
कथाका सुत्रधार श्याम साहवको घर कारकाँदो थियो । ०७ सालका मुक्ति सेनाका सहसचिवसंग युद्दका बीरथाथा सुन्न जान्थे । सहरका भित्री कथा सुनाउन भन्दा– ‘सुनेको, देखेको, भोगेको राजनीति कथा त कहन सक्छु । तर, सहरका भित्री कुरा भन्न भने सक्दिन । भित्री कथा सुन्नै त हनिफ मियालाई भेट’ ।
हनिफ चाचाको बिरियानी पसल गगनगंज मोड पूर्वतिर फुलटेंक्रा रोडमा थियो । निरन्तर जाने, पुराना कुरा कोट्याउदै जाँदा चाचा पग्लँदै गए, खुल्दै गए । ९० पार गरिसकेका पाँचो वक्तका नमाजी चाचाको ०४८ मा इन्तकाल भयो । चाचाको उर्दुअवधी मिस्कट नेपाली वोली औधी मजाको हुन्थ्यो । मेरो सहरको त्यो मौलिक भाषाका पुराना पहाडिया वासिन्दालाई त मातृभाषा नै हो । हरेक मान्छेका भिन्नाभिन्नै कथा हुन्छन् । ती माला उनिएर समाजको कथा व्यथा बन्छ ।
आज म ४० वर्ष पछि चाचाको विरियानी पसल अगाडि बसेर छोटेका कबाफको स्वाद सम्झिरहेको छु । गल्ली अब चौँडा सडक भए, मूल बाटामा आकास छुने महल ठडिए । अझै पुराना कोठी, दरवार र भव्य महलले भने सहरका पुराना राजा,वाबु, महाराजहरुका शान शौकतका कहानी कहिरहेको छन् । चाचाले सुनाएको कथा मध्ये ‘मौतका कुवा’ आश्चर्यलाग्दो र पत्याउनै गाह्रो थियो । सहरका हावा मडारिँदै कानमा बज्रिएको चिच्याहटका मौन भाषा कथा बनेर आकासमा बादलसंगै उडिरहेका हुन्थे ।
कथा थाल्नु पहिला कथाकारबारे पाठकले जान्नु जरुरी छ । हनिफ चाचाका कथाव्यथा सरल र सहज थिएनन् । श्याम साहवले भनाइ थियो ः हनिफ युपीवारवंकी, शेखनपुरवाका वासिन्दा हुन् । मैदान जाँदा गाउँले दवंग ठाकुरले आवरु लिएपछि उनकी खालाले अर्कौ दिन खुदकुशी गरिछन् । प्रतिशोधका ज्वाला दन्किएर पारिवारिक इज्जत गएको र खालाको मृत्यू सहन नसक्दा ठाकुर लिला तमाम गरेर उनी उत्तर नेपाल पसेका । धारा ३०२ ल्याग्या रहेछ । युपीका कयौँ खुन केस, डकैतहरु नयाँ मुलुकका धनाढ्य, जिम्दारकोमा शरण लिंदै कसैको गुमास्ता, कसैका लठैत बन्थे ।’
कथा कोट्याउन थाल्दा सुस्केरा हाल्दै, उदास अनुहार लगाएर हिंउझै फुलेका दाडी सुम्सुम्यादै चाचा एकाएक दुवै हात आकाश तिर उठाउँदै दोहा माग्छन– हे मालिक, हे मेरे खुदा … मेरा गुनाह माफ करदे । कहिले मालिकको फरमान आउने हो, दुनियादारीबाट रुक्सतका दिन आईसके । जब सुपुर्दे खाकका लागी जनाजा लिएर कब्रस्थानमा आँउछन्, आफ्नै जनाजा कहिले उठने हो, सोंच्छु’
बिहान र बेलुकी पसलमा भिड लाग्ने भएकाले म दिउँसो पुग्थीँ । बुढापेमा आफ्ना र जानेका कुरा सुनाउन सबैलाई मन लाग्छ । अझ दुखसुखका कुरा कोटयाउँदै जाँदा बुढाबुढी मन र मस्तिकमा सजाएका कुरा पनि सुनाँउछन ।
–चाचाजान.. मौतका कुवाबारे भन्नुस न ….
छाती छाम्दै, टाउको सुम्सुम्याउँदै बुढा धारा प्रवाहमा भन्न थाल्छन् । फिल्मी कथाझैं लाग्ने उनका मनका वह र भोगेका देखेका कुराले वातावरण मौन …. शान्त शान्त हुन्छ । कथावाचन समय हामी दुई प्राणीमात्रै हुन्थ्यौँ ।
–नरेन बाबु….सत्तर साल पहिलेको बात मार्दैछु । त्यो जुम्माको दिन थियो । जुम्मेका नामाज पढेर फर्कंदा त खालाले खुदकुशी गरिसकेकी रहिछिन् । अम्माजानबाट सबैकुरा थाहा पाएँ । २० वर्षीया लडक थिएँ, गाउँको अखाडामा नामुद पहलमानलाई पटखनी दिन्थें । मदरसामा अब्बल थिएँ । एकाएक सन ९१ मार्चको ३ तारिख, हाम्रा नसिवमा जलजला आएको दिन । सबै कुरा ध्वस्त भो । अंग्रेजी जमाना । गाउँमा बस्न सकिन । कसैगरी घागरामा नाव चढेर विश्रामपुर पुगेपछि सास र्फेन सकेँ । हण्डर खाँदै ७ दिनमा मुग्लानिया सरहद काटेर नेपाल आएपछि ढुक्क भएँ । गाउँको हालात् नसोध बाबु । दील चरक्क चरिन्छ, दिमागले काम गर्न छोड्छ । ७० साल पछि पनि दिमागमा त्यहीँ बात घुमिरहन्छ, सिनेमा चक्का जस्तो ।’
चाचाका दिल र दिमागमा खेलिरहेका कुरा कर्णालीका छाल झै अनुहारमा उठ्थे, बिलाउथे । बुढो मान्छेले बलिन्द्रधारा आशुँ झारेको हेर्नै मुस्किल । बुढा सुस्ताउँदै गएपछि कथा कोटयाउन थालेँ ।
– नरेन बाबु…. त्यसबेलासम्म नेपाल सरहद बाबागन्जसम्म थियो । पुरै एरिया जंगलात् । सरहद पार गर्दै गर्दा पण्डित देवशरण साथमा भए । रास्तामा मुग्लानिया र बनियाका उँट,गाडाका लस्कर । कपडा, नुन ल्याएर जैसपुरमा हाट लगाउँथे । छालाका तम्बुमा भरेर माटितेल आउँथ्यो । हटारुको भिड, अचम्मको हुन्थ्यो ।
–
– हैन चाचा, त्यो मौतको कुवावारे बात मारौन ..
