
वर्तमान नेपालमा सबैभन्दा चर्चित शब्द हो भ्रष्टाचार । भ्रष्टाचार शब्दको यहाँ निकै ठूलो खतिउपती छ । लगभग सबै समाजिक सञ्जालहरुमा यहि शब्दले नै गरि खाएको छ । सञ्जालमा लेख्नेहरुका लागि सबैभन्दा प्रिय शब्द नै भ्रष्टाचार भएको छ । नागरिक अभियान भनेर चलाउनेहरुका लागि यहि शब्दले आन्दोलन चलाउने माध्यम र फोटो खिचाउने काम भएको छ । यूट्यूबरहरुका लागि यौन र हिंसा बाहेक यति कुनै अर्को धमाकेदार शब्द छ भने भ्रष्टाचार शब्द नै हो । नेपालको राजनीतिका कुरा गर्ने हो भने यहाँ यहि शब्दलाई नै मुख्य एजेण्डा बनाएर दर्जनौं पार्टी नै खुलेका छन् । नेताहरुका कुरा सुन्ने हो भने ढोका देखि कोठासम्म, पार्टी बैठक देखि संसद बैठकसम्म भ्रष्टाचार शब्दको चर्चा नगरे ती बैठकहरु नै बीना नूनका हुन्छन् । मतदाताहरु देखि ब्यापारीसम्म, चिया दोकान देखि ठेकेदारका अड्डाहरुसम्म भ्रष्टाचार भन्ने शब्दले ब्यापक चर्चा पाउने गरेको छ । नेपालमा सुशासनको नाममा चर्न आएका एफएनजिओ (आइएनजिओ) हरुका दोकान नै यहि शब्दले चलेका छन् । अझ नेपाल सरकारका कार्यालयहरुका भित्ता, ढोका र सेवाग्राहीका काउण्टरहरुमा हेर्ने हो भने उफ ! उदेक नै लाग्ने गरि टाँसिएको छ । ‘म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भ्रष्टाचारीलाई प्रवेश निषेध आदी इत्यादी ।
यो शब्दमा कतिसम्मको शक्ति रहेछ त भन्ने कुरा माथिका केहि उद्दरणबाट छर्लङ्गै भएको छ । यो भ्रष्टाचार भन्ने शब्दको महिमामण्डन देखेर धेरैलाई हाँसो उठ्ला, कतिलाई रिस उठ्ला भने कतिलाई वाहियात पनि लाग्ला । मलाई उदेक लागेर चासो बढेको हो यसको बिषयमा जान्न बुझ्न । निकै इच्छा जागेर आयो । यो शब्द खेलाएर गरि खाएकाहरुलाई यो भष्टाचार भनेको के रहेछ भनेर मैले शिक्षक, विद्यार्थी, लेखक बुद्धिजीवि, राजनीतिककर्मी, मतदाता, दुईचारपटक सत्तासीन नै भएका नेता लाई पनि सोधें । तर कसैबाट पनि मेरो चित्तबुझ्दो जवाफ आएन । एकछिन त लाग्यो मैले पोे के जानेको छु र ? यो यतिका मानिसहरुले भनेको कुरामा विश्वास के नगर्नू जस्तो पनि लाग्यो र भ्रष्टाचार भन्ने शब्दको शाब्दिक अर्थ खोज्न शब्दकोष नै पल्टाएँ । तर नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत शब्दकोश (२०६७) संस्करणसम्ममा यो शब्द राखिएको पाएन । भ्रष्टाचार बिरुद्धको अभियान अख्तियार दुरपयोग अनुसन्धान आयोगको वेवसाइडमा पनि यो शब्दलाई अथ्र्याइएको छैन । नेपालको संविधानको धारा २३८ मा अख्तियारको व्यवस्थामा पनि कहिँ कतै यो शब्द अर्थिएको भेटिँदैन ।
नेपालीमा भ्रष्ट र आचार जोडेर बनेको यो भ्रष्टाचार भन्ने शब्द कहाँबाट आयो कसरी आयो यो बारेमा त थाह भएन तर यसलाई कतै लेटिन भाषाबाट त कतै फ्रेन्चबाट आएको पनि भनिएको छ । यसको वास्तविक मूल कहाँ हो ?मैले यसको जिम्मा जानिफकार खोजअनुसन्धानकर्ताहरुलाई सुम्पें । तर सामान्यतया भ्रष्टाचारको समानार्थी शब्द खोज्दा विभिन्न ठाउँमा विकृति, गलत आचरण, तोकिएको भन्दा फरक कामकारवाही, दूराचरण, दुष्टता, नैतिकपतन, अपराधिक कार्य, गैरइमान्दारिता र वास्तविक अवस्थामा परिवर्तन आदि । भ्रष्टाचारका अनेकानेक रुपमा नेपालमा हुने गरेका भ्रष्टाचार के कस्ता छन् के के हुन ?
