नेपालगन्जमा कोरोना संक्रमणः किन घट्दै सावधानी ?

हिमाल गैरे



कोरोना संक्रमणको तेस्रो लहरको जोखिम औल्याइदै गर्दा नेपालगन्जमा स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा सावधानी घट्दै गएको देखिएको छ । सरोकारवालाहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा प्रभावकारी नियमन गर्न नसक्दा अटेरीहरु थप अराजक बन्दै गएपछि संक्रमणको जोखिम बढेको हो ।
मुलुकभर आइतबार १ हजार ९ सय २० नयाँ संक्रमित संख्या बढ्दा बाँके जिल्लामा २ जनाको मृत्यु संगै ११ जना थपिएका छन् । उनीहरु मध्ये पाँचजना संक्रमित जिल्ला भित्रका हुन् ।
भेरी अस्पतालका प्रमुख, मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले शुक्रबारको अवस्था सम्म ५५ जना अस्पतालमा भर्ना भई उपचार गराइरहेको बताए । जस मध्ये २ जना बालबालिका हुन् ।
‘अस्पतालले आफ्नो उपचार गर्ने क्षमता बढाएपनि संक्रमण दर बढ्दै गएको छ । पीसीआर ल्याबमा, भर्ना हुन आउने चाप पनि बढ्दो छ । ’ डा. थापाले दैनिक नेपालगन्जलाई बताए । अवस्था अझै सामान्य भैनसकेकोले सावधानी अपनाउनुपर्ने र स्वास्थ्य जोखिम बढी रहेका बालबालिका, जेष्ठ नागरिक, सुत्केरीलाई विशेष स्याहार र सजगता अपनाउन डा. थापाले सुझाए ।
विशेष गरी चाडपर्वको शरुवाती दिनहरु आउँदै गर्दा आमनागरिकमा सावधानी बढ्नुपर्ने भएपनि झन् घट्दो अवस्था पाइएकोले पनि जोखिम बढ्दै गएकोले विज्ञहरुले चासो व्यक्त गरेकाछन् ।
नेपालगन्ज बजारमा मास्क नलगाउने र भौतिक दुरीको पालना नगर्नेहरुको संख्या बढ्दै गएको पाइन्छ । लगाएकाहरु पनि मापदण्डअनुसार गम्भिर देखिदैनन् ।
‘सरकारले निषेध गरेका निकायहरु खुलेआम संचालित छन्,’ नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्णले नेपालगन्जमा बढ्दो अराजकतातर्पm संकेत गर्दै दैनिक नेपालगन्ज संग भने, कोरोना कहरको तेश्रो लहर आउने होइन हामी आफैं निम्त्याउँदै छौं । डा. कर्णका अनुसार कतिपय शिक्षालयमात्रै बन्द गरेको जस्तो गरे पनि स्वीमिङ पुल देखि जिमक्लब पनि खुलेआम संचालन भएका छन् ।
लहर आइसके पछि हाम्रा पुर्व तयारीले मात्रै केही नहुने उनको चेतावनी छ । ‘कहर कसैलाई पुर्व जानकारी गराए नआउने र यसरी लापरवाहीबाट बढ्दो संक्रमणलाई रोकथाम र व्यवस्थापनमा समेत चुनौती हुन्छ ’ डा. कर्णले बताए ।
पहिलो चरणको संक्रमणमा निकै लामो लकडाउनको सामना गरेको नेपालगन्जले दोश्रो लहरमा निकै ठूलो मानविय क्षति व्यहोरेको छ । यस्तो बेला तेश्रो लहर आउन नदिन कोरोना मापदण्डअनुसार प्रत्येकले सावधान अपनाउनुपर्ने डा. कर्णको सुझाब छ ।

जिल्ला कोरोना व्यवस्थापन समितिका फोकल पर्सन संक्रमण दर पहिले १० प्रतिशत भएपनि १५ देखि २५ प्रतिशत बढ्ने क्रममा भएको तर संक्रमण दर नियन्त्रण आउन नसक्नु चिन्ता भएपनि सतर्कता जरुरी रहेको बताए । अहिले आत्तिनुपर्ने अवस्था नभएको भएतापनि कोहलपुर क्षेत्रमा संक्रमण दर बढ्दै जानुले नेपालगन्ज आसपासका क्षेत्रमापनि सावधानी अपनाउनुपर्ने वलीले बताए ।
‘लापरवाही पक्कै भएको छ यसमा सुधार आवश्यक छ । अन्यथा अवस्था जटिल हुन सक्दछ ।’ अहिले वडा ११ र १२ मा संक्रमण धेरै देखिएकोफोकल पर्सन वलीले दैनिक नेपालगन्जसंग भने ।

नियामक निकाय के गर्दैछ त ?
कोरोना संक्रमण न्यूनिकरणकालागि रणनीतिक योजना बनाउन अधिकार सम्पन्न जिल्ला कोभिड व्यवस्थापन समिति बनाइएको छ । जिल्ला प्रशासन कार्यालयमैं रहने गरि प्रमुख जिल्ला अधिकारीले त्यसको संयोजन गर्ने व्यवस्था छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल जनस्तरबाट नै कोभिड प्रतिकार्यका लागि सजग नभए सम्म सरकारी संयन्त्रका प्रयासले सार्थकता नपाउने जिकिर गर्दछन् । विभिन्न सचेतना कार्यक्रम संगै मास्क वितरण कार्यक्रमहरु गरेर आमनागरिकलाई सचेत गराउने प्रयास गरेको भएतापनि जनस्तरमा लापरवाही बढ्दा संक्रमण जोखिम बढेको प्रजिअ गेलालको भनाइ छ ।
काम गर्ने वर्गलाई गरिखान दिदै अतिरिक्त आवश्यकता परिपूर्तिका लागि गरिने स्वीमिङ पुल, जीमखाना जस्ता क्षेत्रमा सजगता अपनाउनु पर्नेमा डा. कर्णले स्थानीय प्रशासनलाई सुझाए । डा. कर्ण तेस्रो लहर रोकथामका लागि आवश्यक तयारी सुझाव कार्यदलका सदस्य पनि हुन् ।
१५ दिनमा १ सय ८२
पछिल्लो पन्धदिनको आँकडा हेर्ने हो भने बाँकेमा १ सय ८२ नयाँ संक्रमित बढेका छन् । आइतबार ५ जना नयाँ संक्रमित संख्या बढ्दा यस १५ दिनमा जिल्लाभित्र ३ जना कोरोनाका कारण मृत्यु भएकाछन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जारी गरेको नियमित बुलेटनको विश्लेषण गर्ने हो भने श्रावण १५ देखि भदौ ६ सम्म २ सय ८६ संक्रमित रहेको र ३ जना यस अवधीमा मृत्यु भएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया