
नेपालको कान्छो जिल्लाको रुपमा चिनिने रुकुम पूर्वको सदरमुकाम हो रुकुमकोट । रुक्मीणी अर्थात कमलदहको नामबाट रुकुमको नाम रहेको हो । बाउन्न पोखरी–त्रिपन्न टाकुरी बिचको उपत्यका हो रुकुमकोट । रुकुमकोट सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक रुपले सजिएको छ । रुकुमकोटलाई वरिपरिबाट सर्प झै डांडांले घेरेको छ । त्यसैले रुकुमकोटको नाम पहिला सर्पकोट थियो पनि भन्ने गरिन्छ । रुकुमकोट उपत्यकालाई टाकुरा, बाहुनथाना र छिप्रिदह गरी तीनवटा भूभागमा बाँडिएको छ ।
हिमालपारीको जिल्ला त होइन पूर्वी रुकुम तर पनि सिस्ने हिमाल, पुथा हिमाल र सामझाङ हिमचुली भएकै कारणले हिमाली जिल्ला भएको छ । सिस्ने हिमाल पूर्वी रुकुमको उत्तरी सिमानामा कान्जिरोवा हिम श्रृखला अन्तर्गत पर्दछ । सिस्ने हिमाललाई स्थानिय भाषामा मुर्कट्टा हिमाल पनि भनिन्छ । सिस्ने हिमालमा आजसम्म कोही पनि नचढेको हुंदा यसलाई कन्या हिमाल पनि भनिन्छ । यो हिमालको वरिपरि बिभिन्न सना ठूला हिम तालहरु रहेका छन् । सिस्ने हिमाल रुकुमकोटबाट टाढा पर्दछ । तर पनि गाँउपालिकाको नाम सिस्ने हिमालको नामबाट राखिएको छ । रुकुमकोटको मैदान डांडांबाट सिस्ने हिमालको मनमोहक दृश्य हेर्न सकिन्छ ।
रुकुमकोटको टाकुरा र बाहुनथानाको देब्रेतर्फ मध्यपहाडी लोकमार्गको छेउमै डमरु आकारको कमल दह रहेको छ । उत्तर र दक्षिण फैलिएको कमल दह नेपालको नक्सा आकारमा देखिन्छ । कमल दहको प्राकृतिक सुन्दरता र धार्मिक महत्वले आजभोली रुकुमकोट पर्यटकहरुको गन्तब्य भएको छ । कमल दहमा विभिन्न रंगका कमलहरु फुल्ने गर्दछन भने हिउदको समयमा विभिन्न ठाउँबाट घुमन्ते चराहरु समेत पुग्ने गर्दछन । मौसम अनुसार फरक–फरक दृश्यालवलोकन गर्न सकिने तालमा असोज देखि मङसिरसम्म ढकमक्क कमल फुलेको हेर्न सकिन्छ । कमल तालको पानी सफा र निलो छ । कतै मुहान पनि नदेखिने तर पानी पनि नघटने यो तालको अनौठो विशेषता रहेको छ । तालमा फन्को मार्न करिव २५ मिनेट समय लाग्छ । मौसम अनुसार फरक दृश्यावलोकन गर्न सकिने तालको क्षेत्रफल १.९५ वर्ग कि.मी.रहेको छ । समुद्रि सतह देखि १ हजार ५ सय ८१ मिटर उचाई भएको कमल तालको गहिराइ औसतमा ३५ मिटर रहेको छ । आयुर्वेदमा कमलको जरा पिसाब, दम, जन्डिस, कमलपित्त लगाएतका रोगहरुको औषधिको रुपमा प्रयोग गरिन्छ ।
