सनत रेग्मीको सिंहावलोकन

सनत रेग्मी
वरिष्ठ साहित्यकार

नेपालगन्जका वरिष्ठ साहित्यकार सनत रेग्मी आजबाट ७५ बर्ष लाग्दै छन् । यसै सन्दर्भ पारेर दैनिक नेपालगन्जका लागि पत्रकार झलक गैरेले उनकैनिवास स्थलमा पुगेर जीवन र जगत, संघर्ष र संगतीका कुरा गरे । जीवनको ७५ औं वर्ष टेकेका कथाकार रेग्मीले जीवनका हरेक रंगलाई खुलेर छरे, भने सबैतिरका आ–आफ्ना विशेषता प्रस्तुत गरे ।

पत्रकार झलक गैरेसँग ७५ औं जन्मोत्सवको सेरोफेरोमा वरिष्ठ श्रष्टा सनत रेग्मीको अन्तरंग


दैनिक नेपालगन्जका लागि एउटा स्तम्भको थालनी गरियो, ‘सिंहावलोकन’ ! पहिलो व्यक्तित्व रोजियो, वरिष्ठ श्रष्टा सनत रेग्मी । हामीले सोध्यौं, ७५ वर्ष लागिरहँदा जीवनको बारेमा तपाईंको बुझाइ के हो ? ‘आफ्नो निर्वाध गतिमा बाधा, अड्काउ जे जस्तो भएपनि तिनीहरुलाई पन्छाउँदै हिड्ने त्यही नै जीवन हो । मैले जीवनको लामो यात्रामा बुझेको नै त्यही हो,’ कथाकार रेग्मीले प्रष्टसँग भने । अनि उनी भन्दै गए, जीवनका हरेक रंग पखाल्दै गए, जीवनको सिंहावलोकन गरिरहे !


मानिस नितान्त एक्लो हुन्छ । मानिसलाई समाज आदी इत्यादीले बाँधेको त हुन्छ तर मानिस आफु स्वयंमा नितान्त एक्लो हुन्छ भन्ने मेरो बुझाई रह्यो । एक्लो मानिसले एक्लो आफैले बाटो बनाएर हिड्ने प्रयत्न गर्नुपर्दछ । त्यही नै जीवन हो, त्यसैलाई नै हामीले साहित्यमा बाँधेर लिएर जानु पर्दछ ।
जीवन भनेको आफ्नो मात्र जीवन होइन । मानिस मात्रको जीवन होइन । जब हामी मानिस मात्रको जीवनको कल्पना गर्दछौं, मानिसले बनाएको समाज पनि त्यसमा जोडिन्छ । मानिसले बनाएको दृष्टिकोणहरु पनि त्यसमा आउँछ । मानिस आफुमा एक्लो, मानिस समाजमा भएको सामाजिक प्राणीका रुपमा चाहीँ वैचारिक परिपुष्टता लगायत समग्र मानिसको जीवनलाई हामीले साहित्यमा उतार्ने हो । एक्लो मानिसको कुरा, सामाजिक मानिसको कुरा, मानिसका विचारधाराका कुरा यी सबैलाई साहित्यमा उतार्नु पर्दछ । साहित्यको उद्देश्य सबैको हित गर्नु हो ।

म वास्तवमा गहकिलो पाठक हो । मैले धेरै राम्रा पुस्तकहरु पढेको छु, सबै किसिमका । विभिन्न जाति कहाँबाट आए भन्ने मैले विशेष अध्ययन गरे । अध्ययन गर्दागर्दै झण्डै ३ हजार किताब मसँग जम्मा भएका छन् । एउटा किताब पढ्दा रिफरेन्स अर्को किताबको पनि हुन्छ । त्यसैले अर्को किताब पनि खोजेर पढे । यसले गर्दा धेरै किताब पढेको छु ।

साहित्यलाई जुन दिनसक्ने देन हो त्यो मैले दिन सकेको जस्तो भने लाग्दैन । मैले १ सय ५० कथा, ४०/५० निबन्ध लेखे होला, कविता कम लेखेको छु । साहित्य लेखन भनेको एउटा पाटो हो । म सामाजिक र राजनीतिक जीवनमा पनि लागे । त्यसले साहित्यमा जे चिज दिनसक्थे त्यो मैले अझै पनि दिनसकेको छैन ।


