नेपाल परापूर्वकाल देखि नै सार्वभौमसत्ता सम्पन्न देश त हो तर यहाँका अदूरदर्शी र स्वार्थी नेताहरुका कारण बेलाबेलामा नेपालको सार्वभौमसत्ता माथि विदेशीलाई बोलाइ बोलाइ हस्तक्षेप गर्न लगाइएका अनगिन्ती उदाहरणहरु छन् । नेपाल एकिकरणका बेला विदेशी पादरीहरुलाई बोलाउने महेन्द्र मल्ल हुन या प्रजातन्त्रको स्थापना (२००७ साल पछिका घटना या फेरि २०४६ सालमा चाक्सीबारीमा बनाइएको योजना होस् या २०५१ सालमा आइएनजिओलाई नेपालका हरेक क्षेत्रमा निर्बाध प्रवेशको छूटको योजना, अथवा २०५२ सालपछि दिल्लीको मेजमानीमा मस्त भएर नेपालमा कित्ताकाट, घृणावाद र हिंसाका ताण्डवको घटना । यसैगरि २०६३ सालमा ल्याइएको सातवटा पार्टीका सातवटा दल्ले मिलेर विदेशीलाई नागरिकता बाँड्ने योजना होस् या शान्तिका नाममा ल्याइएको विदेशी सेनाको मिशन अनमीन। नेपालको विमानस्थलमा भारतीय कमाण्डो राख्ने योजना होस् या प्रायोजित नाकाबन्दीको नाममा भारतीय प्यादाको राष्ट्रवादीको देवत्वकरण गरेर ल्याएइण्डोप्यासफिक, एमसीसी ल्याउने योजना । यी सबै योजनाहरु कुनै न कुनै रुपमा नेपालका स्वार्थी नेताहरुले नेपाललाई विदेशीको अखडा बनाउन भित्र्याएका योजनाहरु नै हुन । विगत ७० बर्ष यस्तै तानाबानामा चल्यो जुन आज पर्यन्त जारी छ । तर नेपाललाई माया गर्ने, नेपाली अस्मितालाई सर्वोपरि मान्ने युवाहरु भने आज खोई कता छन् त भन्ने दिन आएका छन् । आजपनि तिनै निर्लजहरु कै ताजपोशीका लागि मरिरहने, उनकै वाहवाही गर्दै उनीहरुका हरेक कर्म–कुकर्मको ढाकछोपमा लागिरहने युवाहरुले नेपाली अस्मिता र नेपालको सार्वभौमसत्तालाई कसरी जोगाउँछन् ? सोचनीय भएको छ । यसमा सबैले चिन्तन गर्नुपर्ने भएको छ ।
पछिल्लो समय नेपालमा चापलुसीको बाढी नै आएको छ । यो बाढीका बाछिँटाहरुमा अधिकाँश त्यस्ता व्यक्तिहरु छन् जो आजपनि केहि चोक्टा मासु मदिरा पाउनेहरु छन् । सानातिना पेटी ठेकेदारी पाउनेहरु छन् । जनप्रतिनिधी भनाउँदाहरुका निर्माण कम्पनी, डोजर स्काभेटरका नामका साहु हुनपाएका छन् । क्लब, सहकारी, संघसंस्थाको नाममा केहि रकम चाट्न पाएका छन् । सांसद विकासकोष या अन्य कोषहरुलाई चलाउने कारिन्दा हुन पाएका छन् । बिभिन्न मठमन्दिर देखि विद्यालय र सहकारीहरुका समितिहरुमा कित्ता र हिस्सा पाएका छन् । तिनैतहका सरकारका नियुक्ति र योजनामा गफाडी भत्ता पाएका छन् । खाजा र खानाका अर्डर पाएका छन् । खोलानाला खोतलेर भताभुंग पार्ने छूट पाएका छन् । अरु केहि नपाए स्थानीय सरकारका सभाहरुमा एउटा त्यान्त्रो गलामा पट्टा र चिनीयाँ माटोको फ्रेममा १५ रुपैंयाको प्रशंसापत्र पाएका छन् ।
बाछिँटामा परेका अर्काथरि पनि छन् यहाँ । जसको सत्ता बाहेक अरु कुरा देख्ने आखाँमा पट्टि लागेको छ । अरुकोअरुको कुरा सुन्ने कानमा रुइ कोचरिएको छ । बोल्ने मुख थुनिएको छ । सबैकुरा राम्रो राम्रो मात्रै देखिन्छ, सुनिन्छ, प्रशंसा मात्रै गर्नुपर्छ । किनकि त्यहि सत्ताको मझेरीबाट विज्ञापन झरेको छ । त्यहि सत्ताले चापलुसी गरेवापतको सम्मानको फ्रेम दिलाउँछ । नियुक्ति दिलाउँछ । भत्ता आउने ठाउँमा पुर्याउँछ । केहि नभए पार्टीको पदमा पुर्याउँछ । अरु केहि नभए मर्दा कात्रो माथि पार्टीको झण्डा ओडाउँछ ।
जतिसुकै चापलुसीको बाढि ल्याएपनि यो देशको चिन्ता त्यस्ता चापलुसहरुलाई त छँदै छैन । यिनीहरु चिन्तन गर्ने वर्गका पनि होइनन् । किनकि यिनीहरु मध्ये अधिकांश जसले चुनाव जित्ला जस्तो देखिन्छ या जसको पिर्का चढ्ने छाँटकाँट देखिन्छ त्यतैतिरको कित्तामा गैहाल्छन् । उनीहरुको सबैभन्दा कमजोर पक्ष भनेको नै यहि हो । उनीहरुलाई ‘देश जाए भाड में, यूँचर्बी लगता रहे…..’ नै हो ।
यसमा एउटा त्यस्तो वर्गपनि छ जो कुरा त गर्छ गाउँका, कृषिका, विकासका, समृद्धिका, राष्ट्रिय स्वाभिमानका तर तिनका आदेशकले देश र जनताका बिरुद्ध जस्तोसुकै अपराध गरेपनि ढाकछोप र वाहवाही मात्रै गर्छ । उसैको प्रशंसामा आख्यान लेख्छ, साहित्य कोर्छ, सञ्जाल रँग्याउँछ ।
नेपालको सँस्कृतिमा माथि प्रहार हुँदा मौन बस्छ । नेपालको भाषा माथि घात गर्नेलाई विज्ञको पगरी गुँथाउँछ । नेपालका मौलिकतालाई मास्दा र यहाँको अस्मितालाई गाली गर्दा गर्विलो महसुस गर्छ । नेपालमा जातियता, क्षेत्रियताको कित्ताकाट र घृणावादको बिषबृक्ष हुर्काउनेलाई महान व्यक्ति मान्छ । नेपाल देश भनेको त गरिब, अशिक्षित, असभ्य र कमजोरहरुको देश हो, नेपाली यस्तै हुन भन्ने गलत भाष्य निर्माण गर्नेहरुलाई सभ्य र नेता मान्छ । राज्यकोषमा ब्रह्मलूट गर्नेहरुलाई इमान्दार देख्छ । त्यस्तो जमात कै कारण नेपालको दूर्गति हुँदै गएको न त स्वीकार गर्छ न मान्न तयार छ ।
नेपालमा पसेर छिमेकीको घरमा आगो लगाउन आउनेहरुले नेपाललाई कस्तो मैदान बनाउने हुन भन्ने न यहाँको सत्तालाई चिन्ता छ न तीनका चापलूसहरुलाई चिन्ता छ । यहाँसम्म कि यो देशको भविष्य भनेर चिनिने युवालाई समेत यो कुराले पोलेको देखिएन । हिजो चीन (तिब्बत लक्षित एमसीसी नेपाल भित्र्याउने सत्ताको प्रशंसामा आफ्नो उर्जा खर्चेको वर्ग आज अर्को डिजाइनलाई प्रचार गर्न ब्यग्र देखिएको छ । दशदिन अगाडी मात्रै जी सेभेन देशहरुको नेतृत्व गर्दै अमेरिकाले पस्केको ‘बिथ्रीडब्लू’
(दगष्मि दबअप दभततभच धयचमि
योजनालाई नेपालमा भित्र्याउन र नेपाली अस्मिता माथि बुर्कुसी मार्न आमन्त्रण गर्न खोजेको छ । देशको अस्मिता बोकेको, आस्थाको केन्द्र बनेको कालीगण्डकीको सभ्यता नै मास्ने योजनामा लागेको छ ।
बिथ्रीडब्लू योजना घोषित रुपमा नै ती जी सेभेन देशको हितरक्षाका लागि स्थापना गरिएको योजना हो । लण्डनमा भएको सम्मेलनको घोषणामा नै चीनको अन्तरराष्ट्रिय रुपमा बढ्दो प्रभाव रोक्ने, चीनको बीआरआइ योजनालाई काउन्टर गर्ने, डलर कुटनीतिका माध्यमबाट चीनतिर अल्पविकसित र विकासशील देशहरु नरम नबनून् भनेर त्यस्ता देशहरुमा जी सेभेन देशहरुको शर्तमा बिथ्रीडब्लू योजना चलाउने भनिएको छ । यो योजना चीनलाई स्थायी शत्रु मान्ने देश भारतले समेत स्वागत गरेको छ । यो योजनाको मुख्य उद्देश्य एमसीसीको जस्तो चोरबाटोबाट नभएर हाकाहाकी नै ल्याइएको छ । यो एउटा अमेरिकाको मात्रै होइन अमेरिका सहित क्यानडा, ब्रिटेन, फ्रान्स, जर्मनी, इटाली र जापान ( उत्तर अट्लान्टिक सन्धी संगठन, नाटो, जीसेभेन सैनिक सहकार्य देशहरुको समेत साथमा चीनको बढ्दो शक्ति रोक्न र तीनको कित्तामा अरु देशलाई जानबाट रोक्न बिथ्रीडब्लू योजना लागू गर्ने भनिएको छ ।
एमसीसी जसरी पनि पास गर्नु पर्छ भन्ने स्वच्छ छवि भएका भनेर प्रचार गरिएका नेपालका पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिथ्रीडब्लू लाई नेपालले स्वीकार गर्नुपर्छ भनेर वकालत गर्न लागि सकेका छन् । उनको पार्टीका कार्यकर्ताहरु, बुद्धिजीवी भनिएकाहरु उनको यो ‘महावाणी’ को रक्षार्थ लेख्न र बोल्न थालिसकेका छन् । यसको नेपालमा के कस्तो असर पर्छ या पर्दैन भन्ने बारे न यहाँ कुनै सार्वजनिक बहस हुन्छ न देशको चिन्ता । ग्रुप सेभेन देशको योजना र इण्डियाको सहमति भएपछि यहाँका प्यादाहरु नेपालका बिरुद्ध भए भैजाओस बकबक गर्न चुक्ने कुरै भएन ।
बडो बिचित्र छ हाम्रो देश नेपाल । यहाँ देश भन्दा महत्वपूर्ण र गतिलो विदेशीको आदेश हुन्छ । गरिखाने जनता, वास्तविक किसान, साना ब्यापारी, स्वरोजगार गरेर जिविकोपार्जन गरेकाहरु दुइबर्ष देखि चलेको कोरोना बन्दाबन्दीबाट पीडित भएर आफ्नो साँझ बिहानको मेलोमेसोको चिन्तामा छ । तैपनि देशको चिन्ता यहि वर्गलाई सबैभन्दा बढि छ । आफ्नो ल्याकत भनेको नै सञ्जालमा लेख्ने र बोल्ने त्यति मै सीमित छ । तर पनि यो वर्गलाई कसले सुन्ने ? यिनीहरु न सत्ताका माखा धपाउनेमा पर्छन, न सत्ताको नौनी पड्काउनेमा पर्छन् । उनीहरु न सत्ताको मन्त्रणा गर्ने गुणगान गाउने बुद्धिजीविमा पर्छन् । जो पर्छन् उनीहरुलाई देश भनेको त कमाइगर्ने र पुस्तापुस्तालाई भकारी भर्ने मेलो हो । उनीहरुलाई त कोरोना या महामारी, बाढिपहिरो,आतंक, केहिले पनि छुँदैन । यस्तो अवस्थामा त उनीहरुलाई कमाउने, राज्यकोष बाँडीचुँडी गर्ने गज्जब मौका पनि बन्दो रहेछ ।
सत्ताको नौनी मार्ने देखि राज्यका सेवासुविधा, अनुदान, राहत, भत्ता आदी सबैकुरामा हात पसार्नेहरुले आजसम्म मलाई पुगेको छ मैले यो सुविधा लिनुहुँदैन भन्ने न्यूनतम नैतिकता समेत देखाउन सकेको उदाहरण छैन । त्यस्ताहरुले देशको चिन्ता गरेको भन्न त सुहाउँदै नसुहाउँने कुरा होइन र ? खोई कतिजना छन् नेपालभरिबाट समाजिक सुरक्षा भत्ता छोड्नेहरु ? खोइ कति छन् अनुदान र राहत भो मलाई चाहिँदैन लिन्न भन्नेहरु ? जतिभए पनि अरुको हिस्साको लिन नछोड्नेहरुले के यो देशमा सुध्रिनै नपर्ने हो र ? के देशको चिन्ता निम्नमध्यम वर्ग, किसान, गरिखानेहरु र केहि आइएनजिओको कलोलाई देशको खून पिएको सरह सम्झिनेहरुले मात्रै गर्ने हो ? केहि मात्रले देश लूटिरहने गर्दा देशको अस्मिता बेचिरहने नै हो त ? प्रश्न त गर्नै पर्छ । जागौं सबैले चिन्तन गरौं देशको अस्मिता, मौलिकता, सँस्कृति, भाषा र सभ्यताका साथै राष्ट्रिय सुरक्षा नै खतरामा परेको छ अहिले । देशको बारेमा चिन्तन लूटेर खानेहरुले पनि गर्नुपर्दैन र ? तिमी लूटि राख, देशको अस्मिता बेचिराख तरपनि न्यूनतम नैतिकता त देखाउ । चोरले पनि आफ्नो गाउँ छोडेर डाँका हाल्छ भन्छन् त खोई तिमीहरुमा यतिसम्मको पनि नैतिकता छैन र ? आउ सबैले एकताबद्ध भएर यो देशको अस्मिताको चिन्तन गरौं ।