नेपालमा सरकारी अड्डामा घुस लिनेदिने, राजनीतिक व्यक्तिहरुले कमिशन खाने मात्रैलाई भ्रष्टाचार भनेर निकै चर्चा गरेको पाइन्छ । केहि भ्रष्टाचार विरुद्धका दोकान खोलेर बसेका देशीविदेशी संघसंस्थाहरुले पनि कमोबेसी यसैको सेरोफेरोमा भ्रष्टाचार भयो भन्दै फलाक्ने प्रतिवेदनहरु बनाउने गरेका छन् । तर वास्तविक रुपमा भ्रष्टाचार कहाँ कहाँ क कसले कसरी गरिरहेको छ भन्ने कुनै कुरा खोलिँदैन न लेखिन्छ । लगभग नियोजित रुपमा कहाँ कुन कुरालाई त्यो भ्रष्टाचार भन्ने शब्दको फेरिमा पार्ने र आफ्नो गतिलोपना देखाउने भन्नेमा नै प्राय लागेको देखिन्छ ।
नेपालमा भ्रष्टाचार नभएको शायदै कुनै ठाउँ होला भन्न सकिन्छ । आज हरेकव्यक्ति आफ्नो आचरणबाट स्खलित भएको छ । घरपरिवार देखि समाजसम्म हरेकले मौद्रिक अमौद्रिक लाभका लागि काम गर्छ । नाङ्गिन्छ बाङ्गिन्छ । चापलूसीको पोको बोक्छ । अर्काको छोरी बुहारी धनसम्पत्तिमा रिसगर्छ आँखा लगाउँछ । आफ्नो मूल र कूललाई गाली गर्छ, मास्छ । मौलिकतालाई गाली गर्छ । आफ्नो देशको धर्मसँस्कृति, भाषासभ्यतालाई मास्ने एजेण्ट बन्छ एजेण्डा बोक्छ । आफ्नालाई पाखण्डी र विदेशीलाई सभ्य देख्छ । आफ्नो बारी बाँझो राखेर अरुको समान बेच्छ बेचाउँछ । आफ्नो बीउवनस्पति मासेर अरुको जर्गेना गर्छ । आफ्ना कुरा लेख्दैन देख्दैन तर अर्काका प्रशंसा गर्छ । यो भन्दा चरम भ्रष्टाचार केहि होइन ?
सरकारी कर्मचारीले घुसखाने भ्रष्टाचार मात्रै होइन उसले त चापलुसीमा पनि भ्रष्टाचार गर्छ । उसको कार्यसम्पादनमा हुने फरक फरक व्यवहार पनि एक किसिमको भ्रष्टाचार नै हो । राजनीतिक नेताका त यहाँ के कुरा गर्नु पेशागत, कार्यसम्पादन व्यवहारगत, नीतिगत कति हो कति भ्रष्टाचार । विकास निर्माणका नाममा वास्तविक रुपमा गरिएको अवाञ्छित परिवर्तन पनि भ्रष्टाचार हो । नेपालको मूल र कूल परम्परा भाषा धर्म सँस्कृति माथिको आक्रमण, धर्मान्तरण पनि भ्रष्टाचार हो ।
सरकारी या राजनीतिक मात्रै होइन जुनकुनैपनि व्यक्तिले आफ्नो जिम्मेवारी र दायित्व निर्वाह नगर्नू पनि भ्रष्टाचार नै हो । नेपालमा जहाँसुकै जसले पनि असाध्यै प्रयोग गर्ने शब्द हुँदाहुँदै पनि पत्रकार, लेखक, डाक्टर, वकिल, अभियन्ता, पेशाकर्मी आदिका बारेमा कम्तिमा पनि नेपालमा यो भ्रष्टाचार भन्ने शब्दको प्रयोग हुँदैन । यी त सबै चोखा बनेर नेता र कर्मचारीलाई मात्रै भ्रष्ट देख्ने र लेख्ने हो ।
एउटा वकिललाई थाह छ अमुक व्यक्ति देश टुक्र्याउन लागेको छ, त्यस्ता अभिव्यक्ति र व्यवहारहरु प्रर्दशन गरेको छ तरपनि मोटो पैसा पाउन वा अन्य लाभका लागि उ त्यस्ताको पक्षमा वकालत गर्दै कानूनमाथि बुर्कुसी मार्छ । एउटा बलात्कारी हो अनेक हत्यामा सामेल भएको छ भनेपनि त्यसको पक्षमा मेरो त पेशा हो भन्दै लाग्छ । एउटा लेखकलाई थाह छ उसले नेपालको धर्म सँस्कृति भाषा र सभ्यतालाई गाली गरेर लेख्दै छु भन्ने तर उ लेख्छ, प्रचार गर्छ, क्रान्तिकारीता परिवर्तनकारी कहलिन्छ के यो भ्रष्टाचार होइन ?
पत्रकारले दाम, खाम र नाम तौलेर समाचार बनाउँछ तर आफु सधैं दूधले नुहाएको जस्तो कुरा गर्छ । अर्को छ संघसंस्था खोलेर खाता मिलाएर विदेशीको एजेण्डा सेट गरेर नेपालमा चापलुसी गरेर दोकान चलाएको छ । छ अनि उ भन्छ भ्रष्टाचारका विरुद्ध काम गरेको ।
ब्यापारीले पानीमा दूध, नूनमा पिठो (प्रतिकात्मक) मिसाएर ब्यापार गर्छ, प्रतिष्पर्धाका नाममा अर्काको उठिबास बनाउँछ, पाँच लाखको आय विवरण बुझाउँछ पाँच करोडको घरजग्गा बनाउँछ । अनि कर्मचारी, नेता, पत्रकार, वकिल, सबलाई चोर फटाहा भन्छ । अनि आफु निकै चोखो बनिरहेको हुन्छ ।
आज सम्पत्ति आर्जनलाई भ्रष्टाचारको कारक मानिन्छ । सम्पत्ति नेता र कर्मचारीको मात्रै बढेको होइन यहाँ धेरैको सम्पक्ति बढेको छ । कसरी बढ्यो त्यो खोजौं, सबैको खोजौं । पत्रकारहरुको खोजौं, वकिलहरुको खोजौं, अभियन्ता भन्नेहरुको खोजौं, अधिकारकर्मी भन्नेहरुको खोजौं । नागरिक समाज र लेखक, विज्ञहरुको खोजौं । पच्चिस हजारको जागिरबाट कारचढ्ने पैसा कहाँबाट आउँछ खोजौं । जागीर पेशा बीना देशैभरि भुक्दैहिँड्ने पैसा कहाँबाट आउँछ खोजौं । लाखौं राजनीतिक कार्यकर्ता कुनश्रोतबाट परिचालित भएका छन् त्यो पनि खोजौं । तीस हजारको जागीरमा करोडको घरजग्गा कसरी बनेको छ खोजौं । छ आँट कसैको ?
शिक्षक त सधै नवाचारमा लाग्नुपर्ने हो तर लाग्दैन, पढाउनु भन्दा पहिला खोजअनुसन्धान गर्दैन, कक्षाकोठामा बिरलै जान्छ , बिधार्थीलाई सिकाउनु भन्दा आफ्नो जागिर पाकेकै छ भन्छ, शिक्षण पेशा भन्दा आफ्ना नीजि ब्यापारमा चासो छ, शिक्षाशाखा समितिहरु, राजनीतिक पार्टीका भातृसंघसंगठनहरुको बढि चासो छ । विचार मिलेको नेताको आसन बसाउँछ, टोलटोलमा उसैका संगठनका लागि काम गर्छ । गाउँदरबार देखि सिँहदरबारसम्म स्वार्थका पोका बोकेर धाउँछ अनि उ नै भ्रष्टाचार गरे भन्छ । भ्रष्ट नेताको प्रशंसामा खर्चिने शब्द असल विद्यार्थीको प्रशंसामा खर्चे त केहि भएपनि भ्रष्टाचार कम हुन्छ ।
मानिसहरुलाई यो कस्तो कुरा भन्ने पनि लाग्ला । मैले यहाँ प्रतिकात्मक रुपमा भ्रष्टाचार नभएको ठाउँ छैन मात्रै भन्न खोजेको हो । कसैको आचरण, पेशा आदिमा प्रश्न उठाउन खोजेको र सबै भ्रष्ट छन् भन्न खोजेको होइन । तर पक्का यहि हो कि यहाँ हरेक पाइला पाइलामा भ्रष्टाचार छ । शुरुआत यहाँबाट र वहाँबाट भन्दा पनि हामी आफैबाट भएको छ । हाीले स्वीकार गर्नैै पर्छ । हामी नै आफै आफ्नो जिम्मेवारी र कर्तव्य प्रति इमान्दार छैनौं । यहिँबाट भ्रष्टाचारको शुरुआत भएको छ । कर्तव्य निर्वाहमा इमान्दारीता देखाएर इमान्दार व्यक्तिलाई भोट दिए भ्रष्ट नेताको जन्म हुँदैन । घरमा, विद्यालयमा कर्तव्यनिष्ठा र इमान्दारिता सिकाए भोलि बन्ने कर्मचारी भ्रष्ट बन्दैन । अपराध गरेकाले दण्ड पाउनुपर्छ भनेर अपराधीलाई नबचाए त्यहाँ पनि भ्रष्टाचार बच्दैन । आचरणमा पवित्रता ल्याए अपराध र भ्रष्टाचार फल्दैन । प्रकृति माथिको दोहन गर्दा भावी पुस्ताको हक कायम हुनेगरि सहृदयता कायम गरे त्यहाँ पनि भ्रष्टाचारको जन्म हुँदैन । चरम उपभोक्तावादको शिकार नबने भ्रष्टाचार कम हुन्छ । न्यायमा, राज्यसञ्चालन र कर्तव्य निर्वाहमा धर्मको विवेक राखेर ‘म अजब्बरी छैन मैले मर्नुपर्छ, मर्दा म रित्तै जाने हो’ भन्ने विवेक राखेर कार्यसम्पादन गरे भ्रष्टाचार सकिन्छ । जहाँ आचरणमा नै भ्रष्टता छ त्यहाँ त भ्रष्टाचार बढ्ने मात्रै हो । भ्रष्टचार त आचरण सुधार गरेरै सक्किने हो ।