बाँके : दुर्घटनामा तीन बर्षमा २ सय १० को गयो ज्यान, बढ्दै राजश्व असुली

बाँकेमा सवारी दुर्घटनाका कारण तीन बर्षमा २ सय १० जनाको ज्यान गएको छ । तिव्र गति, ओभरलोड, यान्त्रिक कारणले सवारी दुर्घटना हुने र त्यसबाट मानिसले ज्यान गुमाएको पाइन्छ । दुर्घटनामा कतिपयको ज्यान त जान्छ नै कयौं अंगभंग भएर अपाङ्गता भएर जीवन बिताउन बाध्य हुन्छन् । दुर्घटनाको प्रमुख कारण तिव्र गति रहने गरेको छ भने यान्त्रिक कारणले हुने दुर्घटना न्यून हुने गरेको छ ।
जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक राजु भण्डारीले विगतका तीन आ.व.मा बाँकेमा भएका दुर्घटनामा २ सय १० जनाको ज्यान गएको जानकारी दिएका छन् । ट्राफिक प्रहरीका अनुसार, आ.व. २०७५\०७६ मा भएको ९९ वटा दुर्घटनामा ४२ पुरुष, १३ महिला, ४ बालक गरी ६० जनाको मृत्यु भएको छ । आ.व. २०७६\०७७ मा बाँकेमा १ सय ९१ वटा दुर्घटना भएका थिए । जसमा ५२ पुरुष, १२ महिला, ६ बालक र ३ बालिका गरी ७३ जनाको ज्यान गएको छ । आ.व. २०७७\०७८ मा बाँकेमा १ सय ४३ वटा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्यांक रहेको छ । जसमा ५६ जना पुरुष, १७ महिला र ४ बालकको अकालमा ज्यान गएको थियो ।

बाँकेमा निषेधाज्ञाका बावजुद दुर्घटनाको संख्या बढ्दै गएको पाइन्छ । सडक बिस्तार र स्तरीय बन्दै गर्दा पनि दुर्घटना नियन्त्रणमा आउन सकेको पाइँदैन । बाँकेमा दुर्घटनामा घाइते हुनेको संख्या पनि बढ्दो छ । जसमध्य कतिपय अपाङ्गताको जीवन बिताउन बाध्य छन् । आ.व. २०७५\०७६ मा १ सय ६१, आ.व. २०७६\०७७ मा २ सय ८० र आ.व. २०७७\०७८ मा २ सय ८ जना दुर्घटनामा घाइते भएका छन् ।

‘यान्त्रिक कारण बाहेक ट्राफिक नियमको पालनामा हुने लापरवाहीले हुने दुर्घटनाले मानिसहरुको अकालमा ज्यान जाने, अंगभंग हुने गरेको छ’, ट्राफिक प्रहरी अधिकारी भन्छन्, ‘सवारी साधनका चालकले दुर्घटनाको जोखिम हुन्छ भन्दा भन्दै पनि लापरवाही गर्दा दुर्घटना हुने गरेको छ ।’ मोटरसाइकल तिव्र गतिमा कुदाउने युवा पुस्ता पनि दुर्घटनाको जोखिममा रहने गरेका छन् ।

बढ्दै राजश्व असुली

ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनबाट बाँकेमा झण्डै ३ करोड रुपैयाँ राजश्व असुल गरिएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक राजु भण्डारीले गत आ.व. २०७७\०७८ मा २ करोड ७० लाख ६६ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरेको जानकारी दिएका छन् । ‘नियम पालना नगर्नेहरुमा कडाई गरि जरिवाना असुल गरिएको हो’, उनले भने ।


जिल्ला ट्राफिक कार्यालय बाँकेले निषेधाज्ञा बेला समेत सवारी साधनले नियम पालना गरे नगरेको चेकजाँच गरेको तथ्यांकले देखाएको छ । जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको जानकारी अनुसार, आ.व. २०७७\०७८ मा ४८ हजार ८ सय २ सय ४ वटा सवारी कारवाहीमा परेका छन् ।


बाँकेमा बैशाख १३ देखि निषेधाज्ञा जारी भएको थियो । जसले राजमार्गमा अत्यावश्यक बाहेक लामो दुरीको सवारी सञ्चालन रोक लगाइएको थियो । प्रहरीले निषेधाज्ञाका बेला बाँकेमा बैशाखमा २ हजार ५ सय ५८, जेठमा ३ हजार ३ सय, असारमा ४ हजार २ सय ६५ सवारीलाई कारवाही गरेको छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आ.व. २०७५\०७६ मा १ करोड ६७ लाख, ७८ हजार ५ सय, आ.व. २०७६\०७७ मा १ करोड २९ लाख, ६९ हजार, आ.व. २०७७\०७८ मा २ करोड ७० लाख ६६ हजार ५ सय राजश्व असुल गरेको हो । यसले ट्राफिक नियमको पालना गर्ने तथा प्रहरीले चेकजाँच गरी कारवाही गर्ने क्रम बढेको देखाउँछ ।

प्रतिक्रिया

प्रतिक्रिया