुरेन्द्र सहोदर दाजुभाई हुन् । सुरेन्द्र ओलम्पियन समेत हुन् । उनी बाँके क्षेत्र नं. २ खबाट प्रदेशसभामा विजयी भएका थिए । गजेन्द्रको बाँकेको प्रजातान्त्रिक आन्दोलन र काँगे्रसको संगठन बनाउन ठुलो योगदान भएपनि देउवा गुटमा लागेको भन्दै तत्कालिन पार्टी नेता सुशील कोइरालाको निशानामा परेपछि विस्तारै धार्मिक सनातन मार्गमा लागेका थिए ।
उनीहरु दुबै बाँकेमा काँग्रेसको जग बलियो बनाउन स्व. रणेन्द्र बहादुर हमालका भाइ हुन् । ‘पार्टीले दिएको सम्मान हो भन्ने बुझेको छु, सांसद विनानै मन्त्री बन्ने सौभाग्य पाएका हमालले दैनिक नेपालगन्जसँग भने, ‘मलाई अरुसँग जोड्न आवश्यकनै छैन, पार्टीका लागि ठुलो योगदान गरेको कुरा जगजाहेर छ ।’
शुक्रबार लुम्बिनी प्रदेश सरकारको मन्त्रपरिषद् बिस्तार रोकिएको छ । काँग्रेसबाट ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्रीमा कसलाई पठाउने भन्ने टुंगो लाग्न नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको हो ।
प्रदेश सरकारले बिहीबार मन्त्रीको नाम टुंगो लगाएर शुक्रबार मन्त्रीपरिषद् बिस्तारको तयारी गरेको थियो । तर, लुम्बिनीमा काँग्रेसबाट मन्त्रीहरुको नाम नआएपछि पूर्वनिर्धारित कार्यक्रम आइतबारसम्मका लागि स्थगित गरिएको हो ।
घरमा दीपावली र मिठाई
एकैघरबाट दुई मन्त्री बनेपछि नेपालगन्ज– घरबारी टोलस्थित हमाल निवासमा दीपावली गरिएको छ । वडाध्यक्ष सुनिलसिंह हमालका अनुसार, स्वस्फूर्त दीपावली र मिठाईं वितरण गरिएको हो ।