बाँकेको जमुनाह नाकामा खटिने प्रहरी इन्चार्ज परिवर्तन गरिने भएको छ । बुधबार सादा पोशाकमा पुगेको बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी सहितको टोलीले फिल्डमा खटिएका प्रहरीको व्यवहार चित्त बुझ्दो नपाएपछि १७ जनालाई तत्कालै फेरिएको थियो ।
बिहीबार पनि प्रहरी उपरीक्षक अधिकारी, प्रहरी नायब उपरीक्षक मधुुसुदन न्यौपाने सहितको प्रहरी अधिकारीहरुको टोलीले सीमामा प्रहरी व्यवहारको अनुगमन गरेको छ । त्यसक्रममा भारतबाट आउने नेपाली नागरिकको कोरोना परीक्षणमा समय लाग्दा हुने भीडभाड हुने गरेको पाएपछि त्यसको व्यवस्थापनका लागि उपमहानगरपालिकासँग आज व्यवस्थापनको अनुरोध गरिने प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिएका छन् ।
अघिल्लो दिन सीमामा खटिने प्रहरी इन्चार्ज बाहेक १७ जना परिवर्तन गरिएको थियो भने इन्चार्ज समेत फेर्ने तयारी गरिएको छ । ‘जमुनाहमा उपयुक्त प्रहरी अधिकारी जिम्मेवारीमा जानुहुनेछ’, प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, ‘जमुनाहमा रहेको प्रहरीको टिम नै परिवर्तन गरिएको छ ।’
बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अधिकारीले भारतबाट आउने नेपाली तथा भारतीय नागरिकलाई चेकजाँचका नाममा सास्ती हुन नदिने बताएका छन् । सीमामा रिक्सा चालकदेखि होटल व्यवसायीको तानातान रोकिएको बताउँदै उनले सीमामा नियमित निगरानी गर्ने बताएका छन् । ‘फिल्डमा खटिने प्रहरीहरुलाई सीमाबाट आउने नागरिकसँग राम्रो व्यवहारको निर्देशन दिएका छौं’, प्रहरी उपरीक्षक अधिकारीले भने ।