हाल नेपालगन्जको सरदर विद्युतको माग नेपालगन्ज ३०.४४ एमभिए रहेको छ । जसमध्ये भारतबाट ११÷१२ एमभीए आउने गरेको छ ।
देबेन्द्र राज पौडेल
नेपालगन्जमा विद्युत प्रसारण पुनः भारत भरोसा बढ्दै गएको छ । नेपालगन्जमा वि.सं. २०७६ को अन्तिम र २०७७ को सुरुको केही महिना भारतबाट विद्युत लिन बन्द जस्तै गरिएको थियो । नेपालको विद्युतले भ्याएसम्म भारतको विद्युत नल्याउने नीति अन्तर्गत भारतबाट विद्युत लिन बन्द गरिएपनि पुनः नेपालगन्जको विद्युत प्रसारणमा भारतको भरोसो बढ्दै गएको छ ।
नेपालगन्जका लागि भारतबाट १०÷१२ एमभीएसम्म विद्युत आउने गर्दथ्यो । नेपालगन्जमा औद्योगिकरण, होटल व्यवसाय, नयाँ घर र जनसंख्या, व्यापार, व्यवसाय थपिंदै गएपछि त्यसले धान्न सकेन । भारतबाट थप विद्युत आउने सम्भावना थिएन । भारतको मात्रै भरोसामा रहँदा नेपालगन्जमा बढ्दो विद्युत माग थेग्न सक्ने अवस्था थिएन । दैनिक १० घण्टासम्म नेपालगन्जबासीले लोडसेडिङ झेले । कुनै बेला देशभर लोडसेडिङ हुँदा पनि त्यसको असर नपर्ने नेपालगन्जमा दैनिक १० घण्टासम्म विद्युत जान थालेपछि विद्युत नियमित गर्ने माग सर्वत्र उठ्न थाल्यो ।
विद्युत अनियमित हुँदा चर्को गर्मीमा स्थानीय नागरिक र उद्योग कल, कारखाना प्रभावित हुँदा यहाँका राजनीतिक दल, जनप्रतिनिधि, नेपालगन्ज उद्योग वाणिज्य संघको पहलमा नेपालको राष्ट्रिय प्रसारण लाइनमा पनि नेपालगन्जलाई जोडियो । भारत र नेपालबाट विद्युत आएपछि केही समय नेपालगन्जमा लोडसेडिङ भएन । तर, बढ्दो मागका कारण प्रसारणको प्राविधिक क्षमताले नेपालगन्जको माग धान्न सकेन र प्राविधिक क्षमता पनि बढाइयो । यद्यपि, भारत भन्दा राष्ट्रिय प्रसारणलाइनबाट नै नेपालगन्जका लागि विद्युत आपूर्ति बढी हुन थाल्यो ।
नेपालमा बनेका नयाँ जल विद्युत आयोजनाका कारण केही समय विद्युतको समस्या भएन । २०७६ चैत्रमा कोरोनाका कारण लकडाउन भएपछि उद्योग, कलकारखा बन्द रहे । जसका कारण भारतको विद्युत आवश्यक देखिएन । र, सकभर नेपालकै विद्युत प्रयोग गर्ने नीति अन्तर्गत नेपालको मात्र विद्युत प्रयोग गरियो । लकडाउन खुकुलो हुँदै जाँदा माग धान्न सकिएन र पुनः भारतबाट विद्युत ल्याउन थालियो ।
अहिले पुनः नेपालगन्जमा विद्युतको समस्या देखिएको छ । पूर्व सूचना घण्टौं विद्युत काटिन थालेपछि विभिन्न क्षेत्रबाट त्यसको आवाज उठ्न थालेको छ । चर्को गर्मीमा स्थानीयले सास्ती त ब्यहोर्नु परेको त छ नै कोरोना संक्रमणको जोखिमका कारण लामो समय लकडाउनका कारण उत्पादन तथा कारोबार गर्न नपाएका उद्योगी, व्यवसायीले थप संकट बेहोरे ।
प्राधिकरणले औद्योगिक क्षेत्रका लागि छुट्टै प्रसारण लाइन व्यवस्था गरेको छ । तर, ठूलो उद्योग औद्योगिक क्षेत्रको प्रसारण लाइनसँग जोडिए पनि साना तथा मध्यम उद्योगहरु त्यससँग जोडिएका छैनन् । जसका कारण उनीहरुको उत्पादनमा असर परेको छ । सोही समस्यालाई मध्यनजर केही समय अगाडि नेपालगन्ज उद्योग वाणिज्य संघ सहित आम नागरिकका तर्फबाट नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुखलाई भेटेर छलफल गरी तत्काल आपूर्ति व्यवस्था सहज बनाउन माग गरिएको थियो । तर, अझै पनि विद्युत आपूर्ति नेपालगन्जमा सहज हुन सकेको छैन ।
व्यवसायिक क्षेत्र मात्रै नभएर अन्य क्षेत्रले पनि विद्युतलाई नियमित गर्न प्राधिकरणलाई झक्झक्याइ रहेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य नेपालगन्ज जस्तो गर्मी हुने तथा कोरोनाका कारण उद्योग, व्यवसाय बन्द गरेका व्यवसायीले लकडाउन अन्त्य हुुँदै गर्दा विद्युतले नकारात्मक प्रभाव पारेको छ । ‘तत्काल विद्युतको सहज आपूर्ति गरिनुपर्दछ’, दैनिक नेपालगन्जसँग कुरा गर्दै व्यवसायिक अगुवा वैश्यले भने ।
नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्र प्रमुख लखनलला मलिकले प्राविधिक कारण बाहेक पनि नेपालगन्जमा विद्युत आपूर्ति कम हुँदा अनियमितता हुने गरेको बताउँछन् । ‘कहिलेकाही प्राविधिक त कहिले माग धान्न नसक्दा विद्युत अनियमित हुने गरेको हो’, उनले भने, ‘नेपालगन्ज मात्रै नभएर अन्य ठाउँमा पनि विद्युत अनियमित भएको छ ।’
नेपालगन्जमा भारतको नानपारा तथा टनकपुरबाट विद्युत आउने गरेको छ । त्यहाँबाट आउने विद्युत प्रसारणमा समस्या भए त्यसको प्रभाव नेपालगन्जमा पर्ने प्राधिकरणले जानकारी दिएको छ । नेपाली प्रसारण लाइनमा समस्या आउँदा पनि नेपालगन्जमा विद्युत अनियमित हुने गरेको छ ।
हाल नेपालगन्जको सरदर विद्युतको माग नेपालगन्ज ३०.४४ एमभिए रहेको छ । जसमध्ये भारतबाट ११÷१२ एमभीए आउने गरेको छ ।