जुन बेलामा मैले राजनीति गरे, त्यो बेला एउटा राजनीतिको आदर्श थियो । जुन पिढीसँग मैलै राजनीतिक गरे त्यो पीढी, विपी, मनमोहनजी हुनुहुन्थ्यो । उहाँहरुको बेलामा मैले राजनीति गरेको हुँ । त्यसो हुनाले मेरो जीवन पनि आदर्शमै बित्यो । राजनीतिक आदर्शको खोजीमा हिडेको मान्छे हुँ ।
प्रजातन्त्र स्थापित भएपछि, प्रजातान्त्रिक मूल्य र मान्यता अनुसार मुलुक चलेपछि जनताको लागि राजनीति हुनुपर्ने ठाउँमा नेताको लागि राजनीति हुन थाल्यो । अनि मलाई बिस्तारै राजनीतिकदेखि मोह हराउँदै गयो बितृष्णा हुन थाल्यो, साहित्य तर्फ नै आकर्षित भए ।
राजनीति भनेको पद, पैसा र प्रतिष्ठाको वस्तु होइन । राजनीति भनेको जनताको जनताको जीवन स्तर उकास्न गरिने कर्म हो । राज्यको नीति भनेको जनताको जीवन स्तर उठाउने हुनुपर्दछ । अब अहिले चाही ठिक त्यसको विपरित बगिरहेको राजनीति देख्दछु । मलाई राजनीति प्रति अली वितृष्णा भैरहेको छ ।


म सुरुमा कम्युनिष्ट विचारधारा सँग धेरै प्रभावित भएको मान्छे हुँ । पछि विपीसँग सँगत बढ्पछि समाजवाद, साम्यवाद परिवर्तनका कुरा दीक्षित गर्नुभयो । त्यसपछि म प्रजातान्त्रिक समाजवादमा लागे । कम्युनिष्टको सिद्धान्त पनि नेपालका कम्युनिष्ट पार्टीमा देख्दिन म । लेलिन, माक्सले जुन सपना देखे स्टालिनले तोडिदिए । स्टालिन तानाशाह भए । माओले तोडिदिए । माओले एकदलीय तानाशाही हुनुपर्छ भने । माक्स र लेलिनले देखेका सपना हटे । अहिले नेपालमा कम्युनिष्ट नभएर कमाउनिष्ट मात्रै छन्, जुनसुकै पार्टीमा हेर्नुस्, माओवादी मान्नुस्, एमालेमा हेर्नुस्, जसमा हेर्नुस् त्यो छ ।
विपी, गणेशमान, कृष्णप्रसादका जुन आदर्श भन्दा पनि धेरै टाढा काँग्रेस गैसकेको छ । जसले गर्दा काँग्रेसले पनि जुन दृष्टिकोणबाट काँग्रेस स्थापना भएको थियो, राष्ट्रियता, प्रजातन्त्र र समाजवाद निर्माण । तर, पूँजीवादी नीति बढी हाबी भएको काँग्रेसमा देखा परेको छ । नेपालको सन्दर्भमा यहाँका राजनीतिक दलहरु दिशाहीन भैसकेका छन् ।

सबै राजनीतिक दलहरु प्रजातान्त्रिक पद्धति र प्रजातान्त्रिक प्रणालीमा चल्नुपर्यो । यहाँसम्म नेपालको सन्दर्भमा प्रजातन्त्र त आयो, प्रजातान्त्रिक पद्धतिको विकास भएन । जबसम्म प्रजातन्त्रिक पद्धतिको विकास हुँदैन, प्रजातन्त्र हुँदैन । राजनीति, दल साध्य होइन । साध्य भनेको मुलुकको समग्र विकास हो । मुलुकको समग्र विकास गर्नका लागि जे गर्दा राम्रो हुन्छ, त्यो गर्नुपर्छ भन्ने भावनाको विकास हुनुपर्छ । जबसम्म परिवर्तनका वाहक युवाहरु राजनीतिक दलमा आउँदैनन् । तबसम्म राजनीतिक दलमा पनि परिवर्तन आउन सक्दैन । नेपालका पढेलेखेका युवा बिस्तारै सत्तामा आउनु पर्दछ । ७५ बर्ष अब सन्यास लिने बेला भयो । म अब सक्रिय सदस्यता पनि त्यागेर राजनीतिबाट निष्क्रिय हुने सोचेको छु । बरु युवालाई अगाडि बढाउने सोंच छ ।

