जनगणनामा लेखाउने भाषाको विषयले नेपालगन्ज तात्न खोजेको देखिन्छ
शाहिदा शाह
‘राष्ट्रिय जनगणना २०७८ मा अवधी भाषाको संख्या घट्ने निश्चित भएको छ । किनकी मुस्लिम समुदायले जनगणनामा आफ्नो मातृभाषा उर्दु, अरबी भन्ने गरेका छन्, यस विषयमा मुस्लिम अगुवाहरुको ध्यान जाओस्,’ अवधी पत्रकार संघका संस्थापक अध्यक्ष सुर्यलाल यादवले राष्ट्रिय जनगणना–२०७८ को सार्वजनिक सूचना सामाजिक सञ्जालमा पोष्ट गरेपछि जिल्लामा भाषाको बहसले एउटा तरङ्ग उत्पन्न गरेको छ ।
हरेक दशकमा एक पटक हुने जनगणनामा हाम्रो भाषा के हुने ? धर्म के हो ? जात के लेख्ने ? जस्ता बहस भइरहँदा यादवले अवधीबारे चिन्ता गरेका हुन् । कुन क्षेत्रका कुन जाति समुदायको मातृभाषा के हो भन्ने बहसको विषय बनेको छ । यही बहसकै बीच नेपालगन्जका विभिन्न क्षेत्र पेशा समुदायसंग आबद्ध व्यक्तिहरुको बुझाइ र तिनका अभिव्यक्ति बारे दैनिक नेपालगन्जले चासो राख्यो ।
‘बाँके जिल्लाका बजार क्षेत्रका केही र मौलाना मोलवी बाहेक सबैको मातृभाषा अवधी नै हो,’ बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री इस्तियाक राईले यादवलाईनै प्रष्ट पार्दै भनेका छन्, ‘मेरो मातृभाषा अवधी नै हो, संसद एक जना मात्र मैले सपथ पनि अवधी मै लिएको हुँ ।’
राज्यले अवधी भाषाको संरक्षण, विकास र उत्थानका लागि पाठ्यक्रम विकास केन्द्रबाटै माध्यामिक तहसम्मका पाठ्यपुस्तकनै प्रकाशनको नीति लिएको छ । ‘१ द्येखि ५ कक्षासम्मको तयार भइसक्यो,’ अवधी भाषा विज्ञका रुपमा पाठ्यक्रम विकास केन्द्रमा सक्रिय पत्रकार विजय कुमार बर्माले दैनिक नेपालगन्जसँग भने, ‘छिट्टै ८ कक्षासम्मको तयारी गरिंदैछ ।’ उनका अनुसार, सरकारले कक्षा १२ सम्मका लागि अवधी भाषाका पाठ्यक्रम लागु गर्ने गरि काम अगाडी बढाएको छ ।
‘यो भाषालाई पहिचान संग जोडेर धर्मिक बनाइदैे, धार्मिक अगुवाहरुले धर्म सँगै जोड्ने हो भने मुस्लिम धर्मग्रन्ध धेरै जसो अरबी भाषामा छ त्यो साेंचे हुन्थ्यो,’ पत्रकार बर्माले भनेका छन्, ‘अहिले उर्दू त मात्र पाकिस्तानको राष्ट्रीय भाषा हो तर, अरु मुस्लिम देश ब्रुनेई, इंडोनेशिया, सऊदी सबको भाषा अलग छ तर मुस्लिम पहिचान यथावत नै छ, पहाडका मुस्लिम नेपाली नै प्रयोग गर्छन् ।’
पत्रकार बर्माले भाषागत तर्कलाई गम्भीर बनाउँदै भनेका छन्, ‘भारतमा मुगलहरुले जसले आफुलाई इलले इलाही भन्थे उनिहरुले चलाएको भाषा हो, भाषाले धार्मिक पहिचान कहिं गुमेको छैन भाषा कै कारण बांग्लादेश बनेको हो यो कुरा नबुझे हाम्रो अवधी प्रान्तमा विवाद बढ्न सक्छ ।’ १८ करोडबढी मुस्लिम भएको भारतमा सबैको भाषा प्रान्त अनुसार फरक पाइएको तथ्य उठाउँदै पत्रकार बर्माले दैनिक नेपालगन्जसँग भने, ‘भाषा र धर्म फरक हो, यसलाई जबर्जस्ती एकआपसमा जोड्ने काम गलत हो ।’ पछिल्लो कदमले मुलकभर अवधी भाषीको संख्या ह्वात्तै घट्ने सम्भावना औल्याउँदै बर्माले ‘बोल्ने अवधी, जनगणनामा लेख्ने भाषा अन्यनै देखिएको’ बताए ।
नेपालगन्ज–८ का स्थायी बासिन्दा रविन्द्र कुमार कर्ण त्रिभुवन विश्वविद्यालयका सह– प्राध्यापक हुन् । ‘मेरो मातृभाषा त मैथिली हो घरमा मैथिली बोलिन्छ, घर बाहिर अवधी, हिन्दी र नेपालीमा कुरा गर्छु ।’ जनगणनामा लेखिने भाषा बारे उनले दैनिक नेपालगन्जसँग भने, ‘मधेशमा धेरै जातजाति समुदायको बसोबास छ, सबैको आ–आफ्नो मातृभाषा छ । यो ठाउँ उत्तर प्रदेशको अवधसंग गांसिएकोले अधिकांश अवधी, उर्दु, हिन्दी, तामाङ, थारु लगायतका मातृभाषा बोल्ने गर्छन् ।’ ‘बाहुल्यताको हिसाबले बढी जसो अवधी नै बोल्दछन्,’ सह–प्राध्यापक कर्णको भनाइ छ ।
सुनिल कुमार गुप्ता पेशाले संस्थागत विद्यालय सञ्चालक हुन् । ‘मेरो विचारमा क्षेत्र र ठाउँ अनुसार भाषा फरक हुन्छ यसको धर्मसंग केही लेना देना छैन,’ गुप्ताले भनेका छन्, ‘एकाधलाई छोडिदिने हो भने नेपालगन्जमा रहेका सम्पूर्ण नेपालगन्जिया मुस्लिमहरूको मातृ भाषा अवधि नै हो ।’ यही कुरालाई अवधी पत्रकार संघका केन्द्रीय अध्यक्ष राकेश कुमार मिश्रले पनि जोड दिन्छन् ।
अधिवक्ता जमालुद्दीन अन्सारीले नेपालगन्ज धम्बोजी चोक –२ का स्थायी वासिन्दा हुन् । जनगणनामा नेपाली मुस्लिमहरुले मातृभाषाको कोष्टमा कुन भाषा लेखाउने भनि अन्योलमा रहेको उनको बुझाइ छ । ‘त्यस उपर कथित रुपले एउटा अमुक भाषाको जिकर लिइ विभिन्न सामाजिक सञ्जालमा प्रचार प्रसार हुँदैछ,’ अधिवक्ता अन्सारीले दैनिक नेपालगन्जसँग भने, ‘जुन मातृभाषा प्रति न्यायसंगत देखिंदैन ।’
जन्म पछि मानिसले सिक्ने पहिलो भाषा नै निजको मातृभाषा हो । यसले राष्ट्रिय भाषा, धार्मिक भाषा वा सञ्चारको भाषाबाट फरक विशेषता राख्दछ । मातृभाषाले धर्म र देशलाई प्रत्यक्ष प्रतिनिधित्व नगरी व्यक्तिको सामाजिक तथा भाषिक पहिचानको प्रत्यक्ष प्रतिनिधित्व गर्दछ । अधिवक्ता अन्सारी भन्छन्, ‘नेपाली मुस्लिमले जुन पहिलो भाषा सिकेका छन्, सोही नै भाषा निजको मातृभाषा हो । यो सुझाव नेपालका हिमाल पहाड तराई क्षेत्रका सम्पूर्ण नेपाली मुस्लिमहरुको लागी हो ।’
अधिकारकर्मी एवं अधिवक्ता विश्वजीत तिवारीले मिश्रित समुदायको बस्ती रहेको शहर भएकाले नेपालगन्जका प्रायः मधेसीहरु अवधी भाषी रहेको बताउँछन् । ‘यहां बस्ने मुस्लिमहरुको पनि अधिकांशको मातृभाषा अवधी नै छ,’ नेपालगन्जको पहाडी समुदायका व्यक्तिहरु पनि टोलछिमेकमा संवाद गर्दा अवधी नै बोल्ने संस्कार उल्लेख गर्दै अधिवक्ता तिवारीले दैनिक नेपालगन्जसँग भने, ‘दोस्रो भाषामा नेपाली भाषा बढी बोलिन्छ । किनकि सरकारी कामकाज अड्डा अदालत जाँदा त्यहाँ नेपाली बोल्छन् ।’