– यो सहर त्यो बेला कस्वा नै भने हुन्छ । थोरै बजार, केही अड्डा थिए । हामीलाई बाँच्ने सहारा चाहिएको थियो । पण्डित देवशरण पनि मैजस्तो दुखियार रहेछन् । पछि हामी खुल्यौँ । म भोला साहुको खिदमतमा लागेँ, पण्डितजी सहरका कहलिएका ठालु कृपाश्वर महाराजको हवेलीमा । वेदांग शास्त्रमा पारगात पण्डितजीले महाराजको दिल जित्न छिटै सकिहाले छन् । बीचबीचमा बात मारिन्थ्यो । रसुकदार महाराजको धर्म कृति सहर नाघेर काठमाण्डु नेपालमा पनि छरिएको थियो । घरका जनानीहरु पाल्कीमा सवार हुन्थे भने मर्दहरु घुडसवारी । हवेलीका चारैतर्फका दिवाल यति ठूला थिए की चिहाउने कुरै छोडौ, कसैले फाँद्नै नसक्ने । ठूला गेटमा बडेमाका पहलमानले पहरेदारी गरिहेका हुन्थे ।
छोटकरीमा भन्छु–नयाँ मुलुकका हरेक ठूला जिम्दारका कोठारमा भारतका ५,१० डाकाहरुले शरण लिएका हुन्थे । किसान र अरु जिम्दारलाई धम्काउन मात्रै हैन, उनीहरुले डकैत गरेको सम्पत्तिको आधा हिस्सा भाग लाग्थ्यो । जिम्दारहरु उनको सुरक्षा र शरण दिन्थे, डाकाहरु डकैतीको हिस्सा ।
महाराजको कथा फरक छ । महाराजको हवेली राज खान्दानका कोठी भन्दा अझ ठूलो, बुट्टादार । बनियालाई ब्याजमा पैसा लगाउँथे नै । अझ उनका खास दोस्त जेलका हाकिम थिए । हाकिमको खिद्मतमा हवेलीमा कुनै चिजको कमी हुँदैनथ्यो । बात सम्झिलिहाल्नु भो ! हरेक साँझ हाकिम साबले बन्दी डकैतलाई छोडिदिन्थे र महाराजको हुकुममा रातभर डकैत गरेर माल हवेलीमा बुझाएर जेलमै फर्कन्थे । जब कसैले गडबड गथ्र्यो तब त उसको खिद्मत अल्लाहको प्यारा हुँनै पथ्र्यो ।
हवेलीको चार दिवारी अग्लो थियो । ३ वटा कुवा थिए । एउटा कुवा शुद्ध ब्राह्मणले मात्रै छुन्थ्यो अर्को हवेलीमा काम गर्नेका लागी । तेश्रो कुवा उत्तर कुना जंगलातमा । त्यसलाई भूताहा कुवा भनिन्थ्यो । पण्डित देवशरण भने मौतका कुवा भन्थे । त्यसको रहस्य उनैले बताएका हुन् । धेरै मान्छेका हाडखोड त्यहाँ छन् र हरेक राती त्यहाँ अनौठो चित्कार सुनिन्छ भन्थे ।
एकपटक एउटा कामदारको र हवेलीकी जनानीको नजर जुधेछन् । अरु के, के भयो थाहा भएन । महाराजले पता पाउने बित्तिकै दुवैलाई …… मौतका कुवामा हाली दिने आदेश भएछ । तर घरका जनानीहरुको विलापपछि भने अभागी कामदारको …… । उफ् । हरेक राती बचाउ बचाउ भनेको उसैको स्वर सुनेको कुरा देवशरण भन्थे । त्यसको लगत्तै पण्डित देवशरण हवेली छोडे, रोगाउँदै गए । मेरा यार बिते ।
उफ्… तिमीले बुझिलियौ नि । हे, मौला मलाई माफ गर… म पनि अपराधी थिएँ, पण्डित देवशरण पनि । म अल्लाहका सामने गुनाह कबुल गर्छु, मेरा यारले पनि उसको भगवानसंग पाप स्वीका¥यो । अपराध के हो ? न्याय कस्ले दिन्छ ? न्याय कस्को पकेटमा हुन्छ ? महाराजका बात मारेर मलाई आज सकुन भयो …. नरेन बाबु ।