विश्व पर्यटन दिवस पारेर सोमवार नेपालगन्जस्थित जमुनाह नाकामा भारतीय पर्यटकलाई स्वागत गरिएको छ ।
कोरोना महामारीका कारण रोकिएको पर्यटन क्षेत्र धराशयी भइरहँदा कैलास मान सरोबरका लागि पर्यटक आगमन शुरु भएको छ । विश्व पर्यटन दिवस पारेर सोमवार नेपालगन्जस्थित जमुनाह नाकामा भारतीय पर्यटकलाई स्वागत गरिएको छ । पर्यटन प्रवद्र्धन मञ्चको अगुवाईमा नेपालगन्जका पर्यटन व्यवसायीहरुले कैलास मानसरोवर दर्शन गर्नका लागि नेपालगन्ज आएका पर्यटकलाई जमुनाहमा पुगेर स्वागत गरेका हुन् ।
मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, होटल सिद्धार्थ भ्यू निर्देशक केशव न्यौपाने, मेरो प्लानेटका प्रबन्ध निर्देशक ओम मिश्र लगायत पर्यटन ब्यवसायीहरुले पर्यटकलाई खादा र टिका लगाएर स्वागत गरेका थिए ।
कोरोना महामारीका कारण नाका बन्द हुँदा औपचारिक रुपमा पर्यटक आउन बन्द प्रायः छ । सोमवार पनि रुपैडिहासम्म गाडीमा आएका मुम्बई र गुजरातका ९ जना धार्मिक पर्यटकको टोलीलाई रुपैडिहाबाट पैदल नेपालगन्ज प्रवेश गर्नु परेको थियो ।
उनीहरु नेपालगन्ज विमानस्थलबाट हुम्लाको सिमकोट हँुदै हिल्सा नाका भएर कैलास मानसरोवर दर्शन गर्न जाने जानकारी दिंदै पर्यटन व्यवसायी, होटल सिद्धार्थका निर्देशक केशव न्यौपानेले विस्तारै पर्यटक आउने सम्भावना देखा परेको बताए । पर्यटकहरुलाई होटल सिद्धार्थले पनि जमुनाह सीमामा औपचारिक स्वागत गरेको थियो ।
नेपालका पर्यटन व्यवसायीहरुले कोरोनाका बहानामा सीमा बन्द हुँदा पर्यटक आवागमन ठप्प भएको भन्दै नाका खुलाउन माग गरेका थिए । मञ्चका संयोजक कृष्ण प्रसाद श्रेष्ठले भारतीय पर्यटकका लागि नेपालगन्ज नाका एकदमै सहज र सरल भएकाले व्यवस्थितढंगबाट नाका सहज बनाइनुपर्ने बताए । ‘यो नाका भएर बर्षेनी हजारौंको संख्यामा भारतीय पर्यटकहरु मानसरोवर तिर्थयात्रामा जाने भएकाले यसको उचित व्यवस्थापनमा सरकारको ध्यान पुग्नुपर्छ,’ संयोजक श्रेष्ठले दैनिक नेपालगन्जसँग भने ।
नाका खुलाउन भन्दै सरकारसमक्ष डेलिगेसनमै सहभागी नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले भारतीय पर्यटकलाई मात्रै लक्षित गरेर नेपालगन्जमा पर्यटनका गतिविधि सञ्चालन गर्न सकियो भने मुलुकको पर्यटन ब्यवसायले धेरै फड्को मार्ने बताए । ‘नेपालगन्ज – पोखरा विमान सञ्चालनले पनि त्यो सम्भावनालाई थप बलियो बनाएको छ,’ सिग्देलले दैनिक नेपालगन्जसँग भने । उनले नाकालाई छिट्टै पुरै सञ्चालन गर्न र सहज आवागमनको व्यवस्था मिलाउन ध्यानाकर्षण गराए ।
महामारीकाबीच पनि पैदल यात्रु तथा मालबाहक ढुवानीका साधन निर्वाध आवागमन भइरहेपनि निजी सवारीसाधन रोकिंदा पर्यटक आइरहेका थिएनन् । हेर्नुस् भिडियो