पत्रकार सिराज खानले भने, आफुहरुको भाषा उर्दु भएको प्रष्ट पारेका छन् । उनले यादवको पोष्टमै त्यसबारे बहस गरेका छन् । ‘हामी मुस्लिमहरुको भाषा उर्दु हो,’ नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कार्य समिति सदस्य मो. आरिफ अंसारीले दैनिक नेपालगन्जसँग प्रष्टसँग भने, ‘जे आफ्नो भाषा हो, त्यही लेखाउने हो यसमा बहस विवाद केही आवश्यक छैन ।’
अवधी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णु लाल कुमालले आमाले आफ्नो नवजात शिशुलाई सिकाउन माया गर्ने हप्काउने तथा घर पालुवा जीव जन्तुसंग समेत बोल्ने भाषानै मातृभाषा भएकाले अन्योलमा नरहन सुझाव दिन्छन् । मानिस आफ्नो पीडा,खुशी आफ्नो मातृभाषामा जति सहजै व्यक्त गर्न सक्छ । अन्य भाषामा बोल्दा त्यति षहज र स्तरीय हुदैंन् । गीत गाउने, रुने कार्यमा पनि प्रायः मानिस आफ्नै मातृभाषामा नै गर्दछ ।
‘कुनै पनि धर्म, संस्कृति र समुदायको मानिसको एउटै मातृभाषा पनि हुन सक्छ,’ अध्यक्ष कुमाल भन्छन्, ‘हामी नेपालगन्जबासी अवध क्षेत्रमा बसोबास गरी रहेका छौं, अवध क्षेत्रको संस्कृति र भाषा अवधी हो यसलाई फलाउन फुलाउन मुगल नवाबहरुको पनि विशेष भुमिका रहेको छ । अवधी भाषा यस भेगका लागि धेरै जाति, धर्मको मानिसहरुको बोल्ने गरेका छन् ।’ अवधी लाई ‘दिहाती’ भाषा पनि भनिने तर्क गर्दै उनले दैनिक नेपालगन्जको एउटा जिज्ञासामा भने, ‘यसरी सरसरी हेर्ने हो भने लुम्बिनी प्रदेशको हामी तराई मधेशबासीको अधिकांशको मातृभाषा अवधी नै रहेको हामी बोली व्यवहारमा पाउने गरेका छौं ।’
नेपालगन्ज–१२ स्थित गुरुद्वाराका पुजारी शिख समुदायका धर्मगुरु सोहन सिंहले शिख समुदायको आफ्नै मातृभाषा र लिपी रहेपनि हिन्दी, अवधी र नेपालीनै बढी बोल्ने गरेको बताउँछन् । ‘हामीले घरमा बोल्ने मातृभाषा पंजाबी हो, हाम्रो धर्मग्रंथ पंजाबी भाषामा लेखिएको छ,’ सिख धर्मगुरु सिंहले दैनिक नेपालगन्जसँग भने, ‘तथापि आफ्नो दैनिक कृयाकलापमा सहरभित्र हिन्दी र गाउँतिर अवधी बोलिन्छ । त्यसपछि हामी बढी बोल्ने भनेको नेपाली भाषा हो ।’
नेपालगन्ज–३ की स्वयंसेविका कमरुननिशा मुस्लिम बाहुल्यता रहेको नेपालगन्जको ३ नम्बर वडामा काम गर्छिन् । ‘घर घर जान्छु खोप लगाउन, भिटामिन खुवाउन अन्य स्वास्थ्य सम्बन्धी तालिम भयो भने पनि बोलाउन जान्छु,’ उनले दैनिक नेपालगन्जको एउटा प्रश्नमा भनिन्, ‘मैले सबैको घरमा अवधी भाषा नै बोलेको भेटाएकी छु ।’ उनले घर घरमा अवधी बोलिएपनि अचेल बच्चाहरुलाई उर्दु बोल्न सिकाएको पाइएको जानकारी दिंदै भनिन्, ‘उर्दु कोही कोही बोल्छ होला होईन् भने अधिकांशले बोल्ने भाषा मेरो वडामा अवधी नै हो ।’