कमल दहको नजिक माथि डाँडामा रुकुमेली राजाहरुले पुजा गर्ने कोट जसको नामबाट रुकुमकोट रहेको छ । कोटमा दशैमा मेला लाग्ने गर्दछ । सानो भेरीको छेवैको पोखरामा रहेको तातोपानी कुण्डमा नुहाउँदा विभिन्न रोगहरु निको हुने विस्वासमा मानिसहरु पुग्ने गर्छन । कमल दह बाहेक छिप्रिदह, सानो भेरी, धौले पहिरो र नजिकै देखिने सिस्ने हिमालले रुकुमकोटलाई सुन्दर बनाएका छ । छिप्रिदह नजिकै वि.सं.१८७० मा कल्चु मल्लद्वारा निर्मित विन्धवासिनी भगवती मन्दिर रहेको छ । कमल दहको नजिकै बाहुनथानामा जुद्ध समशेरले आफ्नो पत्नी कर्मकुमारीको पिता शेरजंग शाहको सम्झनामा कमल दह नजिकै शेरमुक्तेस्वर मन्दिर, कमल दहको बीचमा वराह मन्दिर, टाकुरामा कालिका मन्दिर निकै कलात्मक र दर्शनीय छन । यो बाहेक अमला चौरको मन्दिर, लुस्पाको सप्तऋषि धारा रुकुमकोट पुग्ने पर्यटकहरुका लागि दर्शनीय स्थलहरु हुन ।
रुकुमकोटमा मगर राजा, बोक्सेजार भन्ने भोटे राजाले राज्य गरेको स्थान हो । रुकुमकोट वरपर रहेका मौराखारा, खामे लेक, चैते लाकुरी लेक, तिलाधुरी, होर्दीङ लेक र होचा अग्ला थुम्काहरुबाट सजिएको भौगोलिक संरचना, सानोभेरी नदी र रुकुमगार खोलाको संगमस्थल त्रिवेणी धाउने बगर फाटबाट माथी उठेको सुन्दर पहाडी उपत्यका रहेको रुकुमकोटलाई पहाडकी रानी भन्दा पनि हुन्छ । जुन ठाउमा पर्यटकहरु पुगेपछि त्यहाको दृष्यबाट आनन्द लिदै रमाउने गर्दछन । प्राकृतिक जलाशय, अलौकिक कमलका फूलहरुले सजिएको कमल दह भएको रुकुमकोट ऐतिहासिक अध्ययनको लागि महत्वपूर्ण स्थल मानिन्छ । थुम्काहरु बीच–बीचमा लुकेका साना ठूला पोखरी र सुन्दर बस्तीहरुले दिने मनोरम प्राकृतिक सौन्दर्यता,आकर्षक भूबनोट सन्तुलित हावापानीको वातावरणले रुकुमकोट पुग्ने पर्यटकहरुले भू–स्वर्गको अनुभुती गर्दछन ।
रुकुमकोट पुगेपछि देउराली गुफा पुग्नै पर्ने हुन्छ । देउराली गुफा रुकुमकोट देखि पूर्बमा रुमगाड नदी अर्थात लुकुम गाडको किनारमा रहेको छ । सांघुरो प्रवेशद्वारबाट भित्र पस्यो भने बिशाल भवन भित्र प्रवेश गरेको अनुभव गर्न सकिनछ । गुफा भित्र प्राकृतिक रुपमा बनेका बिभिन्न देवि देवताका मूर्तिहरुका आकृती हेर्न सकिन्छ । प्राकृतिक रुपमा बनेका यी मुर्तिहरु कसरी बनेका होलान गुफामा पुगेपछि पर्यटकहरुलाई अनौठो अनुभव हुन्छ । यो गुफा भित्र ९ भन्दाबढि तलाहरु भएको र अहिले २ तला सम्म अवलोकन गर्न सकिन्छ । गुफा तल्लो तलामा देवी देवताका मूर्तीका आकृतिहरु छन । शिव लिंग पार्वती, गाईका थुन, हात्तीका खुट्टा, केराका कोसा लगाएतका धेरै आकृतिहरु देख्न सकिन्छ भने माथिल्लो तलामा रहेका सेता रंगका बच्चा बोकेका, ढिकी कुटन लागेका जाँतो पिस्न लागेका, खान पकाउन लागेका जस्ता विभिन्न आकृतिहरु देख्न पनि सकिन्छ ।
