
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल नेकपा एमालेबाट अलग्गिएर नयाँ पार्टी गठन गरेपछि पहिलो पटक काठमाडौं बाहिर गएर आफ्नो धारणा नेपालगन्जमा राखेका छन् । शनिबार युवा संघ नेपाल लुम्बिनी प्रदेशको नेपालगन्जमा आयोजित प्रदेश भेला तथा युथ भोलेन्टियर घोषणा कार्यक्रममा प्रमुख अतिथि रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेकपा एमाले गठनदेखि समाजवादीसम्म आइपुग्दाका घटनाक्रमका साथै २०६२ साल पुसमा नेपालगन्जमा आयोजित विशाल जनसभालाई गरेको सम्बोधन स्मरण गरेका थिए । अध्यक्ष नेपालले पञ्चायती व्यवस्था हटाउनदेखि प्रजातन्त्र, गणतन्त्र ल्याउनका लागि कम्युनिष्टहरुले गरेको आन्दोलन, त्यसका उपलब्धी र हाल समाजवादी गठन गर्नुको औचित्य बारेका बोलेका थिए । कार्यक्रममा नेता नेपालले व्यक्त गरेका धारणा संक्षेपमा प्रस्तुत गरिएको छ ।
क्रान्तिकारी ज्वाला दन्किरहेको छ भने त्यही सामेल हुन्छन् । क्रान्तिकारी ज्वाला निभ्छ भने सबै भताभुंग भएर जान्छ । केपी ओलीले क्रान्तिकारी ज्वाला निभाइसकेका छन् । यो पार्टी केपी ओलीको प्राइभेट लिमिटेड कम्पनीमा परिणत भएको छ । निजी कम्पनीमा । कम्युनिष्ट पार्टीको कुनै गुण छैन त्यसमा । त्यसैले केपी ओलीले सिद्धान्त परित्याग गरिसकेका छन् । माक्सवादको मूल सिद्धान्त त्यागिसकेका छन् । त्यहाँ व्यक्तिवाद, गुटवाद, मैमत्तपन छ, मै सर्वेसर्वा भन्ने भावना छ । त्यहाँको विधान हेर्नुहोस् । अध्यक्षले जे पनि गर्न पाउने अधिकार दिइएको छ ।
केपी ओली नेतृत्वमा जब हाम्रो निम्ति ढोका बन्द गरियो, २०७७ सालको फागुन २८ गते एकलौटी रुपमा पार्टी कब्जा गर्ने काम गरियो । हामीले विद्रोहको झण्डा बुलन्द गर्यौं । २०७७ चैत्र ४ र ५ गतेका दिन काठमाडौंमा राष्ट्रव्यापी भेलाको आयोजना गर्यो । त्यो भेलाबाट हामीले सन्देश दियौं । हामी चुनौति स्वीकार गर्न तयार छौं, उद्घोष गर्यौं ५ हजार कार्यकर्ताका माझमा । ७ जिल्लाका अगुवा कार्यकर्ताका माझमा हामीले घोषणा गर्यौं, हामी दक्षिणपन्थी धारमा भाषिन तयार छैनौं । हामी कुनै पनि हालमा पार्टीलाई बिसर्जनका दिशामा जान दिंदैनौं । कसैको अधिनायकवादलाई स्वीकार गर्दैनौं । कम्प्युनिष्ट मूल्य र मान्यतालाई बिर्सदैनौं । हामीलाई माक्सवादले सिकाएको छ, क्रान्तिकारी बाटोमा अघि बढ ।
आज सिंगो देशमा एउटा नयाँ तरंग छाएको छ । नयाँ प्रवाह फैलिएको छ । नयाँ आशा जागेको छ । नेकपा एकीकृत समाजवादीले एउटा तरंग पैदा गरेको छ ।
