
नेपाली काँग्रेस बाँकेले यसअघि ६४ जिल्लाको क्रियाशिल सदस्यताको विवरण सार्वजनिक गरिसकेको छ । ६४ जिल्लाको क्रियाशिल सदस्यता सूचि सार्वजनिक हुँदा पनि नेपाली काँग्रेसका युवा नेता पोषण केसी गृह जिल्लाको सदस्यता विवादलाई लिएर दुई महिनादेखि काठमाडौंमै थिए । क्षेत्र नं. १ को क्रियाशिल सदस्यताको विवादलाई लिएर रोकिएको सूचि आइतबार सार्वजनिक गरिएको छ । लामो समयदेखि पत्रकारितामा सक्रिया पोषण केसी अब राजनीतिमा लाग्ने घोषणा गरेर गृह जिल्लामा सक्रिय छन् । त्यसैको सेरोफेरोमा केसीसँग दैनिक नेपालगन्जले गरेको संक्षिप्त कुराकानी ।
काँग्रेस क्षेत्र नं. १ ले सिङ्गो जिल्ला कै अधिवेशन प्रभावित पार्यो, खासमा समस्या के हो ? कसरी मिल्यो !
विधि विधान नीति र नियम नमान्दा र क्षेत्रीय सभापतिको दम्भ, अहंकारको कारण बाँके क्षेत्र नं. १ को विवाद बल्झिएको हो । पार्टीको विधि विधान केन्द्रको पटक पटकका परिपत्र र निर्देशनहरूलाई लत्याएर मैले जे गर्दा नी हुन्छ, मैले भनेकै मान्नुपर्छ भन्ने दम्भ र बालहटका कारण समस्या सृजना भएको हो । कृतिम रूपमा सृजना गरिएको विवादका कारण झण्डै तीन महिना देखि क्षेत्र नं. १ का मात्र नभई समग्र बाँके जिल्लाका पार्टीका नेता तथा कार्यकर्ताहरू चिन्तित मात्र होइन आक्रोशित भएका छौं ।
तपाईंको परिचय पत्रकारका रूपमा थियो, यो महाधिवेशनले फेर्न खोज्या हो ?
पत्रकारिताका माध्यमबाट झण्डै अढाई दशक राष्ट्र र जनताका पक्षमा काम गर्दै आएको एउटा पत्रकारले अब प्रत्यक्ष रूपमा राजनीतिका माध्यमबाट जनताको सेवा गर्ने उद्देश्यले राजनीतिमा होमिएको एउटा पत्रकारको परिचय १४ औ महाधिबेशन देखि परिवर्तन भएर जनसेवक बन्ने छ ।
केन्द्रीय राजनीतिमा हैसियत बनाएको यो जिल्ला किन यतिबेला यस्तो निरीह लाग्न थाल्यो ? के छ तपाईंको बुझाइ !
विधि विधान, पद्धति र कानुनीराजका लागि संघर्ष गरेको पार्टी आज नीति नियम कानुन र विधि विधानले होइन मनि र मसल्सले निर्देशित हुन बाध्य छ । त्यागी, सादगी र आदर्शवान नेता सुशील कोइराला जीवित रहँदासम्म आदर्श मुल्य र मान्यतामा चलेको पार्टी आज नेताहरूको आदर्श मुल्य र मान्यता स्खलित हुँदा निरीह बन्न बाध्य छ ।
पार्टीमा सस्थापन र इतर भन्ने रैछ, यी जिल्लाको समीकरण कस्तो छ ?
संस्थापन र संस्थापन ईतर भन्ने परीपाटी त पार्टी स्थापना भएदेखि आज सम्म छ र पार्टी रहेसम्म रही नै रहन्छ र यो स्वभाविकै प्रकृया पनि हो । स्वभाविक त पार्टीमा जहिले पनि संस्थापन ईतर भन्दा संस्थापन पक्ष बलियो हुन्छ त्यसमा पनि अहिले संस्थापन पक्ष पार्टीको मात्र नभई राज्य सत्ता पक्षमा समेत भएका कारण स्वभाबिक त बलियो पक्ष मानिन्छ ।
अब कसरी बढ्ने हो तपाईंको राजनीति ?
मलाई लाग्छ राजनीति भनेको आम नेपाली जनताका दिनानुदिन आईपर्ने समस्याहरू जस्तै प्रहरी, प्रशासन, अड्डा अदालत, अस्पताल र रोजगारीका समस्याहरु समाधानका लागि सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने हो तर आज भोलि पार्टीका नेता तथा कार्यकर्ताहरू त्यतातिर ध्यानदिनु भन्दा नितान्त आ–आफ्नो ब्यक्तिगत स्वार्थमा लिप्त भएको पाइन्छ तसर्थ पछिल्ला दिनहरूमा राजनीतिमा देखिएको बिकृति र बिसंगतिलाई सच्याउदै फरक ढंगले नेपाली राजनीतिमा नेपाली जनताको सेवा गर्ने उद्देश्यले १४ औ महाधिबेशनमा अग्रज नेताहरू र साथीहरूसंगको सल्लाह बमोजिम फरक पहिचानका साथ आफुलाई उभ्याउने सोचमा छु ।
आशा छ, केन्द्रीय निर्वाचन समितिले अब छिट्टै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने छ र उत्साहका साथ हामी सबै निर्वाचनमा सहभागी हुने छौ । पार्टी भित्रको निर्वाचन भएको हँुदा सबै पक्ष बीच स्वस्थ प्रतिष्पर्धा हुन, आत्मियता र भाईचारा कायम राख्न जरूरी छ । प्रतिपक्षसंग लड्ने स्थानीय, प्रदेश र संघीय निर्वाचन सन्निकट भएको हुँदा पार्टीको यो निर्वाचनमा सबै जनाले तिक्तता र बैमनस्यता नराखी आपसी सद्भाव र मित्रता कायम राखेर निर्वाचनमा जान जरूरी छ ।