सीमामा निर्वाध आवतजावत, तेस्रो लहरको निम्तो

विज्ञहरुले कोभिडको तेस्रो लहरको सम्भावना औंल्याइरहँदा त्यस विरुद्ध सचेतनाको पाटोमा भने तयारी कमजोर रहेको पाइएको छ । कोभिडको पहिलो होस् वा दोस्रो लहर भारतको प्रभाव नेपालमा परेको पाइन्छ । खुला सीमानाका कारण आवतजावत गर्नेहरुबाट कोभिडको प्रसार हुने गरेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट थप झण्डै ४३ हजार नयाँ संक्रमित थपिएका छन् । सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९८२ जना नयाँ संक्रमित थपिएका हुन् । सोही अवधिमा अरु ५३३ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर पनि पछिल्लो एक दिनमा संक्रमणमुक्त भएकाको संख्या ४१ हजार ७२६ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म कुल तीन करोड १८ लाख १२ हजार ११४ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । कुल संक्रमितमध्ये तीन करोड नौ लाख ७४ हजार ७४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी भारतमा अहिलेसम्म कोरोनाका कारण चार लाख २६ हजार २९० जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ४७ करोड ४८ लाख मानिसको कोरोना परीक्षण गरिएको छ भने ४८ करोड ९३ लाख मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण बिहीबार एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बिहीबार १८ हजार ४०८ जनामा परीक्षण गर्दा तीन हजार ९३८ जनामा संक्रमण देखिएको हो । बुधबार चार हजार १०७ जनामा देखिएको थियो ।

विगत २४ घण्टामा ३७ जनाको यही संक्रमणका कारण निधन भएको छ । अहिलेसम्म नौ हजार ९९४ जना निको भएको बताइएको छ । सक्रिय संक्रमित ३४ हजार ४२२ जना रहेका छन् भने ३१ हजार १०८ जना होम आइसोलेशन, तीन हजार ३१४ जना संस्थागत आइसोलेशन र ३७५ जना क्वारेन्टिनमा रहेका छन् । मन्त्रालयका अनुसार, ७१३ जना सघन उपचार कक्ष र १५८ जना भेण्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै विगत २४ घण्टामा एक लाख १७ हजार ७७९ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । पहिलो मात्रा खोप ४३ लाख ५९ हजार २७७ जनाले र पूर्ण मात्रा खोप २१ लाख ३० हजार ९०० ले लगाएका छन् ।

देशभरको तथ्यांकले नेपालमा पछिल्लो साता कोरोना संक्रमितको संख्या बिस्तारै बढ्दै गएको देखाएको छ । कोरोनाको दोस्रो लहर नियन्त्रणमा आउँदै गर्दा कुनै बेला देशभर १ हजार भन्दा कम कोरोना संक्रमित भेटिएका थिए । अहिले त्यसो संख्या बढेर दैनिक ४ हजारको हाराहारीमा संक्रमित थपिन लागेका छन् ।

बाँकेमा बिहीबार एकैदिन ३१ जनामा कोरोना पुष्टि भएको छ । बाँकेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २३ सहित ३१ मा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा कोहलपुरका सबैभन्दा बढी रहेका छन् । कोहलपुरका २१, नेपालगन्जका १ र राप्तीसोनारीका १ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ । बाँकेमा भएको परीक्षणमा बर्दियाका ३ र अन्य जिल्लाका ५ जनामा कोरोना पुष्टि भएको हो । बाँकेमा हालसम्म बाँकेका ३ सय २२, बाँके बाहिरका ३ सय ८९ जनाको मृत्यु भएको हो ।

कोरोना नेपाल भित्र्याउन खुला सीमा प्रमुख कारण हो । नेपालमा एउटा मात्र अन्तर्राष्टि विमान स्थल काठमाडौंमा रहेकाले हवाई यातायातबाट आउनेलाई सोही ठाउँमा परीक्षण गरेर अथवा क्वारेन्टाइनको शर्तमा मात्रै नेपाल आउन दिन सकिन्छ । तर, दक्षिण सीमा भारत तर्फ सबै खुला क्षेत्र रहेको छ । मुख्य नाका बाहेक भित्रि नाकाहरुबाट पनि आउजाउ हुने गरेको छ । जसले गर्दा भारतमा कोरोना बढ्दा वा नयाँ फेरिएन्ट फेला पर्दा त्यसको असर नेपालमा पर्दछ ।

