
प्रतिनिधि सभा सदस्य
बाँके, निर्वाचन क्षेत्र नम्बर २
तपाईं राजनीतिक दलको नेता, पूर्वमन्त्री पनि, जनप्रतिनिधिका दृष्टिले भेरी अस्पतालको भविष्य कसरी सुदृढ हुन्छ भन्ने लाग्छ ?
भेरी अस्पताल मध्य र सुदूरका २४ जिल्लाका नागरिकलाई सेवा दिने अस्पताल हो । यसपछि काठमाडौं र लखनऊ बाहेक अर्को विकल्प छैन ।
केपी ओली नेतृत्वको सरकारमा निर्वाचन पश्चात हाम्रो पार्टी अलि ढिला प्रवेश गर्यो । सरकारमा जाँदा हाम्रो पार्टीको अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य मन्त्री र मैले सहरी विकास मन्त्रालयको जिम्मा पाएँ । मन्त्रालयको जिम्मेवारी पाउँदा भेरीमा क्याथल्याबको समस्या थियो । तत्काल बजेट थिएन । हामीले त्यसपछि स्वास्थ्य मन्त्रीको उपेन्द्र यादवद्वारा भेरीमा क्याथल्याब उद्घाटन गरायौं ।
९२ बर्षअघि देखिको बिल्डिङ्ग जीर्ण थियो । बिरामी उपचारका लागि बस्दा बिरामी र कुरुवा जीर्ण भवनका इट्टा खसेर घाइते हुने अवस्था देखिन्थ्यो । र, त्यसबेला मैले नयाँ भवनको प्रतिबद्धता गरेको थिएँ ।
हामी सरकारमा जानु भन्दा पहिले नै केपी ओली नेतृत्वको सरकारले प्रादेशिक अस्पतालका रुपमा अघि बढाउने निर्णय गरिसकेको थियो । त्यसपछि भेरीमा अस्पताललाई पहिले संघ मार्फत ल्याउन विशिष्टिकृत अस्पताल बनायौं । यो पाँच सय बेड भन्दा माथिको अस्पताल हो । त्यतिखेर केन्द्र मार्फत सञ्चालन हुने अस्पताल भेरीसँगै सेती, भरतपुर, नारायणी, कोशी पनि भएका थिए । प्रदेश अन्तर्गत रहेको अस्पताललाई विशिष्टिकृत गराएर पुनः केन्द्रिय अस्पतालका रुपमा अगाडि बढाइयो । हामी जेठ १८ मा सरकारमा गएका थियौं । संघको बजेट जेठ १५ मा नै आइसकेको थियो । यसले स्वास्थ्य मन्त्रालयबाट बजेट व्यवस्था गर्न गाह्रो भयो ।
हामीले भेरीमा नयाँ भवन बनाउने प्रतिबद्धता गरिसकेका थियौं । भेरीमा आउटडोर ब्लक र बिल्डिङ थिएन । त्यसपछि मैले अर्थमन्त्रालयबाट पत्र लेखाएर बजेट व्यवस्थापन गरें । मैले नै ५ सय शैय्याको अस्पताल बनाउनका लागि नयाँ भवनको शिलान्यास गरेको थिएँ । योजना दिने मन्त्रालय पनि हाम्रै र बनाउने जिम्मा पनि हामीले नै पाएको मन्त्रालयको भएकाले बजेटको समस्या समाधान भयो । बिल्डिङ ठेकेदारले बनाउँदै गर्यो । तर, त्यसपछि राज्यले उचित व्यवस्थापन गरिदिएन ।
नयाँ भवन बनेपछि पुरानो ब्लक भत्काएर नयाँ ब्लक बनाउने योजना थियो । अहिले मैले फोटोहरु नयाँ भवनको देखिरहेको छु । तर, त्यसका लागि बजेट भने स्वीकृत भएको छैन ।
मैले भेरीका लागि कुरुवा गृहको पैसा हालिदिएको अहिलेसम्म त्यो निर्माण हुन सकेको छैन । स्तनपान गृह पनि कार्यक्रममा हालिदिएको थिएँ तर त्यो पनि अहिले बन्ने अवस्थामा पुगेको छैन ।
संरचना बनेपछि मुख्य समस्या चिकित्सकको व्यवस्थापन नहुनु, डाक्टर आउँदा पनि बस्ने होस्टल नहुनु, अत्याधुनिक उपकरण बिग्रेको, केही चाहीँ त्यहाँ बदमासी गरेर पनि बिगारिएको अवस्था, केही सुधार गर्नुपर्ने अवस्था भएकाले यसतर्फ ध्यान दिनुपर्ने थियो । तर, विगतका सरकार र मन्त्रीहरुले त्यसलाई मूर्त रुप दिन सकेको छैन ।
सबैभन्दा समस्या भनेको के हो भने हामी गाडी ल्याएर राखिदियौं, तर चालक नै भएन भने त्यो गाडीको कुनै औचित्य हुँदैन । हामीले विशिष्टिकृत अस्पतालका रुपमा भेरीलाई प्रस्ताव गरेर पास गराइयो । बिल्डिङ बनाइयो । तर, त्यहाँ विशिष्टिकृत भन्ने सेवा अहिलेसम्म सुरु हुन सकेको छैन । हामी सरकारबाट हटेपछि अस्पतालमा कुनै पनि परिवर्तन आउन नसकेको अवस्था छ ।
अहिने फेरि नयाँ सरकार बनेको छ । यसमा हाम्रो पनि सहभागिता हुन्छ । पार्टीले निर्णय गरिसकेको अवस्था हो । विगतमा गरेको प्रतिबद्धता पालनामा देखिएको उदासिनता र अब आउने दिनमा ५ सय शैय्याको विशिष्टिकृत अस्पतालका रुपमा सञ्चालनमा आउनेमा हामी विश्वस्त होऔं । तर, अहिले भेरीमा प्रशासनिक संरचना लगायत धेरै सुधार गर्नुपर्ने अवस्था रहेको छ ।
तपाई यही क्षेत्रको जनप्रतिनिधि, भेरी अस्पताल बनाउन कति पहल गर्नुभयो ?
भेरी अस्पताल बनाउनका लागि पहलको अभाव भएको छैन । जुन कुरा हामी विगतको सरकारमा हुँदा निर्णय गरेर मापदण्ड नै क्याबिनेट, सदनबाट निर्णय गरेर चिजलाई वेस्वाता गरिनु भनेको पूर्वाग्राही सोंच हो नि ! अर्को सरकार आयो, मन्त्री परिवर्तन भयो भन्दैमा परियोजना प्रभावित हुनुहुँदैनथ्यो । तर, त्यो प्रवृत्ति भेरीमा पनि देखियो । जस्तो भेरीमा ठेक्का गरेको बिल्डिङ त बन्यो तर अरु कुरा त भएन नि ! दलीय अवस्थाले यहाँ योजना कार्यान्वयनमा उदासिनता देखाइदिने, अलपत्र पारिदिने अवस्था देखिएकै छ । हामी सरकारबाट बाहिरिएको दुई बर्ष भयो । ओपिडि ब्लक योजनामा हालियो, सहरी विकासबाट ठेक्का गरेर बन्यो । त्यसपछि के परिवर्तन भयो त ?
किन योजना अनुसार भेरीमा थप पूर्वाधार निर्माणका कार्य कार्यान्वयन भएनन् होला ?
अस्पताल विकास समितिको पनि सामान्य भूमिका हुन्छ । जुन दायित्व हुन्छ त्यो कार्यान्वयन गर्ने काम समितिको हो । तर, उसले पहल गर्नुपर्दछ, यो समस्या हो भनेर । भ्याएसम्म गर्न पनि गर्नुभएको छ । कोभिडका बेला पनि धेरै काम भएको छ । तर, त्यसका संरचना, फ्यसिलिटी, सूचिकृत गराउने सम्बन्धमा उदासिनता नै भएको हो ।
जनप्रतिनिधिका रुपमा हाम्रो कुरा गर्नुहुन्छ भने दुई पटक संसद विघटन भयो । कोरोनाका कारण डेढ बर्षदेखि सदन पनि नचल्ने अवस्थामा रह्यो । बजेटका लागि दुई चार दिन मात्रै सदन चलेको थियो । बाँके जिल्लाका हामी सबै पार्टीका सांसदहरु दुई÷तीन पटक स्वास्थ्य मन्त्रीलाई भेटेका छौं । मेरो क्षेत्रमा पर्दैमा मेरो मात्रै होइन, २४ जिल्लाका नागरिकको स्वास्थ्यको कुरा छ । त्यसैले बाँके, बर्दियाका सांसद एकजुट भएर पनि भेरी अस्पतालको विकासका लागि पहल गरेका छौं । तर, नेतृत्व गर्ने दलका नेताहरुको प्रमुख दायित्व हुन्छ कि हामी पनि यो अस्पतालबाट सेवा लिइरहेका छौं भने भएका निर्णयहरु शतप्रतिशत कार्यान्वयन हुनुपर्दछ ।
भेरी अस्पताल विकासका लागि अबको पहलकदमी के हो ?
सय बर्षसम्म अस्पतालका लागि कसैले केही गरेन । अहिले झण्डै शताब्दी पछि करिब ७० करोड रुपैयाँको बिल्डिङ बन्दैछ, त्यो उपलब्धी हो । अहिले पनि भेरीको १ सय र समितिको ५० बेड गरी डेढ सय बेडको मात्रै अस्पताल हो । पाँच सय बेडको बनाउने र संरचनाको निर्णय सय बर्ष पश्चात भयो । अहिले भेरीलाई ५ सय शैय्याको अस्पताल बनाउन भवन निर्माण अन्तिम चरणमा छ । यो एउटा फड्को हो । तर, यसले पुग्दैन ।
अहिलेको आधुनिक युगमा आधुनिक फेसिलिटि पनि दिइनु पर्दछ । प्राइभेट सेक्टर मात्रै ताक्नुपर्ने अवस्था नहोस् । हामीले सरकारी अस्पताललाई पनि अत्याधुनिक सेवा सुविधा सहितको बनाउन भनेर प्रक्रिया थालिएको मेरो कार्यकालमा नै हो । भेरीमा वातानुकुलित सेवा पनि न्यूनतम दरमा लिने व्यवस्था गरिएको छ । तर, त्यसले पुगेन । अझै दुई ढाई सयका लागि संरचना बन्नुपर्दछ ।
होस्टल बस्ने, चिकित्सक, कर्मचारी लगायतलाई व्यवस्थित होस्टेल बनाउने हो भने बाहिरबाट अस्पतालमा काम गर्ने कर्मचारी टिक्छन् ।
हामी सरकारमा गएपछि अहिलेको सरकार मार्फत विगतमा गरिएका योजनाहरु शत प्रतिशत कार्यान्वयन गराउँदछौं ।