जनताले दिएको दुई तिहाई अवसरलाई सदुपयोग गरिएन । सही नीति अवलम्वन गरिएन । त्यो बेलामा भएको सहमति नवौं महाधिवेशनको कार्यदिशालाई पालना गरेर अगाडि बढिएन । एमाले र माओवादी बीचमा सहमति भएर घोषणा भएको घोषणापत्रका ती कार्यक्रमिक कुरालाई बजेटमा समावेश गरिएन । अपेक्षा अनुसारको काम गरिएन पार्टीमा असन्तुष्टि बढ्न थाले, गुनासो बढ्न थाले । आलोचना र गुनासो नेतृत्वले सुन्न चाहेन । त्यसलाई वेवास्ता, हप्कीदप्की गर्न थाल्यो । असन्तुष्टि बढ्दै गयो, बढ्दै गयो । बहुमत सदस्य नेता एकठाउँमा, अल्पमतमा एक ठाउँमा भैसकेपछि त्यो समस्यालाई एक ठाउँमा बसेर, पार्टी भित्र बसेर, छलफल गर्ने काम गरिएन । बोलाएर समस्या समाधान गर्ने काम खोजिएन । फरक विचार राख्ने मान्छेहरुलाई पन्छाउन खोजियो । त्यसले अन्तरविरोध चर्किदै गयो, चर्किदै गयो । पार्टीका नेताहरुलाई पन्छाउन खोजियो, दक्षिणपन्थी शक्तिहरुसँग साँठगाँठ गरियो । देशभक्त शक्तिहरुलाई पन्छाउन थालियो, विदेशी शक्तिका सामु आत्मसमर्पण गर्न थालियो । त्यसपछि पार्टीले गलत बाटो अवलम्वन गर्न थाल्यो । राष्ट्र, जनतालाई नोक्सान पुर्याउने, पार्टीको प्रतिष्ठामा आघात पुर्याउन काम हुन थाल्यो ।
यो सबै भैसकेपछि हामीले आवाज उठाउन थाल्यौं । त्यो आवाजको पक्षमा बहुमत सदस्यहरु भए । नेताहरुले आवाज उठाउन थाले, ती बहुमत नेताहरुले उठाएको आवाज बेवास्ता गरियो । आवाज उठाउने व्यक्तिहरुलाई पन्छाएर त्यतिखेर गठन भएको पार्टी, नेकपालाई विभाजित गर्ने काम गरियो । आफ्नो कुर्ची ताक्ने भएको हुनाले, प्रधानमन्त्रीको कुर्ची ताक्ने काम भएको हुनाले, कुर्ची भाँच्ने काम गरियो । जनताले चुनेर पठाएको जनप्रतिनिधि संस्था प्रतिनिधिसभालाई भंग गर्ने काम गरियो । संविधानले दिंदै नदिएको अधिकारको दुरुपयोग गरेर प्रतिनिधिसभा विघटन गर्ने काम गरियो । त्यसले जनआवाज बुलन्द हुँदै गयो ।
जनताले पत्याएका नेताहहरुमा आशा गर्दछन् । जनताले चुनेर पठाएका प्रतिनिधिहरुलाई आशा गर्दछन् । पार्टी कार्यकर्ताहरु तीनै नेताहरुलाई आशा गर्दछन्, जुन नेताले कार्यकर्ताको मन अनि स्वभाव जितेका हुन्छन् । हामीले आवाज उठायौं । हामीले आवाज उठाएका कुरामा बेवास्ता गरियो । आवाजलाई थिच्न खोजियो, निमिट्यान्न पार्न खोजियो, प्रतिनिधिसभा भंग गर्न खोजियो, प्रतिनिधिसभा भंग गरियो । प्रतिनिधिसभा विघटनका विरुद्ध नारा घन्काउँदै गयौं । देशव्यापी रुपमा प्रतिगमनका विरुद्ध आवाज बुलन्द गर्यौं । देशव्यापी रुपमा अग्रगमनको झण्डा बुलन्द गर्यौं । अग्रगमनको झण्डा बुलन्द गर्दै जाने क्रममा तपाईहरुलाई थाहा छ, स्थितिमा परिवर्तन भयो । परिवर्तन भैसकेपछि अनि अर्कै अवस्था उत्पन्न भएपछि राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्यौं । राष्ट्रिय कार्यकर्ता भेलामा हामीले देशव्यापी रुपमा समानान्तर कमिटि बनाउने निर्णय गर्यौं । सबै ठाउँमा हामीले