पृष्ठभूमि
आज बुर्काभित्र/बुर्काबाहिर स्तम्भमा महिलाको फरक मुद्दामा चर्चा गर्नेछौं । हुन त महिलाका लागि हरेक क्षेत्र चुनौतीपूर्ण नै छ । महिला यदी सुरक्षित छिन् भने जंगलको जनावरहरु बीच पनि, यदि सुरक्षित छैनन् भने आफ्नै घरमा पनि हुँदैनन् । झन् कार्यस्थलमा महिलाहरु समस्या र पीडाको कुरा गर्ने हो भने त क्षण क्षणमा यौन दुव्र्यवहारको सामना गर्नु पर्ने हुन्छ । जहाँ विद्यालय जस्तो पवित्र स्थानमा बलात्कार र यौन दुव्र्यवहारको घटना बारे दिनहुँ समाचार आइरहेको हेर्छौं । त्यही होटल र मनोरञ्जन क्षेत्रमा जहाँ मान्छे सोच नै यही लिएर गएको हुन्छ कि उसलाई मनोरञ्जन गरी सन्तुष्टि लिनुछ । त्यहाँ हुने महिलामाथिका यौन दुव्र्यवहारको त के कुरा गर्नु । यसबाट महिला मात्र होइन पुरुष कामदार पनि पीडित रहेका हुन्छन् । यही समाजका भद्र भलादमी भनाउने धनीमानीहरु नै यी ठाउँमा बढी जाने गर्छन् । उनीहरुकै कारण यी क्षेत्रमा रौनक र आम्दानी हुने गर्छ । तर तिनै भलादमीहरुले आफ्नो सोच र व्यवहारलाई नजर अन्दाज गरी खाली त्यहाँ काम गर्ने महिलाहरुको चरित्रको जजमेन्ट गरी आफै फैसला पनि गरिहाल्छन् र आफ्नो फैसला अनुसार आफ्नो राय कायम गरी त्यहाँ काम गर्ने महिला कामदार प्रति आफ्नो व्यवहार पनि देखाइ हाल्छन् । रक्सी खाएर मात्तिएपछि विवक हराउने पुरुषको, महिलालाई खराब दृष्टिले हेर्ने पुरुषले, कामदार महिलामाथि यौन दुव्र्यवहार गर्ने पनि पुरुषले नै । तर समाजको कुरा गर्ने हो भने होटेल र मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरुप्रति त्यही समाजको दृष्टिकोण एकदमै नकारात्मक हुन्छ । जबकी हेर्ने हो भने त्यही समाजका प्रतिष्ठित र सम्मानित व्यक्ति र परिवार आफ्नो मूडफ्रेश गर्न र मनोरंजनका लागि जाने भने त्यहीं गर्छन् ।
पुरुषको तुलनामा महिलालाई यो क्षेत्रमा धेरै चुनौती र समस्या हुन्छन् । तथापी कोही महिला रहरले कोही सिक्न, कोही समयको सदुपयोग गरी पढाइको खर्च निकाल्न र कोही आर्थिक भार कम गर्न आफ्नो बाध्यताले यो क्षेत्र यो पेशा अंगालेकी हुन्छिन् । पेशा जुन सुकै होस् तर त्यसमा व्यक्ति र उसको कलाको कदर सम्मान, आर्थिक मुल्यांकन, सुरक्षित वातावरण हुनु आदि पहिलो शर्त हो । जसबारे श्रम ऐन २०७४ ले धेरै कानूनी व्यवस्था पनि गरेछ । तथापि अहिलेसम्म होटेल र मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकहरुले न श्रम ऐन २०७४ ले तोके बमोजिम सेवा सुविधा पाउँछन् न पारिश्रमिक त न सम्मान नै । यस कारण समाजको दृष्टिकोण बदल्न र यस क्षेत्रमा कार्यरत श्रमिकहरुको हक अधिकारका बारे जागरुक गराउने र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने आशयले केही महत्वपूर्ण कुराहरु समेटेर यो लेख लेखिएको हो ।