अहिले कोरोनाको तेस्रो लहरको जोखिम औंल्याइएको छ । तर, बाँकेको जमुनाह नाकामा रहेको नेपाल–भारतको मुख्य नाकामा विना परीक्षण नेपाल भित्रिन तथा भारत जान दिने गरिएको पाइन्छ । दैनिक नेपालगन्जको टिम बिहीबार साँझ नाकामा पुग्दा सयौं मानिसहरु आवतजावत गरिएको पाइन्थ्यो । सीमामा स्वास्थ्यकर्मीले सामान्य परीक्षण समेत गरेको देखिदैनथ्यो । नाकाको मुख्यद्वारमा बसेका सुरक्षाकर्मीले भारतबाट आउनेलाई मास्क खोई ? मास्क लगाउ भन्दै थिए भने त्यसबाट भित्र छिरेपछि सुरक्षाकर्मीले झोलामा के छ बाहेक अर्को प्रश्न गरेको पाइँदैनथ्यो । भारतबाट आउने र जानेको एकिन विवरण नराखेको, सीमामा स्वास्थ्य परीक्षण नगरी निर्बाध आउन, जान दिंदा पुनः कोरोना फैलिने जोखिम देखिएको छ ।

मुख्य नाकामा कडाई गरेर मात्रै भारतबाट कोरोना प्रसार भई नेपाल नआउने होइन । भित्री नाकाहरुमा आउन, जान कुनै रोकतोक छैन । दिनहुँ सयौं मानिस आउने जाने गरेका छन् । जमुनाह नाकामा सीमामा केटाकेटीहरु मास्क नलगाउनेलाई दौडेर मास्क किन्नुस् भन्दै पुगेको देखिन्थ्यो । यद्यपि, मास्क बेच्ने ती साना बालबालिकाले सयौं मान्छे भेट्दा आफुले भने मास्क लगाएको पाइँदैनथ्यो ।

खुला सीमानामा आउजाउ रोक्न निकै चुनौति हुने गरेको यसअघि देखि सुरक्षा अधिकारीहरुले बताउँदै आएका थिए । नेपालमा न्यून जनसंख्याले मात्रै कोरोना विरुद्धको खोप लगाएका छन् । यसले तेस्रो लहर आएमा थप मानवीय क्षति हुने, विगतमा जस्तो महिनौं लकडाउनमा बस्नुपर्ने बाध्यताको सहज अनुमान गर्न सकिन्छ ।

बाँकेमा यसअघि कोरोना संक्रमण दर घटेपछि शैक्षिक संख्या सहित केही क्षेत्रबाहेक अन्य सञ्चालनमा कुनै रोकतोक छैन । तर, कोरोना संक्रमण घट्दै गएको भन्दै मानिसहरुले सुरक्षा मापदण्ड पालनामा लापरवाही गर्दै आएका छन् ।

वारी साधन पारी किनमेल

‘महामारीको अवस्था पूर्ण रुपमा निको नहुँदा सम्म सीमा ठप्प पारी नेपालगन्ज बजारलाई सतर्कता पूर्वक चल्ने अवस्थाको सुनिश्चितता गर्नुपर्छ’, संघ अध्यक्ष मन्सुरी ।

कोरोना संक्रमणको जोखिम रहेका बेला पनि सीमावर्ती बजार रुपैडिहा खरिदका जानेहरुको कमी छैन । कोरोनाको पहिलो लहर भन्दा अघि र अहिलेको तुलनामा मालसामान खरिदका लागि रुपैडिहा जाने घटेपनि अहिले पनि दैनिक सयौं खरिददारीका लागि जाने गरेको पाइन्छ ।

अन्तर्राष्ट्रिय सीमा औपचारिक रुपमा अझै नखुलेकाले सवारीसाधन अत्यावश्यक बाहेक भारत जान दिइने गरेको छैन । त्यसैले रुपैडिहा खरिदका लागि जानेहरु अटो र मोटरसाइकलमा सीमासम्म जाने, सवारी त्यही पार्किङ गरेर रुपैडिहा पुग्ने गरेका छन् । रुपैडिहाबाट सीमासम्म भारतीय सवारीसाधनको प्रयोग गरी पैदलै नाका पार गर्ने गरेका छन् ।

‘यस्तो जोखिममा पनि रुपैडिया किन ?’ बिहीबार भारतबाट खरिददारी गरेर पैदलै सामान टाउको बोकेर फर्किदै गरेका एक व्यक्तिलाई सोधिएको प्रश्नमा उनले भने, ‘नाका बन्दको फाइदा उठाउँदै नेपाली बजारमा मालसामानको मूल्य ह्वात्तै बढाएका छन्, त्यसैले अलिकति अप्ठ्यारो भएपनि रुपैडिहा नै गएको हुँ ।’

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले रोग निम्त्याउने गरी भैरहेको आवागमन तत्काल बन्द गर्न आग्रह गरे । नाका औपचारिक रुपमा बन्द हुँदा पनि सीमावर्ती बजार जान दिइनु गम्भीर लापरवाही भएको भन्दै अध्यक्ष मन्सुरीले भने, ‘महामारीको अवस्था पूर्ण रुपमा निको नहुँदा सम्म सीमा ठप्प पारी नेपालगन्ज बजारलाई सतर्कता पूर्वक चल्ने अवस्थाको सुनिश्चितता गर्नुपर्छ ।

प्रतिक्रिया

प्रतिक्रिया