बाँकेमा पर्व लक्षित ‘विशेष सुरक्षा योजना’

नजिकिंदो पर्वलाई लक्षित गरी बाँके प्रहरीले पर्व लक्षित सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याएको छ ।

प्रहरीले पर्वका बेला हुने अवाञ्छित तथा कानुन विपरितका कार्य नियन्त्रणका लागि आइतबारदेखि सुरक्षा योजना बनाएर लागु गरेको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिएका छन् । ‘प्रत्येक बर्ष जस्तै यस बर्ष पनि सुरक्षा योजना लागु गरिएको छ, पर्वका बेला अप्रिय घटना नहुन् भनेर हामीले योजना बनाएर आइतबारदेखि कार्यान्वयन सुरु गरेका हौं’, प्रहरी प्रवक्ता न्यौपानेले भने ।

प्रहरी अधिकारीहरुले चाडपर्वमा विभिन्न आपराधिक समूह सल्बलाउने, आपराधिक गतिविधि तथा दुर्घटना बढ्ने हुँदा सुरक्षाका लागि नागरिक पनि जिम्मेवार भएर अवाञ्छित गतिविधिको आशंका भए तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् ।

प्रहरीको केन्द्रीय कार्यालयबाटै पर्वका बेला विशेष योजना बनाएर लागु गर्न प्रहरी इकाइहरुलाई निर्देशन हुने गरेको छ । सोही अनुसार, प्रहरीले शान्ति सुरक्षा कायम गरी जनजीवनलाई सहज बनाउन प्रहरी एक्लैको प्रयास पर्याप्त नहुनेतर्फ नागरिकको ध्यानाकर्षण गराउँदै आवश्यक समन्वय गर्न पनि आग्रह गरेको छ ।

बाँके प्रहरीले रातीको समयमा होहल्ला गरी हिँड्ने तथा शङ्कास्पद गतिविधि देखिएमा प्रहरीमा खबर गर्न, जुवा, तास, ढुकुटी खेल्ने÷खेलाउनेको जानकारी दिन, नौला र असामान्य व्यक्ति बारम्बार देखिएमा निगरानी राखी सोधपुछ गर्न पनि आग्रह गरेको छ । लागूऔषध, नशालु पदार्थ सेवन, बेचविखन गर्ने कोही व्यक्ति भएमा सूचना दिन प्रहरीले आग्रह गरेको छ । ‘जुवातास खेल्ने र खेलाउनेहरुलाई कानुनी दायरामा ल्याउन साधा पोशाकमा समेत प्रहरी परिचालन गर्नेछौं’, प्रहरी प्रवक्ता न्यौपानेले भने ।

मदिरा पिएर सवारी नचलाउन, छतमा चढेर यात्रा नगर्न, जथाभावी पार्किङ नगर्न पनि आग्रह गरेको छ । अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान र कसैलाई पनि झट्ट विश्वास नगर्न पनि भनेको छ । विगतका बर्षमा भारतबाट आउने धेरै नेपाली नेपालगन्जमै लुटिएर रित्तो हात यता न उताको अवस्थामा हुने गरेका थिए । ‘भारतबाट दशैं मनाउन आउने नेपालीलाई सघाउन सीमामा हेल्प डेस्क सञ्चालनमा आउँदैछ’, प्रहरी प्रवक्ता न्यौपानेले भने, ‘नेपालगन्ज, कोहलपुरका बसपार्कमा पनि हेल्प डेस्क राखिनेछ, यातायातमा यात्रु नठगिउन् भनेर यातायात व्यवसायीसँग यसअघि नै छलफल गरिसकेका छौं ।’ सीमामा कानुन विपरितका मालसामान भित्रिन नदिंन तालिम प्राप्त कुकुरको परिचालन समेत गरिने न्यौपानेले बताएका छन् ।

पर्वका बेला बैंक तथा वित्तिय संस्थाबाट पैसा निकालेर निक्नेहरु समेत असुरक्षित हुने गरेका छन् । त्यसैले प्रहरीले बंैँक तथा वित्तीय संस्थामा रकमको कारोबार गर्न जाँदा सुरक्षित रुपमा विश्वासिलो व्यक्तिका साथ जान आग्रह गर्दै खतरा महसुस भएमा प्रहरीमा खबर गर्न अनुरोध गरेको छ ।

प्रहरीले पर्वका बेला हुने कालो बजारी नियन्त्रणका लागि समेत जिल्ला तथा स्थानीय तहका अनुगमन समितिसँग समन्वय गरेर बजार अनुगमनमा समेत सहभागी रहने बाँके प्रहरी प्रवक्ता न्यौपानेले बताएका छन् । पर्वका बेला कतिपय मानिस बसिरहेको कोठा तथा घर छाडेर जाने भएकाले सोको सुरक्षा सुनिश्चित गर्न पनि सुझाव दिएको छ ।

चाडपर्वका बेला मुख्यगरी आर्थिक गतिविधि बढ्ने हुँदा आपराधिक गिरोहले अवाञ्छित क्रियाकलाप गर्न सक्छन् । तीव्र गतिमा सवारी चलाउने, बढी यात्रु चढाउने, मदिरा पिएर शान्ति सुरक्षा खलल गर्ने, चोरी, अपहरण, कालोबजारी, चन्दाआतङ्क जस्ता आपराधिक क्रियाकलाप हुनसक्छ । त्यसैले सुरक्षा योजना लागू गरी प्रहरीले बढी भीडभाड हुने, आर्थिक गतिविधि बढी हुने क्षेत्र, बैंक वित्तीय संस्था, यातायात क्षेत्रमा निगरानी बढाउन थालिसकेको बताएको छ । प्रहरीले ठाउँठाउँमा सुरक्षा जाँच बढाउने, सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरेको तथा तत्काल परिचालन हुने व्यवस्था गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया