कोहलपुर नगरपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना निर्माण कार्यको थालनी गरेको छ । यसका लागि नगरपालिकाले खाद्य अधिकारको क्षेत्रमा कार्यरत फियान नेपालसंग सहकार्य गरिे खाद्य तथा पोषण सुरक्षा योजना बनाउन लागेको हो । कोहलपुर नगरका १५ वडा मध्ये १३ वडामा सरोकारवालासंग सुझाव संकलन कार्य सम्पन्न गरी सकेको फियान नेपाल नेपालगन्जका प्रमुख सुरेश कुमार गौतमले जानकारी दिए ।
खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता ऐन २०७५ अनुसार प्रत्येक स्थानिय तहले आफ्नो पालिका भित्रका नागरिकको खाद्य अधिकार र पोषण सुनिश्चितताका लागी खाद्य तथा पोषण सुरक्षा योजना बनाई कार्यान्वयनमा ल्याउनु पर्ने हुन्छ । तर बिडम्बना कार्यकाल सकिने बेलासम्म पनि बाँकेका ८ मध्ये ६ स्थानीय तहले योजना निर्माणमा कुनै चासो दिएका छैनन । कतिपय स्थानिय तहलाई त खाद्य तथा पोषण सुरक्षा योजना बनाउनु पर्छ भन्ने कुराको भेउ समेत पाएका छैनन । यसै गरि उपभोक्ता हित संरक्षणका लागि प्रत्येक स्थानीय तहले उपप्रमुखको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समिति बनाई कार्य गर्नु पर्ने भए पनि बाँकेका नरैनापुर र डुडुवा गाउँपालिकाले अहिलेसम्म यो समिति पनि बनाएको पाइएको छैन ।
कार्यकालको अन्तिम आर्थिक बर्षमा डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकाले भने फियान नेपालसंग सहकार्य गरि खाद्य तथा पोषण सुरक्षा योजना निर्माणमा जुटेका छन् । नेपालकोे संबिधानले मौलिक हकको रुपमा खाद्य अधिकारलाई सुनिश्चित गरेको छ । संबिधानले प्रत्याभुत गरेको उक्त अधिकार दिलाउनु तीन तहै सरकारको भए पनि सो अनुरुपको दायित्व निर्वाह गर्न सकेका छैनन् । बाँच्न पाउने अधिकारको आधारको रुपमा खाद्य अधिकार भएकाले यसको सुनिश्चितताका लागि सबै स्थानीय तहले योजना बनाउनु पर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य एवं खाद्य अधिकार संजाल बाँकेका सदस्य अधिवक्ता वसन्त गौतमले बताए ।
खाद्य तथा पोषण सुरक्षा योजनाका लागि कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिकाले वडा स्तरका मजदुर, किसान, आमा समुह, सहकारी सस्था, लगायतका सरोकारवालासंग सुझाव संकलन थालेका छन् । यस क्रममा कोहलपुर नगरपालिकाले सोमवार वडा नं ६ को रझेना र ७ मा सुझाव संकलन कार्यक्रम राखेको थियो । सुझाव संकलन कार्यक्रमलाई कृषि बिज्ञ लुमनाथ अधिकारी, फियान नेपालका कार्यक्रम अधिकार लक्ष्मी गुरुङ्ग, सुरेश कुमार गौतम, प्रकाश नेगी मुकुन्द बहादुर रानाले सहजीकरण गरेका थिए ।
रझेनामा भएको कार्यक्रम जिल्ला समन्वय समिति बाँकेकी सदस्य जानुका क्षेत्री अध्यक्षतामा भएको कार्यक्रममा फियान नेपालका कार्यक्रम अधिकृत प्रकाश नेगीले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा खाद्य अधिकार, खाद्य सम्प्रभुता र खाद्य सुरक्षा सम्बन्धी कानूनी ब्यवस्था र राज्यको दायित्वका बिषयमा प्रकाश पारिएको थियो । यस्तै कोहलपुर नगरपालिकामा खाद्य अधिकारका सवाल र अधिकार सुनिश्चिताका लागि बनाउनु पर्ने योजनाका बिषयमा ब्यापक छलफल गरि सहभागीबाट सुझाव संकलन गरिएको थियो । कार्यक्रममा कृषि फलफुल तथा तरकारी खेती, पशुपालन तथा पशु स्वास्थ्य, बन ब्यवस्थापन तथा श्रोतको पहुँच, खाद्य भण्डारण तथा प्रशोधन, पोषण प्रवद्र्धन, सरसफाई तथा खानेपानी तथा जनस्वास्थ्य सम्बन्धी सवालमा छलफल गरि सहभागीबाट सुझाव संकलन गरिएको थियो ।
कार्यक्रमा कोहलपुर नगरपालिका वडा ६ का वडा सदस्य लड्न जागाले वडामा थारु र मुस्लीम समुदायको बाहुल्यता रहेको भन्दै उनीहरु लक्षित कार्यक्रम ल्याउन नसकीएको स्वीकार गरेका थिए । सुगम क्षेत्र भएपनि ६ वडामा बाटोघाटोको असुबिधा भएको मजदुर किसान लक्षित कार्यक्रम नआएको गुनासो सहभागीहरुले गरेका थिए । कोहलपुरमा नम्बनी जग्गा नभएका सुकुम्बासी र मजदुर बर्गको बाहुल्यता भएकाले उनीहरुको खाद्य अधिकारलाई मध्यनजर राखेर योजना बनाउने पर्ने भनाई सहभागीहरुले राखेका थिए । कार्यक्रममा लैगिक हिंसा र लागु औषधको कुलतको समस्या कोहलपुरमा रहेकोले यसको नियन्त्रणमा कार्यक्रम ल्याइनु पर्ने बताएका थिए ।
कार्यक्रमा वडा सचिव बिश्व पौडेल, स्वास्थ्य चौकी प्रमुख भुपेस खत्री लगायतले खाद्य तथा पोषण सुरक्षा योजना निर्माणले खाद्य अधिकार संरक्षणमा मद्दत पुग्ने बताएका थिए ।