राप्रपाको नगर अधिवेशन, नेतृत्वमा श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालगन्ज उपमहानगरपालिकाको नगर अधिवेशनले मनोज श्रेष्ठको अध्यक्षतामा नगर समिति चयन गरेको छ । ४० सदस्यीय नगर समितिको सचिवमा रवि वर्मा, कोषाध्यक्षमा दिपेन्द्र श्रेष्ठलाई सर्व सम्मत चयन गरिएको छ ।

अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राप्रपाका कार्य सम्पादन समितिका सदस्य प्रेमबहादुर भण्डारी, डा.धवल समशेर राणा, फत्तेसिंह थारु र केन्द्रीय सदस्य ऋषिराज देवकोटाले पार्टीलाई सुदृढ गर्दै लैजानेमा जोड दिए ।

व्यवस्था असफल

वरिष्ठ राजनीतिज्ञ, पूर्व मन्त्री फत्तेसिंह थारुले अहिलेको व्यवस्था असफल भएको धारणा व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेपालगन्ज नगर अधिवेशनलाई सम्बोधन गर्दै नेता थारुले व्यवस्था असफल भैसकेकाले अब राजा सहितको हिन्दु राष्ट्रका लागि राजनीतिलाई केन्द्रित गर्नुपर्ने बताए ।


अर्का पूर्व मन्त्री प्रेम बहादुर भण्डारीले देशलाई जातजातिसँग भिडाएर विखण्डन ल्याउन खोजिएको बताए । ‘पृथ्वी नारायण शाहले एकीकरण गरेको हाम्रो मुलुकलाई जातजाति भिडाएर विखण्डन गर्ने प्रयत्न भयो’, पूर्व मन्त्री भण्डारीले भने, ‘अब राप्रपा मात्र सबैका लागि विकल्प हुन सक्छ ।’

राप्रपा नेता समेत रहेका नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणाले राप्रपालाई देशकै वैकल्पिक शक्तिका रुपमा निर्माण गर्ने तर्फ आफुहरु लागेको बताए । राप्रपाका युवा नेता ऋषि राज देवकोटाले पार्टी स्थानीय स्तरबाटै सशक्त ढंगले उठेकाले अबको वैकल्पिक शक्ति आफ्नो पार्टी बन्ने दाबी गरे ।


राप्रपाले वडा स्तरदेखि अधिवेशन गर्दै जिल्ला अधिवेशनको तयारी अगाडि बढाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया