लुम्बिनीका खेलकुद मन्त्री, सचिव र परिषद्का सदस्य सचिवको नेपालगन्जमा स्वागत
आठौं राष्ट्रिय खेलकुदका पूर्वाधारका कारण खेल पूर्वाधारमा समृद्ध बनेको बाँके र त्यसको केन्द्र नेपालगन्जलाई खेलकुदको राजधानीका रुपमा मानेर आवश्यक संरचना विकास गर्न माग गरिएको छ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री धर्म बहादुर लाल श्रीवास्तव, मन्त्रालयका सचिव महादेव पन्थ र नवगठित प्रदेश खेलकुद परिषद्का सदस्य सचिव भीम ओलीलाई स्वागतका लागि आयोजना गरिएको अन्तरक्रियात्मक कार्यक्रमका वक्ताहरुले एक स्वरमा भने, ‘नेपालगन्जलाई खेलकुदको प्रदेश राजधानीका रुपमा स्थापित गरौं ।’ उनीहरुले प्रदेश खेलकुद परिषद्को कार्यालय नेपालगन्जमा स्थापना गर्न जोड पनि दिए ।
खेलकुदका प्रदेश स्तरीय कार्यालयहरु नेपालगन्जमा भएमात्र राज्यको लगानीले सार्थक परिणाम दिने तर्क गर्दै वक्ताहरुको भनाइ थियो, ‘पूर्वाधारहरुको उपयोग गर्न नियमित प्रशिक्षण र प्रतियोगिताका आयोजनाहरुलाई प्रदेश सरकारले प्राथमिकता दिनुपर्दछ ।’
कार्यक्रममा खेलकुद क्षेत्रबाट प्रतिनिधित्व गर्ने विभिन्न व्यक्तिहरु, निजी क्षेत्रका प्रतिनिधि, पत्रकार लगायत सबैले खेलकुद पूर्वाधारको संरक्षण नहुँदा जीर्ण अवस्थामा रहेको भन्दै खेलकुद प्रशिक्षण र प्रतियोगिताका लागि सरकारको ध्यानाकर्षण गराए । ‘प्रतियोगिता र प्रशिक्षण नहुँदा खेलकुद क्षेत्र धराशयी अवस्थामा पुगेको छ,’ बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले भने, ‘ढिलो नगरेर खेलकुद प्रशिक्षण र प्रतियोगितालाई अगाडि बढाइनु पर्छ ।’
खेलकुदको समेत जिम्मेवारी लिएको सामाजिक विकास मन्त्री श्रीवास्तवले केही नीतिगत समस्याका कारण सुस्ताएको खेल गतिविधि क्रमशः अगाडि बढ्ने विश्वास लिए । नवनियुक्त लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव ओलीले दुई बर्षदेखि प्रदेशमा समायोजन भएयता सुस्ताएको खेल गतिविधिलाई जीवन्तता दिन नै खेलकुद मन्त्रीको नेतृत्वमा दाङ हुँदै बाँकेसम्मको भ्रमण गरिएको बताए । ‘खुलकुदको नेतृत्व सहितको कार्यकारी टिमको यो भ्रमणले रोकिएको खेल गतिविधिलाई जीवन्तता दिन्छ’, विभिन्न सरोकारवालाहरु बीच खेलकुदको विकासमा प्रदेश खेलकुदको भूमिका विषयक अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नवनियुक्त सदस्य सचिव ओलीले भने ।

खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले राज्य पुनर्संरचनाका क्रममा अन्यायमा परेको बाँकेले खेलकुदका क्षेत्रबाट न्याय गर्नुपर्ने बताए । उनले नवनियुक्त सदस्य सचिव ओलीले पूर्वाधारको उपयोगिताका लागि भरपर्दा कार्यक्रमहरु ल्याउने विश्वास पनि व्यक्त गरे ।
यसअघि साबिकको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका नेतृत्व गरेका ओलीलाई प्रदेश सरकारले खेलकुद परिषद्को सदस्य सचिव नियुक्त गरेसँगै खेल गतिविधिलाई निरन्तरता दिइने विश्वास सरोकारवालाहरुले गरेका थिए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुमित्रा चौधरीले विभिन्न राजनीतिक घटनाक्रम र नीतिगत अन्योलताले खेल गतिविधिमा निकै नकारात्मक प्रभाव परेको टिप्पणी गरिन् ।
ओलम्पियन सोनुको स्वागत
टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेर फर्किएकी बाँकेको खजुराकी सोनु भट्टलाई नेपालगन्जमा स्वागत, सम्मान गरिएको छ । खजुरा गाउँपालिका अध्यक्ष सहितको एउटा टोलीले नेपालगन्ज विमानस्थलमा बुधबार दिउँसो ओलम्पियन सोनुलाई स्वागत गरेको हो ।
लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री धर्म बहादुर लाल श्रीवास्तवको प्रमुख आतिथ्यतामा खेलकुदका सरोकारवालाहरु बीच आयोजित अन्तरक्रियात्मक कार्यक्रममा ओलम्पियन सोनुलाई स्वागत सम्मान पनि गरियो । त्यसक्रममा ओलम्पियन सोनुले यसपटक ‘वाइल्ड कार्ड’बाट ओलम्पिक रिङमा उत्रिए पनि सक्दो राम्रो प्रदर्शन गरेको बताइन् ।
‘तपाईहरु सबैको साथ, सहयोग र सरकारको ध्यान पुग्यो भने आउने दिनमा वाइल्ड कार्ड होइन परफरमेन्सकै आधारमा ओलम्पिक जाने दृढता लिएको छु’, सोनु भट्टले सम्मान ग्रहण पछि भनिन् ।
