अहिले पनि कोरोना पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन

मेडिकल सुपरिटेन्डेन्ट

भेरी अस्पताल, नेपालगन्ज

भेरी अस्पतालले यसअघि बार्षिकोत्सव मनाएको जानकारी भएन । भेरी अस्पताल दिवस के गरेर मनाउँदै हुनुहुन्छ ?

भेरी अस्पताल नेपालगन्ज लामो इतिहास बोकेको अस्पताल हो । भेरी अस्पताल र वीर अस्पतालको स्थापना एउटै सालमा भएको थियो । स्थापना हुँदा अर्को नामले स्थापना भएपनि चार÷पाँच वटा नाम परिवर्तन हुँदै अहिले संघीय सरकार अन्तर्गतको भेरी अस्पताल नेपालगन्ज भएको छ ।

लामो इतिहास बोकेको भेरी अस्पतालले अहिलेसम्म बार्षिकोत्सव मनाएको देखिएन । अहिले चाहीँ अन्य केन्द्रीय अस्पतालहरुले पनि स्थापना भएको सालको कुनै मितिलाई स्थापना दिवस मानेर मनाएको पाइन्छ । जस्तो हामीले साउन १२ लाई स्थापनाको दिन भनेर छान्यौं । किनभन्दा यो नै दिन मनाउने भन्ने कुनै डकुमेन्ट भेटिएन । वीर र भेरी अस्पतालको स्थापना एउटै सालमा भएकाले जुन दिन वीर अस्पतालले स्थापना दिवस मनाउँछ त्यही दिन नै हामीले बार्षिकोत्सव मनाउनका लागि छानेका हौं । यसभन्दा अघि पनि विकास समितिमा निर्णय भैसकेको रहेछ । कार्यान्वयन भएको रहेनछ । अहिलेको विकास समितिबाट निर्णय गरेर अब चाहीँ अस्पतालको बार्षिकोत्सव मनाउँदा अस्पतालले गरेको कार्यहरु, अस्पतालले प्रदान गर्ने सेवाहरु, चुनौति र गर्नुपर्ने कुराहरुका बारेमा उजागर गर्ने भन्ने हिसाबले बार्षिकोत्सव मनाउने योजना बनायौं ।

हामीले साउन १२ लाई बार्षिकोत्सवका रुपमा मनाउन विभिन्न क्रियाकलाप गरेका छौं । हामीले अस्पतालको बार्षिकोत्सवको अवसरमा फुटसल, क्रिकेट, क्यारेमबोर्ड, चेस, टेबलटेनिस, ब्याडमिन्टन लगायतका खेल सम्पन्न भएका छन् । बार्षिकोत्सवको दिन म्याराथन जस्तै रन फर हेल्थ आयोजना गरेर सबै कर्मचारीलाई सहभागी बनाउने छौं । बाषिकोत्सवकै अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेका छौं ।

बार्षिकोत्सवका अवसरमा अस्पतालमा विशिष्ट व्यक्तिहरुलाई बोलाएर औपचारिक कार्यक्रम गर्दैछौं । पहिलो पटक बार्षिकोत्सव मनाइरहेका बेला अस्पतालले १२ गते एउटा स्मारिका पनि विमोचन गर्दैछौं ।

तपाईले अस्पतालको नेतृत्व लिइसकेपछि अपस्तालले देखिने गरी गरेका कार्यहरु के के हुन् ?

यो मेरो दोस्रो कार्यकाल हो । तीन बर्ष अघि पनि मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएको थिए । दोस्रो पटक डेढ बर्ष अघि मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएको हुँ ।

नेपालमा कोरोना देखिनु अघि मैले जिम्मेवारी पाएको थिएँ । जिम्मेवारीमा आए लगत्तै नेपालमा कोरोनाको भय सुरु भैसकेको थियो । विश्वका अन्य देशमा कोरोनाले ठूलो रुप लिएको थियो भने नेपालले पूर्व तयारी गर्दै थियो ।

कोरोनाको पूर्व तयारीकै अवस्था सुरुवातकै दिनदेखि ठूलो भूमिका निर्वाह गर्यौं भेरी अस्पतालको तर्फबाट । कोरोना देखिनु दुई महिना अघि नै खजुरा स्थित क्यान्सर अस्पतालमा भेरी अस्पतालको व्यवस्थापन हुने गरी ४० बेडहरु, ८ बेड आइसियु पूर्ण तयारीमा राखेका थियौं । त्यसैकारणले गर्दा बाँके कोरोनाको हटस्पट हुँदा ठूलो संख्यामा बिरामी देखिंदा त्यहाँ राखेर व्यवस्थापन गर्न सकियो । पछि अस्पतालकै पहलमा प्रदेश सरकारको सहयोगमा भेरी अस्पतालमा पीसीआर ल्याबको स्थापना भयो । र, त्यो पीसीआर ल्याबले अहिले रिफ्रेन्स ल्याबको मान्यता प्राप्त गरेको छ । देशभरी उत्कृष्ट ल्याबको सूचिमा संलग्न छ ।

कोरोनाको जटिल प्रकारका बिरामी ठूलो संख्यामा देखिन थालेपछि खजुरा गएर त्यो व्यवस्थापन गर्न नसक्ने अवस्था भएपछि भेरी अस्पताल मै ७२ बेडको आइसियु सहितको (हरेक बेडमा अक्सिजन पाइप समेत) व्यवस्था गर्यौं । भेरी अस्पतालमैं कोरोना विशेष अस्पताल सञ्चालनमा ल्यायौं ।

कोरोनाको पहिलो वेभ पार गरिसकेपछि फेरि हामी चुपचाप बसेनौं । दोस्रो वेभको सम्भावनालाई मध्यनजर अस्पतालमा भएका अन्य बेडहरु, जीर्ण संरचनालाई मर्मत, जीर्णोदार गरेर त्यहाँ पनि कुल १ सय ४२ अक्सिजन पाइप लाइन सहितको बेडहरु व्यवस्था गर्यौं । जसले गर्दा दोस्रो वेभमा पनि उपचारमा ठूलो सहयोग पुग्यो ।

अक्सिजनको खपत बढ्दै गएको अवस्थामा लिक्विड अक्सिजन ट्यांकको पनि व्यवस्थापन गर्यौं । आइसियु लगायतका बेड, औजार उपकरण, भेन्टिलेटर, इसिजि मेसिन, पोर्टेबल एक्सरे लगायत कोरानाको बिरामीको उपचारमा आवश्यक पूर्वाधार ठूलो संख्यामा जुटाउन सफल भयौं । यसमा डिसिसिएमसी, तत्कालीन प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ, हालका प्रजिअ शिवलाल गेलाल लगायतको सम्पूर्ण डिसिसिएमसीको टिम, स्थानीय तहका प्रमुख तथा अन्य व्यक्तित्व, सरोकारवाला, नागरिक समाज, एनजिओ, आइएनजिओ, हाम्रो अस्पताल टिम र निजी क्षेत्रको ठूलो सहयोग रह्यो । उहाँहरुको सहयोग र हातेमालोले देशभरी नै बाँके जिल्लामा कोभिड व्यवस्थापनमा उत्कृष्ट काम गर्यौं भन्नेमा गर्व छ ।

कोभिडसँगै ननकोभिडका काम पनि हामीले धेरै गरेका छौं । अस्पतालमा सरसफाई र फुलबारी बनाउने, सुरक्षाको दृष्टिकोणले ठूलो छलाङ मारेका छौं, मिनिमम सर्भिस स्ट्याण्डर्डका आधारमा देशभरीकै उत्कृष्ट केन्द्रीय अस्पतालका रुपमा हामीले मान्यता प्राप्त गर्यौं । गत बर्ष ३५ स्कोर प्राप्त गरेकोमा हामी आएपछि ६१ स्कोर प्राप्त गर्यौं । सय ल्याउन अस्पतालमा अझै धेरै सेवा थप गर्नुपर्ने हुन्छ । अस्पतालमा हामीले अहिले जति पनि सेवा दिइरहेका छौं मिनिमम सर्भिस स्ट्याण्डर्डका आधारमा देशभरकै केन्द्रीय अस्पतालमा उत्कृष्ट भएका छौं ।

थर्ड वेभको कुरा गरिंदैछ, त्यसको पूर्व तयारीमा हुनुहुन्छ ?