भन्यौं, केपी ओलीबाट पेलिएका, थिचिएका, अन्याय भोगकाहरु, अन्याय भोगिरहेकाहरु ती सबै संगठित हुनुस् । र, हामी अर्को विचार समूहमा आबद्ध भयौं । घोषणा गर्यौं । अर्को संगठनको आधारशिला बनायौं । बीचबीचमा वार्ताका नाटकहरु रचिए । ती नाटकहरु नाटक थिए, इमान्दार प्रयास थिएनन् । यो १० बुंदे नाटक भएर इमान्दार प्रयास थिएन । हाम्रा केही साथीहरु फँसे । तर, केपी ओलीले इमान्दारिता देखाएका होइनन्, त्यहाँ भित्र जालझेल, षडयन्त्र, जालसाजी थियो । त्यो जालसाजी साथीहरुले बुझेनन् । हामीले बुझेका छौं, कसरी जालझेल, षडयन्त्र भएका छन् ।
हामी न्याय र शक्तिको पक्षमा उभिन्छौं । हाम्रो उद्देश्य भनेको नेपाली समाजलाई समाजवादीको दिशामा अगाडि लिएर जाने हो । हाम्रो उद्देश्य भनेको देशभक्तिको झण्डा बुलन्द गर्ने हो, नेपालको सीमा रक्षा गर्ने हो, नेपाली गौरव बोध गर्ने भावना जगाउने हो । कसैको सामु शिर निहुर्याउने हो । हाम्रो उद्देश्य भनेको लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसाथ गरेर अगाडि बढ्ने हो । हामीले मदन भण्डारीले अघि सानु भएको जनताको बहुदलीय जनवादको मर्म र भावनालाई आत्मसात गरेर अगाडि बढ्ने हो ।
नेकपा एकीकृत समाजवादी माओवादीमा समाहित भन्ने कसैकसैमा छ । त्यो साँचो होइन । यसको शक्ति कत्ति छ भन्ने सुदुरपश्चिमबाट थाहा हुन्छ ।
एमसीसीको बारेमा पनि हामीले भनेका छौं, नेपाल राष्ट्रको स्वाभिमानमा आँच आउने कुनै काम गर्न चाहँदैनौं । हामीले भनेका छौं हामी हाम्रो देशमा कुनै पनि सैन्य गठनबन्धमा, अरुको सुरक्षा घेरामा राख्न चाहँदैनौं । नेपाल स्वाधिन देश हो, स्वतन्त्र देश हो । नेपाल असंलग्न परराष्ट्र नीति अवलम्वन गर्दै अघि बढ्नेछ ।
हामीले भनेका छौं, एमसीसीका प्रतिनिधिलाई तपाईहरु हामीलाई लेखेर पठाउनुस् कि यो सैन्य गठबन्धनसँग जोडिएको छैन भनेर, यो कुनैपनि हालतमा सुरक्षा रणनीतिसँग जोगिएको छैन भनेर । हिजो यो प्रदिप ज्ञवालीले सही गरेको भएपनि, केपी ओलीले, झलनाथ खनालले प्रतिवेदनमा उल्लेख गरेको प्रष्ट पारेर, यो परियोजना नेपालको हितमा छ र नितान्त रुपमा आर्थिक सहयोगको यो परियोजना हो, सुरक्षा सँग कुनै सम्बन्ध छैन, सेना सँग कुनै सम्बन्ध छैन, आर्थिक विकास प्रश्न मात्रै जोडिएको छ भन्ने कुरालाई सुनिश्चित गर्नुस् । यहाँको पैसाको हिसाबकिताबको अडिट नेपालले गर्न पाउँछ भन्ने सुनिश्चित गर्न चाहन्छौं । हामी नेपाली नागरिकले त्यो परियोजनामा काम गर्न पाउने सुनिश्चित गर्न चाहन्छौं । र, त्यो परियोजना भित्र प्रयोग हुने जग्गाको स्वामित्व नेपालकै रहोस् भन्ने सुनिश्चित गर्न चाहन्छौं । ती सबै कुराको सन्दर्भमा जवाफ हामीले पर्खिरहेका छौं ।