झण्डै ५ महिना बन्द भएका नेपालगन्जका विद्यालय आज आइतबारबाट सञ्चालनमा आएका छन् । लामो समयदेखि विद्यालय बन्द हुँदा घरमैं बस्न बाध्य विद्यार्थी बालबालिकाहरु विद्यालय खुलेपछि उत्साहित भएर आइतवार विद्यालय पुगेका देखिन्थे ।
यसअघि जिल्ला कोभिड व्यवस्थापन केन्द्रमा विद्यालय सञ्चालनका लागि स्थानीय तहले निर्णय गरी केन्द्रसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको थियो ।

आठ स्थानीय तह रहेको बाँकेमा नेपालगन्ज एलो र कोहलपुर मिस्क र अन्य पालिका एलो जोनमा रहेका छन् । विद्यालयका सञ्चालनका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिको पालना गर्नुपर्नेैछ । बाँकेका विद्यालय सञ्चालनमा आउन मापदण्ड पालना गरे कुनै समस्या छैन । नेपालगन्ज र कोहलपुर एलो र मिक्स जोनमा रहेपनि नेपालगन्जमा आजबाट विद्यालय सञ्चालनमा आएका हुन् ।

नेपालगन्ज उपमहानगरपालिका शिक्षा तथा खेलकुद शाखाका शाखा अधिकृत लोकेन्द्र शाहीले आजबाट नेपालगन्जका सबै विद्यालय सञ्चालनमा आएको बताए । उपमहानगरपालिका अन्तर्गत २ सय ९६ वटा शैक्षिक संस्था रहेका छन् । जसमध्ये सामुदायिक विद्यालयको संख्या ४३ र संस्थागत विद्यालयको संख्या ८० को हाराहारीमा रहेको छ ।

संस्थागत विद्यालयले यसअघि नै विद्यालय सञ्चालनको अनुमति दिनका लागि जिल्ला प्रशासन कार्यालय बाँके र स्थानीय तहमा पहल गरिरहेको थियो । लामो समयदेखि विद्यार्थी विद्यालय आउन नपाएको, अनलाइन शिक्षामा सबैको पहुँच र सहज नभएकाले संस्थागत विद्यालयले भौतिक रुपमा नै अध्यापनको अनुमतिका लागि पहल गरेका थिए ।
नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालनमा आउने विद्यालयहरुले कोरोना विरुद्धको सुरक्षा मापदण्ड पालना गरे नगरेको अनुगमन समेत गर्ने भएको छ । त्यसका लागि नगर प्रमुख डा. धवल समशेर राणाको संयोजकत्वमा समिति बनाइएको छ । वडामा वडाध्यक्षको संयोजकत्वमा समिति रहनेछ ।