म सफल पनि हो असफल पनि हो । म सफल यो मानेमा हो कि देशमा प्रजातन्त्र आउनु पर्छ भनेर लागे प्रजातन्त्र आयो । तर, त्यसपछि राजनीतिलाई ट्याकमा लगेर प्रजातान्त्रिक पद्धति अनुसार देशलाई अगाडि बढाउनु पर्छ भन्ने जुन सोंच थियो त्यो सोंचमा चाहि हिड्न नसकेको हुनाले, नेपालका तमाम राजनीतिक दल जस्तै म पनि जिम्मेवार छु, त्यस मानेमा म पनि असफल पनि छु ।

साहित्य मेरो अभिरुचिको विषय हो । त्यसैले अहिले पनि म केही लेख्छु । अझै पनि मेरो केही विचार छ । जे जति मैले साहित्यमा दिन सके त्यस अनुसार साहित्यिक क्षेत्रले पनि मेरो मूल्यांकन गरेकै छ । त्यो दृष्टिकोणले हेर्दा म सफल जस्तो लाग्छ । असफल यो मानेमा हो कि ७५ बर्षको जीवनमा मैले जम्मा सय डेढ सयवटा कथा लेख्न सके । ४०/५० वटा निबन्ध मात्रै लेख्न सके । २०/२५ वटा मात्रै कविता लेख्न सके । त्यसैले यो मेरो अभिरुचिले गराएको क्रियाकलाप हो ।

म जीवन देखि सन्तुष्ट मान्छु । असन्तुष्ट यो मानेमा कि समाजमा म बसेको छु । त्यसमा असन्तुष्ट छु । पद, पैसा, प्रतिष्ठा केही होइन । विपी, गणेशमानजीले पद छाड्नु भयो । उहाँहरुले पद छाडेपछि पनि उहाँहरु स्थापित हुनुभयो । विपी पदमा बस्नुभयो, पद भन्दा बाहिर पनि बस्नुभयो, मनमोहनजी छोटो समय पदमा बस्नुभयो । पुष्पलालजी नेपाली समाजको राम्रो अध्येता हुनुहुन्छ । उहाँहरुको जीवनले हामीलाई प्रेरित पनि गरेको छ । पद, पैसा, प्रतिष्ठा क्षणिक हो । केही दिन रहन्छ । त्यसपछि समाप्त हुन्छ । आदर्शवादी व्यक्ति कहिल्यै झल्लु हुन सक्दैन । विपी, गणेशमान, पुष्पलालजीले समाजलाई केही दिएर जानु भएको छ ।

जीवनमा कर्म गर्दै जानु पर्दछ । फलको इच्छा गर्नु हुन्छ भने तपाईलाई जीवनमा कहिल्यै पनि सन्तुष्टि मिल्दैन । सन्तुष्टि नमिले पछि असन्तुष्ट हुनुहुन्छ । त्यसले विभिन्न विकास उत्पन्न हुन्छ । तपाईको कर्मले तपाई सफल बनाउँछ ।

मेरो त कस्तो छ भने यताका कुरा बिर्सदै गइन्छ । बचपन, युवाकालका कुरा धेरै सम्झन्छु । नजिकको धेरै कुरा बिर्सिन्छु । सायद यो शारीरिक कुराले होला । म अतितमा धेरै रमाउँछु । म सपनामा अझै पनि पुरानो घर, मेरो बाल्यकाल सम्झन्छु । म अतीतमा रमाउँछु ।

लेखनको माध्यमबाट मैले आउँदो पुस्तालाई केही दिइरहेको छु । नेपाली साहित्यमा अहिले नयाँ कुरा आएको छ । अहिले बुढ्यौली साहित्य संस्था पनि खुलेको छ । त्यसमा पुरस्कारको पनि व्यवस्था छ । त्यसमा बुढ्यौंलीमा मानिसले हेर्ने दृष्टिकोण रहेको छ ।
म नेपालगन्जको इतिहास अहिले लेख्दैछु । त्यो अहिले पुरा भने भएको छैन । पहिलेको अवस्थाबारे लेखेर भविष्यको पुस्ताले जानुन् भनेर लेखिरहेको छु ।
समाजमा ज्येष्ठ नागरिकका लागि आदरभाव छैन । त्यो दृष्टिकोण परिवर्तन हुनुपर्दछ । ज्येष्ठ नागरिकले समाजबाट खोजेको आदर र सम्मान हो, त्यो समाजले दिनुपर्दछ ।

गतिशील समाजको निर्माणमा यहाँका अगुवाहरु मिलेर राष्ट्रलाई उन्नतशील बनाउनु पर्दछ । उन्नतशील नेपाल निर्माण होस् भन्ने मेरो आकांक्षा छ ।

प्रतिक्रिया

प्रतिक्रिया