भेरी अस्पताल परिसरका सटर भत्काउने कामलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेले आफ्नो अवरोध नरहने भन्दै ‘परियोजना शुरु नहुन्जेल राहत दिन’ अनुरोध गरेको छ ।

रेडक्रसले बुधवार पत्रकार सम्मेलन गरि आफ्ना धारणा सार्वजनिक गर्दै भन्यो, ‘अस्पतालको सेवा विस्तार, विकास र स्तरोन्नतीमा हाम्रो साथ छ, तर यो परियोजना शुरु नहुँदै कम्तिमा रक्त सञ्चार केन्द्रको स्रोतका रुपमा रहेका सटर नभत्काउ ।’
भेरी अस्पताल विकास समितिले स्तरवृद्धि र सौन्दर्यकरणका लागि भन्दै अस्पताल परिसरमा रहेका सटरहरु भत्काउन थालेको छ । त्यसक्रममा अस्पतालले आफ्ना व्यापारिक प्रयोजनका सटरहरु भत्काइसकेको छ । तर, रेडक्रसको स्वामित्वमा रहेका ६ वटा सटर भत्काउँदा वार्षिक झण्डै १३ लाख रुपिया रोकिंदा रक्त सञ्चार केन्द्र सञ्चालनमा समस्या आउने भएपछि बैकल्पिक व्यवस्था नहुँन्जेल नभत्काउन दबाब दिइएको हो ।
‘कि अस्पतालले विकल्प देओस्, कि हामीले वैकल्पिक व्यवस्था नगरुन्जेल अस्पताल परिसरभित्र दुई तले रक्तसंचार केन्द्र र त्यससँग जोडिएको सटरसहितको एक तले भवन नभत्काइयोस्,’ रेकडक्रस बाँकेका अध्यक्ष गोवद्र्धनसिंह सम्झनाले भने, ‘अस्पतालको यति ठुलो परियोजना बनाउँदा ब्लड बैंक चाहिन्छ भन्ने हेक्का राख्नु पर्दैन ?’ रेडक्रसले स्रोत अभावले रक्त सञ्चार केन्द्र अपेक्षित स्तरोन्नती गर्न नसकिएको भन्दै सहयोगको अपेक्षा पनि गरेको छ ।
रेडक्रसका अनुसार, २०४६ सालमा मन्त्रिपरिषद्को निर्णयबाट अस्पताल विकास समितिले प्रदान गरेको जग्गामा रक्त संचार केन्द्र निर्माण गरिएको हो । त्यसको सञ्चालनका लागि स्रोत अभाव नहोस् भनेर नगर विकास समितिले उपलब्ध गराएको जग्गामा ६ सटरसहितको एक तले भवन बनाइएको थियो । ‘यसरी अस्पतालले हटाउला सोंचेको भए त आफ्नै नाममा गरिहाल्थ्यौं नि ! अध्यक्ष सम्झनाले पत्रकार सम्मेलनमा भने, ‘अब गतिलो विकल्पमा हामी पनि लाग्छौं, सरोकारवाला सबैले सहयोग गर्नुपर्यो ।’ तर, त्यो विकल्प तयार नहुन्जेल सटर नभत्काउन रेडक्रसले जोड दिएको छ ।
भेरी अस्पताल विकास समितिले रेडक्रसलाई सटर भत्काउन १५ दिने अल्मिेटम दिएको थियो । रेडक्रस त्यसविरुद्ध अदालत गएपनि अपेक्षित नतिजा नआएपछि अस्पतालको निर्णयप्रति स्थानीय प्रशासन, राजनीतिक दललगायतलाई गुहारिसकेको रेडक्रसले पत्रकार सम्मेलन गरि आफ्नो धारणा सार्वजनिक गरेको हो ।