उद्घाटन खेलमै सनलाइट युवा क्लबसँग भिड्दै आयोजक रोयल क्लब
नेपालगन्जमा बागेश्वरी गोल्डकपको तयारीमा जुटेको रोयल नेपालगन्ज फुटबल क्लबले आज शुक्रबारदेखि बागेश्वरी नटआउट फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

‘एक वर्षभित्रै बागेश्वरी गोल्डकप आयोजना गर्ने तयारीमा जुटेका छौं,’ आयोजनाबारे जानकारी दिन विहीवार आयोजि पत्रकार सम्मेलनमा क्लबका महासचिव दीर्घराज आचार्यले भने, ‘खेलाडीको पूर्व तयारी र स्थानीय प्रतिभाको पहिचानका लागि यो प्रतियोगिता गर्न लागिएको हो ।’
उपाधि विजेताले एक लाख ११ हजार एक सय ११ र उप–विजेता टिमले ५१ हजार एक सय रुपैयाँ नगद पाउने गरि तय भएको प्रतियोगिता २१ असोजसम्म सञ्चालन हुनेछ । प्रथम बागेश्वरी नकआउट फुटबल प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिंदै आयोजक मूल समितिका संयोजक समेत रहेका महासचिव आचार्यले नेपालगन्ज रङ्गशालामा हुने प्रतियोगितामा जिल्लाका १४ वटा क्लबबीच प्रतिष्पर्धा हुने बताए ।
क्लबका अध्यक्ष सूर्यमणि अधिकारीका अनुसार, बागेश्वरी कपमा सहभागिताका लागि जिल्लाकै खेलाडी हुनुपर्ने व्यवस्था छ । ‘लुकेर रहेको स्थानीय खेल प्रतिभालाई उजागर गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गरिएकाले जिल्लाकै खेलाडी हुनुपर्ने अनिवार्य गरेका छौं,’ अध्यक्ष अधिकारीले भने । उनका अनुसार, बागेश्वरी कपलाई हरेक वर्ष निरन्तरता दिइनेछ ।

(तस्विरः दैनिक नेपालगन्ज/नेपालगन्जन्यूज)
बागेश्वरी कपको पहिलो संस्करणमैं आयोजक रोयल नेपालगन्ज फुटबल क्लबले आफ्नो टिम तयार गरेको छ । जानकी गाउँपालिकाको न्यू भगवती क्लब, कोहलपुरको सिटी युथ क्लब, नेपालगन्जको युनाइटेड क्लब, खजुराको न्यू डाँफे स्पोर्टस क्लब प्रतियोगितामा भिड्दैछन् ।
त्यस्तै, कर्णाली प्रदेश दंगा नियन्त्रण प्रहरी गण सम्पर्क कार्यालय नेपालगन्ज, सनलाइट युथ क्लब, हसनपुर, हेल्थ बिनिफिटनेस नेपालगन्ज, मोडेल टिम सीगाउँ, धम्बोझी क्लब नेपालगन्ज, नव दुर्गा युथ क्लब, कम्दी, साइनिङ स्टार युथ क्लब, भैरवप्रसाद गण, राँझा, रेसिङ साहारा क्लब लगायतका टिम मैदानमा उत्रिने निश्चित भएको आयोजकले जनाएको छ ।
‘यो प्रतियोगिताले बाँकेको बलियो फुटबल टिम बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ,’ क्लब महासचिव आचार्यले भने । आयोजनालाई अनुशासित बनाउन विभिन्न १७ बूँदे नियम जारी गरिएको आयोजकले जनाएको छ । खेल अवधिमा प्रतियोगी टिमले रेफ्रीको निर्णय अस्वीकार गरेमा २५ सय नगद सहित निवेदन (प्रोटेक्स) दिन सक्ने व्यवस्थामा आयोजकको निर्णय अन्तिम हुने बताइएको छ ।
ऋायोजकका अनुसार, आज शुक्रवार नेपालगन्ज रंगशालाको खेलमैदानमा प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य एवम् ओलम्पियन सुरेन्द्र हमालले गर्दैछन् । त्यसलगत्तै उद्घाटन खेल आयोजक रोयल नेपालगन्जक फुटबल क्लब र सनलाइट युवा क्लब हसनापुरबीच हुने क्लब महासचिव आचार्यले जानकारी दिए ।