किन घट्दै छ मातृत्व भावना ?

पृष्ठभूमि
आज हामी बुर्काभित्र\बुर्काबाहिर स्तम्भमा कुनै न कुनै सामाजिक विषयवस्तुलाई लिएर चर्चा गरिएको हुन्छ । एउटा यस्तो विषयमा चर्चा गर्नेछौं । जुन अहिलेको अवस्थामा निकै सान्दर्भिक र आवश्यक छ । हो त्यो विषय हो घट्दो मातृत्व भावना र मातृप्रेम । यसका अनेक कारण छन् ती कारण बारे पनि चर्चा गर्नेछौं । कसैलाई लाग्ला यो त सामान्य कुरा हो सबलाई थाहा छ आमाका लागि बच्चा र बच्चाका लागि आमा नै सर्वश्व हुन्छन् । गर्भबाटै उनीहरुको अस्तित्व जोडिएको हुन्छ । तर अहिले आमाहरुमा मातृत्व घट्दै गइरहेको छ ।

एक समय थियो जब दुधमुखे र काखे बच्चाहरु आफ्नी आमालाई सुगन्धबाट चिन्ने गर्थे । त्यही सुगन्ध पहिचान गरेर आमाको काखमा जाने बित्तिकै रुदैं गरेका बच्चा चुप लाग्थे । उनीहरु आफ्नी आमाको आवाज सुन्ने बित्तिकै आमालाई खोज्न आंखा यता उता घुमाएर खोज्न थाल्थे । अहिले पनि खोज्दछन् आमाको काखमा रुदैं गरेका बच्चा चुप भइहाल्छन् तर अवस्था अलि फरक छ । किनभने आमाको प्रेम र मातृत्व अहिले रेडिमेडमा निर्भर भइसकेछ । आजका आधुनिक र मोर्डन आमाहरुले आफ्नो जिरो फिगर बिग्रिन्छ भनेर बच्चालाई स्तनपान गराउदैंनिन् । अनि बच्चा कमजोर भयो भने दोष अस्पताल, डाक्टर र घर–परिवारलाई दिन्छिन् । विशेषगरी अप्रेशन गरी जन्मेका अधिकांश बच्चालाई बट्टाको दूध खुवाउने गरेको पाइन्छ । यसमा अस्पताल र डाक्टरको दोष मात्र हुन्छ भन्न मिल्दैनन् । प्रायः जसो बट्टाको दूध खुवाउनलाई आमाहरू नै बढी अघि सर्छिन् । तथापि कतिपय अस्पतालले बच्चालाई दूध खुवाउन आमालाई सहयोग गर्नुभन्दा बट्टाको दूध खुवाउनमै प्रोत्साहित गर्छन् । शिशुमैत्री भनिएका अस्पतालहरूले नै बच्चा जन्मिने बित्तिकै बट्टावाला दूध लिएर आउनुस् भन्दछन् । यस्तो अवस्थामा आमाहरूको पहिलो प्राथमिकता आफ्नो स्वास्थ्य आफ्नो पेट र छातीको स्कीन अनि त्यसपछि मात्र बच्चा रहेको हुन्छ । जबकी सर्वविदित रहेको कुरा हो कि पूर्ण रुपमा स्तनपान नगराउँदा आमा र बच्चाबीच स्पर्शको सम्बन्ध राम्रो हुँदैन ।

