जानकी जिल्लामै पहिलो बालविवाह मुक्त गाउँपालिका घोषणा

राष्ट्रिय बालदिवसको अवसरमा बाँकेको जानकी गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाद्वारा आयोजित घोषणा सभामा प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तवले जानकी गाउँपालिका बालविवाह मुक्त घोषणा भएको प्रमाणपत्र कार्यवाहक अध्यक्ष भूमिसरा धिताललाई प्रदान गर्नुभएको थियो ।


सो सभामा बोल्दै जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले जिल्लामै पहिलो बालविवाह मुक्त गाउँपालिका घोषणा हुन सफल भएकोमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र साझेदार गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुप्रति आभार प्रकट गर्नुभयो ।
उहाँले मधेशी समुदायको बाहुल्यता रहेको जानकीमा बालविवाह जस्तो कुरीतिका विरुद्ध बाँकेमा राम्रो अभियान सञ्चालन गरेर जानकी गाउँपालिकाले आफ्नो छुटै पहिचान बनाएको बताउनुभयो । आगामी फागुनसम्ममा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणा गर्ने तयारीका साथ काम भईरहेको बताउँदै यसलाई सफल बनाउनमा स्थानीय तह र गैरसरकारी संघ संस्थाहरुको पनि उत्तिकै भूमिका रहेको उल्लेख गर्नुभयो ।

 बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार गाउँपालिकाका सबै वडालाई बालविवाह मुक्त घोषणा गरेपश्चात आज गाउँपालिकालाईनै बालविवाह मुक्त घोषणा गरिएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो । जिल्लामै पहिलो बालविवाह मुक्त गाउँपालिका घोषणा गर्न सकेकोमा खुशी व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिई बाल विवाहलाई शून्यमा झार्न सबै सरोकारवाला निकायलाई अनुरोध गर्नुभयो ।

बालविवाह मुक्त पालिका घोषणा सभामा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति, बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो भने जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना र बालविवाह विरुद्धको अभियान सञ्चालन गर्दै आएको सामाजिक सचेतन सरोकार मञ्च (स्याक) का परियोजना व्यवस्थापक जगदिश थापाले गाउँपालिकालाई बालविवाह मुक्त गर्न गरिएका प्रयास, पूरा गरिएका मापदण्ड र कार्यविधिका वारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा गाउँपालिका वडा नं. ४ का अध्यक्ष विश्रामकुमार बर्माले स्वागत गर्नुभएको थियो, भने विभिन्न बालबालिकाले साँस्कृतिक प्रस्तुति देखाएका थिए । गाउँपालिकाको नहरचोकबाट शुरु भएको बालविवाह घोषणा र्याली मानपुरस्थित विद्यालयमा पुगि सभामा परिणत भएको थियो । कार्यक्रममा गाउँपालिकालाई बालविवाह मुक्त गराउने अभियानमा सहयोग तथा समन्वय गर्ने दर्जनौ व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।

जानकी गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्न स्याक नेपाल र त्रिवेणी विकास समाज बाँकेले बालविवाह रोकथाम परियोजना मार्फत साझेदारी गर्दै आएका छन् । बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार, वडामा २० प्रतिशत भन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको स्याकका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार, गाउँपालिकामा २० प्रतिशत भन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको छ । गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्न स्थानीय तहमा बालअधिकार समिति गठन सम्बन्धि कार्यविधि, बालविवाह अन्त्य सम्बन्धि रणनीति, बालसंरक्षण नीति र गाउँपालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बालअधिकार समिति क्रियाशिल रहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया