मित्रलाल सापकोटा
पछिल्ला दिनहरुमा नेपाली राजनीतिका मझेरी देखि काठमाण्डौंका सडकहरुमा राज्यको वर्तमान पुस्ता शक्ति प्रर्दशन गरेको भन्दै बुरुक्क बुरुक्क उफ्रिँदैछन् । आफ्नो दैनिक कामकाज छोडेर राताराता झण्डा र डण्डा लिएर राताराता टिशर्ट र टाउकामा पट्टि बाँधेर नेतृत्वको अकर्मण्डयताको ढाकछोपमा शक्ति प्रर्दशन गर्दैछएउटा पुस्ताले । अर्काथरी पालो नै सिद्धिने चिन्तामा मेलमिलाप, वार्ता, एकताका फाइल बोकेर त्यहि नेता र नेतृत्वको अगाडी पछाडी शक्ति प्रर्दशन मैं कुँदेको कुँदेइ छ । अर्कोथरि विचार भन्दै जम्माजम्मी मक्किएको वर्तमान नेतृत्वलाई पुर्नस्थापित गराउन महाधिवेशनमा भोटहाल्न जान र जानेवाला छान्न पाउने संघर्षमा अनसन देखि टनशनको शक्ति प्रर्दशनमा लागेको छ ।
हिजो सत्ताका मझेरीमा लम्पसार पर्न नपाएको बितिष्णामा तिल्मिलाएको र बरबराएको पुस्ताहरु मध्ये कोहि भारतका गल्लीहरुमा त कोहि असनका अध्याँरा कोठाहरुमा लुग्दै छापामार शैलीमा शक्ति प्रर्दशनमा लागेको थियो । कोहि जेलका कोठरीमा बसेर शक्ति प्रर्दशन गर्दै थियो । शक्ति प्रर्दशनको नाटक मञ्चनले ती अँध्यारा कोठरीबाट सत्तामा पुगेको पुस्ताले सत्ताको भागबण्डामा केहिलाई सहभागी नबनाएकै कारण एउटा पक्ष गाउँगाउँमा भाटा बजार्न, निमूखा र पौरखीहरुको आटोपठिो चोर्न हिँड्यो । विदेशीको आर्शिवादको गोलाबारुद बोकेर जनताको सम्पत्ति, बैंक आदिमा डकैतीको शक्ति प्रर्दशनमा उत्रियो । अन्ततोगत्वा विदेशी भूमिमा नेपाली अस्मिताको सौदाबाजी गरेरसत्ताको भागबण्डाको चाँजोपाँजामा पुग्यो ।एकैचोटी शक्ति प्रर्दशनको टिका लगाएर जस्केलाबाट प्रवेश गर्दै सत्ताको मझेरीमा शक्ति प्रर्दशनमा पुग्यो ।
शक्ति प्रदर्शनमा लागेको त्यो अघिल्लो पुस्ता आज काठमाण्डौंका टार, निवास र दरबारहरुमा शक्ति प्रर्दशनकेन्द्र बनाएर बसेको छ । पटकौं सत्ता र राज्यशक्तिका शक्ति प्रर्दशन गरेर परिक्षित भैसकेर पनि अससफल सिद्ध भएर पनि संसदको रोष्टम उभिएर आफ्ना कुकर्महरुलाई लुकाउने प्रयासमा शक्ति प्रदर्शन गर्दैछ । यी केन्द्रमा भाग नपुगेर देशलाई कित्ताकाट गरेर भाग पुर्याउने प्रयास गरेको छ । भागबण्डामा भएका शक्ति प्रर्दशनका खेलाले बेलाबेलामा भूकम्प नै आएका छन् । जसको पराकम्प हाल काठमाण्डौंको नेतृत्वमा रहेको पुस्तासम्म पुगेपछि अबफेरि सडकमा आउनुपर्छ भन्दैछ ।
यी विभिन्नखाले शक्ति प्रर्दशनमा देखिनेहरु मध्ये अधिकांश नयाँ (युवा)पुस्ता छ । यो त त्यस्तो पुस्ता हो जसले भारतका गल्लीमा टायरका चप्पल लाएर भौंतारिन परेन । असनका अँध्यारा कोठाहरुमा लुक्न परेन । जेलका कोठरीहरुमा सुस्ताउन परेन । गाउँघरतिर भाटा बजारेर बैंक फोर्न र जनताको पीठो चोर्न सिक्न परेन । यो त जो भविष्यको सुनौलो सपना बोकेर शहर पसेको त्यस्तो पुस्ता हो । मौलिक शिक्षालाई पाखा लगाएर आधुनिक शिक्षाको ज्ञानको ठेलीबाट होलोग्राम लगाएको प्रमाणपत्र लेमिनेशन गराउँदै हरियो पासपोर्ट बोकेर कन्सल्टेन्सीका ढोका चाहर्ने नियतीमा बाँचेको पुस्ता हो ।
आफ्नो परिवारको गर्जोटार्ने देखि देशको अर्थतन्त्रलाई अक्सिजन दिने काममा संसारका बिभिन्न देशमा श्रमशक्ति प्रर्दशनमा लागेको नेपालको वर्तमान पुस्ता पनि हिजो काठमाण्डौंका सडकमा निकम्मा नेतृत्वको दरबारी शक्ति प्राप्तिको लागिउत्रिएकोमा पश्चाताप गर्दै बिर्सन खोज्दैछ । सडकमा फेरि कहिल्यै त्यस्तो शक्तिप्रर्दशन गर्न नपरोस् भन्ने कामना हुँदाहुदै पनि निरिह भएर निकम्माहरुसँग आशा लिएर बसेकोछ । उसको यो सपना हिजो नेपाल नछोड्दै आधुनिक शिक्षाको ज्ञानको ठेली पढ्दा देखेका सपनाहरु भन्दा खासै भिन्न छैन । हिजो देखेका सपनामा सुन्दर नेपाल, सुसँस्कृत नेपाल, शिक्षित दिक्षित र प्रशिक्षित नेपाल, गास बास कपास शिक्षा र स्वास्थ्यको अभावमा बाँच्न नपर्ने नेपाल पक्कै थियो । तर आज त्यो सपना आफ्नै भूमिमा आफ्नासँग बसेर पसिनाले सिँचेर देख्ने कल्पना भन्दा हजारौं कोश टाढा अर्काको भूमिमा बसेर देख्दैछ ।
हाम्रो समाज त पिँढी दर पिँढी धर्मसँस्कृति भाषासभ्यता समाजको ज्ञानपरम्परा र मौलिकतालाई हस्तान्तरण गर्दै यहाँसम्म आएको समाज हो । हामी आजपनि आफ्नो् अस्तित्व र अस्मिताको आधार यहि ज्ञान परम्परामा पाउँछौं । तर दुर्भाग्य यहाँ सातसात दशकदेखि अझ बिशेष गरी २०४६ साल पछि ज्ञान परम्परा भन्दा समाजिक उदण्डता, हत्याहिंसा, परस्त्रीगमन देखि राज्य, समाजको र व्यक्तिको पौरखमा लुटेर झम्टेर रजाइँ गर्ने दुस्कर्महरु पुस्ताहस्तान्तरण गराइएका छन् । यो देशका शक्तिवान पाखुराहरुलाई समाज बनाउन, देशको अस्मिता बचाउन, देशको कूलधर्म सँस्कृति भाषा र सभ्यता बचाउन, देशको स्वाभिमानमा अभिमान गर्न भन्दा आफ्ना कुकर्ममाथि पर्दा हाल्न, लूटतन्त्रमा एकाधिकार चलाइरहन, आफ्ना आफन्त र आसेपासेलाई राज्यशक्तिको दुरुपयोग गराइरहनका लागि सडकमा शक्ति प्रदर्शनमा लगाइएको छ । त्यहि शक्ति प्रर्दशनमा आजको पुस्तालाई कहिल्यै पूरा नहुने सपना देखाइँदै छ ।
आजको युवापुस्तालाई दिग्भ्रमित तुल्याउँदै आफ्नै माटोप्रति गद्दारी गर्न सिकाउनेहरुको यहाँ उद्योग चलेका छन् । आफ्नो अस्मिताको ब्यापार गरेर झोलचोक्टामा मस्त रहन सिकाउने आइएनजिओका पाठशाला चलेका छन् । आफ्नै ज्ञान परम्परालाई, आफ्नै भूगोल र इतिहासलाई गाली गरेर बुद्धिजीवि बन्ने विश्वविद्यालयहरु चलेका छन् । आफ्नो बारी बाँझो राखेर, आफ्नो खेतखलियानमा फलेको फालेर अर्काको उत्पादन बिक्रि गराउने र किनीखाने कर्म सिकाउने अनुसन्धान केन्द्र र राज्यनीतिहरु चलेका छन् । आफ्नो ज्ञानलाई अविश्वास गर्ने र अर्काको बेलीबखान गर्ने सञ्चारगृह चलेका छन् । धर्मको विवेक छोडेर धर्मछाडा न्याय गर्ने अदालत चलेका छन् । आफ्नालाई कुटेर लूटेर अर्काको सुरक्षा खोज्ने डण्डाहरु चलेका छन् । आफ्नो भत्काएर अर्काको बनाउने निर्माणशाला चलेका छन् । युवापुस्ताको जिन्दगी निकम्माहरुको लागि शक्ति आर्जन गर्ने भर्तिकेन्द्र चलेकाछन् । आखिर आफ्नै घरमा आगो लगाएर खरानीको ब्यापार गर्ने उद्यम चलेका छन् । सबथोक अर्कैको प्रायोजनमा अर्कैका लागि चलेकाछन् । प्रायोजित एजेण्डालाई अलिकति पनि कहिँ कतै धक्का पुग्ने ठानिएमा सडकमा शक्ति प्रर्दशनका लागि लगानी गरिएको छ । यो भन्दा निर्लज्जताको पराकाष्ठा कहिँ छैन, केहि छैन तथापि नेपाली राजनीतिको मझेरीमा यसैलाई परिवर्तन, क्रान्ति, अग्रगमन, उपलब्धि आदी इत्यादीको उपमा दिएर शक्ति प्रर्दशन भने भै नै रहेको छ ।