रुकुमकोटको पूर्वीभेगको दुर्गम, बिकट, हिमाली, लेकाली बस्ती जहा खाममगर जातिहरुको बस्ती रहेको पहाडी भूगोल पर्दछ । खामबस्ती भाषा, सस्कृतीको अध्ययन अनुसन्धान गर्न खामभाषा बोल्ने बस्तीहरुको क्षेत्र पर्यटकहरुका लागि महत्वपूर्ण मानिन्छ । भाषा, संस्कृतिसँगै प्राकृतीक सम्पदाको खानी रहेको र पर्यटकहरुको लागि आकर्षण कै केन्द्र बिन्दु भन्दा पनि हुन्छ । पुर्वी रुकुम खाम भाषीहरुको साँस्कृतिक पहिचान भएका गाउँ र बस्तीहरुको रमणीय, ऐतिहासिक र प्राकृतिक छटाले श्रृगारिएको भूगोल हो । पूर्वी रुकुमलाई आदिम सांस्कृतिक थलोको रुपमा चिनिन्छ । मगर खाम यहाँको मुख्य भाषा हो । दुई तिहाइ बढी जनसंख्या रहेको मगर समुदायको जीवनशैली हिमाली संस्कृतिसँग मिल्दोजुल्दो छ । पुर्वी रुकुममा पर्यटकहरु रमाउने भनेकै पाटन, वनस्पति, जंगल, नदीनाला, तालतलैया, वन्यजन्तुहरु पर्दछन । मगर खाम गाउँका बासिन्दा सामूहिकतामा विश्वास गर्छन् । सामाजिक एकताबिना उनीहरु आफ्नो अस्तित्व स्विकार्न नगर्ने सस्कार छ । हरेक खाम मगरहरुको घर एकै ठाउँमा समान संरचनामा निर्माण गरिनु, खेतीपातीमा अर्मपर्मको सिद्धान्त अपनाउनु, विकास निर्माणमा परम्परागत झाराप्रथा कायम राख्नु पुर्वी रुकुमको सामाजिक विशेषता हो ।
भाषा, संस्कृती, परम्पराले मगर जाति धनी मानिन्छ । मगरहरुको शारिरीक बनोट देखि रिति, रिवाज, रहनसहन, चालचलनमा छुट्टै खालको विशेषता रहेको छ । बिशेषत पहाडी इलाकामा बसोवास गर्ने भएका कारण पुर्वी रुकुमका मगरहरुले बाक्लो कपडाहरु लगाउने परम्परा रहेको छ । भने संस्कृतिमा पनि छुट्टै खालको मौलिक पहिचान रहेको छ । मगर समुदाय भित्र रहेको बहुल भाषा, संस्कृति, परम्परा र चाडपर्वहरु रहेका छन् । बिबिध संस्कृति, चाडपर्वको कुरा गर्दा अथार मगराँत क्षेत्रका मगरहरुले मनाउने संस्कृतिले भरिपुर्ण प्रमुख चाडमा भुम्या(नोगोबाङ्गे) पर्वलाई लिने गरिन्छ । भुम्या पर्व भुमी देवताको कुनैपनि आपत विपत्त नहोस भनेर भुमी देवतालाई मनाउने पर्व हो । यो कहिलेदेखि शुरुवात भयो भन्ने जानकारी नभएपनि यो निकै लामो समयदेखि खाम मगरहरुले मान्दै आएको पर्व हो । जेठ मसान्तबाट शुरु भएको यो पर्व असार ५ गतेसम्म धुमधामका साथ मनाइन्छ ।
पुर्वी रुकुमको सांस्कृतिक नृत्यहरु सबै सामूहिक हुन्छन । लहरै पैसेरी, भूम्या, डिग्रे, झोल्हा नाचहरु मगर खाम बस्तीका परम्परागत सामूहिक नाच हुन् । भूम्या नाचमा पुरुषको गोलबद्ध लहरलाई महिलाले घेरिएको हुन्छ भने पुरुषहरु खुकरी भिरेर नाच्छन् । अगुवालाई पछ्याएर गोलबन्द भई नाच्नु यहाँका नाचहरुको विशेषता हो । पाका र ज्येष्ठतालाई प्राथमिकता दिइने यो नाचमा युवायुवतीहरु पनि सामेल हुन्छन । भूम्या नाचले मुख्यगरी एकता, भ्रातृत्व र सामूहिकताको भावना प्रवद्र्धनसँगै सामाजिक सम्बन्ध विस्तार गर्ने सन्देश प्रवाह गर्छ । सिंगारु नाच यहाँको एउटा सांस्कृतिक गहना हो । पुरुषलाई एउटा निश्चित परम्परागत पहिरनले रुपवती महिलाको भेषमा सिंगारपटार गराई मादल, दुँदी र झ्याली बजाएर काव्यात्मक शैलीको गीतिकथा गाएर सिंगारु नचाइन्छ ।
