अभिभावकप्रति संवेदनहीन बन्दै सन्तान !

पछिल्ला बर्षहरुमा ज्येष्ठ नागरिक बाबुआमा प्रति सन्तान संवेदनहीन बन्दै गएको पाइन्छ । सन्तान जन्मेर हुर्कदै गर्दा ‘बाबु, नानी ठुलो भएर मलाई पाल्छौं नि !’ यो प्रश्न हरेक अभिभावकले सन्तान सँग गर्दछन् । आफ्नो सन्तानलाई आफ्नो हैसियत भन्दा बढेर लालनपालन र शिक्षादीक्षा दिन्छन् । तर, तीनै सन्तानले आफु सक्षम हुँदै जाँदा अभिभावकको वास्ता भने गर्न छाड्दै जान्छन् ।


ज्येष्ठ नागरिक भैसकेका अभिभावकलाई बेवास्ता गर्नेमा शिक्षित र अशिक्षित दुवै वर्गका व्यक्तिहरु पर्दछन् । कतिपयले सडकमै बाबुआमा छाडिदिन्छन् त कतिपय घरमै अपहेलित गर्दै राखेको पाइन्छ । मानसिक सोच उमेर अनुसार परिवर्तन हुँदै जान्छ । कतिपय ज्येष्ठ नागरिकमा शारीरिकसँगै मानसिक अवस्थामा पनि परिवर्तन आउने चिकित्सक बताउँछन् । जसले गर्दा पनि सन्तानले उनीहरुको बेवास्ता गर्ने गरेको पाइन्छ ।


नेपालको जनगणना २०६८ अनुसार ६० वर्ष वा सोभन्दा माथिका २१ लाख ५३ हजार ३ सय ३० जनसंख्या र १ सय वर्ष र सोभन्दा माथिका ३ हजार ५ सय ६६ नागरिक रहेका थिए । यो संख्याको बढोत्तरी बर्सेनि ३.५ प्रतिशत छ । तर, नेपालको जनसंख्या वृद्धिदर भने १.१८ रहने अन्तर्राष्ट्रिय अभ्यासका पछिल्लो तथ्यांकअनुसार ६४ वर्षमाथिका ज्येष्ठ नागरिक नेपालमा १२ लाख ७७ हजार ५ सय ४५ जना छन् । नेपालमा पनि ज्येष्ठ नागरिकहरूको संख्या बर्सेनी बढ्दो छ । नेपालको संविधानको धारा ४१ ले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ ।


नेपालमा पनि वि.सं. २०५८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसंख्या कुल जनसंख्याको ६.५ प्रतिशत थियो भने वि.सं. २०६८ मा त्यो ८.१३ प्रतिशत पुग्यो । हाल नेपालमा ६० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकको कुल जनसंख्या २३ लाखभन्दा बढी रहेको अनुमान गरिन्छ ।


संयुक्त राष्ट्रसंघले ६० वर्षमा अवकाश लिने र त्यसपछिको उमेरलाई वृद्ध रूपमा मान्यता दिएको छ, त्यस्तै नेपालमा पनि सरकारी सेवाबाट ५८ वर्ष अदालत र विश्वविद्यालय सेवाबाट ६३ वर्षको उमेरमा अवकाश लिनुपर्ने प्रावधानअनुसार त्यस उप्रान्तको उमेरलाई ज्येष्ठ नागरिकका रूपमा मान्यता दिनुपर्ने व्यावहारिकता देखिन्छ ।


नेपाल सरकारले आ.व. ०५२÷५३ देखि ज्येष्ठ नागरिकलाई मासिक ‘वृद्धभत्ता’ प्रदान गर्दै आएको छ । ज्येष्ठ नागरिकलाई थोरै भएपनि जीविकोपार्जनमा सहयोग पुगोस् भनेर सरकारले वृद्धभत्ताको व्यवस्था गरेको हो ।

नेपालमा पछिल्ला बर्षहरु वृद्धाश्रमको संख्या थपिंदै जान थालेको छ । राष्ट्रिय मानवअधिकार आयोगको एक अध्ययनअनुसार २०७५ सालसम्ममा नै नेपालका ६४ जिल्लामा १४१ वृद्धाश्रम थियो । नेपालमा वृद्धाश्रम थपिंदै गए पछि त्यसमा आश्रितको संख्या निकै ठूलो भने पाइँदैन । तर, वृद्धाश्रमक खुलेसँगै त्यहाँ आश्रितहरुको संख्या बढ्दै जाने गरेको पाइन्छ । वृद्धाश्रम नहुँदा कतिपय ज्येष्ठ नागरिक घरमै अपहेलित भएर बस्ने वा सडक तथा मन्दिरमा आश्रित हुने गरेको पाइन्छ ।


