सरकारले भारतसँगको नाका खोल्ने औपचारिक निर्णय गरेपनि जमुनाह नाकाबाट पर्यटक आउन अवरोध पुगेको भन्दै नेपालगन्जका होटल तथा पर्यटन व्यवसायीहरुले सरकारले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेका पर्यटन व्यवसायीहरुले ‘पर्यटकलाई मात्रै बाधा पुग्ने गरी’ सीमामा समस्या सिर्जना गरिएको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन् । ‘मालसामान आएकै छ, मानिस आउनेजाने भैरहेकै छ’, मञ्चका अध्यक्ष श्रेष्ठले प्रजिअ शिवराम गेलालसँग उनकै कार्यकक्षमा भने, ‘पर्यटकलाई एक किलोमिटर परबाट पैदल नेपाल आउ भनेर किन रोक्न खोजिएको हो ?’
नाट्टा नेपालगन्जका अध्यक्ष श्रीराम सिग्देलले पर्यटकहरुका लागि सुविधा दिने साटो अरुका लागि आउनेजाने व्यवस्था गरिएपनि पर्यटकहरुलाई बाधा सिर्जना गरेर राज्य आफैले पर्यटन व्यवसायमा अंकुश लगाउन खोजेको टिप्पणी गरे । ‘मानसरोवरका यात्रुहरु आउने बेलामा सीमा अवरोध पारिएपछि कसरी उनीहरु यो बाटो आउलान् ?’, अध्यक्ष सिग्देलले पर्यटकहरुलाई सिमानामा एक ठाउँमा चेकजाँचको व्यवस्था गरी निर्बाध आउने, जाने व्यवस्था मिलाउन प्रजिअको ध्यानाकर्षण गराए ।
होटल व्यवसायी महासंघ प्रदेश अध्यक्ष भाष्कर काफ्ले, नेपाल उद्योग व्यापार संगठनका जिल्ला अध्यक्ष तेज प्रसाद रेग्मी, नेपालगन्ज उद्योग वाणिज्य संघका एशोसिएट सदस्य सञ्जय अग्रवाल, हानका प्रतिनिधि दिवाकर खनाल, केशव न्यौपाने लगायतले व्यवसायिक क्षेत्रले झेल्नु परेका समस्यामा प्रशासनले सहजीकरण गरिदिनुपर्ने बताए ।
‘छलफलका सबै विषय महत्वपूर्ण र व्यवसायिक क्षेत्रका लागि अर्थपूर्ण छन्’, मञ्चका अध्यक्ष श्रेष्ठले छलफलपछि दैनिक नेपालगन्जसँग भने, ‘यी सबै विषयमा स्थानीय प्रशासन गम्भीर बन्नु पर्छ ।’ श्रेष्ठका अनुसार, जमुनाहमा राखिएको पर्यटन सूचना केन्द्र व्यवस्थित गर्ने विषयदेखि पर्यटकहरुलाई गर्ने सम्मानजनक व्यवहार समेतको ध्यानाकर्षण प्रशासनलाई गराइएको छ ।
प्रजिअ गेलालले गृह मन्त्रालयबाट नाका सुचारु गर्न निर्देशन आएपनि गाडी निजी गाडी आउनजान दिने विषयमा कुनै निर्णय नआएको बताए । ‘अर्थ मन्त्रालयले केही विषयमा पुनर्विचार गर्दैछ’, प्रजिअ गेलालले दैनिक नेपालगन्जसँग भने, ‘गृहको निर्णय कार्यान्वयनमा आइसकेपनि गाडीबारे अर्थ मन्त्रालयले गरेको निर्णयका आधारमा अगाडि बढिनेछ ।’
नगर प्रमुखको चासो
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा. धवल समशेर राणाले पर्यटकहरुलाई बाधा पुग्ने गरी निजी यातायातका साधन आवागमनमा व्यवधान खडा गरिंदा पर्यटन व्यवसाय धराशयी हुने अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।
नाट्टा अध्यक्ष श्रीराम सिग्देल, होटल व्यवसायी महासंघका प्रदेश अध्यक्ष भाष्कर काफ्ले लगायतको टोलीसँग नेपालगन्जको पर्यटन व्यवसायलाई लिएर गरिएको छलफलका क्रममा नगर प्रमुख डा. राणाले भने, ‘हामी आफ्नै दुश्मन भएका छौं, पर्यटकलाई आइदेउ भनेर स्वागत सम्मान गर्नुका साटो आफै नआउ भनेर सन्देश प्रवाह गरिरहेका छौं ।’
नगर प्रमुख डा. राणाले प्रमुख जिल्ला अधिकारीसँग समेत त्यसबारे गम्भीर आपत्ति जनाएको नाट्टा अध्यक्ष सिग्देलले जानकारी दिए ।