सादा पोशाकमा प्रहरी हाकिमको ‘स्टिङ्ग’, सीमाका १७ प्रहरी फेरिए

नेपाल–भारत सीमाको जमुनाह नाकामा प्रहरी आचरणका बारेमा गुनासो नियमित जस्तै हुने गरेको छ । सीमामा चेकजाँचमा खटिने प्रहरीको व्यवहार र आचारण चेकजाँच भन्दा पनि असुली केन्द्रित हुने गरेको समाचारहरु बेलाबेला सञ्चारमाध्यमहरुमा समेत आउने गरेका छन् ।
पर्वका बेला पर्व मनाउन भारतबाट आउने नेपालीहरुलाई त्यहाँ रहने रिक्सा, होटल व्यवसायी लगायतले तानातान गरेको दृश्य देख्न सकिन्छ । कमिसनका लागि रिक्साले मोलमोलाइ गरी सिधै होटल पुर्याउने गरेका छन् । पछिल्ला बर्षहरुदेखि नेपालगन्जका केही होटलले सीमामा आफ्ना एजेन्ट नै राखेका हुन्छन्, भारतबाट आउने यात्रुलाई सिधै होटलमा पुर्याउन । यात्रुलाई होटल पुर्याए वापत रिक्साले बढी भाडा त असुल्छन् नै होटलबाट समेत कमिसन खाने गरेका छन् । साथै प्रहरीले समेत चेकजाँचका बहानामा अनावश्यक दुःख दिने, रकम असुल्ने गरेको गुनासो यात्रुहरु गर्दछन् ।

विशेषगरी पर्वका बेला भारतबाट कमाएर फर्कने नेपालीले सीमामा अनावश्यक दुःख कष्टका साथै ठगीमा पर्ने गरेको गुनासो बाहिरिएपछि जिल्ला स्थित प्रहरीका हाकिम आफै सीमा अनुगमनमा पुगेका छन्, त्यो पनि साधा पोशाकमा ।
बाँकेका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारी र प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपाने सहितको प्रहरी टोली सीमामा साधा पोशाकमा सीमामा खटिएका प्रहरीले गरिरहेको कामकारवाही, त्यहाँ रहेका अटो रिक्सा तथा होटलका एजेन्टले गर्ने व्यवहार नियाल्न पुगे ।
हाकिम आएको थाहा पाए सतर्क हुने प्रहरी एक्कासी सादा पोशाकमा पुगेका प्रहरी अधिकारीहरुलाई चिन्न सकेनन् । उनीहरु नियमित अव्यस्थित रुपले काम गर्दै थिए । सीमामा खटिएका प्रहरीहरुको हर्कत देखेपछि तत्कालै सीमामा खटिएका १७ जना प्रहरी कर्मचारीलाई त्यहाँबाट हटाइएको छ ।

‘पर्वका बेला थोरै भएपनि आम्दानी गरेर फर्किने हाम्रा दाजुभाईलाई हाम्रा प्रहरी कर्मचारीले गर्ने व्यवहार, त्यहाँ झेल्नु परेको अनावश्यक झन्झटका बारेमा स्थलगत हेर्न साधा पोशाकमा गएका थियौं,’ बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक न्यौपानेले दैनिक नेपालगन्जसँग भने, ‘केही प्रहरी कर्मचारीबाट अपेक्षित व्यवहार नभएको पाएपछि उनीहरुलाई तत्काल त्यहाँबाट हटाएका छौं ।’
प्रहरी स्रोतका अनुसार, एक जना हवल्दार सहित १७ जनालाई सीमा नाकाबाट हटाइएको हो । प्रहरी नायब उपरीक्षक न्यौपानेले सीमामा भारतबाट आउने यात्रुलाई अटो र होटल व्यवसायीले गर्ने तानातान तत्कालैबाट रोकिएको जानकारी दिएका छन् । ‘सीमामा खटिने प्रहरी कर्मचारीलाई भारतबाट आउने नेपाली दाजुभाईलाई परिवारको सदस्य जस्तो व्यवहार गर्न, प्रहरी आचरण विपरितको कुनै पनि कार्य नगर्न निर्देशन गरेका छौं’, उनले भने, ‘हामी नियमित रुपमा निगरानी पनि गर्नेछौं ।’

प्रहरी नायब उपरीक्षक न्यौपाने भारतबाट पर्व मनाउन आउने कोही पनि नठगिउन्, अनावश्यक झन्झट व्यहोर्नु नपरोस् भन्ने तर्फ आफुहरुको ध्यान रहेको बताएका छन् । ‘कुनै पनि बहानामा अनावश्यक दुःख दिनु हुँदैन’, उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया