पूर्वमन्त्री त्रिपाठी भन्छन्, राजनीति जोखिमउन्मूख

पूर्वमन्त्री हृदेश त्रिपाठीले मुलुकको राजनीति जोखिम उन्मूख भएको बताएका छन् । संसद पुनःस्थापना गर्ने सर्वाेच्च अदालतको निर्णयलाई स्वाभाविक र त्यससँगै नाम तोकेरै प्रधानमन्त्री घोषणा गर्ने कार्यलाई अस्वाभाविक भनेका पूर्वमन्त्री त्रिपाठीले ठुला दलहरुबीचको कटुताले राजनीति लीक बाहिर गएको धारणा राखे ।


पूर्वमन्त्री त्रिपाठीले अदालतबारे खुलेर आफ्ना धारणा प्रस्तुत गरे । आफ्ना अदालत न्यायालय हुन सकेनन्, न्यायाधिश न्यायमूर्ति भएनन्, त्रिपाठीले राजनीतिक स्वार्थमा भएगरेका विभिन्न न्यायिक निणर्यहरुमा चर्चा गर्दै भने, अदालत एकथान फैसलामैं सिमित भएका छन् ।
यो अवस्थालाई तत्काल लीकमा ल्याउन सकिएन भने राजनीतिक दुर्घटना र व्यवस्थामाथिको जोखिम उत्पन्न हुनसक्छ, स्वतन्त्र राजनीतिक विचार समूहका संयोजक समेत रहेका वरिष्ठ नेता त्रिपाठीले बुधवार नेपालगन्जका पत्रकारहरुसँग भने, सार्वभौमसत्ता जनतामा निहीत गर्ने संविधान र व्यवस्थाको स्थापित विशेषतालाई जोगाउन पनि राजनीतिक दलहरु लीकमा आउनुपर्छ ।


अवधी पत्रकार संघ नेपालको केन्द्रीय समितिले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्री त्रिपाठीले मधेशको समस्या जबसम्म देशको समस्या बन्दैन तबसम्म यसको समस्या समाधान नहुने प्रष्ट पारे । देश बनेपछि मधेसका समस्या पनि हल हुने धारणा राख्दै पूर्वमन्त्री त्रिपाठीले भने, ‘मधेसका समस्या भनेको देशकै समस्या हो । जबसम्म देश बन्दैन, तबसम्म मधेसका समस्या हल हुन सक्दैनन् ।’


त्यसका लागि गरिएको क्षेत्रीय राजनीति सफल हुन नसकेको औल्याउँदै नेता त्रिपाठीले आफुले छुट्टै दल खोल्न लागेको बताए । पछिल्लो आम निर्वाचनमा एमालेसँग राजनीतिक सहकार्य गरेका त्रिपाठीले छिट्टै छुट्टै दल खोल्ने र आगामी निर्वाचनमा आफ्नै पार्टी र चुनाव चिन्हबाट निर्वाचनमा जाने घोषणा गरे । नेता त्रिपाठीले आगामी निर्वाचनसम्म नयाँ दल दर्ता भइसक्ने बताए । ‘पार्टीको नाममा समाजवादी शब्द राख्ने सहमति भएको छ । चार पाँच वटा नामबारे छलफल जारी छ । चाँडै टुंगोमा पुग्छौं’, नेता त्रिपाठीले पत्रकारहरुसँग भने, ‘दलको राजनीतिक प्रस्ताव, आर्थिक नीति, सामाजिक र सांस्कृतिक पक्ष कस्तो हुने भन्ने टुंगो लागिसकेको छ ।’


पूर्वमन्त्री त्रिपाठीले आफ्ना समूहका सदस्य, लुम्बिनी प्रदेशका सांसद अजय शाहीलाई पार्टीका हैसियतले ह्वीप नलाग्ने बताएका छन् । यद्दपी, सुर्य चिन्हबाट निर्वाचित भएकाले एमालेको मागलाई अदालतले मान्नपनि सक्ने देखिन्छ, त्रिपाठीले शाही कुनै सल्लाह नगरि गठबन्धन सरकारमा जाने निर्णय गरेको जानकारी दिंदै भने ।

अवधी पत्रकार संघ नेपालका महासचिव गुरमुरत यादवले सहजीकरण गरेको पत्रकार भेटघाट संघका केन्द्रिय अध्यक्ष राकेश कुमार मिश्रको अध्यक्षतामा भएको थियो । समूहका नेता पशुपतिदयाल मिश्र, जगदिश शुक्ल, बेचनलाल गुप्तलगायतको सहभागितामा नेता त्रिपाठीले पत्रकार भेटघाट गरेका हुन् ।
बाँकेमा विकासका लागि आफुले गरेका विभिन्न पहलकदमीहरुको सम्झना गर्दै पूर्वमन्त्री त्रिपाठीले नेपालगन्जसँग विशेष लगाव भएको सुनाएका थिए । नेपालगन्ज रहँदा आफ्नो पार्टी संगठन निर्माणका लागि जिल्लाका विभिन्न व्यक्तिहरुसँग व्यक्तिगत तथा समूहगत छलफल गरेका त्रिपाठीले फर्कनुअघि पत्रकार भेटघाट गरेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया