
नेपाली साहित्यमा कथाकारहरु त असंख्य छन् । तर त्यस्ता कथाकारहरुको खडेरी छ , जसको अनुहार उसका कथाहरुमा पनि देखिन्छ ।

सनत रेग्मी, जसलाई म सधैँ सम्मानसहित दाइ भन्ने गर्छु, सित जोडिएका मेरा स्मृतिहरुको कुरा गर्नु पर्दा मैले समयलाई उल्टो फर्काएर आफूलाई अतीतमा नपुर्याई सुखै पाउँदिनँ । तर, यो अतीत यात्रा मेरालागि सधैँ सुखद र स्मरणीय रहेको छ ।
यतिबेला म टाइम मसिनमा छु र यो बिस्तारै अतीतको आकाशमा उल्टो यात्रा गर्ने सुरसार गर्दैछ । म सिट बेल्ट बाँधेर समय मसिनमा बसेको छु । मेरा हातमा छन्, सनत दाइका केही थान कथा संग्रहहरु, जसको आवरणलाई मैले यात्रा अवधिभरि सुम्सुम्याइरहने छु । तर आवरण सुम्सुम्याउँदा म सनत दाइका कथामा आएका अनेक पात्रहरुको दुःख, संघर्ष र जीजिविषालाई पनि छामिरहेको छु । त्यसैले यो यात्रामा सनत दाइका पात्रहरु पनि मसँगै यात्रारत् छन् ।
समय–मसिन अतीतको धावनमार्गमा अवतरण गरिसकेको छ । मैले सिट बेल्ट फुकालिसकेको छु र मसँगै यात्रारत् सनत दाइका पात्रहरुसँगै ओर्लँदै छु । ओहो, यो धावनमार्ग कति विशाल छ ? किनभने यो स्मृतिको धावनमार्ग हो । यहाँ निमेषभरमै सम्झनाका अनेक अनेक श्रृंखलाहरुको अवतरण भैरहन्छ । सम्झनाहरुको यही भीडमा म खोजिरहेछु सनत दाइलाई ।
र उहाँ बसिरहनु भएको छ त्रिभुवन चोकको पश्चिम दक्षिण मोहडानिरको विद्या कुटिरको काउन्टर पछाडिको काठको कुर्सीमा । विद्या कुटिर सिंगै पश्चिम नेपालकै लागि एउटा महत्वपूर्ण किताब घर हो । म देखिरहेछु, यो किताब पसलका र्याकहरुमा पाठ्यपुस्तकसँगै नेपाली साहित्यका किताबहरु पनि छन् । सायद हिन्दी साहित्यका पनि छन् । तर किताबसँगै कापी र कलमहरु पनि छन् र छन् लोक्ता कागजका मुठाहरु पनि छन् । ब्यापारीहरुलाई चाहिने बही खाताहरु पनि छन् र लेखा प्रणाली दुरुस्त राख्ने रजिष्टरहरु पनि छन् । मलाई यो पसलका किताबहरुले मात्र हैन, ती किताबहरुबाट आइरहेका अजीब खालका वास्नाहरुले पनि प्रभावित पारेको छ ।
तर यी सबै वृतान्तको खासै अर्थ छैन । मेरालागि त अर्थपूर्ण भएको छ, काउन्टरको पछाडि कुर्सीमा बसिरहेको सनत दाइको व्यक्तित्व र त्यो व्यक्तित्वबाट उत्पन्न भैरहेको एउटा अजीब खालको गरिमा ।
मैले सनत दाइसित एक मिटरको दूरीमा उभिएको आज पहिलो दिन हो । सायद म कक्षा आठमा पढ्दैछु र अस्तिमात्र घरपछाडिको परालको कुन्युमा बसेर एउटा कविता लेखिटोपलेको छु । हिजैमात्र मैले त्यो कविता रेडियो नेपालको बालकार्यक्रमका लागि पठाएको छु । आज बिहानमात्र मैले लेखेका केही कविताहरु बुवालाई देखाएको थिएँ र उहाँले नै विद्या कुटिर गएर सनत दाइलाई ती कविताहरु देखाउने सल्लाह दिनु भएको थियो ।
