वालविवाह मुक्त वडाका लागि सूचक तय गर्दै खजुरा

वडा नम्बर ३ पछि खजुरा गाउँपालिका वडा नं. १ वालविवाह मुक्त वडा घोषणा

बाँकेको खजुरालाई नमूना गाउँपालिका बनाउने अभियानमा लागेका जनप्रतिनिधिहरु पालिकालाई वालविवाहमुक्त बनाउन अग्रसर भएका छन् । नमूना गाउँपालिका अन्तरगत एउटा सूचक वालविवाहमुक्त पालिका हुनु पर्ने भएकाले अभियान चलाइएको गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिए ।

क्रमशः वडापछि पालिकालाई वालविवाहमुक्त घोषणा गर्ने अभियानमा रहेको खजुराले जिल्लामैं पहिलो वडा नम्बर ३ लाई वालविवाहमुक्त घोषणा गरेको खजुराको आइतवार अर्काे वडाले उक्त सूचक पार गरेको छ ।
वडामा गरिएको सर्वेक्षण अनुसार, २० प्रतिशतभन्दा तल अर्थात खजुरा १ मा १६ दशमलव १२ प्रतिशत वालविवाहको अवस्था रहनुका साथै बालविवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालविवाह मुक्त अभियान संचालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो ।

आइतवार एक समारोहका वीच वडालाई वालविवाह मुक्त वडा घोषणा गरिएको हो । हामीलाई १ देखि ४ नम्बर वडा त्यति ठुलो समस्या छैन, गाउँपालिका प्रमुख कक्षपतिले दैनिक नेपालगन्जसँग भने, बाँकी वडाहरुमा अलिकबढी चुनौती देखिएको छ । यद्धपी, सबै वडामा आवश्यक सूचक पार गर्न गराउन प्रयास भइरहेकोले छिट्टै पुरै गाउँपालिका वालविवाहमुक्त घोषणा गरिने विश्वास कक्षपतिको छ ।

आइतवार भव्य कार्यक्रमबीच, वडा नं. १ की कार्यवाहक अध्यक्ष फत्तेकुमारी जैसीले वडा नं. १ लाई बालविवाहमुक्त वडा घोषणा तथा प्रतिबद्धता पढेर सुनाएपछि पालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले उक्त प्रतिवद्धतापत्र वडालाई हस्तान्तरण गरे । हामी सबैको प्रतिवद्धता ः बाल विवाह विरुद्धको साझा प्रतिवद्धता भन्ने मूल नाराका साथ वडा नं. १ लाई बाल विवाह मुक्त वडा घोषणा सभा २०७८ लाई सम्बोधन गर्दै खजुरा गाउँपालिका प्रमुख कक्षपतिले अभियानमा साथ दिने संघसंस्थाहरुलाई धन्यवाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने बताए ।
कार्यक्रममा खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले २० वर्ष पुगेपछि मात्र विवाह गरिदिने कुरामा समाजमा सबैको दायित्व हुनु पर्नेमा जोड दिइन् ।

खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले वालविवाहलाई पूर्णरुपमा निरुत्साहित गर्न सरोकारवाला निकाय सक्रियरुपमा लाग्नु पर्ने बताए ।
प्लान नेपाल, स्याक नेपाल, बाल क्लब संजाल, किशोरी क्लव, युवा क्लब लगायतको सहकार्यमा वडा नं. १ लाई बाल विवाह मुक्त वडा घोषणा गर्न सफल भएको खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले बताइन् ।

कार्यक्रममा सहजिीकरण गर्दै पत्रकार शंकर प्रसाद खनालले बालविवाह मुक्त वडा बनाउन गरिएका प्रयास तथा अवस्था अध्ययन प्रतिवेदन सार्वजनिक गरेका थिए । स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले बाल विवाहमुक्त अभियानमा निरन्तर सहकार्य हुने बताउँदै खजुराबाट अभियानको शुरुवता भएकोमा प्रशंसा गरे । यसअघि वडा नं. १ को वडा कार्यालयबाट सन्देशमुलक ¥याली निकाली मैटहवा माविमा पुगेर सभामा परिणत भएको थियो ।

घोषणासभा कार्यक्रम संचालन शिक्षक सुन्दर गुरुङ र वडा नं. १ का कर्मचारी मनमाया रानाले गरेका थिए । कार्यक्रममा वालविवाह मुक्त अभियानमा लागेका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया