‘सामान्य अवस्था वा कोभिड माहामारी, बालअधिकार संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने मुल नाराका साथ नेपालमा ५७ औ राष्ट्रिय बाल दिवस २०७८ मनाइयो । नेपालमा पहिलो पटक बालदिवस बि.स. २०२१ सालको भाद्र ४ गते मनाइएको थियो । तत्कालिन रानी रत्नराज्य लक्ष्मी देवी शाहले आफ्नो जन्म दिन पारि २०२१ भदौ ४ मा नेपाल बाल संगठनको स्थापना गरि हरेक बर्षको भदौ ४ गते बाल दिवस मनाउने चलन चलाएकी थिइन् ।

लोकतन्त्रको पुनस्थापना भए पश्चात भने नेपालले २०६३ देखि संयुक्त राष्ट्र संघ बाल अधिकार सम्बन्धी महासन्धि १९८९ लाई अनुमोदन गरेको दिन २०४७ भाद्र २९ गते तदनुसार सन् १९९० सेप्टेम्बर १४ तारेखका दिनलाई राष्ट्रिय बालदिवस मनाउन थालेको हो ।
सामान्य अवस्था वा कोभिड माहामारी, बालअधिकार संरक्षण हाम्रो जिम्मेवारीे’ भन्ने मुल नाराका साथ देशै भरि राष्ट्रिय बाल दिवस मनाइरहँदा नेपालका कैयौ बालबालिकाहरुले अझै पनि बालअधिकारको अनुभुति गर्न पाइरहेका छैन । अहिले पनि कैयौ बालबालिकाहरु बिििभन्न खाले हिंशको शिकार भैरहेका छन् । कुपोषणको शिकार छन्, शिक्षाको पहुँचबाट बन्चित छन्, आधारभुत बालअधिकार उपभोग गर्नबाट बन्चित छन् ।

बालबालिकाहरु देशका भावी निमार्णकर्ता हुन् । यसो भएको हुनाले देशको विकास र उन्नतीका लागी बालबालिकाको शिक्षा, स्थास्थ्य र संरक्षणको उचित ब्यवस्था मिलाउनु पर्ने हुन्छ । देशका भावी नागरिकलाई केवल उमेरका कारणले मात्र बिभिन्न अधिकारबाट बन्चित गर्न नहुने कुरालाई बालअधिकार सम्बन्धि महासन्धि १९८९ ले जोड दिएको छ । अहिलेसम्म विश्वका सबैभन्दा बढी मुलुकले अनुमोदन गरेको यो महासन्धिमा बालअधिकारसंग सम्बन्धित ५४ धारा रहेका छन् ।

बालअधिकार संम्बन्धि महासन्धिले – गर्भमा रहेको अवस्था देखिनै बालबालिकाहरुलाई सबै खालका भेदभावबाट संरक्षण गर्नु पर्ने ब्यवस्था गरेको छ । दुव्र्यवहार, उन्पीडन, हेला, अपमान, गाली, कुटपिट, यातना, यौनशोषण, श्रमशोषण, जोखिमपूर्ण स्थिति, हानिकारक काम, युद्धमा र सशस्त्र द्वन्द्वमा बालबालिकाको प्रयोगबाट संरक्षणको ब्यवस्था गरेको छ । तर नेपालका सबै बालबालिकाहरुले यी अधिकार उपभोग गर्न पाएका छैन । दुव्र्यवहार, उत्पीडन, हेला, अपमान, गाली, कुटपिट, यातना, यौनशोषण, श्रमशोषण, जोखिमपूर्ण स्थितिको सामना गरिरहेका छन् ।