नेपालगन्ज –७ की हसीना बानोले मुस्लिम समुदाय आफ्नै भाषा र लिपी रहेकाले मुस्लिम समुदायको धर्मग्रन्थ अरबी भाषामा भएपनि पढेर बुझ्न देश र स्थान अनुसारको भाषामा अनुवाद गरिएको बताइन् । ‘अरबी त समुदायगत भाषा हो, हामी समुदायको हिसाबले सिक्नु पनि पर्छ, तर मातृभाषा भने हाम्रो समुदायमा फरक–फरक छ,’ उनी भन्छिन्, ‘नेपालगन्जको कुरा गर्नुहुन्छ भने यहांँ नगरमा केही मात्रा उर्दु बोल्छन् होला गाउँतिर भएका मुस्लिम मधेशी दुबै समुदायले अवधी भाषा बोल्छन् ।’ पूर्वतिरका बढी जसो मुस्लिमहरु मैथिली बोल्ने गरेको र पहाडका मुस्लिमहरु मिंया भाषामा कुरा गर्ने गरेको जानकारी दिंदै बानोले दैनिक नेपालगन्जसँग भनिन्, ‘म सानै देखि घरमा अवधी भाषा सुन्दै सिक्दै र बोल्दै हुर्केकी छु, बजारमा तरकारी, घरायसी सरसामान किन्दा पनि अवधी नै बोल्छु । सरकारी कार्यालयमा जाँदा नेपाली बोल्छु ।’
अवधी भाषी क्षेत्र
विजय बर्मा
राजनीतिक किसिमले देशको क्षेत्र निर्धारण गरे जस्तो भाषाको निश्चित क्षेत्र तोक्न अलि गार्हो हुन्छ । नेपालको र भारतको विशाल क्षेत्र अवधी भाषाभाषी क्षेत्रका रूपमा आउँछ । भाषिक सीमाको आधार भन्नु पर्दा यसको पूर्वमा भोजपुरी, पश्चिममा कन्नौजी, उत्तरमा थारू र नेपाली, तथा दक्षिणमा उडिया, तेलगू, मराठी, राजस्थानी आदि भाषा बोलिन्छन् । यसका साथै फिजी, मारिसस, त्रिनिदाद, टोबागो, गयाना, सुरिनामसहित अस्ट्रेलिया न्युजिल्यान्ड, हल्यान्ड आदि देशहरूमा लाखौँको सङ्ख्यामा अवधी भाषा बोल्नेहरू रहेका छन् ।
नेपालमा अवधी भाषा खास गरेर नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्ला अर्थात् वर्तमान प्रदेश नं. ५ तथा ७ अन्तर्गत पर्ने तराई–मधेशका लगभग सम्पूर्ण जिल्लामा बोलिन्छ ।
राष्ट्रिय तहमा अवधी भाषाको सीमारेखा दक्षिण र पश्चिमतिर देशको राजनीतिक सीमारेखा अवधी भाषी क्षेत्र कायम भएकाले यी दुईतिर कुनै विवाद छैन, उत्तरतिर पनि भाषिक किसिमले विवाद देखिँदैन । बाँकी पूर्वतिर अलि विवादित नै रहेको छ । अवधी भाषाको पूर्वमा बोलिने भाषा भोजपुरी हो तर यसलाई पूर्वी बोलीका रूपमा अवधी भाषी क्षेत्रमा बुझ्ने गरिन्छ । उदाहरणका लागि पूर्वी लोकगीत अवधी भाषी समुदायमा बोधगम्य र लोकप्रिय रहेको छ । यथार्थमा नारायणी नदीलाई अवधी भाषाको पूर्वी सिमाना मान्दा नवलपरासी जिल्लामा सामान्य विवाद देखिन आउँछ, त्यो पनि अवधी र भोजपुरी भाषी बिच साँस्कृतिक सम्बन्धका कारण, त्यहाँको भाषा मानक अवधी वा मानक भोजपुरी रहेको छैन । जस्तै आमा अवधी भाषी– बाबु भोजपुरी भाषी वा बाबु अवधी र आमा भोजपुरी, वैवाहिक सम्बन्ध कारण त्यहाँ यस्तो अवस्था सिर्जना हुन पुगेको छ। त्यसकारण नवलपरासीमा अवधी र भोजपुरी भाषा समानान्तर रूपमा रहेको पाइन्छ । यो कुरा क्षेत्र भ्रमणमा जाँदा स्पष्ट रूपमा देख्न र अनुभव गर्न सकिन्छ । अतः अवधी भाषाको पूर्वी सिमाना भौगोलिक रूपमा नारायणी नदीलाई मान्न सकिन्छ ।
अवधी भाषाभाषी समुदाय:
माथि नै उल्लेख गरिसकिएको छ कि यो भाषा कुनै जातजातिको भाषा होइन । यो समुदायको भाषा हो । यस समुदाय भित्र विभिन्न जातजातिहरू संरचनागत प्रकार्यमा रहेर बसोबास गरेका हुन्छन् । यस अवधी भाषी समुदायमा बसोबास गर्ने प्रमुख जातजातिहरू: मुसलमान, यादव, कुर्मी, ब्राह्मण, तेली, धोबी, हरिजन, कोइरी, सन्यासी, धानुक, पासी, सोनार, केवट, बनिया, मल्लाह, कलवार, कोहार, नाँऊ, कानू, हलवाई, राजपूत, कायस्थ, बढई, बरई, कहार, लो, राजभर, चिडिमार, माली, लोहार, लोनिया तथा अन्य रहेका छन् । वि.सं. २०६८ को जनगणनाअनुसार नेपालमा कूल अवधी भाषाभाषीको जनसङ्ख्या ५,०१,७५२ रहेको उल्लेख छ तर राष्ट्रिय जनगणनाको तथ्याङ्कतथ्याङ्कअनुसार अवधी भाषी क्षेत्रका जिल्लाहरूमा अवधी भाषी समाजको जातीय तथ्याङ्कतथ्याङ्क र भाषिक तथ्याङ्कतथ्याङ्क फरक– फरक पाइन्छ । यसले तथ्याङ्क विभागले दिएको तथ्याङ्क उपर अवधीभाषीहरूले प्रश्न चिन्ह खडा गरिरहेका छन् । गणक, सूचनादाता, सूचना संकलनकर्ता र सामाजिक अवस्था आदि विभिन्न कारक तत्त्वका प्रभावमा विचलनको सम्भावना मौजुद भएकाले अन्तर देखिएको हुन सक्छ । यस्तै भारतमा सन् १९७१ को जनगणनाअनुसार त्यहाँ अवधी भाषीहरूको जनसङ्ख्या २,८३,९९,५५२ रहेको छ । विश्वभाषा सूचीमा अवधी भाषा २९औँ स्थानमा रहेको छ । नेपालमा अवधी भाषीहरूको तथ्याङ्क यसप्रकार रहेको छ:।
केन्द्रीय तथ्याङ्क विभागले दिएको जिल्लागत अवधी भाषीहरूको सङ्ख्या
जिल्ला | २०२८ साल | २०३८ साल | २०४८ साल | २०५८ साल | २०६८ साल |
नवलपरासी | ३५,६२६ | ६० | ७६ | ५४ | १११ |
रुपन्देही | ७०,४४० | ९ | ४,३३० | ४,२०० | ५६,११५ |
कपिलवस्तु | १,६४,५५ | १,७१,०१२ | २,४८,८६१ | ३,४३,७२७ | २,८४,७०१ |
दाङ | १,२८१ | ३२६ | ५,३७८ | ९,८५६ | १०३०३ |
बाँके | ३७,९९६ | ५९,९०३ | ९७,५१० | १,७०,३९२ | १,१६,४७७ |
बर्दिया | ३,३२२ | १,०६९ | १५,६१५ | २७,४८४ | ३०,४३० |
कैलाली | ११७ | ४५ | ५१ | ३०९ | ६५ |
कञ्चनपुर | ४७ | ४६ | १४ | १३४ | ९१ |
स्रोत : राष्ट्रिय जनगणना २०२८, २०३८, २०४८, २०५८, र २०६८, केन्द्रीय तथ्याङ्क विभाग