बाँके युनेस्को क्लबको ३२ औं साधारणसभामा युनेस्को गाउँ बनाउन प्रस्ताव गरिएको छ । शनिवार बाँकेको नेपालगन्जमा बाँके युनेस्को क्लबको ३२ औं साधारणसभामा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहसचिव डा. बाबुराम अधिकारीले नमुनाका रुपमा एउटा गाउँको विकास गर्न सुझाव दिए । युनेस्कोले हरेक क्षेत्रमा काम गर्ने उल्लेख गर्दै डा. अधिकारीले बाँके युनेस्को क्लबले गरेका कामहरु अतिनै प्रशंसनीय रहेकाले एउटा युनेस्को गाउँ बनाउन प्रस्ताव गरे ।

विश्वभरकै युनेस्को क्लबहरुमध्ये बाँके युनेस्को क्लबपनि उत्कृष्टको सूचीमा पर्ने डा. अधिकारीको मूल्यांकन थियो ।
साधारणसभाको उदघाटन् गर्दै नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख डा. धवल शम्शेर राणाले नेपालगन्ज लगायत बाँके र बर्दिया जिल्लामा लामो समयदेखि क्लबले उत्कृष्ट कार्य गर्दै आएकाले छात्रा क्याम्पसका लागि विशेष सहयोगको ध्यानाकर्षण गराए । डा. राणाले कोभिड नियन्त्रणदेखि बाल संरक्षण, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा क्लबले विशेष सहकार्य गरेर काम गर्दै आएको चर्चा गर्दै नगरप्रमुख डा.राणाले छात्रा क्याम्पसका लागि सहयोगको अपेक्षा गरेका हुन् ।
नेफुकनका मानार्थ अध्यक्ष एवं, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य हरिवंश किरातले देशभरिकै युनेस्को क्लबहरुमध्ये बाँके युनेस्को क्लब सबैभन्दा बढी सक्रिय र उत्कृष्ट कार्य गर्ने क्लब रहेको बताए ।
नेफुकनका मानार्थ उपाध्यक्ष एवं, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य दिपक सरकारले यो क्लबले युनेस्कोको महान लक्ष्यलाई पुरा गर्न दिनरात खटेर काम गरिरहेको जनाउँदै यसबाट अन्य सामाजिक संघसंस्था शिक्षा लिनुपर्ने धारणा राखे ।
क्लबका अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा क्लबका महासचिव मिना तुलाधरले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बर्षभरि गरिएका कार्यक्रमहरुको जानकारी गराउनुका साथै आगामी वर्षको कार्यक्रमहरु पनि प्रस्तुत गरेकी थिइन् ।
कर्यक्रममा गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, मदरसा ईस्लामिया संघका पुर्व अध्यक्ष मौलाना अब्दुल जब्बार मन्जरी, नेपाल पत्रकार महासंघ बाँकेका सचिव कमल डाँगी, क्लबका उपाध्यक्ष पन्चम गुरुंग, क्लबका सल्लाहकारहरु निरज गौतम र मो.हारुन कादरी, क्लबका कार्यकारी निर्देशक रवि तुलाधर, जिल्ला बाल क्लब सन्जाल बाँकेका अध्यक्ष मेनुका रावत र क्लबका कार्यसमिति सदस्य साहिल अन्सारी लगायतले विभिन्न धारणा राखेका थिए ।
कार्यक्रममा बर्षभरि उत्कृष्ट काम गर्ने ५ जना कर्मचारीहरु लक्ष्मी चौधरी, आशा कुमारी सुनार, खिम बहादुर थापा, अनुप कुमार वर्मा र दयाराम चौधरीलाई नगदसहित एक्सिलेन्ट एअर अवार्ड प्रदान गरिएको थियो । त्यस्तै क्लबका कर्मचारी साजिद अलि सिद्दिकी, शान्त कुमार चौधरी, बसन्त कुमार विसी र ईश्वर विकलाई बेस्ट एप्रिसिएसन सम्मान प्रदान गरिएको थियो ।
साधारणसभाको बन्द सत्रले आर्थिक प्रतिवेदन पारित गर्नुका साथै विभिन्न निर्णयहरु गरेको क्लबका अध्यक्ष राजेन्द्र चौधरीले जानकारी दिए । क्लबका मुख्यसंरक्षक प्रवेज अली सिद्दीकीका अनुसार, साधारण सभाको दिशा निर्देशका आधारमा क्लबले अबको कार्यदिशा लिनेछ ।