म यतिबेला केही कविताहरुसहित यहाँ आएको छु । मेरा केही थान बालसुलभ कविताहरु यतिबेला खल्तीबाट निस्कन खोजिरहेका छन् । तर मैले ती कवितालाई खल्तीबाट निकालेर सनत दाइको हातमा राखिदिन सकेको छैन । सनत दाइको उचाइ त उति ठूलो होइन, तर उहाँको व्यक्तित्वको उचाइको अगाडि मैले यतिबेला आफूलाई बामपुड्के ठानिरहेको छु । यतिबेला पनि सनत दाइका आँखामा बाक्लो चश्मा छ । उहाँको भुँडी यतिबेला पनि पुट्ट उक्सिएको छ । उहाँको व्यक्तित्वमा एक खालको अस्तव्यस्तता देख्दैछु म । पसलमा ग्राहकहरु आएका छैनन् र उहाँ कुनै मोटो किताब पढिरहनु भएको छ । उहाँ सायद त्यही किताबले निर्माण गरेको कुनै अर्कै लोकमा विचरण गरिरहनु भएको छ । त्यसैले त उहाँले म उहाँभन्दा दुई तीन हात पर उभिँदा पनि चाल पाइरहनु भएको छैन ।
विद्या कुटिर मैले सधैँ स्कुल जाँदा या फर्कँदा देखिरहेन पुस्तक पसल हो । त्रिभुवन चोकमा यो पसलको आफ्नै भव्य गरिमा छ जस्तो लाग्छ । यो पसलमा प्रायः सनत दाइको बुवा बस्ने गर्नु हुन्छ, जसका सामु म उभिने पनि हिम्मत गर्न सक्दिनँ । बोली अलिक कठोर जस्तो लाग्छ मलाई उहाँको । बोलेको हो कि हप्काएको भनेर म ठम्याउन सक्दिनँ । त्यसैले कैलेकाहीँ कापी किताब किन्न आउँदा उहाँसित धेरै बोल्न नपरोस् भनेर म सचेत रहन्छु । सनत दाइ सायद कहिलेकाहीँ बुबालाई पालो दिनमात्र यो पसलमा बस्नु हुन्छ । सनत दाइलाई किताबमा त रुचि छ सायद । तर किताबको व्यापारमा खासै रुचि भएजस्तो लाग्दैन । त्यसैले त उहाँ पसलमा बस्दा ग्राहक कुरिरहेजस्तै लाग्दैन । लाग्छ, उहाँ पसलमा हैन, आफ्नो पुस्तकालयमा हुनुहुन्छ र हरपल किताबको दुनियाँमा हराउन अभ्यस्त हुनुहुन्छ ।
म आएको उहाँले चालै पाउनु भएको छैन र मलाई अब आफू धेरै बेर त्यहाँ उभिरहन सक्छु जस्तो लाग्न छाडेको छु । एउटा विशाल व्यक्तित्वको अगाडि पुग्दाको आभासले मेरा खुट्टाहरु लगलग काँमिरहेका छन् । जाडोमा पनि कताकताबाट चिटचिट पसिना आउन खोजेजस्तो पनि लागिरहेको छ ।
मलाई थाहा छ, आज हिम्मत गरिनँ भने अब लगभग दुई वर्षसम्म मेरो उहाँसित चिनजान हुनेछैन । उहाँसित चिनजानका लागि मेरो कविता २०३९ सालको मंसिरको “रुपरेखा”मा छापिनु पर्नेछ । काठमाण्डौबाट निस्कने अत्यन्त चर्चित पत्रिकामा कविता छाप
००
