टीका विष्ट
कल्पना रजाली १० वर्षकी थिइन् । उनीसँग पनि सुरक्षित घर, रमणीय गाउँ, मायालु साथीभाई, रमाइलो विद्यालय, र बालापनका केही थान सुन्दर सपना थिए । २०७१ साउन २९ गतेको बाढीले उनको जीवनमा पनि पहिरो गयो । कल्पनाको घर, विद्यालय, खेतबारी सबै बगायो । जसोतसो ज्यान जोगाएर उनीहरु पालको सहारामा पुगे । उनको बालापन पनि शिविरको पालमुनी खुम्चियो ।
यसैपनि जोखिमपूर्ण वस्तीभित्र किशोरी र महिलाको जीवन कष्टकर छ । भर्खरै १७ वर्ष पुगेकी कल्पनासंग शिविर बसाइका धेरै अनुभव छन् । भन्छिन्– ‘गिरीघाट शिविरमा बस्दा हरेक पल घरको याद आउँछ । सबैभन्दा धेरै सकस त महिनावारीको समयमा हुन्छ ।’ परिवारका सबै सदस्य एउटै पालभित्र सुत्नुपर्ने भएकोले प्याड फेर्न निकै समस्या हुने उनले सुनाइन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरबाट १० किलोमिटर पश्चिम गिरीघाटस्थित कर्णाली राजमार्गसंगै बाँयातिर बाढी विस्थापित बस्ती छ । जङ्गलको बीचमा रहेको बस्तीको तीनतिर खोला छ भने एकतिर राजमार्ग । बराहताल गाउँपालिका ८ मा रहेको उक्त बस्तीमा सोही गाउँपालिकाको थापाडेरा, डोप्का, पाग्मा र सिस्नेरीका एक सय घरधुरी बाढी प्रभावितहरु छन् । उनीहरु शिविर बनाएर सात वर्षदेखि त्यहाँ बसिरहेका छन् ।
शिविरमा एउटा पनि वाथरुम छैन । नजिकै रहेको गिरीघाट खोलामा नुहाउँदा सडकमा हिंडिरहेका केटाहरुले जिस्क्याउने वा चिनजानको बहानामा नजिक आउने गरेपछि धेरैपटक राम्रोसँग ननुहाई फर्किएको किशोरीहरु बताउँछन् । सुख्खा याममा खोला पनि सुक्ने हुँदा महिनावारीका बेला प्रयोग हुने कपडा धुन समस्या भएको उनीहरुको भनाइ छ ।
विद्यालयमा स्यानिटरी प्याड दिने गरेतापनि आफूहरुलाई भने कपडा प्रयोग गर्नु पर्ने बाध्यता नहटेको कल्पनाले बताइन् । ‘स्कुलमा एक महिनामा एक प्याकेट प्याड पाइन्छ, हामीलाई त्यसले पुग्दैन । किन्नलाई घरमा पैसा पनि हुँदैन’, कल्पना भन्छिन् । बुवा आमा कमाउनको लागि भारत गएकोले दाइ र बहिनीसंग शिविरमा बस्दै आएकी उनले वस्तीका अधिकांश किशोरीहरु यस्तै समस्याबाट गुज्रिएको बताइन् ।
सोही शिविरमा बस्ने गङ्गा बुढाका अनुसार त्यहाँ रहेका पाँच सय जनामध्ये आधाभन्दा बढी महिला छन् । सय घरका लागि पाँचवटा मात्र शौचालय छन् । १०÷१२ घरका मान्छेले एउटै शौचालय प्रयोग गर्दा केही महिला तथा किशोरीहरुलाई पिसाब इन्फेक्सन हुने, यौनाङ्ग चिलाउने, सेतोपानी बग्ने जस्ता समस्या भएको बुढाले बताइन् । उनले थपिन्, ‘नानीहरु खोलामा नुहाउन जान्छन् । नुहाउँदै गर्दा पुलबाट केटाहरुले सिट्ठी बजाउने तथा अश्लिल शब्दहरु बोल्ने गर्छन ।’
शिविरका धेरैजसो महिलाले महिनावारी हुँदा प्याडको रुपमा कपडा प्रयोग गर्छन् । विद्यालयमा किशोरीका लागि प्याड बाँड्ने भएपनि लामो समय विद्यालय बन्द हुँदा उनीहरुले पनि कपडा प्रयोग गर्ने गरेको गङ्गाले सुनाइन् । उनका अनुसार महिनावारीको समयमा गर्नुपर्ने सरसफाइ र आरामको बारेमा समुदायमा कुनै छलफल तथा अभिमुखीकरण कार्यक्रम भएका छैनन् ।
बराहताल गाउँपालिका २ का अध्यक्ष युवराज कार्कीले विपदको लागि वडाले करिब तीन लाख बजेट छुट्याएपनि विपदबाट प्रभावित महिलाको स्वास्थ्य सुरक्षाका लागि स्पष्ट कुनै कार्यक्रम नभएको जानकारी दिए । गिरीघाटस्थित सडकछेउको बस्तीका किशोरीहरु असुरक्षित भएको भन्दै कार्कीले भने, ‘केही वर्षअघि बस्तीमा १६ वर्षीया किशोरीलाई एक ‘गाडीवाला’ले बलात्कार गर्दा बच्चासमेत जन्मिएको थियो । दोषी हाल जेलमा छन् ।’ यद्धपी त्यहाँका महिलाहरुले महिनावारी सम्बन्धी समस्याको बारेमा वडा कार्यालयमा जानकारी नगराएको र कुनै कार्यक्रम नमागेको कारण ठोस योजना नबनेको उनको भनाइ छ ।
यसैगरी, सोही दिनको बाढीले प्रभावित वीरेन्द्रनगर नगरपालिकाका १७ घर परिवार हालसम्म वीनपा ८ स्थित महिला प्रशिक्षण केन्द्रको प्राङ्गणमा पालमुनी बसिरहेका छन् । दुईवटा संयुक्त शौचालय रहेको उक्त शिविरमा पनि महिलाहरुले धेरै कठिनाई भोग्नुपरेको मैसरा गुरुङको भनाइ छ । ‘महिला र पुरुषको ट्वाइलेट एउटै छ । पानीको पनि उस्तै समस्या छ । पानीले नानीहरु हैरान छन्,’ गुरुङ भन्छिन्, ‘नछुने भएका नानीहरु शिविरको ट्वाइलेटमा घिन मानेर प्रशिक्षण केन्द्रको शौचालयमा जान्थे तर अफिसबाट यता नआउनु भनेपछि झन् अप्ठेरो भएको छ ।’
१७ घरको लागि एउटा मात्रै धारा भएकोले शौचालयमा पर्याप्त पानी प्रयोग गर्न नपाएको उनले बताइन् । यस्तै महिला तथा किशोरीहरुले महिनावारी हुँदा प्रयोग गरेका कपडाहरु धुन र सुकाउन पनि समस्या भएको उनीहरुले गुनासो गरे । बस्तीमा पानीको अभाव भएकाले सबैजना नुहाउन तथा लुगा धुन केही पर रहेको बुलबुले उद्यानस्थित धारामा जाने गरेको उनीहरु बताउँछन् ।
गुरुङका अनुसार बस्तीमा रहेको शौचालय पनि घरभन्दा पर झाडीको बीचमा भएकोले रातीमा जान समस्या छ । उनले थपिन्, ‘वर्षायाममा रातीको समयमा सर्पको समेत डर हुने भएकाले किशोरीहरु पिशाब रोकेरै बस्छन् ।’ धेरैबेर पिशाब रोक्दा पिशाबसम्बन्धी समस्याहरु हुने वीरेन्द्रनगरस्थित नगर अस्पतालमा कार्यरत नर्सिङ इन्चार्ज सीता आचार्यले बताउँछिन् ।
पहिले महिनावारी हुँदा चुलो चौको नछुने र छुट्टै सुत्ने गरेपनि शिविरमा आएपछि पालभित्रको साँघुरो कोठामा संयुक्त बस्ने गरेको उक्त बस्तीका महिलाहरु बताउँछन् । ‘छुइ हुँदा पहिले त पाँच दिन बार्ने चलन थियो । शिविरमा आएपछि नातिनी पहिलो पटक पर सर्दा त अर्काको घरमा बसालियो । तर हामी कहाँ जानु?’, मैसराले सुनाइन्, ‘शिविरमा महिलाका यस्ता धेरै समस्या छन् । एकातिर पानी कम हुँदा कपडा धुन सास्ती छ भने अर्कोतिर आम्दानी नहुँदा प्याड किन्न पनि सकिंदैन ।’
बस्तीमा एउटा धारा थप्न माग गर्दै सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको कार्यालमा अनुरोध गरेपनि सुनुवाई नभएको उनीहरुको गुनासो छ । संस्थाका अध्यक्ष कुलमणी देवकोटाले भने बस्ती बस्नासाथ एउटा धारा जोडिदिएपनि अर्को धारा जोड्न नसकिने बताए । ‘अर्को वर्षसम्म बस्तीलाई पुनस्र्थापना गर्ने सरकारको तयारी छ । अस्थायी बसोवासमा संरचनाहरु थपिरहने कुरा हुँदैन, बरु सरकारले तत्काल बस्तीलाई अन्यत्र व्यवस्थापन गर्नुपर्छ’ देवकोटाले भने ।
बस्तीमा कोभिड महामारीसँग सम्बन्धित जनचेतनाका कार्यक्रम भएपनि महिनावारी र सरसफाइको विषयमा कसैले केही नसिकाएको बस्तीका महिलाहरु बताउँछन् । वडा कार्यालयले वितरण गर्ने प्याडका बारेमा आफूहरुलाई जानकारी नभएको पनि उनीहरुको भनाइ छ ।
वीनपा ८ का सदस्य थिरबहादुर शाहीले विस्थापितहरुले साविकको वडाको स्वास्थ्य संस्थामा गएर प्याड लिन सक्ने जानकारी दिए ।
वडाले विद्यालयमा प्याड दिने व्यवस्था गरेको र शहरी स्वास्थ्य कार्यालयले एक महिलालाई (विद्यार्थी बाहेकका) महिनामा एउटा प्याड दिने गरेकोले हाल शिविरमा बसेपनि कहाँबाट आफू विस्थापित भएको सोही वडाबाट यस्तो सुविधा लिन सकिने शाहीले बताए ।
महिनावारीको सन्दर्भमा समुदायमा धेरै सचेतना अएपनि विस्थापितको शिविरमा केही समस्या रहेको नर्स आचार्यले बताइन् । यद्यपी स्वास्थ्य संस्थाबाट स्यानिटरी प्याड वितरण गर्दा तथा नगरपालिकाले प्याड उत्पादनको तालिम दिँदा महिलाहरुलाई धेरै सहज भएको उनको भनाइ छ ।
मर्यादित महिनावारी अभियानकी अभियन्ता समेत रहेकी आचार्यले शिविरका महिलाहरुलाई विभिन्न निकायले यस सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गर्ने तथा सरसफाईका सामग्री वितरण गर्नुपर्नेमा जोड दिइन् ।