मगर संस्कृतिको अध्ययन, ढोरपाटन शिकार आरक्ष, यार्सागुम्बा पाइने क्षेत्र बुकिपाटनदेखि रुकुमकोटसम्म पर्यटकहरु पुग्ने गरेका छन । प्राकृतिक महत्वका सम्पदाका कारण अहिले पुर्वी रुकुममा पर्यटकहरु घुमघामको लागि जाने क्रम वृद्धि भएको छ । पुर्वी रुकुममा युद्ध पर्यटन अर्थात द गुरिल्ला ट्रेकिङको कारणले पनि आजभोली धेरै पर्यटकहरु पुग्ने गरेका छन । माओवादीले द्वन्द्वकालमा बनाएका आधार इलाका, द्वन्द्वका अवशेषहरु अब पर्यटकीयस्थल बनेका छन । गाउँमा अब होमस्टेको व्यवस्था हुन थालेको छ । गुरिल्ला पदमार्ग मगर खाम जातीको संस्कृति अध्ययनका लागिसमेत उपयोगी छ । तत्कालीन माओवादी र सरकार पक्षको आक्रमणबाट बनेका अवशेष समेत पर्यटकहरुको लागि आकर्षणका केन्द्र बनेका छन ।
गुरिल्ला पदमार्गमा पर्ने सम्पूर्ण स्थल द्वन्द्वताका तत्कालीन माओवादी र राज्य पक्षका सेना तथा प्रहरीले प्रयोग गर्ने मुख्य बाटोमा पर्दछ । गुरिल्ला पदमार्गमा साना–ठूला ताल, नदी तथा खोला, मन्दिर, झरनाको दृश्यावलोकन गर्न सकिन्छ । गुरिल्ला मार्गले धेरैजसो द्वन्द्वपीडित बस्ती छुने भएकाले द्वन्द्वपीडितको बेदना, क्षति भएका भौतिक संरचना एवं विभिन्न संस्कृतिको अवलोकन गर्दा तत्कालीन युद्धको अनुभूति हुनेछ भने यसले युद्ध गर्दा हुने असरका बारेमा शिक्षासमेत पर्यटकलाई दिने गर्दछ । अहिले पुर्वी रुकुम नेपाली मात्र होइन बिदेशि पर्यटकहरु समेत पुग्ने गरेका छन । समाजशास्त्र, मानवशास्त्र एवं राजनीतिशास्त्र का विद्यार्थीहरुका लागि अध्ययन, अनुसन्धान र खोज गर्नको लागि गुरिल्ला पदमार्ग गन्तब्य भएको छ ।
पाँचथरको चियोभञ्ज्याङबाट सुरु भएर बैतडीको झुलाघाटमा गएर टुंगिने मध्यपहाडी लोकमार्गको दुरी १ हजार ७५० मध्य रुकुममा मात्र पुर्वी रुकुमको पाती फाल्ने देखि लिएर पश्चिमको चौरजहारी सम्म १३३ किलो मिटर सडक पर्दछ । लोकमार्गले पुर्वी रुकुमका बासिन्दालाई काठमाण्डौ सम्म जान पूर्व–पश्चिम राजमार्गमै झर्नुपर्ने बाध्यता हटेको छ । अहिले रुकुमकोटका मानिसहरु बाग्लुङ–पोखरा भएर काठमाण्डौ आवत जावत गर्न थालेका छन । विकासमा सधैं उपेक्षित पूर्वी रुकुममा यतिखेर मध्य पहाडी लोकमार्ग, दाङ–रुकुम सहिद मार्ग, सोलाबाङ–धाउने–रन्मामैकोट मोटर मार्ग, दाङ–चुनबाङ–रुकुमकोट–प्वाङ–सिस्ने हुँदै डोल्पा जोडने मोटर मार्ग बन्न थालेको छ ।
रुकुमकोटको पिडा