वास्तवमा सनत दाइ साहित्यकार हो भन्ने कुरा मैले हिजोमात्र बुबाबाट मात्र थाहा पाएको हुँ । अस्तिसम्म त मैले उहाँलाई नेपाली काँग्रेसको यस भेगको चर्चित नेताको रुपमा मात्र चिनेको थिएँ जो बेलाबेलामा सरकारी कोपभाजनको शिकार भएर जेल गैरहन्छ । सायद राजनीतिकै कारणले हुनुसक्छ, सनत दाइले आफ्नो बुवालाई पुस्तक व्यवसायमा राम्ररी सघाइरहनु भएको छैन र त्यसैले बेलाबेलामा उहाँ पसलमै बुवाको असन्तोषको शिकार भैरहनु परेको छ । एक दुईपटक मैले कलम, मसी या कापी किन्न जाँदा उहाँले पिताको आक्रोशलाई चुपचाप सुनिरहेको देखेको पनि छु ।
००
टाइम मसिनमा यात्रारत हुनुको फाइदा नै हो यो । यसले सजिलै अतीतको यात्रामा लगिदिन्छ ।
यो २०३९ साल हो । रुपरेखामा मेरो एक टुक्रा कविता छापिएको छ । महेन्द्र पुस्तकालयमा कुनै साहित्यिक कार्यक्रम हुँदैछ र म त्यहाँ पुगेको छु । अब त एसएलसी पनि पास गरिसकेको छु र ओठमा हल्का जुँगाको रेखी पनि बसिसकेको छ । अझ म त केही महिनाअघि घरबाट भागेर बम्बईसम्म पुगेर आइसकेको छु । त्यसैले म दुई वर्षअघिको जस्तो कमजोर स्थितिमा छैन । त्यसैले आज मैले हिम्मत गरेरै उहाँलाई आफ्नो परिचय दिएँ । उहाँले चिनिहाल्नु भयो र भन्नु भयो, “अरे यार, रुपरेखामा कविता छापिएको तिमी नै हौ ?”
उहाँले अनुहारमा मुस्कानसहित यो प्रश्न गर्नु भएको थियो । मैले सनत दाइको ओठमा मुस्कान देखेको नै यही २०३९ सालमा हो । हो, पहिलोपटक मैले सनत दाइलाई मुस्कानसहित देखेँ । उहाँको मुस्कानमा आत्मीयता थियो । २०३९ सालको यो चिसो दिनमा मैले सनत दाइको अनुहारमा मप्रति स्नेह पनि देखेँ । मलाई थाहा छ, दाइको मप्रतिको स्नेह अब जीवनपर्यन्त कायम रहनेछ । किनभने रगतको साइनो नभए पनि शब्द र अक्षरको साइनोले हामीलाई दाजु भाइ बनाउने छ ।
म क्याम्पसमा पुगेको छु । केही कथा कविता राष्ट्रिय स्तरका पत्रपत्रिकामा छापिइसकेकोले साथीभाइ र केही गुरुहरुमाझ म प्रिय पनि भएको छु । साथीभाइको ठूलो समूह निर्माण भैसेकको छ अब । सायद त्यसैले होला कताकताबाट मलाई नेविसंघसित आवध्द भएर विधार्थी राजनीतिमा लाग्ने प्रस्ताव पनि आइपुगेको छ । मलाई थाहा छ , नेविसंघ नेपाली काँग्रेस समर्थित विधार्थी संगठन हो । वास्तवमा काँग्रेसको चिन्तन, दर्शन र वैचारिक पृष्ठभूमिबारे मलाई खासै जानकारी छैन । तर पनि मैले त्यो प्रस्ताव स्वीकार गरेँ । त्यसको एउटै कारण हो, नेपाली काँग्रेस विश्वेश्वरप्रसाद कोइरालाको पार्टी हुनु र सनत दाइ त्यही पार्टीसित आवद्द हुनु । नेविसंघसितको मेरो छोटो आवद्दताको कारण बस् यतिमात्र हो । मलाई थाहा छ, विक्रम सम्बत् २०७८ सालतिर पनि मेरो मनले मसित सोध्नेछ, “अबे नयनवा, के सनत रेग्मी कम्युनिष्ट भएको भए तँ पनि कम्युनिष्ट नै भैजान्थिस् ?”