परिवेश
हाम्रो समाजले आज पनि यस क्षेत्रमा काम गर्ने श्रमिकहरु प्रति बनाएको नकारात्मक धारणा फेर्न सकेको छैन । अहिले एकाईसौं शताब्दीमा पनि होटेल र मनोरंजन क्षेत्रमा काम गर्ने महिला श्रमिकलाई समाजले घृणाको दृष्टिले हेर्ने गरेको छ । यो धारणा परिवर्तन गर्न र श्रमिकहरुको हक अधिकार स्थापित गराउन विभिन्न सामाजिक संस्थाले आवाज उठाइरहेका छन् । यसै सिलसिला नेपालगन्जमा आयोजित एउटा कार्यक्रममा प्रशिक्षकको भूमिका निर्वाह गर्न काठमाडौंबाट आउनुभएको अधिवक्ता अनिता न्यौपाने थपलियासंग कुराकानी गरियो । कुरा गर्दा अनिता न्यौपानेले भन्नुभयो, ‘अहिले पनि होटेल र मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरु पाउनु पर्ने सम्मान र पारिश्रमिक पाइरहेको अवस्था छैन । उल्टा यौन दुव्र्यवहार र यौन हिंसाको शिकार हुन बाध्य छन् । किनकि जिविकोपार्जनका लागि आय आर्जन गर्नै पर्ने हुन्छ । आफ्नो दक्षता अनुसार काम गर्न आउने महिलाहरुसंग रोजगारीको अर्को विकल्प नहुनाले बाध्यतावश हिंसा र यौन दुव्र्यवहार सहेर पनि यो क्षेत्रमा काम गर्नु उनको बाध्यता हुन्छ । श्रमिकहरुले आफ्नो मिहेनत अनुसार जस र दाम नपाउँदा यदि कुरा उठाउँछन् भने ती महिलालाई मेनेजरको गर्लफ्रैंड बनाई मुख बन्द लगाइ दिइन्छ । अब एक त गरीब परिवारको महिला जसलाई यो क्षेत्रमा कतै सम्मान पाउँदैनन् त्यसमा यदि मेनेजर जस्तो मान्छेको गर्लफ्रैंड हुन वा भन्न पाउँदा मख्खै हुन्छन् । अब आफ्नो भन्ने मान्छेको विरोध गरुन् कसरी यस्तै गरी चल्दोरैछ होटेल रेस्टोरेन्ट डान्सबार र दोहोरी जस्ता मनोरंजन क्षेत्र ।’
यसैक्रममा एक जना मनोरञ्जन क्षेत्र अर्थात दोहोरी चौतारी साँझमा काम गर्ने २३ वर्षीय युवती आसमा राई (नाम परिवर्तित) जो समाज र परिवारको डरले आफ्नो वास्तविक नाम नराख्न आग्रह गरी आफ्ना कुरा राख्दै भनिन्, ‘म धेरै पढेलेखि छैन र आफ्नो आर्थिक समस्याका कारण यो क्षेत्रमा काम गरिरहेकी छु । हुन त म दोहोरी चौतारी साँझमा काम गर्छु तर मैले आफ्नो परिवारमा भनेकी छैन । किनभने समाजले मेरो र मेरो परिवार प्रति आफ्नो इच्छा मुताबिक धारणा बनाइ तथानाम भन्ने छ गलत आचरण हुने आरोप लगाउनेछ ।’
आफ्नो अनुभव भन्ने क्रममा दोहोरी चौतारी साँझमा काम गर्ने एक जना २१ वर्षीय अर्की युवती सुनिता राई मगर भनिन्, ‘म पनि खासै डिग्री हाँसिल गरेकी छैन तसर्थ अन्त काम गर्न सहज छैन् । यहाँ मैले आफ्नो क्षमता अनुसार रिसेप्शनमा बस्ने काम गर्छु । मलाई आफ्नै परिवार सरह मेनेजमेन्ट टीमकाले व्यवहार गर्छन् । यो क्षेत्रमा अधिकांश महिलाहरु यौनदुरव्यवहारको सिकार भइरहेकी हुन्छिन् । तर पनि