राणा शासनसम्म रुकुमको पूर्वी भाग पाल्पाबाट र पश्चिम भाग सल्यान र जाजरकोटबाट शासित थियो । २०१७ सालसम्म पश्चिम रुकुमको चौरजहारी क्षेत्र जाजरकोट, हुकाम रन्मामैकोट क्षेत्र बागलुङ र मुसिकोट, रुकुमकोट क्षेत्र सल्यान जिल्लाको प्रशासनको मातहतमा थियो । राजा महेन्द्रले २०१८ सालमा ३६ बाट १४ अन्चल ७५ जिल्ला बनाएपछि सल्यान, जाजरकोट र बागलुङ जिल्लाका केही भाग मिलाएर रुकुम जिल्ला बनेको हो । सुरुमा रुकुमको सदरमुकाम रुकुमकोटमा थियो । अर्को तर्फ समग्र रुकुम रुकुमकोटे, मुसिकोटे र बाँफिकोटे राजाहरुले शासन गरेको क्षेत्र हो । रुकुम जिल्ला भएपछि सुरुमा २०१८ सालमा रुकुमकोट बसेको सदरमुकाम १२ वर्षपछि २०३० वैशाख १ गते मुसिकोट सारियो । २०३२ सालमा बागलुङ जिल्लाबाट हुकाम, मैकोट, रन्मा र तकसेरालाई रुकुममा गाभियो । अहिले राज्य पुनस्संरचनाका क्रममा जिल्ला विभाजन गर्दा रुकुम जिल्ला पूर्व र पश्चिम बन्न पुगेको छ । पूर्वी रुकुमको सदरमुकाम ४४ वर्षपछि सदरमुकाम रुकुमकोट नै तोकिएपनि फेरि सदरमुकामको लागि गोल्खाडा र रुकुमकोटको बिवाद हुन थालेको छ ।
इतिहासमा रुकुमकोट
रुक्मेणी देवीको नामवाट रुकुमकोट रहेको र पछि रुकुमकोटवाट रुकुम नाम रहेको हो । सिंजा खस साम्राज्य छिन्नभिन्न भएपछि कर्णाली प्रदेशमा बि.स.१४३० तिर बाइसे राज्यहरुको स्थापना भयो । यसै क्रममा बडे राजा मलै बमका माइला छोरा पिताम्बरले रुकुम राज्य स्थापना गरेका हुन् । रुकुमको बोक्से जाडलाई मारेर राज्य स्थापना गर्ने क्रममा यिनले कर्मने बुढाथोकीको नेतृत्वमा धेरै जनाको सहयोग प्राप्त गरेका थिए । राजा पिताम्बरका केही पुस्तापछिका राजा जयत बम प्रख्याति बने । राजा जयत बमका सात भाई छोरा र दुइवटी छोरी थिए । छोरीहरुको बिहे प्यूठानी राजा र गजुले राजासंग गरिदिएका थिए । आपूm नब्बे बर्ष हुँदासम्म राज्य गरेका थिए । अन्त्यमा राजा जयत बलले आफ्ना सात भाई छोरालाई रुकुम राज्य बाडीदिएका थिए । जसले गर्दा बि.स.१६०० मा रुकुम राज्य टुक्रियो । त्यसपछि रुकुम, मुसिकोट, बांफि, आठबिस, जहारी, गोताम र खगेना जस्ता ससाना राज्य बन्न पुग्यो । खगेना राज्य बाहेक अन्य राज्यको अस्तित्व नेपाल एकीकरणको समयसम्म रहन गयो । पछि बहादुर शाहको नायवी तथा रणबहादुर शाहको शासनकालमा बाईसे राज्यहरु रुकुमकोट, मुसिकोट, गोतामकोट, आठविसकोट, बाफिकोट, कोटजहारी नेपालमा गाभिएको हो । २०१८ सालमा नेपाललाई चौध अञ्चल र पचहत्तर जिल्ला बनाउने क्रममा रुकुम जिल्ला भएको हो । जुन रुकुमकोटको नामबाट नै “कोट“ हटाएर रुकुम जिल्लाको नाम रहन गएको हो ।
कसरी पुग्ने ?
रुकुमकोट पुग्न मध्य पहाडी लोकमार्ग हुदै बाग्लुङ्गको बुर्तिवाङबाट सो लोकमार्ग हुदै एकैदिनमा निसि र काक्री घुम्दै रकुमकोट पुग्न सकिन्छ । पश्चिमतर्फबाट जाने हो भने दाङबाट सल्यान हँुदै पश्चिम रुकुमको मुसिकोट हुदै पनि रुकुमकोट पुग्न सकिन्छ । हवाई यात्रा गर्न चाहनेहरुका लागि नेपालगन्ज अथवा काठमाडौंदेखि मुसीकोटमा रहेको सल्ले विमानस्थलसम्म हवाई यात्रा गरेर मोटर मार्गबाट पनि रुकुमकोट पुग्न सकिन्छ ।