उमेर ५६ नाघेका तेज बिक्रम शाह गैर सरकारी संस्थाको क्षेत्रमा परिचित नाम हो । खासगरी वातावरणका क्षेत्रमा क्रियाशिल उनी राजनीतिमा पनि उत्तिकै सक्रिय रहेका छन् । स्वास्थ्यका लागि साइकल प्रयोग गर्दै आएका शाहले यसपटक कोरोना महामारीबाट प्रभावित परिवारलाई सान्त्वना दिन महाकालीबाट साइकल यात्रा थालेका छन् । साउन १८ गते महाकालीको दोधराचाँदनीबाट साइकल यात्रा थालेका उनी मंगलबार साँझ नेपालगन्ज आइपुगेका छन् । आज बुधबार विहानै दाङका लागि प्रस्थान गर्ने साइकल यात्री शाहले २८ गते झापाको मेचीपुलमा पुगेर आफ्नो यात्रा समापन गर्ने जनाएका छन् । त्यसैको सेरोफेरोमा दैनिक नेपालगन्जले साइकल यात्री शाहसँग गरेको कुराकानी आजको अंकमा ।
महाकालीबाट सुरु भएको साइकल नेपालगन्जसम्म आइपुग्दा कस्तो अनुभूति रह्यो ?
सोंचे जस्तै भएको छ । ठाउँठाउँमा साइकल अभियन्ताहरुले स्वागत सम्मान गर्नुभएको छ । पूर्व निर्धारित तालिका अनुसार नै निर्धक्कसँग साइकल चलाउन सकिएको छ । यदाकदा बाहेक मौसमले पनि साथ दिएको छ । कैलालीको अत्तरिया र बाँकेको खजुरामा गरेको स्वागतले अझ ऊर्जा मिलेको छ । नेपालगन्ज साइक्लिङ क्लबको संयोजनमा नेपालगन्जको धम्बोझीमा मंगलबार साँझ कोभिडबाट ज्यान गुमाउनेहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ । यो सबै आयोजनालाई महाकाली मेची साइकल यात्रा अभियानकै कार्यक्रम भित्र जोडेका छौं ।
महाकाली–मेची साइकल यात्राको सोंच कसरी ल्याउनु भयो ?
कोभिड १९ को पहिलो लहरमा धेरै मानिसको मृत्यु भएको थियो । कोरोनाको दोस्रो लहर आउँदा नेपालगन्ज एकमद हटस्पटका रुपमा देखियो । थुप्रै आफ्ना नजिकका साथीभाई, सहरका चिनेका साथीभाईले कोरोनाका कारण ज्यान गुमाउन थालेपछि सहर शोकमा थियो, स्तब्ध थियो । र, त्यो एउटा निराशा र हतोत्साहित भएको अवस्थालाई हामी छौं भन्ने सन्देश पनि दिनु थियो । थुप्रै मान्छे बितिसकेपछि उनीहरुको घरमा सन्नाटा छ । सोच्नै नसक्ने निराशा छाएको छ । त्यसकारण उहाँको दुःख दर्दमा अरु केही गर्न नसकेपनि हामी एउटा आफ्नो पसिना बगाएर मैले एउटा सन्देश दिंदै मृतकहरुलाई श्रद्धाञ्जली दिने सोंचेर महाकालीदेखि मेचीसम्मको यात्रा गरिरहेको छु ।
साइकल नै किन ?
एउटा त मानिसलाई साइकलले स्वस्थ बनाउँछ । अर्को वातावरणका लागि साइकल उपयुक्त रहेको छ । र, साइकलले एउटा सद्भाव पनि बढाउँछ । साथी, संगत बढाउँछ । साइकलले आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि टेवा पुर्याउँछ । हामीलाई धेरै गन्तव्यहरु थाहा थिएन । तर, साइकल चलाउन थालेपछि हामीले थुप्रै गन्तव्य पहिल्याउन सफल भयौं । जस्तै राप्तीपारीको सन्तानेश्वर महादेव मन्दिर । त्यसकारण साइकल यात्राका थुपैै्र फाइदा रहेका छन् । मलाई लामो यात्रा साइकलबाट गरेर कोभिडबाट त्रसित भएका, मृत्यु भएका मानिसका परिवारको भावनामा हामी पनि साथमा छौं है भन्ने सन्देश दिन सक्नु भन्ने लागेको छ । त्यसका लागि महाकालीको दोधराचाँधनीदेखि पूर्वको मेची जाने यात्रा थालेको हँु ।
यात्राका लागि प्रत्यक्ष रुपमा आर्थिक रुपमा एचसीआरसी अस्पताल नेपालगन्ज, खजुरा गाउँपालिका र आर्शिवाद पेन्टस्ले हामीलाई सहयोग गर्नुभएको छ । त्यसबाहेक थुप्रै साथीहरुले व्यक्तिगत तथा संस्थाहरुले पनि सहयोग गर्नुभएको छ । साथीहरुको सहयोगले यात्राका लागि गाह्रो छैन । जस्तै, नेपालगन्ज साइक्लिङ क्लबले २१ जिल्लाका साइक्लिङ क्लबका साथीहरुसँग समन्वय गरिदिनुहुन भएको छ । यसले प्रत्येक जिल्लामा साइक्लिङ क्लबका साथीहरुले साथ दिनुहुनेछ ।
तपाई राजनीतिक र सामाजिक व्यक्तित्व पनि हो । के गर्यो भने सार्थक ढंगले तपाईको अभियानलाई लिन सकिन्छ ?
