नेपाली काँग्रेस पार्टी नेपालकै सबभन्दा पुरानो पार्टी हो जसमा मुस्लिम समुदायको पनि ठुलो लगानी छ । अहिले देशभरी कहीं अधिवेशन हुँदैछ कहीं भइसक्यो भने २१ जिल्लामा अझै बाँकी छ । बाँके जिल्लाको नेपालगन्ज मुस्लिम बाहुल्यता भएको स्थान हो । यहाँ अधिवेशनबाट मुस्लिम महिलाहरुलाई राजनीतिमा सकृय रुपले अगाडि ल्याउन पहल गरिदैछ । यसै सन्दर्भमा नेपाली कांग्रेसको भातृ संगठन मुस्लिम संघका जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य माननीय याकूब अन्सारीले भन्नुभयो, ‘मुस्लिम महिलाहरुलाई अगाडि ल्याउन पहल गरिरहेछौं । जो महिला स्वयं अगाडि आउँछिन् उनलाई अवश्य नै अवसर दिइनेछ । हाल अधिवेशन रोकिएका २२ मध्ये बाँके पनि पर्छ । संवैधानिक व्यवस्था अनुसार महिलाहरु सहभागिता गराइनेछ ।’
यसै सन्दर्भमा मुस्लिम संघका केन्द्रीय अध्यक्ष सत्तार मियाँ भन्नुहुन्छ, ‘महिलाका लागि संविधानले व्यवस्था गरे अनुसार सहभागिता गराउनेछौं । यसका साथै मुस्लिम महिलाको नेतृत्वका लागि केन्द्रीय समितिमा नै दुई पुरुषका साथै एक महिलाको सिट सुरक्षित छ । जसका लागि महिलाले ६ तह पार गरेर आउनुपर्छ । महिलाहरुलाई राजनीति सकृय रुपले अगाडि ल्याउनका लागि मुस्लिम संघले वर्षमा कम्तीमा दुई पटक प्रशिक्षण कार्यक्रम गर्छौं । उनीहरुको पढाइमा जोड दिन्छौं र राजनीतिक चेतनाको स्तर बढाउन तालिम दिन्छौं । अहिले देशभरी नै नेतृत्व गर्न सक्ने मुस्लिम महिला भेटाउन गाह्रो छ । तथापि आशा छ आउने दश सालमा हाम्रो प्रयासले नेतृत्व गर्न सक्ने महिला तयार गर्नेछौं ।’
केन्द्रीय स्तरमा राजनीति गर्ने महिला नाम नखुलाउने शर्तमा भनेकी छिन्, ‘नेपाली कांग्रेस भित्र खास गरी मुस्लिम समुदाय भित्र खुट्टा तान्ने प्रवृति विद्यमान छ । महिलाको अस्तित्व स्वीकार गर्न सकिरहेका छैनन् । महिलालाई दोस्रो दर्जाको ठान्दछन् । पार्टीले समुदाय अनुसार मुस्लिमलाई अवसर दिए पुरुषको हातमा पर्छ । महिलालाई हेर्ने दृष्टिकोण नै फरक छ । धेरै विभेद र अन्यौलता छ । महिला अगाडि आउन खोजे उसलाई साथ दिनुको सट्टा उसलाई कसरी हुन सक्छ पछाडि धक्लने षडयन्त्र गरिन्छ । मुस्लिम समुदायको समग्रमा राजनीतिक अवस्था हेर्ने हो भने जे जस्तो भएनि पुरुषलाई मात्र राजनीति गर्न योग्य ठानिन्छ । पुरुषले भनेका कुरा सबैले पत्याउँछन् महिलाले सत्य वा जायज कुरा गरे नि सितिमिति सुन्न रुचाउदैनन् । त्यहीभित्र पनि हामी संघर्ष गर्दै अघि बढ्दैछौं । अनि वडा स्तरबाट नै मुस्लिम महिलाहरुको राजनीति पहुच सहभागिता सकृयता बढाउन आ–आफ्नो स्तरबाट सबैले पहल गर्नु आवश्यक छ ।’
मुस्लिम समुदाय लाई राजनीतिसँग जोड्ने आशयले नै वर्ष २०६५ मा मुस्लिम संघ नेपाल बनाइयो जुन वर्ष २०६६ भदौ १६ गते नेपाली कांग्रेस पार्टीको भातृ संगठनको रुपमा विधिवत रुपमा स्थापित भयो । जसका हालसम्म सभापति सत्तार मियाँ हुनुहुन्छ । मुस्लिम संघ गठन गरी मुस्लिम समुदायका महिला र पुरुषको सकृयता र सहभागिता बढाउने उद्देश्यले देशका ४४ वटा मुस्लिम बाहुल्यता भएका जिल्लामा यो संगठन कायम भएको छ । यसको गठनमा एक विशेष पात्रका रुपमा विशेष भूमिका निर्वाह गर्ने मोहम्मद निजामुद्दीन पनि हुनुहुन्छ । उनले नीजि खर्चमा यो संगठन बिस्तार गर्न गराउन एक्लै वा सामुहिक रुपमा खटे । तथापि अहिले सम्म मुस्लिम समुदायकी महिलाहरु राजनीति अझै पनि सकृय भएर लाग्न सकेकी छैनिन् । मुस्लिम संघका वरिष्ठ उपाध्यक्ष मोहम्मद निजामुद्दीन भन्नुहुन्छ, ‘अहिले पनि समुदायमा राजनीति प्रति गलत धारणा छ यसलाई नकारात्मक ढंगले व्याख्या विष्लेषण गरिन्छ । यस कारण मुस्लिम महिलाहरुको राजनीति सकृयता बढाउन पार्टीले नकारात्मक धारणा हटाउन यस बारे प्रचारप्रसार गर्नुपर्छ । केही उदाहरणीय महिलाहरु तयार पार्नुपर्छ जसलाई हेरेर समुदायका अन्य मुस्लिम महिला पनि आकर्षित भएर अगाडि आउन आँट गरुन् ।’