
अपराध भनेको समाज वा ब्यक्तिलाई हानी, नोक्सानी वा खतरा पु¥याउने कार्य मात्र नभै कानून बिरोधी र दण्डनीय कार्य हो । कानूनी परिभाषामा अपराध भनेको फौजदारी कानूनका प्रचलित मान्यताहरुको उल्लघंन गर्नु हो । कानूनले गर्न नहुने भनिएको कार्य गर्ने र गर्न हुने भनिएको कार्य नगर्नु हो । फौजदारी कानूनका मान्यताहरुले निषेध र दण्डनिय ठह¥याएको कार्य गर्नु अपराध हो ।
सामान्यतया राज्यको कानूनले नगर्नु भनेको कार्य गर्ने ब्यक्ति अपराधी हो । कानूनले परिभाषित गरेको अपराध गर्ने ब्यक्ति अपराधी हो । समाजमा आफ्ना अधिकार र कर्तब्यको रक्षा नैतिकवान नागरिकमा मात्र रहन सक्दछ । समाज र राज्यको कानूनसंग उसका कस्ता सम्बन्धहरु छन् भन्ने कुरा उसका चरित्रले, दैनिक जीवनका क्रियाकलापहरुले देखाएका हुन्छन् । यदि कुनै मानिसले आफ्ना अधिकार र कर्तब्यको ख्याल नराखी समाज र राज्यलाई अनादर भावले हेर्न पुग्दछ भने उसमा नराम्रा तत्वहरुले प्रभाव पार्दछन् । त्यसमा समाज वा ब्यक्ति बिरोधी कार्य गर्न पुग्दछ । यदि कानूनले प्रतिवन्धित गरेको कार्य न्यायिक निकायबाट प्रमाणित भएमा त्यो ब्यक्ति अपराधी हो ।
अपराध सामाजिक सुरक्षामा खलल पु¥याउने गलत कार्य हो । अपराध भनेको खराव नैतिक आचरण हो । अपराधले एउटा ब्यक्तिलाई मात्रै असर नपारी समाजलाई नै असर पारेको हुन्छ । अपराधिक प्रबृत्ति पनि समाज भित्रै उत्पत्ति भै विकाश हुने गर्दछ । यसका लागी समाजमा रहेका नकारात्मक तत्वहरु एवं समाजका आर्थिक, राजनैतिक, धार्मिक, सास्कृतिक, मनोबैज्ञानिक प्रणालीहरु नै कारक तत्व रहेका हुन्छन् ।
फौजदारी कानूनको सिद्धान्त एवं ब्यवहारमा अपराध हुनको लागि अपराधिक कार्य अपराधिक मनसायका साथ गरिएको हुनु पर्दछ । अपराध शब्दले धेरै प्रकारका अपराधहरुलाई समेटेको हुन्छ । समाजमा एकै खाले अपराध घटेको पाइदैन । ब्यक्ति बिरुद्धका, सम्पत्ति बिरुद्धका, राज्य बिरुद्धका, सार्वजनिक शान्ति बिरुद्धका, सार्वजनिक न्याय बिरुद्धका, अन्तर्राष्ट्रिय कानून बिरुद्धका लगायतका अपराध पनि हुने गर्दछन् ।
मुद्धा फौजदारी र देवानी गरि दुई प्रकारका हुन्छन् । फौजदारी मुद्धा पनि सरकारवादी र दुनियावादी गरि दुई प्रकारका हुने गर्दछन् । यो अपराधसंग सम्बन्धीत हुन्छ । लागु औषध, बलत्कार, खुनडाका, कर्तब्य ज्यान, अपहरण, मानव बेचबिखन बहुबिवाह, वालबिवाह, ठगी, सवारी ज्यान, लगायत सरकारी मुद्धा सम्बन्धि ऐन २०४९ को ऐन अन्तरगत पर्ने मुद्धाहरु यस अन्तरगत पर्दछन् । यसै गरि संम्पत्ति र अधिकारसंग सम्बन्धित मुद्धालाई देवानी मुद्धा भनिन्छ । लेनदेन, अंश, जग्गा खिचोला, लगायत जग्गा जमिन र अधिकारसंग सम्बन्धीत देवानी मुद्धाका उदाहरण हुन