सबै मानिसको कुनै न कुनै रुपमा पार्टी प्रति आस्था हुन्छ । म पनि छु । तर, त्यो भन्दा माथि उठेर, एउटा पार्टीको दायरामा मात्रै नरहेर, व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देशका लागि सोच्नुपर्दछ । कोभिडले देशभरी नै भयावह अवस्था छ । सबै तिर निराशा अवस्थामा पुगेको, कमजोर पुगेको अवस्था छ । भोलि केहोला भन्ने त्रास छ । हामी छौं, बाँच्न सकिन्छ, सुरक्षित हुन सकिन्छ भन्ने सन्देश फैलाउनु पनि थियो । मृतकका बारेमा श्रद्धाञ्जली समवेदना पनि दिनुपर्छ भन्ने सोंच थियो र सामुदायिक क्षेत्रबाट यो मुद्दा उठाएको हुँ ।
उमेरका हिसाबले कत्तिको सहज छ ?
नेपालीहरु ४० बर्ष कटेपछि लाइफ सकियो भनेर व्यवस्थापन तिर लागिहान्छन् । तर, अन्य देशमा ५० बर्ष पछि मात्रै अर्को जीवन सुरु हुन्छ । यो मान्छेको सोंचमा भर पर्ने कुरा हो । मलाई त्यस्तो केही लाग्दैन । स्वास्थ्यका कारणले कुनै कम्लिकेसन आउन सक्छ । १ सय किलोमिटर साइकल चलाउँदा मलाई सन्तुष्टि हुँदैन जुन दिन १ सय ५० मिटर चलाउँछु मलाई सन्तुष्टि लाग्दछ । म स्वस्थ्य छु । म साइकल चलाउँछु ।
सबभन्दा पहिलो बुढो हुन थाल्यौं भन्ने सोंच बे्रक गर्नुपर्दछ । उमेर बढेपछि अझै स्वास्थ्यमा ध्यान दिनुपर्दछ । अहिले करिब सबैलाई सुगर र प्रेसर हुन्छ । सुगर र प्रेसर नभएको मान्छे पाउन गाह्रो हुन्छ । यदी हामीले साइकल चलाउँछौ भने त्यस्तालाई सुगर र प्रेसर हुँदैन भएपनि निको हुँदै जान्छ । त्यसकारण स्वास्थ्यका लागि अरु केही नभएपछि साइकल विहान एक घण्टा चलायौं भने मेन्टेन हुन्छ । नेपालगन्जबाट साइक्लिङ कल्चर मार्फत स्वास्थ्यको सन्देश देशभरी दिनुपर्दछ ।
उसो भए तपाईको दिनचर्या भन्नुस् न ?
विहान करिब डेढ दुई घण्टा साइक्लिङ गर्दछु । मेरो दिनचर्या विहान ४ बजे विहान बाहिर निस्किहाल्छु । त्यसपछि ७ बजेसम्म साइकल चलाउँछु । घर आएपछि न्युज अपडेट हुने गर्दछु । विहान खाना पछि कार्यालयको काम गर्दछु ।
स्वास्थ्यका लागि दिने समय ?
खासगरी स्वास्थ्यका लागि दिने समय विहान हो । त्यसपछि आफुले आफ्नो व्यवहारमा पनि ख्याल गर्नुपर्दछ । खास त प्रत्येक दिन रेगुलर आफ्नो फिटनेशको ध्यान दिनुपर्दछ । तर, खानका लागि बनाइएको प्रत्येक चिज खानु पर्दछ । यो खायो भने मान्छे बिग्रिहाल्छ भन्ने लाग्दैन । तर, प्रत्येक चिजको लिमिट हुन्छ । लिमिट क्रस भएन भने खानाले फरक पर्दैन । साइकल चलाउनुस् जे खाँदा पनि हुन्छ । तर, त्यसको सन्तुलन भने कायम राख्नु पर्दछ ।