जेठमा मात्रै वाणिज्यले करिब २ लाख ८९ हजार ८ सय ३५ मुल्य बराबरको खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएका बस्तु नष्ट गरेको छ ।
उपभोक्ता हित व्यवसायीहरु लापरवाह देखिएका छन् । उपभोक्ता हित भन्दा पनि कमाउ धन्दाले उपभोक्ता हितमा बेवास्ता गर्ने गरेको पाइन्छ । अनुगमनका क्रममा मालसामान बिक्रेता हुन चाहे होटल वा अन्य डेरी तथा मासु व्यवसायी मापदण्ड विपरित मालवस्तु बिक्री गरेको फेला पर्ने गरेका छन् ।
निषेधाज्ञाका बेलामा झन् बजारमा अखाद्य बस्तु बिक्री मात्रै होइन कालोबजारी हुने गरेको पाइन्छ । बाँकेमा स्थानीय तह तथा संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन गर्दै आएको छ । पटकपटकको अनुगमन गरी सुधारको निर्देशन तथा कारवाही गर्दा पनि अखाद्य वस्तु बिक्री गरी उपभोक्ता ठगी हुने क्रममा कमी आउन सकेको छैन ।
बजारमा पसल, व्यवसाय दर्ता नै नगरेर सञ्चालन गरेको पाइन्छ । कतिपय व्यवसायी अनुगमन आएको पत्तो पाउने बित्तिकै सटर झारेर हिड्ने गर्दछन् । एक पटक अनुगमन गरी सच्चिन निर्देशन दिइने, जरिवाना गर्ने गरिएपनि अर्को पटकको अनुगमन उस्तै प्रकृतिका घटना फेला पर्ने गरेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जबाट निषेधाज्ञाको बीच जेष्ठ महिनामा मात्र करिब ६० वटा व्यवसायिक फर्मको अनुगमन गरेको छ । त्यसक्रममा अनुचित व्यवासायिक क्रियाकलापमा संलग्न ७ वटा फर्मलाई कारबाही गरिएको छ ।
जेठमा मात्रै वाणिज्यले करिब २ लाख ८९ हजार ८ सय ३५ मुल्य बराबरको खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएका बस्तु नष्ट गरेको जानकारी दिएको छ । चालु आ.व. मा ५ सय ५ व्यवसायिक फर्मको अनुगमन वाणिज्यले गरेको जानकारी दिएकोछ ।
२० क्केजी अस्वस्थ मासु नष्ट
तपाई मासु किन्दै हुनुहुन्छ भने मासुको गुणस्तर हेररे मात्र किन्न होला नत्र तपाई ठगिन सक्नु हुन्छ । नेपालगन्जको मासु बजारमा खसीको भन्दै बाख्रीको मासु बेच्ने, सरसफाईमा ध्यान नदिने, स्वास्थ्यका लागि हानीकरक झिंङ्गा भन्केको गुणस्तरहिन मासु बेच्ने गरेको अनुगमनका क्रममा पाइएकाले यस्तो कुरामा आम उपभोक्ता सचेत हुनु पर्ने उपभोक्ता हित संरक्षण मञ्च बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतमले बताएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका पशु सेवा शाखाको अगुवाईमा नेपालगन्जमा मासु पसलको संयुक्त अनुगमन गर्ने कार्यलाई निरन्तरता दिइएको छ । यस क्रममा मंगलवार नेपालगन्जको फुल्टेक्रामा रहेका मासु पसलको अनुगमन गरिएको छ ।
अनुगमनमा क्रममा दर्ता बिनै संचालित त्यहाँ स्थित एक मासु पसलले झिंगा भन्किरहेको खानका लागि अस्वस्थकर मासु बिक्री बितरणका लागि राखेको पाइएपछि अनुगमन टोलीले झण्डै २० केजी मासु बरामद गरि ब्यवसायीलाई अनुगमन टोलीको रोहवरमा नष्ट गर्न लगाइएकोे उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव एवं उपमहानगरपालिका अधिकृत प्रबिन कुमार रानाले जानकारी दिए । अनुगमन टोलीले आइन्दा दर्ता गरेर कानूनसम्मत रुपमा मात्र ब्यवसाय गर्न निर्देशन दिएको थियो ।
गुणस्तरिय बस्तु तथा सेवा पाउने उपभोक्ताको अधिकार भएकाले गुणस्तर हिन अस्वस्थकर मासु बेच्ने जो कोहीलाई कानूनी कारवाही गरिनु पर्ने उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष वसन्त गौतमले बताए ।
अनुगमनमा उपभोक्ता हित संरक्षण मञ्च बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतम, जिल्ला प्रशासन कार्यालयका बेदेश्वर गौतम, नेपालगन्ज उपमहानगरपालिका अधिकृत प्रबिन कुमार राना, पशु शाखाका नगर पशुसेवा प्राबिधिक रीता राना, वडा प्रहरी कार्यालयका शरण भण्डारी लगायतको सहभागिता रहेको थियो ।
मासु पसलको अनुगमनका क्रममा सरसफाईमा ध्यान दिन, दर्ता गरेर मात्र ब्यवसाय संचालन गर्न, गुणस्तरिय मासु मात्र बिक्री बितरण गर्न उपभोक्ता नझुक्याउन निर्देशन दिएको अनुगमन समितिले जनाएको छ ।
नेपालगन्जमा सञ्चालित अधिकांस मासु पसलहरु मापदण्ड र दर्ता विना नै सञ्चालनमा रहेका छन् । नियमनकारी निकाय प्रभावकारी नहुँदा पनि ऐन, नियम मिचेर व्यवसाय गर्नेहरु बढ्दै गएको पाइन्छ । नियमित अनुगमन नहुने र उपभोक्तामा समेत वस्तुको गुणस्तर प्रति चासो कम हुदा मापदण्ड विपरित व्यवसाय सञ्चालन गर्नेहरुलाई थप बल पुगेको देखिन्छ । बेलाबेखत हुने अनुगमन भएपनि त्यसले पूर्ण सकारात्मक प्रभाव भने ल्याउन सकेको छैन ।