अपराधको सर्वब्यापकता यसको बिशेषता हो । जुनसुकै देश र समाजमा बिभिन्न प्रकारका अपराधहरु घटेका हुन्छन । समानता फौजदारी कानूनको महत्वपुर्ण बिशेषता हो । कानूनको अगाडी सबै मानिसहरु वरावर हुन्छन् भन्ने सिद्धान्त अनुरुप फौजदारी कानून पनि सबै नागरिकहरु माथी कुनै पनि भेदभाव बिना समान रुपमा लागु हुन्छ । जाती, बर्ण, लिङ्ग, रङ्ग आदिको आधारमा फौजदारी कानून लागु हुन सक्दैन । फौजदारी कानूनले अपराधको प्रकृती र जघन्यता अर्थात कसुरको मात्राको आधारमा मान सम्बन्धीत कसुरदारलाई दण्ड दिने गर्दछ । अपराधको चरित्र परिवर्तनसिल हुन्छ । अपराध कुनै पनि समाजमा आ आफ्नै भौगोलिक, धार्मिक, सांस्कृतिक, मनोबैज्ञानिक, राजनैतिक, आर्थिक आदी बनौटको आधारमा यिनै कारण स्वरुप यो वा त्यो रुपमा अपराध भै रहेको हुन्छन् । उपरोक्त अवस्थामा परिवर्तन हुदा अपराधमा पनि परिवर्तन भैरहन्छ ।
यदि अपराध हुन्छ भने दण्ड अपरिहार्य हुन्छ । दण्डबिना अपराधको सुन्य सजाय हुन सक्दैन । तसर्थ दण्ड ब्यवस्था अपराधको अर्को महत्वपुर्ण बिशेषता हो । अपराधको अर्को बिशेषता राजनीतिक सत्ताको प्रभावलाई लिन सकिन्छ । प्रायजसो कानूनहरु राजनैतिक शासनसत्ताको आडमा निमित्त र संचालित भएका पाईन्छन् । कुनै पनि आपराधिक कार्यलाई अपराधिकरण गर्न वा नगर्न राजनैतिक सत्ताको महत्वपुर्ण भुमिका रहदै आएको पाईन्छ । फौजदारी कानून वर्गिय र राजनैतिक हुन सक्दैन । तर पनि बर्गिय राजनैतिक हित र चाहानाको आधारमा फौजदारी कानून निमार्ण हुदै आएको पाइन्छ ।
अपराधिक मनसायको उत्पत्ति अमुक ब्यक्तिको सोचाई र समाज प्रति उसका नकारात्मक धारणाहरु पैदा हुने गर्दछ । यस्ता सोचाईहरु एवम् नकारात्मक धारणाहरुको खोजी गर्न उक्त ब्यक्तिमा रहेका बिविध आवश्यकताहरु, चाहानाहरु, इच्छाहरु, आदीको अध्ययन गर्नु पर्ने हुन्छ । समाजले ब्यक्तिका त्यस्ता आवश्यकता, चाहाना र इच्छाको परिपुर्ति गर्न सक्छ नै भन्न सकिदैन तसर्थ उक्त ब्यक्तिमा समाज बिरोधी धारणाहरु भरिएर जाने हुन्छन् । अपराधिक मनसाय उत्पत्ति हुनुमा मस्तिष्क प्रणाली, उसको उमेर, लिङ्ग, रिस, संवेग, सहनसिलता आदी जस्ता बानी ब्यहोराले प्रभाव पारेका हुन्छन् । मनोबैज्ञानिक र सामाजिक अध्ययनको टृष्टिकोणले हेर्दा अपराधी भनेको त्यस्तो ब्यक्ति हो जसले समाजको मुल्य मान्यता एवम् रचनात्मक क्रियाकलापहरुबाट बिमुख रहने, आत्मा मुल्याङ्कन गर्न नसक्ने, रिस, संवेग र असैह्य स्वभाव प्रर्दशन गर्दै नकारात्मक बाटो तिर उन्मुख हुनु हो । अपराधिक क्रियाकलाप तिर लाग्नु हो ।
अपराधीको उमेर (बच्चा किशोर, बृद्ध) र लिङ्ग, शिक्षा, पारिवारीक अवस्था, बैवाहिक अवस्था, पालनपोषण, पारिवारिक शिक्षा, अनुशासन, सामाजिक भुमिकाका आधारमा अपराधिक घटनाहरु घट्ने गर्दछन् । ब्यक्तिको अधिकार र कर्तब्य प्रतिको सम्बन्ध, कुनै कुराको चाहाना, आवश्यकताको लागी सहयोग पु¥याउने पद्धती हो । समाज र ब्यक्तिका भित्री अवस्थाहरुको प्रतिबिम्बलाई उसको आवश्यकताले निर्देशित गरेको हुन्छ । चरित्र, दोेषि मन, मनसाय, लापरवाही, हेलचेक्राई समेतका तत्वहरुले अपराधिक कार्य गर्न उत्साहित पारेका हुन्छन् ।