अहिले पनि कोरोना पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन । अहिले पनि अस्पतालका बेडहरुमा जटिल बिरामी छन्, पीसीआर ल्याब सञ्चालनमा आइरहेको छ । पीसीआर परीक्षण गर्ने मानिसहरुको भीड पनि बढिराखेको छ ।

हामीले थर्ड वेभ पनि आउन सक्छ भनेर थर्ड वेभका लागि पूर्व तयारीका कार्यहरु पनि अगाडि बढाइरहेका छौं । विभिन्न सञ्चारमाध्यमबाट विभिन्न मान्छेहरुबाट थर्ड वेभमा चाहीँ बालबालिकालाई असर गर्छ कि भन्ने समाचार आइरहेको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालले २० प्रतिशत बेड बच्चाहरुका लागि छुट्याउने पर्छ, आइसियु बनाउनु पर्छ भन्ने जुन गाइडलाइन दिएको छ । त्यो अनुरुप हामीले कार्यहरु अगाडि बढाएर सम्पन्न गर्ने पाटोमा छौं ।

भएको लिक्वीड अक्सिजन स्टोरेज ट्यांकले अपुग हुने भएका कारणले गर्दा हामीले अक्सिजन प्लान्टको टेण्डर गरेर त्यो प्लान्ट पनि आउने क्रममा छ । लगभग हामीले दुई महिनाभित्र अक्सिजन प्लान्ट भित्र्याई सक्छौं । त्यो साथसाथै विभिन्न थप उपकरहरु टेण्डर भएर सम्झौता पनि भैसकेको छ । ती सामान आउने क्रममा छ । ती सामान आयो र हामीले छुट्याएका बेडहरु जुन हिसाबले व्यवस्थित गरेका राखेको छौं, यसले गर्दा थर्ड वेभ आउँदा जुन वर्गको मानिस बढी प्रभावित भएपनि हामी राम्रै व्यवस्थापन गर्न सक्छौं भन्ने हामीलाई लागेको छ ।

यसबीच अस्पताल पूर्वाधारका विकास कति हुन सक्यो ?

पूर्वाधार तर्फ २ सय ४० बेडको प्रशासनिक भवन, इमरजेन्सी लगायतको इन्डोर भवन निर्माण कार्य सम्पन्न हुने अवस्थामा छ । पुस महिनासम्म सम्झौता अनुसार कार्य सम्पन्न होला । यो बीचमा हामीले अस्पतालमा ५ सय बेड सञ्चालनका लागि अस्पतालमा भएका कर्मचारीको आवास तथा अस्पतालबाट दिइने अन्य सेवाहरुका लागि आवश्यक भौतिक पूर्वाधारका लागि डिपिआर करिब सम्पन्न गरिसकेका छौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि टिप्पणी उठाएर अब थप नयाँ भवन, जुन अगाडि मेन भवन उता सरेपछि त्यसलाई विघटन गरी त्यसमा सात तलाको भवन बनाउने काम अगाडि बढेको छ । आउने बर्ष ती भवन विघटन भएर नयाँ भवन बनाउने काम सुरु हुनेछ, जसमा एउटा सात तलाको प्रमुख भवन, पोष्टमार्टम बिल्डिङ, ६० परिवारको चिकित्सक आवास भवन, ५० परिवारको नर्सिङ्ग तथा अन्य कर्मचारी भवनका लागि सबै काम अन्तिम चरणमा भएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहरी विकास मन्त्रालयमा चिठ्ठी लेख्न मात्र बाँकी छ । आउने बर्षमा बहुबर्षीय योजना अन्तर्गत यी कार्यहरु पनि अगाडि बढ्छ होला ।

सहुलियत उपचार व्यवस्थाका लागि अब गरिनु पर्ने व्यवस्था ?

प्रमुख हाम्रो चुनौति भनेको त भौतिक पूर्वाधार नै हो । भएका पुराना बिल्डिङ जीर्ण छन् । कर्मचारी बस्ने आवास चुहिने अवस्थामा छ । सबैलाई चाहीँ भत्काएर नयाँ भवन बनाउनु आवश्यक छ । भवनहरु तयार भएपछि जुन ५ सय बेडको अस्पताल बनाउने भन्ने नीति तथा कार्यक्रममा सरकारले ल्याइसकेकाले त्यसको कार्यान्वयनका लागि विशिष्टिकृत सेवाका लागि आवश्यक पर्ने जनशक्ति ओएनएम सर्भे गरेर मन्त्रालयमा पठाएका छौं । सम्भवतः केही महिनामा त्यो जनशक्ति थप्ने काम पनि हुन्छ होला । नयाँ भवन बनेपछि नयाँ भवनका लागि चाहिने औजार उपकरणका लागि पनि हामीले काम गर्नुपर्ने देखिन्छ ।

गुणस्तरीय सेवाका लागि आवश्यक पूर्वाधार, उपकरण भयो भने हामीलाई सेवा दिन गाह्रो हुँदैन । साथसाथै विपन्न भएकै कारणले सेवाबाट वञ्चित हुनुपर्ने अवस्था भने छैन । किनभने नेपाल सरकारले प्रारम्भिक इमरजेन्सी सेवा फ्रि भन्ने कार्यक्रम अन्तर्गत कुनै पनि बिरामी पैसा नभएको अवस्थामा आए प्रारम्भिक अत्यावश्यक सेवाबाट वञ्चित हुनु पर्दैन । त्यस्ता बिरामीलाई गतबर्ष देखि सेवा दिंदै आएका छौं । ज्येष्ठ नागरिक, जेराटिक, विपन्न, असहायका लागि नेपाल सरकारले थप सहुलियत हुने कार्यक्रम सञ्चालन गरेको छ । त्यो भएका कारणले कुनै न कुनै वर्गलाई कुनै न कुनै कार्यक्रमले एड्रेस गरेको अवस्था छ ।

भेरी अस्पतालमा नेपालगन्जमा पैसा नभएर उपचारबाट वञ्चित हुनुपर्ने अवस्था छैन । सरकारले केन्द्रीय सरकारी अस्पतालले आफु नजिक रहेको जिल्लाको प्रादेशिक अस्पतालमा सेटेलाइट सेवा दिने नीति अन्तर्गत हामीले भेरी केन्द्रीय अस्पताल भएकाले बर्दियाको गुलरिया स्थित जिल्ला अस्पतालमा हरेक शुक्रबार एउटा विशिष्टिकृत ओपीडी पनि सञ्चालनमा ल्याएका थियौं । विगतमा कोरोनाले गर्दा बन्द भएको अवस्था थियो भने अब पुनः त्यो सेवा सञ्चालनमा ल्याउँछौं ।

भेरी अस्पतालमा टेलि मेडिसिनको सुरु भैसकेको छ । त्यसले मूर्त रुप भने पाएको छैन । केही कर्मचारीको व्यवस्था भएपछि सुरु हुन्छ । टेलि मेडिसिन सेवा भन्नाले भेरी अस्पताल अन्तर्गत पर्ने जतिपनि प्रादेशिक तथा जिल्ला अस्पताल छन्, त्यहाँ पनि स्वास्थ्य संस्थाका समस्यलाई टेलि मेडिसिनको माध्यम वा सोसल मिडियाको माध्यमबाट सोलुसन निकाल्न सकिन्छ भन्ने हो, सुझाव दिन सकिन्छ भन्ने हो ।

१ सय ३१ बर्ष भेरीले पूरा गर्दैछ । निजीले जसरी प्रगति गरे सरकारीले गर्न सकेनन् । सरकारी अस्पताल भनेपछि राजनीति र बेथितिको कुरा सुनिन्छ, के छ तपाईंको बुझाइ ?

कोभिडले गर्दा मानिसको सरकारी अस्पताल प्रति विश्वास पुनः बढाएको छ । हिजोका दिनमा मान्छेहरु सरकारी अस्पताल छाडेर प्राइभेट तिर जाने ठूलो घुइँचो थियो भने अहिले होइन सरकारी अस्पताल नै चाहिने रहेछ, अप्ठ्यारो पर्दा सरकारी अस्पताल नै चाहिँदो रहेछ भने त्यो भीड सरकारी अस्पताल तर्फ नै आइरहेको छ । र, त्यसको लागि हामीले समयानुसार अस्पतालाई परिमार्जन गर्दै, सेवा, सुविधा बढाउनु पर्ने देखिन्छ ।

अस्पताल विकासका लागि सबैको कमन एजेण्डा हुनुपर्दछ । जस्तो सामाजिक कुरामा राजनीतिक रुपमा मनमुटाव हुनु हुँदैन । सरकारी अस्पताल बन्ने, सामाजिक कार्यका लागि सबैको उद्देश्य एउटै हुनुपर्छ । अस्पतालको वृत्ति विकासका लागि कसैले पनि अवरोध सिर्जना गर्नु हुँदैन । बाँकेका राजनीतिक दलले त्यसका लागि अझै ठूलो भूमिका खेल्नुपर्दछ ।

अन्त्यमा केही ?

हामी सबैको अस्पताल बनाउने साझा एजेण्डा हो । तीन प्रदेशका बिरामीहरुलाई सेवा दिइरहेको भेरी अस्पतालको वृत्ति विकास र थप सुदृढिकरण गरेर अगाडि बढाउनु पर्छ भन्ने मान्यता राखेर दिनरात खटिएका छौं । भेरी अस्पतालका केही कमजोरी भए सुझाव दिएर थप टेवा पुर्याउनु हुन आग्रह गर्दछौं ।

प्रतिक्रिया

प्रतिक्रिया