मलाई मन जवाफ दिनेछु, “हो, म सनत दाइकै पदचिन्हलाई पच्छ्याउने थिएँ ।”
००
अब भने वर्तमानमा छु । आज २०७८ सालको असोज महिनाको चार गते हो । यतिबेला रातिको नौ बजेको छ र मेरा औँलाहरु किबोर्डमा चलिरहेका छन् । यतिबेला मेरो मनमा सनत दाइकै जीवन्त तस्विर चलायमान भएर यताउता गरिरहेछ र म अक्षरहरुमा उहाँको ब्यक्तित्व र उहाँसितको संगतका केही दृश्यहरुको रिललाई फेरि इस्टमेन कलरमा स्मृतिको पर्दामा घुमाउँदैछु । प्रोजेक्टरभित्र कार्बन बलिरहेछ र त्यसको उज्यालोमा दृश्यहरु प्रकाशिलो भैरहेका छन् ।
त्यही उज्यालोमा प्रकाशमान भैरहेका छन् लछमनियाको गौना, घन्टाउके, रुपबजार जस्ता विश्वजनीन कथाहरु र तिनका अद्भूत पात्रहरु । सनत दाइको कथामा नेपालगन्जको रैथाने स्वाद पाइन्छ र त्यही स्वाद नै उहाँको परिचय भएको छ । उहाँको त्यो परिचय नेपाली साहित्यमा उभिएको एक गर्विलो व्यक्तित्वको आभा पनि हो । उहाँ जस्तो बोल्नु हुन्छ, त्यही भाषिक संरचनामा लेख्नु पनि हुन्छ । त्यो उहाँको लेखनको अर्को विशेषता हो । त्यसले उहाँका कथाहरुलाई स्वाभाविक र सरल बनाएका छन् । सनत दाइ मेरालागि त्यस्तो व्यक्तित्व हो, जसको अनुहार उहाँले लेखेका कथाहरुमा पनि देखिन्छ । उहाँको लवजमा, उहाँले निर्माण गरेका चरित्रहरुमा, उहाँले सिर्जना गरेका कथाभित्रका परिवेशहरुमा उहाँको टड्कारो उपस्थिति देखिन्छ । नेपाली साहित्यमा कथाकारहरु त असंख्य छन् । तर त्यस्ता कथाकारहरुको खडेरी छ , जसको अनुहार उसका कथाहरुमा पनि देखिन्छ । अहिले पनि तमाम लेखकहरु आफ्नो साहित्यमा आफ्नै अनुहार नभेटेर चिन्तामा छन् । यस्तोमा सनत दाइलाई उज्यालो अनुहारसहित आख्यानसाहित्यमा उभिइरहनु मेरालागि त गौरवको कुरा हो । किनभने म उहाँको भाइ हुँ । अक्षर र शब्दहरुले जुराइदिएको यो नाता हो । यो नातामा म गौरववोध गर्छु ।
म सनत दाइसित धेरै भन्दा धेरै समय बिताउन चाहन्छु । उहाँसित लामो कुराकानी गरेर एउटा अन्तर्वार्ता लिन चाहन्छु । किनभने म उहाँको व्यक्तित्वलाई मेरा शब्दहरुमा पनि जीवन्त बनाइराख्न चाहन्छु । के सनत दाइ मेरा शब्द र अक्षरहरुको घरमा बस्न आउनु होला ? त्यो घर उहाँलाई साँघुरो या सुविधाजनक के होला ? म सोचमग्न छु ।
सोच्दासाेंच्दै म फेरि वर्तमानबाट अतीतमा पुगेँ । दाइ, प्रज्ञाप्रतिष्ठानको सदस्य सचिब भएर फेरि काठमाण्डौमा आउनु भएको छ । आज उहाँले मसित सोध्नु भएको छ, भाइ, तिम्रो घरमा कोठा खाली छ ? मलाई डेरा चाहिएको छ ।
त्यसपछि दाइ एकसाथ मेरो घरमा पनि बस्नु भयो र मेरो हृदयमा पनि ।
आज उहाँ आफ्नो ७५ औं वर्ष प्रवेशको उत्सवमय स्थितिमा हुनुहुन्छ । मेरो अथाह शुभकामना छ दाइलाई । मेरो घर त छाडेर उहाँ फेरि नेपालगन्ज गैसक्नु भएको छ । तर दाइले आज पनि मेरो हृदयको डेरा छाड्न सक्नु भएको छैन । किनभने मैले यहाँबाट उहाँलाई निस्कने अनुमति दिएकै छैन ।
०००