कोही आफ्नो आर्थिक अवस्था का कारण, कोही सिकाइका लागि, कोही पढाइका लागि भए पनि काम गर्छिन् । तर नेपालमा भने यो क्षेत्रमा न सम्मान छ न त आर्थिक मुल्यांकन नै । जबकि विदेशमा हेर्ने हो भने यो पेशालाई पनि सम्मानित पेशाको रुपमा लिइन्छ र पारिश्रमिक पनि ठिकठाक नै पाइँदो रैछ । त्यस कारण मैले विदेशमा जाने सोच बनाएकी छु म लगायत १५० जना साथी हामी संगै भिषा पनि लगाइसकेका छौं ।’
यसै गरी साथी कृष्णा कटेजमा विगत चार वर्ष देखि काम गरिरहेकी २८ वर्षीय ममता क्षेत्री भन्छिन्, ‘म यस होटेलको रिसेप्सन, भान्छा लगायत सबै क्षेत्रमा सकृय छु । हुन त महिलाहरुको लागि कुनै क्षेत्रमा काम गर्दा सजिलो छैन तथापि काम त गर्नै पर्छ । मलाई पनि कति पटक यौनदुरव्यवहारको कोशिश गरियो । कतिले त यौन प्रस्ताव नै राख्दा छन् । म यस्तो केटी होइन मैले उनीहरुलाई भन्दा उनीहरु आफै लज्जित हुन्छन् पछि त माफी पनि माग्दोछन् कि मैले गल्ती गरे तपाईका बारेमा गलत धारणा बनाएं ।
कोहलपुर बस्ने सिटीपैलेसमा काम गर्ने सरिता भन्छिन्, ‘म होटेलमा सुपरभाईजर पदमा रही विगत एक वर्ष काम गरे । लकडाउन हुँदा आफै जान छाडियो त्यसपछि होटेलको मर्मत कार्य सुरु भयो । मर्मत कार्य सुरु भए देखि अरु कामदारहरुलाई पनि हटाइएछ । अब कार्य सम्पन्न भइसकेपछि बोलाउंछ होला र फेरी जानेछु । मलाई कुनै खाले दुव्र्यवहार गरिएन र अरुलाई मेरो होटेलमा दुर्व्यवहार गरेको घटना पनि काम गर्ने दौरान सुनिएन् । तर महिलाका लागि कुनै पनि क्षेत्रमा महिला भएकै कारण काम गर्न सजिलो छैन ।’
यसैक्रममा रेस्टोरेंटमा काम गर्ने पूजा थापा (नाम परिवर्तित) भन्छिन्, ‘मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाका लागि यो क्षेत्रमा काम गर्न गाह्रो नै छ । एक त हर क्षण असुरक्षा महसुस हुन्छ अर्को चाहिं ज्याला पनि कम पाईन्छ । काम अनुसार दाम पाउदैंन् । यसका साथै मिहनेत गरे जतिको सम्मान छैन यो क्षेत्रमा काम गर्नेहरुलाई ।’
कुराकानीकै क्रममा आफ्नै नीजि सानो खाजा पसल चलाएर खजुरा बस्ने ३० वर्षीय राधा चौधरी (नाम परिवर्तित) भन्छिन्, ‘महिला सुरक्षित भ ए जहाँ पनि हुन्छिन् तर सुरक्षित नभए आफ्नै घरमा पनि हँुदैनन् । मैले आफ्नो सानो खाजा पसल चलाएर बसेकी छु । पसल आफ्नै भएकोले ज्याला सम्बन्धी कुनै समस्या नरहे पनि आउने ग्राहक अनेक स्वाभावका हुन्छन् । कहिले खाजा दिने बेला त कहिले भुक्तानी लिने र दिने बेला हातै छोइ हाल्ने कहिले द्वेय अर्थ लाग्ने शब्द बोलि हाल्ने गर्छन् । तर पेट पाल्न कमाउन त पर्छ नै अनि त्यति छुने वा बोल्ने शब्द नजर अन्दाज गरेर पनि व्यवसाय चलाउनु बाध्यता रहेको हुन्छ ।’
गर्नु पर्ने पहल
होटल र मनोरञ्जन क्षेत्रमा काम गर्नेहरुका लागि सरकारले कानून बनाए पनि त्यसको कार्यान्वयन फितलो छ वा कामदारको हकमा कुरा गर्ने हो भने कार्यान्वयन नै छैन् । तसर्थ यो क्षेत्रमा विकास गर्न यसलाई सभ्य रुपमा स्थापित गर्न सरकारद्वारा, व्यवसायीद्वारा, संघ संस्थाद्वारा र स्वयं कामदारद्वारा अझ् धेरै पहल गर्न आवश्यक छ । यसको विषयमा कुरा राख्दा अधिवक्ता अनिता न्यौपानेले भन्नुभयो, ‘कानून त छ तर कार्यान्वयन पक्ष एक फितलो छ झन् त्यसको अनुगमन र मुल्यांकन हुँदैन । जसको फलस्वरूप व्यवसायीहरु आफ्नो मनमर्जी अनुसार कामदारलाई थोरै ज्यालामा धेरै काम गराउँछन् । बस्ने खाने व्यवस्था राम्रो हँुदैन । यसका साथै कुनै लिखित आवाधिक एग्रीमेन्ट हँुदैन व्यवसायीले आफ्नो इच्छा अनुसार जब मन गरे निकाल्ने र राख्ने गर्छन् । यस कारण सरकारले यो क्षेत्रमा ऐन कानून अनुसार काम भयो भएन भनी अनुगमन गरी कारबाहीका लागि र राम्रो गर्नेलाई सम्मानित गर्नका लागि सिफारिश गर्ने एउटा छुट्टै विभाग खडा गरिनुपर्छ ।’
यसै गरी दोहोरी चौतारी साँझमा काम गर्ने भन्छिन्, ‘यो मनोरञ्जन क्षेत्र हो जहाँ व्यक्तिको कलाबाट मनोरंजन लिने हो न कि व्यक्तिबाट । यदि कसैले कुनै खाले दुव्र्यवहार गर्छ भने उसमाथि कारबाही गरिनेछ । मेनेजमेन्ट टीमले यो बारे सुचना सार्वजनिक रुपमा साँझा गरी त्यसलाई सबैलाई फ्लो गर्न लगाउनुपर्छ ।’
समस्या
होटेल र मनोरन्जन जस्ता यी क्षेत्रमा के कस्ता समस्या रहेछन् भनी सामुहिक छलफल गरियो । सो छलफलमा २५ जना मध्ये ९ जना पुरुष र १६ महिलाले समुह विभाजन निकालेका समस्या हरुको सार यस प्रकार छन् । जुनकी कार्यक्रमका सहभागीहरुले लिखित रुपमा साझा गरेका थिए ।
१. ग्राहक र समाजको नराम्रो दृष्टिकोण
२. स्टाफ बीच समन्वय नहुने ।
३. सम्बन्धित निकायले सकारात्मक पहल नगर्नु साथै कला संस्कृति जोगाउन तर्फ ध्यानै नदिनु ।
४.समयमा साहुले पारिश्रमिक नदिनु ।
५.समय भन्दा बढी काममा लगाउनु ।
६. साहुहरुमा सहयोगी भावना नहुनु ।
७. श्रमिकहरुलाई सुरक्षा र संरक्षण नहुनु ।
८. नियुक्ति पत्र बिनानै काममा लगाउनु ।
९. प्रचलित ऐन बमोजिम सेवासुविधा नहुनु ।
१०. कार्य स्थलमा यौनदुरव्यवहार र यौन उत्पीड़न तथा यौन शोषण हुनु ।
११. विभिन्न खाले विभेद गरिनु ।
१२. रोजगारदाता र कामदार बीच समन्वय कमी
१३. महिला प्रति नकारात्मक सोच र दृष्टिकोण आदि ।
चुनौती
यस क्षेत्रमा अन्य क्षेत्र जस्तै अनेक चुनौतीहरुको सामना गर्नु पर्छ । तिनै चुनौतीका विषयमा बोल्दा अधिवक्ता न्यौपाने भन्नुभयो, ‘सबै भन्दा बढी चुनौती कामदारहरुलाई हुन्छ । साना शहरमा त खासै छैन होला तर काठमाडौं जस्ता ठुला शहरमा गाह्रो हुन्छ । किनभने यदि कसैले आफ्नो श्रमिक अधिकारको कुरा गर्यो वा साहुको मनमानी विरुद्ध आवाज उठायो भने त्यसले पुरै शहरको कुनै होटेलमा काम पाउदैंन् । माफिया जस्तै यो क्षेत्रमा पनि चेन रुल हुन्छ । जुनकि कामदारको लागि निकै ठुलो चुनौतीको रुपमा रहेको हुन्छ ।’