बालअधिकार महासन्धिले फरक क्षमता भएका तथा परिवार विहीन बालबालिकाको संरक्षण, बेचविखन, ओसारप्रसारबाट संरक्षण, लागुपर्दाथको दुरुपयोगबाट संरक्षण र कानूनी संरक्षण लगायतका संरक्षणको ब्यवस्था गरेको छ । सारमा भन्नु पर्दा बालअधिकार सम्बन्धि महासन्धिले बालबालिकाको बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार र विकासको अधिकार र सहभागिताको अधिकार सुनिश्चित गरेको भएता पनि नेपालको कानून सरह लागु हुने भनिएको बालअधिकार महासन्धिका कैयौ प्रावधानहरु अझै पनि कार्यान्वयनमा आउन सकेका छैनन । नेपालका कैयौ बालबालिकाहरु भोक, रोग, गरिवीको मारमा छन् । अझै पनि ठुलो संख्याका बालबालिकाहरुले उचित संरक्षण पाउन सकेका छैनन । लिंग पहिचान गरि गर्भपतन गराउने, जन्माएर फाल्ने, उचित संरक्षण नदिने परिपाटी मौलाउदै गएको छ ।

नेपालको संबिधानको मौलिक हक अन्तरगत धारा ३९ ले बालबालिकाको हक सम्बन्धि ब्यवस्था गरेको छ । जस अनुसार प्रत्येक बालबालिकालाई आफ्नो पहिचान सहित नामकरण र जन्मदर्ताको हक हुने, प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा व्यक्तित्व विकासको हक हुने ब्यवस्था गरेको छ । यस्तै उक्त धारामा प्रत्येक बालबालिकालाई प्रारम्भिक बालविकास तथा बालसहभागिताको हक हुने, कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन भनीएको छ । कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने, कुनै पनि बालबालिकालाई सेना, प्रहरी वा सशस्त्र समूहमा भर्ना वा प्रयोग गर्न वा सांस्कृतिक वा धार्मिक प्रचलनको नाममा कुनै पनि माध्यम वा प्रकारले दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन भन्ने ब्यवस्था गएको छ । कुनै पनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन नपाइने, प्रत्येक बालबालिकालाई बाल अनुकूल न्यायको हक हुने, असहाय, अनाथ, अपाङ्गता भएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबाालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने हक हुने, उल्लेखित प्रावधान विपरीत कार्य गरिएमा कानून बमोजिम दण्डनीय हुनेछन् र त्यस्तो कार्यबाट पीडित बालबालिकालाई पीडकबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुने ब्यवस्था संबिधानको मौलिक हकमै गरिएको भएता पनि ब्यवहारमा हेर्दा अझै पनि उक्त अधिकारहरु नेपालका अधिकांश बालबालिकाहरुले उपभोग गर्न पाएका छैनन् ।

बालबालिकाहरुलाई कुनै पनि हिसावले शारीरिक तथा मानसिक रुपमा आघात पार्ने कार्य बालहिंसा हो । वाल हिंसाले वालवालिकाको मनोभावनामा आघात पार्नुका साथै उनीहरुको बृद्धि र विकासमा समेत नकारात्मक असर पार्दछ । बलात्कार, यौन दुब्र्यवहार तथा शोषण, शारीरिक दण्डसजाय, बालश्रम, अपहरण, बालविवाह, बेचविखन, घरेलु हिंसा, अपहेलना, परित्याग, हानिकारक परम्परागत अभ्यासहरु बालहिंसाका स्वरुप हुन । यस्ता घटनाहरु हाम्रो घरपरिवार, समाजमा निरन्तर घटिरहेछन् । ठुलो संख्यामा वालवालिकाहरु अझै हिंसाको मारमा परिरहेका छन् ।

वालवालिकाहरु उल्लेखित घटनाहरुबाट प्रभावित मात्र भएका छैनन् । हत्या हिंसाको प्रत्यक्ष मारमा पनि पर्ने गरेका छन् । वालवालिकालाई अपराधिक र राजनैतिक आन्दोलनमा प्रयोग गर्ने, फिरौतीको लागी अपहरण गरि हत्या गर्ने सम्मका कार्यहरु हुने गरेका छन् । बलात्कार, यौन दुब्र्यवहार तथा शोषण बालहिंसाको डरलाग्दो स्वरुप हो । १८ बर्ष भन्दा कम उमेरकी बालिकालाई निजको मञ्जुरी लिई वा नलिई करणी गरेमा वा कसैले कुनै नाबालकसँग कुनै किसिमको अप्राकृतिक मैथुन गरे गराएमा बलात्कार गरेको मानिने कानूनी ब्यवस्था रहेको भए पनि बालबालिकाहरु दिनहू जस्तो यौनहिंसाको शिकार भएका समाचारहरु सार्वजनिक भै रहेका छन् ।

वाल हिंसाको स्वरुप मध्ये बालश्रम पनि एक हो । वालश्रमले वालवालिकाको बृद्धि र विकासमा गंभिर असर पार्ने गर्दछ । यो बालविकाशमा असर पार्ने शोषणजन्य कार्य हो । नेपालमा लगभग १६ लाख बालबालिका कुनेै न कुनै रुपमा श्रममा लागेको तथ्याङ्कहरुले देखाएका छन् । बालश्रमिकहरु सबै खाले हिंसाको अत्याधिक जोखिममा रहने गर्दछन् । ग्यारेज, कारखाना होटलहरु बालश्रमिकमा अखडा भै रहेका छन् । कार्यान्वयनको अभावमा बालश्रम रोकथामको कानून पनि देखाउनैका लागी कागजमा सिमित हुन पुगेको छ ।

बालहिंसाको अर्को रुप बालविवाह हो । वालबिवाह कुरितीजन्य कार्य हो । यसले बालबालिकाको बृद्धि र विकासमा गंभिर असर पार्ने गर्दछ । सानै उमेरमा बिवाह गर्ने÷ गराउने कार्यले धेरैजसो बालिकाहरु कुनै न हिसावले हिंसाका शिकार भएका हुन्छन् । बालबिवाहले बैवाहिक बलत्कार र घरेलु हिंसाको शिकार हुने संभावना त छदै छ त्यस माथी कम उमेरमा गर्भवती हुँदा बालिका आमा र नवजातशिशुको ज्यानै जोखिममा पर्ने संभावना रहन्छ ।

बेचविखन वालवालिका माथी हुने हिंसाको अर्को डरलाग्दो रुप हो । मानवलाई वस्तुको रुपमा र अमानवीय कार्यमा लगाउनको लागि एक ठॉउबाट अर्को ठॉउमा लग्नु तथा लग्न प्रेरित गराउनु मानव बेचविखन हो । नेपालका बालिकाहरुलाई जोखिम कामका लगी बिदेश पु¥याउने वा यौन दाशीको रुपमा प्रयोग गर्ने खरिदबिक्री गर्ने एक ठाउबाट अर्को ठाउँमा लैजाने प्रबृत्तीको अन्त्य हुन नसक्दा त्यो समस्याले बिकराल रुप लिदै गईरहेको छ ।

घरेलु हिंसा बालहिंसाको अर्को रुप हो । घरेलु हिंसामा शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातना जस्ता घटनाहरु पर्दछन् । घरमा आमा बाबु र परिवारमा हुने बेमेल र हिंसाका घटनाको प्रत्यक्ष असर बालबालिकामा पर्न गई बालबालिकाको शारिरीक तथा मानसिक विकासमा असर पु¥याउनुका साथै कतिपय अवस्थामा त बालबालिकाहरु अपराधिक र दुब्र्यसनको शिकार हुने समस्या पनि देखिएको छ ।
अपहेलना पनि बालहिंसाको स्वरुप हो । अनाथ तथा परित्यक्त बालबालिकाहरु बढीमात्रामा हिंसामा पर्ने गरेको बिभिन्न अध्ययनहरुले देखाएका छन् । हेपाइले बालबालिकाको मनोबल कमजोर गराउने, आफु बालबालिका भएकै कारण केही गर्न नसक्ने शक्ति विहीनताको महसुस गराउँदछ ।

वालवालिकाहरु उपर हुने हिंसाको अर्को रुप बिद्यालयमा दिइने शारिरीक दण्ड सजाय हो । अनुशासन कायम राख्ने नाममा होस वा पढाईमा लगनशिल नभएको भन्ने वहाना बिद्यालयमा शारिरीक दण्ड दिने गरेका घटनाहरु सार्वजनिक भैरहेका छन् । यहि बहानामा कसैका आँखा फुटेका छन्, कसैका हात भाचिएका छन् त कसैको कानको जाली । कसैले एकसय चार डिग्रीको ज्वरो आउने गरि थला पर्नु परेको छ त कसैको शरिरभरि निलडाम परेको छ । शारिरीक दण्ड मात्र होईन बिद्यालयमा वालवालिकाहरु अनेकौ हिंसाको मारमा पर्ने गर्दछन् । कोही बालिका यौनजन्य हिंसा सहनु परेको छ त कसैले अनेकखाले दुब्र्यवहारको शिकार हुनु परेको छ । यस्ता हिंसाजन्य कार्यले बालबालिकाको ब्यक्तिगत विकासमा हानी मात्र गरेको छैन बरु यसले त सामाजिक सामञ्जस्यता र समग्र विकासमा समेत असर पारेको छ ।

कोरोनाका कारण लामो समयसम्म बिद्यालयहरु बन्द हुँदा बालबालिकाहरु साथीभाईसंग घुलमिल हुन पाएका छैनन । संक्रमणको जोखिम र महामारीले निम्त्याएका असामान्य अवस्थाको कारणले बालबालिकाहरुमा बिभिन्न नकारात्मक प्रभावहरु परेका छन् । धेरै बालबालिकाहरु हिंसा र जोखिमको शिकार भएका छन् । यी असरहरुबाट उनीहरुलाई जोगाई उनीहरुको शिक्षास्वास्थ्य तथा संरक्षणका बिषयहरुमा थप प्रयासहरु गर्न जरुरी छ ।

बालअधिकार सम्बन्धमा थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनी ब्यवस्था भएता पनि त्यसको पुर्ण कार्यान्वयन हुन नसक्दा सबै बालअधिकारको अनुभुति गर्न पाएका छैनन र्। सामान्य अवस्था वा कोभिड माहामारी, बालअधिकार संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने मुल नाराका साथ देशै भरि राष्ट्रिय बाल दिवस मनाइरहँदा अव संबिधान र ऐन कानूनले प्रत्याभुत गरेका ब्यवस्थाहरु ब्यवहारिक रुपमै हुवहु कार्यान्वयन गर्न सके मात्र बालअधिकारको संरक्षण र संम्बद्र्धन हुन सक्दछ । यसैले राष्ट्रिय बाल अधिकार दिवस मनाइरहँदा बालअधिकार संरक्षणका लागी तपाई हामी सबैले आ–आफ्नो जिम्मेवारीलाई इमानदारीपूर्वक पालना गर्ने प्रण गरौ । राष्ट्रिय बाल दिवसका अवसरमा सबै बालबालिकाले आफ्ना हक अधिकारहरुको पूर्ण रुपमा उपभोग गर्ने वातावरण बनाउमा लागौ । जिम्मेवार निकाय निकाय जवाफदेही बनौं । कोभिड माहामारीमा अझ बढी हिंसा र दुब्र्यवहारको शिकार हुन पुगेका र आधारभुत बालअधिकार उपभोग गर्न नपाएका बालबालिको बालअधिकार संरक्षणमा लागौ । बालअधिकार उल्लघंनका घटना हुन नदिउँ । बालअधिकार संरक्षणको सुरुवाता आफैबाट गरौ । (लेखक अधिवक्ता हुन् ।)

प्रतिक्रिया

प्रतिक्रिया