कुनैपनि राज्यको शक्तिका श्रोत भनेका नै त्यहाँको भूगोल इतिहास, धर्मसँस्कृति, भाषासभ्यता र मौलिकता हो । यसैबाट नै युवापुस्ताको चरित्र निर्माण हुन्छ । मातृभूमि प्रतिको अगाध प्रेमभावको सृजना हुन्छ । यसैबाट त्यहाँको युवापुस्ता नैतिकवान राज्यसञ्चालक, जनसेवक, शिक्षक कर्मचारीको रुपमा तयार हुन्छ । तर यहाँ त्यो सँस्कार दिने आवश्यकता नै कसैले ठानेन । सोंचमा नै खिया लागेको सँस्कारवीहिन जमातको शक्ति प्रर्दशन गराएर राज्यको श्रोतसाधन माथिको अन्तहीन लूटको श्रृंखलालाई निरन्तरता दिने तानाबाना चलाइएको छ । यसैका लागि युवामा लगानी छ । त्यहि लगानीलाई बेलाबेलामा कथित शक्ति प्रर्दशनका नाममा सडकमा उतारिएको छ ।
शक्ति प्रर्दशन सडकमा मात्रै रोकिएको छैन । राज्यका हरेक अंगअंगमा घुसाइएको छ । शिक्षालय देखि न्यायलयसम्म, टोल देखि तख्त (सत्ता ) सम्म, बारी देखि घोल (खोला) सम्म, दोकान देखि उखानसम्म, तन देखि वनसम्म, कोठा देखि दरबारसम्म शक्ति प्रर्दशनको लामो लस्कर छ । यो लामो लस्करमा हिजो टायरका चप्पल लगाउँदै खोले खाएर देश बनाउँछौं भन्दै हिँड्नेहरु कहिँ कतै छैनन् । ती त आज सम्भ्रान्त वर्ग बनिसकेका छन् । देशको सबै श्रोतसाधनमा बिर्ता जमाएर बसेको छ । तिनै नयाँ सम्भ्रान्तहरुको खातिरदारीमा तम्तयार वर्तमान पुस्ता छ त्यो लावालस्करमा । देशलाई बिर्ता सम्झिने र बपौती सम्झिनेहरुमा आश्रित लाचार जस्तो देखिने उनीहरुकै झाँसामा अल्झेको युवा पुस्तामा देशको अस्मिताको रक्षाको न साहस छ न त्यो हिजोको पुस्ताको कुकर्ममा औंला उठाउने आँट छ । तरपनि जताततै शक्ति प्रर्दशन मात्रै छ । यहि शक्ति प्रर्दशनमा यो पुस्ताले पनि आफुपनि सम्भ्रान्त बन्ने भविष्य खोजिरहेको जस्तो लाग्दैछ ।
वर्तमानमा सबैभन्दा बढि जनसँख्या युवाको छ । यो अवस्थाभनेको जुनकुनै देशका लागि स्वर्णीम अवस्था मानिन्छ । तर आज निकै चिन्ताको बिषय बनेको छ कि यस्तो अवस्थामा समेत देशको सम्पन्नताको मूल आधार मानिएको युवापुस्ताको जिन्दगी देशका लागि, आफ्नो कूल र मूलका लागि, आफ्नो धर्मसँस्कृति भाषा सभ्यताका लागि,नैतिकवान र धर्मको विवेक भएका राज्य सञ्चालक निर्माणका लागिभन्दा पनि अनैतिक सँस्कार,विदेशी र तिनका शुभचिन्तककै सम्पन्नताका लागि, राज्यको अस्मिता बेच्नेहरुका लागि, नेपाली मौलिकतालाई गाली गर्नेहरुको प्रशंसाका लागि, देशको सम्पूर्ण श्रोतसाधन आफूआफ्नाका लागि प्रयोग गर्ने नैतिकहीन नेतृत्वको संरक्षण र उसको कुकर्मको ढाकछोप गर्नका लागि शक्ति प्रर्दशनमा नै बित्ने भो, बितिरहेको छ ।