अर्को चुनौतीको कुरा गर्ने क्रममा अधिवक्ता सुनिता शर्मा भन्नुभयो, ‘व्यवसायीको लागि आफ्नो नाफा र ग्राहकको सन्तुष्टि मात्रै महत्व राख्ने हुदां उनीहरुले ग्राहकलाई जसरी पनि खुशी पार्नुपर्छ भनी जुन आदेश दिएका हुन्छन् ।किनकि जति धेरै रक्सी बिक्री हुन्छ त्यति धेरै साहुलाई फाइदा हुने हो । त्यो आदेशको कारण कतिपय महिलाहरु पटक पटक यौन दुव्र्यवहारको सिकार हुनु पर्छ ।’
सुनिता मगर भन्छिन्, ‘यो क्षेत्रमा सबभन्दा ठुलो चुनौती काम अनुसारको दाम नहुनु हो । यहाँ यस क्षेत्रमा खासै स्कोप नै छैन् त यस कारण म जस्ता केही गर्न भनी जोश जाँगर भएका युवाहरु विदेश पलायन हुनुपर्छ । यसले गर्दा प्रतिशतको औसत हेर्दा न देशको अधिक प्रतिशत युवा शक्ति नै बाहिर गइहाल्छन् ।
सिकाइ
होटेल र मनोरंजन क्षेत्रलाई व्यवस्थित बनाउन अझै धेरै सुधार र पहल गर्न आवश्यक छ । यस विषयमा कुरा गर्दा साथी कृष्णाकटेजमा काम गर्ने ममता क्षेत्री भन्छिन्, ‘एक त रक्सीको मात लागेपछि मान्छे आफ्नो विवेक हराइसकेको हुन्छ । झन् नेपालमा रहेका सबै खाले साना ठुला होटेल र डान्सबार, दोहोरी चौतारी जस्ता मनोरंजन स्थानमा रक्सी बिक्री गरिन्छ नै । जसले गर्दा रक्सी खाने ग्राहकहरुबाट यस क्षेत्रमा काम गर्ने महिलाहरु यौनहिंसा र दुव्र्यवहारको सिकार हुन्छिन् । त्यस कारण सकभर यस्ता ठाउँमा रक्सी खाने ठाउँ छुट्टै र सीमित राख्नुपर्दछ ।’
परिदृश्य
होटल र मनोरंजन क्षेत्रलाई सम्मानित, व्यवस्थित र मर्यादित बनाउनका लागि साहु, श्रमिक, सरकार र संघसंस्थाहरुले आ आफ्नो स्तरमा रही भुमिका खुल्नु पर्ने आवश्यक छ । यदि व्यवसायी अर्थात साहुहरुले आम्दानी र नाफाका साथै आफ्ना कर्मचारीहरुको सुरक्षा, सन्तुष्टि र उचित ज्याला भुक्तानी गर्नेछन् । भने तत्कालको पहलले होटेल र मनोरंजन क्षेत्रमा भइरहेका महिलामाथि हुने यौन दुव्र्यवहार अन्त्य नै हुनेछ भन्ने त सम्भव नहोला । तथापि यदि यस क्षेत्रलाई अलि व्यवस्थित गरिएर लगियो, भने यस्ता दुव्र्यवहारका घटना न्यूनीकरण हुदैं अवश्य पनि जानेछन् । यसका साथै कामदारहरुले अपनत्व महसुस गर्नेछन् । होटेल र मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई हेर्ने दृष्टिकोण सकारात्मक रुपमा परिवर्तन हुनेछ । समाजले यी क्षेत्रका श्रमिकलाई मान सम्मान दिनेछ । कानूनको पालना, कार्यान्वयन पूर्ण रुपले गरिए यो क्षेत्र पनि अन्य व्यवसाय सरह मर्यादित रुपमा फस्टाउनेछ ।