हत्या आरोपमा डेढ महिनापछि समातिए श्रीमान

श्रीमति हत्या आरोपमा जानकी गांउपालिका वडा नं.२, बेलभार अन्तरगतको नेवाजी गांउका रामकुमार धोबी पक्राउ परेका छन् । श्रीमति नन्कुन्नी धोबीलाई बिभिन्न समयमा दाइजोका लागी कुटपिट गर्ने, गाली गलौज गर्ने, घर निकाला गर्ने जस्ता दुव्र्यबहारपछि हत्या गरेको अभियोग रामकुमारप्रति लगाइएको छ ।

नन्कुन्नी धोबीको रहस्यमय मृत्युको घटना हत्या हो भन्दै महिला अधिकार मञ्च बाँकेले जिल्ला प्रशासन सामुन्ने दिइरहेको धर्नाको १६ औं दिन सोमवार ।


श्रीमान र जेठाजुले मलाई यातना दिने गरेको भन्दै महिला महिला अधिकार मञ्चमा गत असार ७ गते लिखित निवेदन दिएकी नन्कुन्नी श्रावण ६ गते मृत भेटिएपछि मञ्च आन्दोलित छ । ‘यो नितान्त हत्या हो,’ कारबाही माग गर्दै १६ दिनदेखि स्थानीय प्रशासनमा धर्ना दिइरहेकी अधिकारकर्मी रुवि खानले दैनिक नेपालगन्जसँग भनिन्, ‘गम्भीर ढंगले अनुसन्धान गरि अपराधीलाई कानुनी कारबाही गरिनुपर्छ भन्ने हाम्रो माग हो ।’


बाँके प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले रामकुमारलाई पक्राउ गरि कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान भइरहेको बताए ।

‘नन्कुन्नी धोबीले मारिनु अघि महिला अधिकार मञ्च बाँकेमा दिएको निवेदनमा असह्य यातना पाइरहेको आशय प्रष्ट छ,’ अधिकारकर्मी रुवि भन्छिन्, ‘नन्कुन्नी धोबीको लास जुन कोठामा झुन्डिएको थियो त्यस कोठामा बाहिरबाट भित्र र भित्रबाट जाने ठाउँ ढोकाको माथिबाट छ । प्रहरीले त्यहींबाट भित्र छिरेर ढोका खोलेकाले पनि हत्या हो भन्ने देखिन्छ ।’


अनुसन्धानमा खटिएका एक अधिकृतले भने, ज्यान मुद्दामा यथेष्ट प्रमाण नपुग्ने अवस्था औंल्याएका छन् । ‘परिवारकै यातना सहन नसकी आत्महत्या गरेको देखिन्छ,’ ती अधिकृतले दैनिक नेपालगन्जसँग भने, ‘आत्महत्या दुरुत्साहनको मुद्दा भएको भए जुट्ने प्रमाणले दोषी उम्कन पाउने थिएन ।’

प्रतिक्रिया

प्रतिक्रिया