निल सागर असाहय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रकी अध्यक्ष सरिता खनाल ज्येष्ठ नागरिक बेसाहारा बन्दै जानु चिन्ताजनक भएको बताउँछिन् । ‘बेसाहार बनेका ज्येष्ठ नागरिकको हेरचाहका लागि वृद्धाश्रम भरपर्दो आश्रय स्थल बन्न सक्छ’, उनी भन्छिन् ।
सन्तानले आमा बुबाको महत्व नबुझ्दा वृद्धाश्रमको खाँचो परिरहेको केन्द्रकी अध्यक्ष सरिता खनाल बताउँछिन् । उमेर बढेसँग आउने मानसिक समस्या, सम्पत्तिको अंश वण्डा, गरिबी, उपचारमा वेवास्ता, स्याहार सुसार र मायाको अभावले गर्दा ज्येष्ठ नागरिक बेसाहारा बनेको उनी बताउँछन् । ‘सन्तानले आफु पनि बुढो हुन्छु, आफुले पनि आफ्ना बाबुआमाको जस्तो चरण पार गर्नुपर्छ भन्ने बुझ्न नचाहँदा पनि समस्या बढ्दै गएको हो’, उनी भन्छिन् ।


वृद्धाश्रममा वृद्धवृद्धाहरूको दैनिकी र उनीहरूको चाहना र आवश्यकताअनुरूपको सेवा तथा सुविधाको प्रबन्ध हुनसक्यो भने उनीहरूका लागि वृद्धाश्रम घरभन्दा पनि सुरक्षित र आरामदायी आश्रयस्थल बन्नसक्छ ।

निल सागरमा मात्रै ५ सय आश्रित

देशका विभिन्न ठाउँमा सेवा केन्द्र रहेको निल सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा मात्रै करिब ५ सय असहाय, ज्येष्ठ नागरिक तथा बालबालिका आश्रित रहेका छन् । हाल निल सागरले नेपालगन्जमा १, बर्दियामा २, कोहलपुरमा १, दाङ्गमा १ र पाल्पामा १ वटा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । अब काठमाडौं र पोखरामा पनि बेसाहाराका लागि सेवा केन्द्रको पहल भैरहेको संस्थाका उपाध्यक्ष अमन सुवेदीले जानकारी दिएका छन् ।

नेपालगन्जमा सञ्चालित निल सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा हाल १ सय ३५ जनाले आश्रय लिइरहेका छन् । जसमा ४२ जना बालबालिका समेत रहेका छन् । आश्रित ५० बर्ष माथिका पुरुषको संख्या करिब २४ जना रहेको छ । निलसागरमा आश्रित ६ महिलाले गत बर्ष र यसबर्ष ३ महिलाले सन्तानलाई जन्म दिएका छन् ।


बर्दिया गुलरियामा ३६ जना पुरुष ज्येष्ठ नागरिक र मधुवन नगरपालिका २७ जना महिलाहरु निल सागरमा आश्रित रहेका छन् । दाङ्ग ४८ र पाल्पा ५० मा जना रहेका छन् । निग सागरले ज्येष्ठ नागरिक, बेसहारा बनेकालाई परिवारमा पुनस्र्थापनाको प्रयास पनि गर्दै आएको छ ।
निल सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालन आर्थिक रुपमा भने निकै चुनौतिपूर्ण बनिरहेको संस्थाका उपाध्यक्ष सुवेदी बताउँछन् । अध्यक्ष खनाल आर्थिक स्रोत नहुँदा ऋण लिएर निल सागर सञ्चालन गर्नु परिरहेको जानकारी दिइन् । ‘खानपान तथा औषधी उपचारमा समस्या हुने गरेको छ’, उनले भनिन् ।


नेपालगन्ज स्थित निल सागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका लागि मात्रै मासिक ५ लाख जति खर्च लाग्ने संस्थाले जानकारी दिएको छ । तर, अपेक्षित रुपमा सहयोग प्राप्त नहुँदा अभाव हुने गरेको अध्यक्ष खनाल बताउँछिन् । संस्थाले आश्रितको मृत्यु हुँदा उनीहरुको धार्मिक संस्कार अनुसार अन्त्यष्टि तथा काजक्रिया समेत गर्दै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया