मुस्लिम, मधेसी र महिला अधिकारकर्मीको आशा, ‘व्यवसायिक, रोजगारमूलक र सीपमूलक पाठ्यक्रमले उच्च शिक्षामा छोरीहरुको सहभागिता बढ्ने छ ।’

विशेषत मुस्लिम र मधेशी समुदायका बालिकाहरुलाई लक्षित गरी नेपालगन्ज उपमहानरपालिकाले पहल लिएको छात्रा क्याम्पस निर्माण पुरा भएको छ । नेपालगन्जका नगर प्रमुख डा. धवल शम्शेर राणाले आफ्नो ‘ड्रीम’को प्राथमिकतामा रहेको छात्रा क्याम्पस लगभग पुरा भएको जानकारी दिंदै भने, ‘कोर्षका लागि टिमले कसरत गरिरहेकोछ, सम्बन्धनका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालयसँग पत्राचार भइसकेको छ ।’
नगर प्रमुख डा. राणाका अनुसार, छात्रा क्याम्पस निर्माण गर्न र यसलाई संचालन गर्न लाग्ने खर्च नगरपालिका नै व्यहोर्ने छ । विशेष गरी मुस्लिम र मधेशी समुदायका अधिकांश बालिकाहरु आफ्नो समुदायको परम्परागत मुल्य मान्यता र आर्थिक अभावका कारण उच्च शिक्षाबाट बन्चित हँुदैं आएको सन्दर्भमा नगर प्रमुख डा. राणाले सल्यानी बंगलाको परम्परागत विद्यालयलाई कन्या स्कुल र मंगल प्रसाद माविको परिसरमा मंगल प्रसाद छात्रा क्याम्पस स्थापनाको ध्येय सफल बनाएका हुन् ।
क्याम्पस निर्माणको भौतिक संरचनातर्फको सबै काम सकिएको छ । नगर कार्यपालिकाले क्याम्पस सञ्चालनका लागि क्याम्पस प्रमुख नियुक्तिका लागि कसरत गर्नेदेखि विजय गुप्ताको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरिसकेको छ । सञ्चालक समितिमा मुस्लिम र मधेशी समावेशी सहित तीन जना महिला अन्य सदस्य गरी ११ जना सदस्यहरु छन् । अब नियुक्त हुने क्याम्पस प्रमुख सञ्चालक समितिका सदस्य सचिव हुनेछन् ।
‘यो क्याम्पस नाफामुखी भन्दा सेवामुखी ढंगले गुणस्तरीय शिक्षाका लागि समर्पित हुनेछ,’ सञ्चालक समितिका अध्यक्ष गुप्ताले दैनिक नेपालगन्जसँग भने, ‘दाता खोजेै भएपनि कम भन्दा कम शुल्कमा छोरीहरुलाई स्तरीय उच्च शिक्षा प्रदान गरिनेछ ।’ मुस्लिम र मधेसीहरुका लागि केन्द्रीत भनिएपनि छात्रा क्याम्पस गरिब, असहाय समुदायका बालिकाका लागि लागि विशेष हुने विश्वास अध्यक्ष गुप्ताले गरे ।
मध्यपश्चिम विश्वविद्यालयको पाठ्यक्रम अनुसार बीएससी सीएसआइटी, बीबीएस., बीएड एक वर्षे र ४ वर्षे लगायतका कोर्षलाई प्राथमिकतामा राखिएको संचालक समितिका सदस्य रविन्द्र कुमार कर्णले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयका सह– प्राध्यापक कर्ण, अनिता शाहसहित उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरख बहादुर थापाको टिमले फेशन डिजाइनिङदेखि कानुनसम्मको विषय कोर्षका लागि सिफारिस गरेको छ । ‘हामी महिलाहरुका लागि रोजगार र सीपमूलक कोर्षलाई प्राथमिकतामा राखेका छौं,’ सह–प्राध्यापक कर्णले क्रमशः लागु हुँदै जाने सम्भावना औल्याउँदै दैनिक नेपालगन्जसँग भने, ‘कतिपय कुरा हामीमात्रै चाहेर हुँदैन, प्रक्रियागत ढंगले हुँदै जान्छ ।’
छात्रा क्याम्पसमा मुस्लिम, मधेसीका साथै आर्थिक रुपले कमजोर पछाडि परेका बालिकाहरुका लागि उच्च शिक्षा हासिल गर्न सजिलो हुनेछ विश्वास सह–प्राध्यापक कर्णको छ । उनी भन्छन्, ‘एक त को–एजुकेशन सिस्टमका कारण उच्च शिक्षा पढ्न नपठाउने अभिभावकहरुको सन्तुष्टि हुन महिला मात्रका लागि पठनपाठनको व्यवस्था मिलाइने छ, अर्को कुरा अरु क्याम्पस भन्दा खर्च कम लाग्नेछ ,’ गरिब र जेहेन्दार बालिकाहरुका लागि छात्रवृत्तिको पनि व्यवस्था हुने हुँदा सबैका लागि आकर्षणको केन्द्र बन्नेमा सञ्चालक समितिका सदस्य कर्ण विश्वस्त
छन् । सञ्चालक समितिका अनुसार, सम्बन्धित विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हुने बित्तिकै नयाँ सत्र सुरु भइ भर्ना खुल्नेछ । ‘आशा छ यस कालेजले मुस्लिम मधेशी पछाडि परेका समुदायका बालिकाहरुको शैक्षिक स्तर उकास्न र उच्च शिक्षा हासिल गर्न गराउन साझा केन्द्र बन्नेछ,’ सह– प्राध्यापक कर्णले भने ।
छात्रा क्याम्पस सञ्चालनमा आउने भएपछि धेरैतिरबाट खुशी व्यक्त गरिएका छन् । सरस्वती कन्या मा.वि.मा विगत २७ वर्ष (वि.स.२०५१ साल) देखि अध्यापक रही पढाउदैं आएकी शिक्षिका कोपिला अधिकारीले नेपालगन्जमा छात्रा क्याम्पस खोलिनु एकदमै सराहनीय पहल र साेंच भएको प्रतिक्रिया दिइन् । ‘नेपालगन्ज मुस्लिम र मधेसी बाहुल्यता भएको ठाउँ हो, जहांँ उनीहरुको आफ्नो परम्परा र मुल्य मान्यताहरु छन्,’ शिक्षिका अधिकारीले दैनिक नेपालगन्जसँग भनिन्, ‘त्यस कारण कसैको मुल्य मान्यताहरुलाई ठेस नपुर्याइ ती समुदायका बालिकाहरुलाई उच्च शिक्षा तर्फ अग्रसर गराउन यस क्याम्पसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’
सरस्वती मा.वि. अध्ययन गर्ने बालिकाहरुको ६/७ कक्षा पढ्दै गर्दा बालविवाह गरिदिइन्थ्यो । वातावरणका कारण विद्यालयमा आएको परिवर्तन सम्झँदै शिक्षिका अधिकारीले भनन्, ‘हाम्रो पहलले अहिले ती समुदायले आफ्ना बालिकाहरुलाई कम्तिमा मा.वि र प्लस टू सम्म पढाउन थालेका छन् ।’ उनले छात्रा क्याम्पसमा महिला शिक्षिका र महिला नै क्याम्पस प्रमुखको व्यवस्था हुनुपर्ने सुझाव दिइन् ।
‘पहिला अधिकांश बालिकाहरुको प्राथमिक स्तरमा नै विवाह गरिदिने चलन थियो जुन अहिले घटेको छ,’ शिक्षणमा २७ वर्ष बिताएकी अधिकारीले अहिले अभिभावकहरु कम्तिमा मा.वि. सम्म पढाऊं भन्ने चेत खुलेको सम्झँदै भनिन्, ‘भोलि डिग्री नगरी विवाह नगरौं भन्नेमा सोंच परिवर्तन हुनेछ ।’
मंगल प्रसाद मा.वि. नजिक बस्ने मस्लिम छात्रा, हसीना बानो उचित वातावरण र परिवारको साथले उच्च शिक्षा हासिल गर्ने मौका पाइन् । छेउमै छात्रा क्याम्पस खुल्न लागेकोमा उत्साहित छन् । तर, उपयोगी शिक्षामा उनको जोड छ । ‘म एम.ए. पास छु तर यो डिग्री मेरो लागि त्यति उपयोगी साबित हुन सकेन्, किनभने मलाई मेरो शैक्षिक योग्यता अनुसार शिक्षक बन्नुपर्छ तर मलाई शिक्षक बन्ने इच्छा छैन,’ हसीनाले दैनिक नेपालगन्जसँग भनिन्, ‘यस कारण व्यवसायिक शिक्षा हासिल गर्नु पर्छ भन्ने महसूस भइरहेछ ।’ उनको सुझाव छ, मेहन्दी कोर्स, फेशन डिजाइनिङ, कुकिङ जस्ता सीपमूलक तथा व्यवसायिक रोजगारमूलक शिक्षा महिलाका लागि उपयुक्त हुनेछ । छात्रा क्याम्पसका कारण धेरै मुस्लिम र मधेशी महिलाहरुका लागि बिना बाधा अवरोध शिक्षा हासिल गर्ने बाटो खुलेको हसीनाको बुझाइ छ ।
नेपालगन्ज बुलबुलिया निवासी मधेसी महिला राधा केवटले पछाडि पारिएको मुस्लिम र मधेशी महिलाहरुको शिक्षामा पहुँच बढाउन कम शुल्क सहितको शिक्षण व्यवस्था मिलाइनुपर्ने बताइन् । दैनिक नेपालगन्जसँगको कुराकानीमा उनको भनाइ थियो, ‘उनीहरुको लागि विशेष छात्रवृत्ति प्रदान गरिनुपर्छ ।’ ‘अर्को कुरा, शिक्षाका साथै त्यो शिक्षा सदुपयोग गर्न ठाउँ पनि सृजना गर्नुपर्छ,’ राधा केवटले सम्बद्धहरुको ध्यानाकर्षण गराउँदै भनिन्, ‘घरको दराज थन्किने गरी शिक्षा खाली डिग्रीकै लागि नभइ यसबाट फाइदा पनि पुर्याउन सक्नु पर्यो जस्तैः कम्तिमा हरेक वर्ष मुस्लिम र मधेशी जेहेन्दार महिलालाई शिक्षाको सदुपयोग गर्न स्थानीय सरकारले मेरिट बेस नोकरी दिनुपर्छ ।’
महिला अधिकारकर्मी संस्था, फातिमा फाउण्डेशन नेपालकी कोषाध्यक्ष सुवेदा फरहीनले महिला सशक्तिकरणका कुरा गर्दा होस् वा महिला अधिकारका कुरा गर्दा, शिक्षा सबैभन्दा पहिलो प्राथमिकतामा पर्ने धारणा राख्दै नेपालगन्जका मात्रै नभएर गाउँघरका महिलाका लागि पनि यसरी छुट्टै छात्रा क्याम्पस सञ्चालनको नीति लिइनुपर्ने बताइन् । ‘नेपालगन्जमा छात्रा क्याम्पस खोलिएपछि मा.वि. सम्म शिक्षा हासिल गरी पढाइ छाड्ने बालिकाहरु पनि पढ्न पाउनेछन्,’ उनले दैनिक नेपालगन्जसँग भनिन्, ‘यदि यो क्याम्पसमा शिक्षक र क्याम्पस प्रमुखपनि महिला नै नियुक्त गरि मुस्लिम मधेशी लगायत पछाडि परेका समुदायका लागि विशेष छात्रवृत्तिको व्यवस्था सहित अगाडी बढ्न सके झनै राम्रो प्रभाव र आकर्षण बढ्नेछ ।’