आज पाँचौं बार्षिकोत्सव मनाउँदै
१ हजार १ सय २७ पुनस्र्थापना
पाँच बर्ष अघि स्थापना गरिको निल सागर सेवा आश्रम असहाय ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाको भरपर्दो आश्रय स्थल बन्दै गएको छ । सुरुमा नेपालगन्जमा असहाय ज्येष्ठ नागरिकलाई सेवा दिन सुरु गरेको निग सागर अहिले देशका विभिन्न १० ठाउँबाट सेवा दिन थालेको हो । पछिल्लो पटक कास्कीको पोखरामा पनि आश्रम सञ्चालनमा आएको छ ।
सडकमा बेसहारा भेटिएका, परिवारबाट अलग्गिएका, आश्रममा आश्रित महिलाबाट जन्मिएका बालबालिका, विभिन्न संघ, संस्था तथा सरकारी निकायले संरक्षणका लागि बुझाएका ५ सय ४० जना नागरिक अहिले संस्थाका विभिन्न शाखामा आश्रित रहेको संस्थाका उपाध्यक्ष अमन सुवेदीले जानकारी दिएका छन् ।
संस्थाले आश्रितको पुनस्र्थापनामा पनि जोड दिंदै आएको छ । उपाध्यक्ष सुवेदीले हालसम्म देशभरका शाखामा रहेका १ हजार १ सय २७ पुनस्र्थापना गरिएको जानकारी दिएका छन् । संस्थामा आश्रित रहँदा मृत्यु भएका १ सय २६ जनाको संस्थाले नै दाहसंस्कार समेत गरेको छ ।
‘आश्रितहरुलाई विभिन्न संघ, संस्थासँगको समन्वयमा तालिम दिएर आर्थोपार्जन गर्न सक्ने बनाएर पनि पुनस्र्थापित गर्दै आएका छौं’, उपाध्यक्ष सुवेदीले भने, ‘हालसम्म ५४ जनाले आफैले काम गरेर जीविकोपार्जन गरिरहनु भएको छ ।’
नेपालगन्जमा रहेको आश्रममा १ सय ४५ जना आश्रित छन् । जसमध्ये २० जना मनोसामाजिक समस्या भएका नागरिक छन् । ८० जति ज्येष्ठ नागरिकको संख्या रहेको छ । संस्थाले उद्दार गरेका बालबालिका तथा संस्थामा जन्मिएका बालबालिकालाई शिक्षाको अवसर पनि दिने गरेको छ । केही बालबालिकालाई विभिन्न व्यक्ति तथा संस्थाले पनि अध्यापन गराइरहेका छन् । संस्थाले आश्रितको उपचारको पनि व्यवस्था गर्दै आएको छ ।
‘चन्दा र सहयोगले चलेका छौं, आश्रित बढ्दै जाँदा खर्च पनि बढ्दै गएको छ’, उपाध्यक्ष सुवेदीले भने, ‘स्थानीय तह र प्रदेश सरकारबाट केही सहयोग पाएका छौं ।’ तर, खर्च धान्न नै मुस्किल परिररहेको, अध्ययन गर्ने बालबालिकालाई विद्यालयको शुल्क बुझाउन गाह्रो भैरहेको उनी बताउँछन् ।
आश्रमको नेपालगन्ज शाखामा आश्रितका लागि मात्रै मासिक ५ देखि ७ लाख खर्च हुने गरेको छ । देशभरीका १० वटा शाखामा बार्षिक १ करोड खर्च हुने गरेको छ । संस्थालाई चालु आ.व.का लागि बाँकेका विभिन्न स्थानीय तहले ३ देखि ५ लाख बजेट विनियोजन गरेका छन् ।
नेपालगन्जमा शाखाका लागि भवन निर्माण गर्न अघिल्लो बर्ष प्रदेश सरकारले अघिल्लो आ.व.मा ६० लाख रुपैयाँ बहुबर्षिय योजना अन्तर्गत विनियोजन गरेको थियो । तर, २ लाख मात्रै खर्च भएर ५८ लाख फर्कियो । समयमा काम नहुँदा रकम फर्कियो एकातिर भने अर्को तिर संस्थाले भाडामा घर लिएर आश्रितहरुलाई राख्नु परिरहेको अवस्था छ । यसबर्ष संस्थाको नेपालगन्ज भवनका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
यसै बीच संस्थाले आज आफ्नो पाँचौं बार्षिकोत्सव औपचारिक कार्यक्रम बीच मनाउन लागेको जानकारी दिएको छ ।