आज प्रहरी दिवस ! कसरी मनाउँदै हुनुहुन्छ ?
हामी प्रहरीका लागि प्रहरी दिवस अत्यन्त महत्वपूर्ण दिन हो । यस दिन विशेष गरेर आज प्रहरी संगठनलाई यहाँसम्म पुर्याउने, अमर प्रहरीलाई सम्झने, हाम्रा अग्रजहरुलाई सम्झने दिन हो । समयगत हिसाबले स्थापनादेखि आजसम्म प्रहरीले गर्नुपर्ने काम कत्तिको राम्रो सँग गर्न सक्यौं भन्ने मूल्यांकन गर्ने, अबका चुनौति के हुन् र त्यसलाई कसरी राम्रो ढंगबाट सामना गर्न सकिन्छ भनेर विश्लेषण गर्ने, नयाँ सिक्ने, योजना बनाउने दिनका रुपमा पनि प्रहरी दिवसलाई मनाउँदछौं हामीले ।
बाँकेमा अहिले प्रहरी कसरी काम गर्दैछ ?
बाँकेमा काम गर्ने एउटा कार्ययोजना नै छ । प्रहरी प्रधान कार्यालयले कार्ययोजनालाई यसलाई यसरी गर्ने भन्ने कार्य योजना बनाएको छ । ठाउँ अनुसार विभिन्न खालका फरक समस्या हुन्छन् । बाँके आफैमा अत्यन्तै विविधताको जिल्ला हो । यो पश्चिमका २५ जिल्लाका सेन्टर पनि हो । यहाँ पहाड, मधेस सबै ठाउँका मानिस छन्, फरक रहनसहन र संस्कृतिका मानिसहरुको बसोबास बाँकेमा रहेको छ ।
बाँकेमा धेरै खालका अपराध हुने गरेको छ । त्यसैले बाँकेमा काम गर्दा प्रहरी प्रधान कार्यालयको कार्ययोजना बाहिर पनि यहाँको स्थानीय सवाल र आवश्यकतालाई बुझेर काम गर्नुपर्ने हुन्छ । यहाँ स्थलगत केही समस्याहरु रहेका छन् । ती सबैलाई मिलाएर लैजानु पर्ने हुन्छ । भर्खरै इस्लामिक धर्मावलम्वीका दुई पर्व हामीले सम्पन्न गरेका छौं । बाँकेमा विभिन्न खालका तस्करी हुने गरेका छन् ।
सीमावर्ती जिल्ला भएकाले यहाँ अपराध गरेर भारतमा लुक्ने तथा भारतमा अपराध गरेर यहाँ आउने हुनसक्छ । सीमावर्ती क्षेत्रमा अपराधिक घटना हुनसक्छन् । त्यसैले भारतीय प्रहरीहरुसँग सुरक्षाका सवालमा सहकार्य गर्नुपर्ने हुन्छ । यहाँ अपराध गरेर भारतमा नलुकुन् र भारतमा अपराध गरेर यहाँ नआउन्, दुवै देशको भूमि एक अर्काका विरुद्ध प्रयोग नहोस् भन्नेमा पनि सहकार्य हुने गरेको छ ।
बाँकेमा ठूलो समस्या भनेको चोरी तस्करीको समस्या हो । गत बर्षको तीन महिना र अहिलेको तीन महिनाको तुलना गर्ने हो भने राजश्वमा ठूलो मात्रामा वृद्धि भएको छ । गत आ.व.को हालको अवधीमा करिब तस्करीको सामानबाट डेढ करोड राजश्व संकलन भएको थियो भने चालु आ.व.को सोही अवधीमा तस्करीको सुन सहित करिब करिब ७ करोड राजश्व संकलन भएको छ । सुन बाहेक पनि करिब ४ करोडको तस्करीको सामान समातेर हामीले भन्सार कार्यालयमा बुझाएका छौं ।
हामी समय अनुसार चलेका छौं । समय अनुसार जस्तो समस्या आउँदा हामी सोही अनुसार योजना बनाएर अगाडि बढ्दछौं । अर्को शान्ति सुरक्षा गर्ने काम त हाम्रो नियमित कार्य हो ।
अन्य जिल्ला र बाँकेमा चुनौतिको सवालमा के फरक छ ?
अन्य जिल्लामा पनि मैले काम गरेको छु । तराईका जिल्लामा पनि काम गरेको छु । बाँकेमा धेरै ठाउँका मानिसहरु बसोबास गर्दछन् । सबैको सेन्टर यही पर्दो रहेछ । धेरै ठाउँका, धेरै थरीका मानिस बसोबास गर्ने भएकाले धेरै समस्या यहाँ आउने गरेको छ । अपराध पनि अली बढी हुने, लुक्ने, भाग्ने समस्या पनि बढी हुने भएकाले अन्य जिल्ला भन्दा यो अली फरक छ ।
प्रहरीको कार्यशैलीसँग जनता कति सन्तुष्ट हुनुहुन्छ भन्ने लाग्छ ?
हाम्रो कामबाट धेरै मानिस खुसी हुनुहुन्छ । अब हामीले आम जनतालाई दिनुपर्ने शान्ति सुरक्षाको बारेमा हामी कही चुकेका छैनौं, अहोरात्र खटेका छौं । चाडपर्व सुरु भएको छ । पर्वका लागि हामी विशेष सुरक्षा योजना ल्याएर कार्यान्वयन गरेका छौं । यद्यपि, बोर्डरमा हुने चलखेलका कारण केही मानिसहरु रिसाउनु, नभएको कुरालाई पनि अफवाह बनाउने, व्यक्तिगत स्वार्थका कारण प्रहरीसँग अलि बढी रिसाउने प्रवृत्ति चाही नेपालगन्जमा देखिन्छ ।
नेपालगन्जबाट न्यायका लागि भन्दै सिंहदरबार (काठमाडौं) हिडेको आज २० दिन भयो । यो विषयले अधिकारको क्षेत्रमा चर्चा बहस भैरहेको छ । बाँके प्रहरीको भूमिकालाई लिएर प्रश्न उठाइएको छ । समस्या के हो ?
उहाँहरुले उठाएका दुवै घटना व्यक्तिगत सामान्य लडाईका कारण भएको घटना हो । बाँके प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन । नन्कुन्नी धोबीको हत्याका सम्बन्धमा हामीले जाहेरी लिएर उनको श्रीमान र जेठाजुलाई मुद्दा चलाएको अवस्था छ । यसमा प्रहरी कतै नचुकी अनुसन्धान गरिरहेको छ । नन्कुन्नीको घटना अदालतमा रहेकाले यसबारे धेरै बोलिरहनु परेन ।
जहाँसम्म निर्मला कुर्मी घटना अलि पहिलेको घटना हो । हामीले अहिले अनुन्धान गर्दा करिब अढाई बर्ष पहिला भारतमा आफ्नै कालगतिले निर्मलाको मृत्युको भएको श्रीमान्ले बताएका छन् । उनका श्रीमानले प्रहरीमै आएर सो बयान दिएका हुन् । अहिले हामीलाई निर्मलको अपहरण, कर्तव्य ज्यान र मानबेचबिखन भनेर मुद्दा आएको छ । हामीले यो मुद्दामा धेरै मेहनत गरेका छौं । हामी आफै पनि धेरै पटक भारत गएर बुझेका छौं । भारतबाट उनका श्रीमानलाई पनि ल्यायौं । उनको घरजग्गा भएको ठाउँ हेर्यौं । प्रतिवादी हेर्यौं । जग्गाजमिनको साक्षी बसेका मानिसहरुको अनुसन्धान गर्दा कर्तव्य गरेर मारेको भन्ने कहिबाट खुल्दैन । भारतमा उनको घरमा पुग्दा समेत कालगतिले मरेको भन्ने बयान आएको छ ।
सम्मानित मानवअधिकार आयोग, सम्मानित महिला आयोगका माननीय सदस्यहरुले स्थलगत रुपमा पनि हेर्नुभएको छ । म सँग पनि भेट्नुभएको छ । र, यो मुद्दा कुनै पनि हिसाबले न्यायका लागि काठमाडौं जानुपर्ने मुद्दा होइन । यही पनि धेरै मानवअधिकारकर्मी साथीहरु हुनुहुन्छ । मानवअधिकार आयोगको कार्यालय पनि यही छ ।
उसो भए अविश्वास कहाँ नेर भयो ?
मलाई उहाँहरु कहाँबाट सञ्चालित हुनुहुन्छ मलाई शंका छ । होइन भने बाँके प्रहरी भन्दा माथिल्लो निकाय जिल्ला प्रशासन कार्यालय बाँके छ, प्रदेश प्रहरी कार्यालय छ । त्यसकारण यो घटनाका सम्बन्धमा केही राज छ । होइन भने अनुसन्धानका क्रममा हामी कतै पनि चुकेका छैनौं । उहाँहरु पैदल यात्रामा किन जानु भएको छ भन्ने त्यो कुरा मैले बुझेको छैन । मुद्दाका सम्बन्धमा हामीले सबै कुरा खुलाइसकेका छौं । हामी सम्मानित जिल्ला अदालतमा मुद्दा लग्दैछौं ।
जिल्लाको सुरक्षा सवालमा प्रहरी जनशक्तिको अवस्था कस्तो छ ?
धेरै पहिला बाँकेमा एक हजारको हाराहारीमा दरबन्दी थियो । अहिले २० औं बर्षसम्म पनि दरबन्दी थपिएको छैन । जनसंख्या बढेको छ, अपराध बढेको छ, बजार बढेको छ । अपराध कहाँबाट कहाँ पुगिसकेको छ तर प्रहरी जनशक्ति उही अवस्थामा रहेको छ । दरबन्दी भए अनुसारका मानिस अझै पनि यहाँ आउन सकेका छैनन् । नेपाल भरीको कुरा गर्ने हो भने एउटा प्रहरीले चार सय जना हेर्नुपर्छ । बाँकेको हकमा भने एक जना प्रहरीले ७ सय जना भन्दा बढी हेर्नु पर्दछ । त्यो बाँकेको जनगणना अनुसार मात्रै हो । बाँके बाहिरबाट जनगणना नभएको संख्या जोड्ने हो भने यो अझै धेरै रहेको छ । त्यो हेर्ने हो भने एक जनाले १ हजार जना हेर्नु पर्ने अवस्था छ ।
प्रहरी सीमित स्रोत साधनबाट चलेका छन् । बस्ने राम्रो ब्यारेक छैन । श्रीमान्, श्रीमति एक ठाउँमा भएकाले बाहिर डेरा खोजेर बसेका छन् र सजिलो भएको छ नत्र सबै ब्यारेकमा बस्ने हो भने ठाउँ नै अभाव हुन्छ । पालो गरेर सुत्नु पर्ने अवस्था आउँछ ।
यो बेला जनतासँग तपाईंले गर्ने अपेक्षा के हो ?
हाम्रो सहकार्य भनेको आम नागरिक, राजनीतिक दल सबैसँग हुने गरेको छ । म नागरिकसँग के अनुरोध गर्न चाहन्छु भने पुलिस अपरिहार्य छ । पुलिस नराम्रो होइन, पुलिस भित्रका केही मानिस नराम्रो हुन सक्छन् । हामीले गरेको कुनै काम नराम्रो भए सञ्चारमाध्यमले वाचडगका रुपमा हाम्रा काम प्रति औंला ठड्याइदिनुपर्दछ । हामीले गल्ती गर्यौं भने सजायको भागी पनि बनाइदिनु पर्दछ । तर, पुलिस चाहीँ समाजको नभई नहुने अंग हो । त्यसैले पुलिसलाई सही सूचना दिन, सही निर्देशन दिन आग्रह गर्दछौं । हामी पनि समाजसँग जोडिएर काम गर्न चाहन्छौं । सहकार्य गर्नका लागि सही सूचना र निर्देशनको अपेक्षा गर्दछौं ।
राजनीति दलको हस्तक्षेप कत्तिको हुने गरेको छ ?
दलको आफ्नो धर्म हो, आफ्नो आफ्नो पार्टीका मान्छेलाई संरक्षण गर्ने । तर, हामीले अपराधी हो भने अपराधीलाई छुट गर्न सकिंदैन । हामीले दलका मान्छेलाई नै भन्छौं, यो मान्छे अपराधी हो यसलाई छाड्न सक्दैनौं । कानुन बमोजिम सजाय भोग्नै पर्दछ । बाँकेमा तीन महिना काम गर्दा मलाई दलबाट कुनै पनि प्रेसर आएको छैन ।
खुला सिमानाबाट कत्तिको चुनौति छ ?
खुला सीमाका कारण रातभरी नै सुत्न नपाउने अवस्था छ । तस्करी गर्ने, चोरी गर्ने, यताको सामान उता गर्नेको एकदमै बिगबिगि रहेको छ । त्यसकारण हामीले संस्थागत रुपमा कुनै पनि तस्करी हुन दिएका छैनौं । र, संस्थागत तस्करी नभएपछि अन्य तस्करी रोक्न हामीले भित्रैबाट पनि सुधार गरेर लगिरहेका छौं । केही दिनअघि मात्रै हामीले सीमाबाट धेरै प्रहरीहरुलाई परिवर्तन गरेका छौं । प्रहरीको मनोस्थिति परिवर्तन गरेर काम गरिरहेको छौं ।
ट्राफिक व्यवस्थापन चाहिं देखिएन, केही समस्या हो ?
बीचमा केही समस्या थियो । एक त अत्याधिक रुपमा अटो रिक्सा विभिन्न पालिकाले दर्ता गरिदिएका छन् । जसले गर्दा बजारको सुन्दरता नै हराएको छ । तिनलाई व्यवस्थापन गर्न समस्या भैरहेको छ । अहिले पछिल्लो समयमा हामीले धेरै ठाउँमा बाटोलाई वनवे बनाएका छौं । भेरी अस्पताल लगायतका विभिन्न ठाउँमा पार्किङ्ग मिलाएका छौं ।
अन्त्यमा केही ?
प्रहरी दिवसको अवसरमा सबैलाई शुभकामना दिन चाहन्छु ।