बच्चाले आमाको दूध चुस्दा आमाको शरीरमा ‘अक्सिटोसिन’ हर्मोन निस्किन्छ । सालनाल अड्किएको छ भने पनि दूध खुवाउंदा त्यो हर्मोन निस्किएर त्यसले मदद गर्छ । अक्सिटोसिन हर्मोनलाई ‘लभ’ (स्नेह) हर्मोन पनि भनिन्छ । त्यो हर्मोन नै निस्किन नपाएपछि आमा र बच्चाबीच प्राकृतिक ममता र मातृप्रेमको विकास हुन पाउँदैनन् । आमाले गरेको प्रेम कर्तव्य पालना गरेको जस्तो देखावटी मात्र हुन्छ । स्तनपान नगराउँदा बच्चाको शारीरिक र मानसिक विकासमा असर गर्छ । त्यस्तै स्तनपान गराउने आमाभन्दा नगराउने आमामा स्तन क्यान्सरदेखि मधुमेहसम्मको खतरा हुने सम्भावना बढी हुन्छ । बच्चाका लागि प्राकृतिकले वरदान स्वरूप राखिदिएको दूध बच्चालाई नखुवाउदां कहिले काही अप्रेशन समेत गर्नुपर्ने हुन्छ । आमाको दूधमा रोगसंग लड्ने प्रतिरोधात्मक शक्ति रहेकोले नियमित स्तनपान गर्ने बच्चाहरूमा झाडापखाला, निमोनिया, श्वासप्रश्वास सम्बन्धी रोगहरू कमै लाग्ने गर्छ । बिडम्बना हामी आमाहरुलाई प्रोत्साहित गर्न स्तनपानको चर्चा नै गर्दैनौं । बरु उद्योग फस्टाउनका लागि देखाएका भिटामिन, क्याल्सियमको विज्ञापन हेरेर मख्ख हुन्छौं । प्राकृतिक रुपमा निःशुल्क पाइने आमाको दूधलाई हामी नजरअन्दाज गर्दैछौं । जसले बजारमा बट्टाको धुलो दूधको व्यापार बढ्दै गइरहेछ । जबकी विश्व भरीका स्वास्थ्य विज्ञहरुको भनाइ छ कि प्राकृतिक रुपमा ६ महिनासम्म शिशुको आन्द्रा आमाको दूधकै लागि मात्रै बनेको हुन्छ । भनिन्छ ६ महिनासम्म आमाको दूध बाहेकका अप्राकृतिक कुरा हाल्दा बच्चाको आन्द्रा बिग्रिने जोखिम बढी हुन्छ । तर पनि विभिन्न कारणले जुन आमाले स्तनपान गराउदैनिन् । ती आमा र उनीहरूका सन्तानले पछि गएर दीर्घकालीन रुपमा शारीरिक तथा मानसिक कष्ट झेल्नुपर्ने हुन्छ । यसका साथै बर्षेनी नेपालभित्र करौडौं रकम बराबरको डाइपर र बट्टाको धूलो दूध पाउडर बाह्य मुलुकबाट आयात गरिन्छ । बट्टाको धूलो दुध पाउडर र रेडिमेड डाइपर खरिद गर्दा देशको अर्थतन्त्रमा असर र परिवारमा आर्थिक भार थपिदैंछ । त्यो किन, कसरी र त्यसबाट बच्न अबको पहल के हुदां बेस हुनेछ भनी त्यसका बारेमा हामी यो स्तम्भमा आज बृहत रुपमा चर्चा गर्नेछौं ।

अहिलेको परिवेश
आज हाम्रो समाज रेडिमेडको भरमा निर्भर भइसकेछ । हरेक कुरा मानिसले रेडिमेड खोज्न थालेछन् । अहिले विभिन्न स्वास्थ्य समस्याका कारण अधिकांश बच्चाको जन्म हुन उनलाई आई.सी.यू.मा राख्नुपर्छ । जन्मे पश्चात कैयौं दिनसम्म बच्चा आमाबुवा परिवारसंग टाढा आई.सी.यू. कोठामा बस्छन् । यसरी आई.सी.यू.मा बस्दा उनीहरु आमाको स्तनपान गर्न पाउदैनन् आमाको स्पर्शबाट बन्चित रहन्छन् । अनि जब आमाको स्तनपानको कुरा आउँछ कैयौं बच्चालाई त डाक्टरले स्वास्थ्य समस्या र जीवन रक्षाका कारण आमाको स्तनपानको सट्टा बट्टाको दूध खुवाउने सल्लाह दिन्छन् । नवजात शिशुलाई बट्टाको दूधको दिंदा उसको पाचनशक्ति कमजोर रहेकोले सुरुमा पचाउन गाह्रो हुन्छ । जसले गर्दा उसलाई पखाला लाग्छ पखाला लाग्दा पटक पटक बच्चा दिसा गर्दा उसको लुगा फेर्न झ्याउ मानेर रेडिमेड डाइपरको प्रयोग गरिन्छ । डाइपर लगाउने बानी लागिसकेपछि आमाहरु अब घरमा सिलाएका कपडा लगाउँदा दिसापिशाब गर्दा फेर्ने झन्झट मान्ने गर्छिन् । अब बच्चा ठुलो हुने क्रममा एक त बट्टाको दूध खुवाउने हुदां घरको कुनै पनि सदस्य वा कामदारले बोतलमा भरेर बच्चालाई दिन्छन् । दिसापिशाब गर्दा पटक पटक लुगा फेर्ने झन्झटमा चौबिसै घण्टा डाइपर लगाइन्छ । घरमा सिलाएको कपडा फेर्न गाह्रो हुन्छ तर रेडिमेड बनाइएको डाइपर घरको कुनै पनि सदस्यले फेर्ने गर्छन् । जसले बच्चा र आमा बीचको स्पर्शको नाता टुट्छ । झन् कामकाजी आमा भएकी भए त अझ् बच्चा र आमा बीच दूरी बढ्नजान्छ । किन भने आमालाई आफिस जानु पर्ने हुँदा बच्चालाई घर परिवारलाई जिम्मा लगाइ दिन भरी काममा हुन्छिन् । घर फर्किदा एक त घरको कामकाज गर्ने, घरका अन्य सदस्यलाई हेर्नुपर्ने जिम्मेवारी हुन्छ । कति आमाले त बाध्यता रहेकोले भने कति त बाध्यता नरहे पनि आफ्नो जिउ फिगर मेन्टेन गर्न पनि स्तनपान गराउँदैनिन् । अनि आफ्नो फिगर न बिग्रोस् भनी डाईटिङ गर्छिन् । अब बट्टाको दूध खाने बच्चा चौबिसै घण्टा डाइपरमा पैक रहने हुदां आमा र बच्चाको भेटघाट कम हुनेगर्छ । अलि ठुलो हुँदा खेलकुद गर्ने उमेरमा बच्चाहरुलाई रुन नदिन मोबाइल दिइन्छ । जसले आमालाई बच्चासंग टाढा गरिदिएको हुन्छ ।

उहिलेको परिवेश
पहिला पहिला बच्चालाई स्तनपान गराउँदा दूधको कमी नहोस् भनी दूध बढाउने गिजा खान्थिन् । आमाले स्नेहपूर्वक बच्चाका लागि आफ्नै हातले बच्चा गर्भमा आउन साथ बच्चा जन्मिनु पुर्व उसको लागि चाहिने आवश्यक कपडा सिलाउन्थिन् । उसको लागि साना साना बिस्तरा बनाउन्थिन् । बच्चालाई चिसो नलागोस् वा चिसो लागे उसलाई निको पार्न जडिबुटी, लसुन प्याज ज्वानोको तेल बनाउन्थिन् । रुघाखोकीबाट बचाउन ज्वानो उमालेर त्यसको घोल बनाउन्थिन् । जसले गर्दा गर्भमा रहेको बच्चालाई त्यो भाव महसुस हुन्थ्यो । बच्चा जन्मिन साथ आमाले आफ्नो न्यानो काखमा अंगालो हालेर स्तनपान गराउन्थिन् । बच्चाका लागि आफैले तयार गरेको तेलको मालिश गर्थिन् । रुघाखोकी लाग्दा स्नेह पुर्वक आफ्नो हातले तयार गरेको ज्वानोको घोल खुवाउन्थिन् । बच्चाले दिन जति पटक दिसापिशाब गर्थे आफ्नो हातले बच्चाको कपडा फेर्थिन् त्यसलाई धोइपखाली सफा गर्थिन् । कपडा फेर्ने क्रममा उनलाई बच्चाको भोकको आभास हुदां बच्चालाई स्तनपान गराउन्थिन् । यसरी बच्चा र आमा बीच स्पर्शको सम्बन्ध एकदमै बलियो हुन्थ्यो । आमाको काखबाट नै संस्कार सिक्दै हुर्केका बच्चाहरु पछि गएर महान व्यक्तित्वको रुपमा पहिचान कायम गर्थे ।

देखापर्ने समस्या
एकतिर अहिले समाजमा आमा र बच्चा बीच दूरी बढ्दै गइरहेछ । उनीहरु बीच मातृ स्पर्श र अपन्त्वको नाता टुट्दैछ । आमा र बच्चा बीचको बढ्दो दूरीले बच्चाहरुलाई निस्ठुरी र भावहीन बन्दैछन् । अर्कोतिर बट्टाको दूधको बढ्दै गरेको प्रयोगले यसको खाली बट्टाबाट समाजमा फोहोर बढिरहेछ । यसका साथै डाइपरको अन्धाधुन्ध प्रयोगले पनि समाजमा फोहोर बढाइरहेछ । डाक्टरहरुको भनाई अनुसार यसका बट्टाको दूध खाने बच्चाहरुको पाचनशक्ति कमजोर हुने र रेडिमेड डाइपरको बढी प्रयोगले बच्चाहरुको छालामा इन्फेक्शन र छाला सम्बन्धी रोग लाग्ने खतरा बढी हुन्छ । यसका साथै एकतिर जहां बट्टाको धूलो दूध र रेडिमेड डाइपर आयात गरी खरिद गर्दा बर्षेनी करोडौं रुपैंया देशबाट बाह्य मुलुक जाने गर्छ । यसले हाम्रो देशको अर्थतन्त्रलाई पनि असर पार्दैछ । भने अर्को तिर परिवारमा बट्टाको धूलो दूध पाउडर र डाईपर खरिद गर्दा आर्थिक भार बढ्दैछ ।

रेडिमेड डाइपर आयात
गत आर्थिक वर्षमा नेपालले एक अर्ब ६५ करोड रुपैयाँ मूल्य बराबरका डाइपर आयात गरेको छ । सो अवधिमा विभिन्न १५ मुलुकबाट उक्त मूल्य बराबरका १० करोड ५५ लाख थान डाइपर आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार तीमध्ये सबैभन्दा बढी भारतबाट एक अर्ब ५० करोड रुपैयाँ मूल्य बराबरका करिब १० करोड थान डाइपर आयात भएको छ । त्यस्तै भियतनामबाट ५० लाख मूल्य बराबरका पाँच लाख २० हजार तथा पाकिस्तानबाट ३१ लाख मूल्य बराबरका करिब १५ हजार थान डाइपर आयात भएको विभागले जनाएको छ । नेपालले मलेसिया, थाइल्याण्ड, युनाइटेड स्टेट्स (यूएइ), टर्की, थाइल्याण्ड, हङकङ, सिङ्गापुर र डेनमार्कबाट पनि डाइपर आयात गर्ने गरेको छ । विशेषगरी नवजात शिशु, शल्यक्रिया गरेका बिरामी, ज्येष्ठ नागरिक तथा लामो यात्रा गर्नेले मलमूत्र अन्यत्र नजाओस् भन्नका लागि डाइपरको प्रयोग गर्ने गर्दछन् । (डाइपर सम्बन्धी जानकारीको स्रोतः गुगल)

गर्नुपर्ने पहल
मातृत्व भावना बढाउन अब सामाजिक स्तरमा सचेतना फैलाउन टोल टोलमा मातृशिशु स्याहार बारे जानकारी दिनुपर्छ । स्तनपान गराउने आमाले सबै प्रकारका स्वास्थ्यकर खानेकुरा खान मिल्छ । शाहाकारी आमाहरुले भिटामिन बी नियमित खानुपर्छ साथै क्याल्सियमका लागी प्रशस्त दुग्ध पदार्थ खानुपर्छ । आमाको दुध आमाको खानाबाट भन्दा पनि रगतबाट बन्ने हुनाले खानाले दुधको रचनामा कुनै फरक पार्दैन् । तथापि आमालाई एलर्जी हुने खानेकुरा खांदा कहिलेकाहीं बालबालिकालाई दुधको माध्यमबाट एलर्जी हुन सक्छ । त्यस्तो अवस्थामा सो स्तनपान गराउने आमाले ती खानेकुरा खानु हुदैंन् । सकभर घरमा बनाईएका डाइपर, जडिबुटीबाट बनाइएका तेल, ज्वानोको झोल जस्ता कुरा प्रयोग गर्न प्रोत्साहित गर्नुपर्छ । रेडिमेड डाईपर, बट्टाको दूध र बजारी सरसामानको प्रयोग गर्दा त्यसले पुर्याउने नोक्सान र स्वास्थ्य असर बारे सचेत बनाउनुपर्छ । समय समयमा नियमित बच्चालाई स्तनपान गराउदांको फाईदा बारे आमाहरुलाई जानकारी दिनुपर्छ ।

परिकल्पना
आमाले नियमित स्तनपान गराउने र आफ्नै हातले घरमा बनाएको डाइपर प्रयोग गर्ने हुदां आमा र बच्चा बीच स्पर्शको सम्बन्ध बलियो हुनेछ र बच्चाहरु हृष्टपुष्ट हुनेछन् । रेडिमेड डाईपर र बट्टाको दूधको प्रयोग कम हुने हुदां समुदायमा फोहोर बढ्दैन । बच्चाहरुलाई स्वास्थ्य समस्या हुनेछैन् । आमाको काखबाट संस्कार सिक्दै हुर्केका बच्चाहरु सभ्य व्यक्ति बनेर गाउँ समाज र देशहितका लागि पिलर बन्ने छन् । आमाले स्तनपान गराउने र घरमा बनाएका डाइपर प्रयोग गर्ने भए परिवारमाथि आर्थिक भार बढ्ने छैन । डाइपर र बट्टाको धुलो दूध पाउडरको आयात घटेमा देशको अर्थतन्त्रमा त्यति असर पनि पर्नेछैन ।

प्रतिक्रिया

प्रतिक्रिया