बानी ब्यहोरा, क्षमता, ज्ञान, बाहिरी वातावरणसंग उसको सम्बन्ध, जैविक आधार अपराधिका मनौबैज्ञानिक चरित्रहरु हुन । यसै गरि आत्म मुल्याङ्कन,अरुलाई हेर्ने टृष्टिकोण, अपराधिको उमेर, लिंग स्वास्थ्य एवम् सामाजिक पक्षहरु अपराधीको संरचनात्मक चित्रणका
नैतिक मर्यादा र आचरण हुन ।
ब्यक्तिगत र समाजमा रहेका नकारात्मक तत्वहरु, सामाजिक संरचनात्मक कमजोरीहरु, ब्यक्तिमा मानसिक उत्तेजना सृजना हुनु, आपराधिक मनसायको सृजना र अपराधको लागी तयारी, अपराधिक कार्य र अपराधीको छाप बस्नु, फलानो अपराधी हो भन्ने चरित्र पटके अपराध र अपराधीमा परिणत हुनु जस्ता कुराहरु आपराधिक प्रबृत्ति र अपराध पुरा गर्ने प्रकृयाहरु हुन ।
उपरोक्त बमोजिम अपराधिक क्रियाकलाप गर्ने ब्यक्तिहरुलाई कानूनी कारवाही गर्नका बिभिन्न दण्डका शिद्धान्तहरु प्रतिपादन भएका छन् । जस्तालाई तस्तै प्रतिकारात्मक सिद्धान्त, दण्ड दिएर अपराध गर्ने क्षमता कम गरी दिने, बानी ब्यहोरामा निष्कृय पार्ने हतोत्साह गर्ने सिद्धान्त, समाजदेखि टाढा मृत्यु दण्ड, कैद, नजरबन्द देश निकाला गर्ने सुरक्षात्मक सिद्धान्त र अर्को हो सुधारात्मक सिद्धान्त । जुन शिद्धान्तमा दण्डको माध्यमबाट भन्दा उपचारको माध्यमबाट अपराध रोकथामको प्रयत्न गरिन्छ । नेपालमा बिभिन्न अपराधमा अपराधको प्रकृती र मात्रा अनुसार कैद, जरिवाना जस्ता छुट्टा छुट्टै कानूनी कारवाहीको ब्यवस्था गरिएको छ ।
बिश्वका प्रायजसो मुलुकका फौजदारी कानूनमा ब्यवस्था गरिएको दण्ड प्रणाली र तिनका प्रकारहरु आ आफ्ना प्रचलन र बिशेषता अनुरुप भिन्न भिन्न पाईएता पनि बढी प्रचलनमा मृत्यु दण्ड, कैद दण्ड (जन्म कैदसमेत), जरिवाना, वा सर्वस्व (आंशिक वा पुरा) निर्वासन वा स्थानान्तरण, कठोर काममा लगाउनु, सुधार कार्यमा लगाउनु, नजरबन्द, गिरफ्तार, हिरासतमा राख्ने जस्ता दण्डप्रणालीहरु रहेका छन् ।
२०७५ साल भाद्र १ गते देखि लागु हुने गरि नेपालमा मुलुकि देवानी र मुलुकि फौजदारी संहिता लागु भएको छ । यो कानून समय सापेक्ष र कानून र न्यायका मान्य शिद्धान्तका आधारमा ल्याईएको पाईन्छ । समयको माग संगै आएको नयाँ कानूनको प्रभावकारी कार्यान्वयन भए मात्र पीडितको न्याय र अपराध नियन्त्रण हुन सक्ने भएकाले यसमा सबै संबेदनसिल हुन जरुरी छ ।
अन्तमा समाजको परिवर्तनसंगै समाजमा नया नया रुपमा अपराधिक घटनाहरु घटेका हुन्छन् । देशको राम्रो कागजी कानूनले मात्र अपराध नियन्त्रण हुन नसक्ने भएकाले अपराध रोकथाम र नियन्त्रणका लागी,पीडितको न्यायको लागी र दण्डहिनताको अन्त्यका लागी प्रहरी प्रशासनका साथै तपाई हामी लगायत सबै सरोकारवालाको निकायको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । (लेखक गौतम अधिवक्ता हुन् ।)