
पृष्ठभूमि
आज हामी बुर्काभित्र/बुर्काबाहिर स्तम्भमा महिला विशेष मुद्दा मध्ये एकल महिला बारे चर्चा गर्नेछौं । पारपाचुके र विधवा एकल महिला । हुन त इस्लाममा निकाहको लागि लुगाको कुनै विशेष रंग (रातो वा सेतो), विवाहितको विशेष पहिचान जस्तै कुनै गहना मंगलसुत्र, काँचको चुरा वा मेहंदी सिन्दूर आदि अनिवार्य भनी कही कतै उल्लेख गरिएको पाइँदैन । जब निकाहको लागि कुनै विशेष पहिचान छुट्याएको छैन भने विधवा वा तलाकशुदाका लागि छुट्याउने कुरै आउदैंन । तथापि हाम्रो सभ्य समाजमा तलाकशुदा र विधवा एकल महिलालाई निकै हीन भावनाले हेरिन्छ । मर्नु अघि वा तलाक दिनु अघि सम्म उसको पति साथमा हुन्छ । तब समाजले महिलाको लवाई खवाई उसको अनुहार बानी व्यवहार केही नोटिस गर्दैन् । तर महिला एकल हुने बित्तिकै सानासाना कुरा नियाल्न थालिन्छ । समाजले तिनीहरूको जीवन बेरंगी र मौन बनाउन हर सम्भव प्रयास थाल्छ । कहिले कुरा काटेर कहिले मुखैमा भनेर कहिले बहिष्कार गरिने धम्की दिएर । यद्यपि हामी महिला र उसको जीवनलाई सांच्चिकै सम्मान गर्दछौं भने महिलाका खुशी र बानी व्यवहारलाई पुरुषको उपस्थितिले नाप्नु हुँदैन । एक महिला जसको जीवनसाथीले उसलाई छाडेर गएकोलिए ऊ अधिक पीडा र दुःखमा हुन्छिन् । जसलाई त्यतिबेला बढी अपनत्व र देखभालको आवश्यकता हुन्छ । तब समाजले ती महिलालाई झन् कष्टकर जीवन बिताउन बाध्य बनाउँछ । तलाकशुदा महिलाको त के कुरा गरौं उसमाथि अनेक आरोप लगाइन्छ कि घर गरी खान सकिन्, पतिको प्यारी भएर बस्न सकिन, पतिको मनमा समाउन सक्ने गुण छैन त्यसकारण त पतिले तलाक दियो । तर विधवा एकल जतिको प्रताडना हँुदैन । जबकी पतिको मृत्यु भइसकेपछि समाजको सोच हुन्छ कि ती विधवा एकल महिलाले हाँस्नु हँुदैन सधैं अँध्यारो मुख लगाएर दुखी अनुहार राख्नुपर्छ । उसले रंगीन कपडा लगाउनु हुँदैन सेतो वा फिक्का रंगका कपडा लगाउनु पर्छ । शुभ कार्यमा सहभागी हुनु हँुदैन सहभागी भए पनि किनारमा बस्नुपर्छ । यदि विधवा महिलाले शुभ कार्यमा हात लगाइन भने अनर्थ भइहाल्छ । यस्ता यस्ता मनगढन्ते कुराले जरो गाडेछ । जबकी थाहा छ कि शुभ अशुभ जीवन मृत्यु त सब अल्लाहको हातमा छ । जसले विधवा महिलालाई शुभ कार्य गर्नबाट रोक्ने गर्छिन् उनले यो बिर्सेकी हुन्छिन् कि भोलि मेरो पतिको पनि मृत्यु हुन सक्छ म नि विधवा हुन सक्छु । जसले तलाकशुदा महिलालाई आरोप लगाउछिन् उनले यो बिर्सेकी हुन्छिन् भोलि मेरो छोरीमाथि पनि यस्तो अवस्था आउन सक्छ । यी कुरा मनन् नै नगरी एकल महिलाहरुलाई मानसिक रुपले तनाव दिइदै गरिन्छ । आउने दिनमा सकारात्मक सोचको विकास होस् र यस्तो व्यवहार नगरियोस् । त्यस कारण इस्लाममा तलाकशुदा र विधवा जस्ता एकल महिलाका बारेमा के छ भनी उदाहरण सहित प्रकाश पारी भ्रमहरु हटाउने उद्देश्यले यो लेख लेखिएको हो ।
सामाजिक परिवेश
समाजले अपेक्षा गर्दछ कि महिलाहरू तलाक हुँदा वा आफ्ना पतिको मृत्यु भइसकेपछि सधैं दुःखी निरीह र पुराना धुराना लुगामा उजाडिएको अनुहार लुझिएका कपाल लिएर बसुन् । समाजले भन्छ एकल भइन् अब त खुशी र सुखमाथि उनीहरु अधिकार नै छैन । पति जति नकारा निकम्मा भएपनि समाजले सिकाउँछ महिलालाई पुरुषमाथि निर्भर रहनुपर्छ भनी । भनिन्छ ‘पतिको आदेशको पालना गर्नु धर्म हो, जति कष्ट दिएपनि आखिर पति हो उसले नै सहारा दिने हो’ यस्तै सोचले बनेको छ यो समाज । त्यस कारण छोरीहरूलाई बाल्यकालदेखि नै सिकाईन्छ कि पति बिना एक महिला अपूर्ण र असहाय हुन्छिन् । यस्तो तरीकाले परिवार र समाजले महिलाहरुको मानसिकता तयार गर्छन् कि एक महिलाको आफ्नो कुनै अस्तित्व नै छैन उसको पतिसंग बस्नु वा मर्नु बाहेक महिलाको आफ्नो वैकल्पिक उपाय र संसारै छैन । पति साथमा छँदासम्म महिलालाई मूल्यवान र महत्वपूर्ण भनिन्छ तर अर्कोतिर पतिको अनुपस्थितिमा तिनै महिलाको अस्तित्व नै छैन । यो धेरैजसो परिवारहरूमा देखिएको छ कि पुरुषको तुलनामा महिलाले पुनर्विवाह गर्दैनन् ।
पारपाचुके र विधवा महिलाको जीवन परिवार र समाजका रूढीवादी व्यक्ति र तिनका सोचले सञ्चालन गर्दछन् । पति बिना महिलाहरूको अवस्था कस्तो हुन्छ भनेर बुझिदैन । हामीमध्ये तलाक भएका महिला र पुरुषहरूको स्थितिलाई कसैले मनन गरेको हँुदैन । जब एक पुरुषको जीवनसाथीले उसलाई छोडिन्छन् मृत्यु हुन्छ त परिवार र समाज भन्छन् कि कसरी व्यक्ति अब एक्लो आफ्नो जीवन बिताउन सक्षम हुनेहोला । अब उसले अर्को विवाह गरिहाल्नुपर्छ । कुनै महिला घरमा आउँछिन् भने घर, पुरुष र उसका बच्चालाई सम्हाल्छिन् । महिलाको जीवनसाथीको मृत्युपछि महिलाले एकल जीवन बिताउने आशा गरिन्छ । उसलाई मानसिक रुपले तयार गरिन्छ कि, ‘अब तिमी एक्लै बस्नुपर्छ । तिम्रो भाग्यमा यही लेखेको थियो । यति नै साथ थियो तिम्रो र उसको ।’ यो महिलामाथि समाजमा गरिएको मानसिक दुव्र्यवहार हो । किनभने समाजको मानसिकता छ कि एक पटक विवाह गरेर सम्बन्ध राखेपछि महिला अपवित्र हुन्छिन् । यस पितृसत्तात्मक समाजमा पुरुषहरूको लागि अपवित्रताको कुनै अवधारणा कुनै मापदण्ड छैन । पुरुषहरूको लागि समाजमा फेरि जीवनसाथीको छनौट गर्न एकदमै सजिलो छ । तलाकशुदा र विधवा महिलाहरुले तब मात्र विवाहको केही अवसर पाउन सक्दछिन् यदि विवाहपछि उनीहरूको बच्चा जन्मेको छैन भने । तर उनीहरुसंग विवाह गर्ने विकल्पमा सम्बन्ध विच्छेद भएको पुरुष जसको बच्चा उसैसंग रहेका हुन्छन् वा पत्नीको मृत्यु भएको छ भने ती विदुर जसको आमाबुवा बालबच्चा र घरबार देखरेख गर्दिने कामदार चाहिएको होस् । पतिको मृत्यु भयो भने भनिन्छ केटी अशुभ, कुलक्षिणी, अशुभ थिई जबकि पत्नीको मृत्यु पछि पुरुषको बारेमा त्यस्ता विशेषण गरिदैन । यस्तो अवस्थामा हाम्रो समाज र परिवारले ’विवाहपछि महिला अपवित्र भइहाल्छिन्’ भन्ने यही धारणाले विवाह पश्चात यदि दुर्भाग्यवश महिला पारपाचुके वा विधवा भएछिन् भने महिला एक्लै बस्नु नै उचित मानिन्छ ।
अर्को कारण चाहिं महिलाले बच्चाहरूको हेरचाह गर्न, खाना पकाउन र अरुको घरमा भांडा माझेर भएपनि परिवारको हेरचाह गर्न सक्छिन् । तर पुरुषहरूले बच्चाको हेरचाह गर्न सक्दैनन्, पकाउन सक्दैन, घरको देखभाल गर्न सक्दैनन् । त्यसकारण पनि महिलाले पुनः विवाह नगरेनि पुरुषले चाहीँ पत्नी बितेपछि पुनः विवाह गर्नु जायज र सही ठानिन्छ । यसरी एक महिलाको अस्तित्व पुरुष र परिवारको आवश्यकताहरू पूरा गर्न तिनीहरुकै वरिपरि घुमिएको देखिन्छ । समग्रमा हेर्ने हो भने परिवार र समाजको पितृसत्तात्मक संरचनाले महिला र उनीहरूको जीवन पुरुषको लागि खाँचो र अति आवश्यक नभइ नहुने भनेर देखाउन्छ । तर पनि यो समाजमा महिलाको अस्तिवको कुनै र मोल छैन अझ विधवा वा तलाकशुदा भइदिए त झन ।
इस्लाम र एकल महिला
आज भन्दा पन्द्र शय वर्ष अघि जब कुनै पनि ठांउ र कुनै देशमा महिलाको कुनै अस्तित्व थिएन् महिला एक उपभोगकी साधन मात्र थिइन् । जब अरबमा छोरीहरुलाई जिउदैं माटोमा पुरिन्थ्यो । पत्नीको मुल्य जुत्ताको फित्ता जतिको थियो । कसैलाई जुत्ताको फित्ताको आवश्यकता परे उसले रकम तिर्न नसक्ने भए आफ्नी पत्नीलाई त्यो फित्ता बापत दिएर पठाइदिन्थे । आफ्नै आमासंग विवाह गरिन्थ्यो । विधवाहरुलाई अशुभ भनी एउटा अन्ध्यारों कोठाभित्र नमरुन्जेल थुनिएर राखिन्थ्यो उनीहरु बाचें पनि उनीहरुको जीवन नर्क सरह हुन्थ्यो कुनै सम्मान थिएन विधवाहरुलाई । कुनै पनि महिलासंग उसको मन्जूरी बिना कसैले पनि जबर्दस्ती विवाह गरिहाल्थ्यो । तब पैगम्बर मोहम्मद सल्लल्लाहो अलैहे वसल्लमले महिला र छोरीहरुका अधिकारका लागि सर्वप्रथम आवाज बुलन्द गरी ती अधिकार स्थापित गराउनका लागि सुरुआत गर्नुभयो । छोरीहरुलाई रहमत भनी बाँच्न पाउने र शिक्षादिक्षा हासिल गर्न पाउने अधिकार, महिलालाई आफ्नो जीवनसाथी चयन गर्न पाउने अधिकार, विधवा र तलाकशुदाले पुनः विवाह गर्न पाउने अधिकार । जन्म दिने आमाको पैतालामा स्वर्ग रहेको जानकारी सहित आफ्नै आमा, दिदी, बहिनी, फुफू जस्ता नजिकका नातासंग विवाह हराम रहेको जानकारी गर्नुभयो । समाज त भनेर मात्र त मान्दैनन् भनी आफै ती कुरालाई व्यवहारमा लागु गरेर हेराउनुभयो । छोरी सय्यदा फातिमा ताहिरा खातूने जन्नतको सम्मानमा स्वंय उभिनुहुन्थ्यो । अनि विधवा (एकल) महिलाहरुलाई सम्मान दिलाउन स्वंय आफैले एकल महिलासंग विवाह गर्नुभयो । जतिखेर उहांको आफ्नो उमेर २५ वर्षको थियो र आफु अविवाहित हुनुहुन्थ्यो । तब उहांले हजरत खतिजा रजि. संग विवाह गर्नुभयो । त्यतिबेला हजरत खतिजा रजि.को उमेर ४० वर्ष थियो र उनी एक विधवा महिला थिईन् । जब महिलाको कुनै अस्तित्व कुनै कदर थिएन् तब एक पैगम्बर भएर उहांले आफु भन्दा करिब करिब दोब्बर उमेर भएकी विधवा महिलासंग विवाह गरेर विधवा महिलाहरुलाई पनि ससम्मान बांच्न पाउने अधिकार छ भनी समाजलाई नजीर दिनुभयो । हजरत खतिजा पछि उहांले सहारा, सम्मान, सुरक्षित बास स्थान दिने आशय साथ अन्य महिलाहरुसंग पनि निकाह गर्नुभयो तर ती मध्ये कोही तलाकशुदा र कोही विधवा थिइन् । यो स्वंय पैगम्बरे इस्लामका जीवनको उदाहरण हो । अब दौरे खिलाफतको कुरा गरौं भने हजरत अस्मा बिन्ते उमेसको निकाह हजरत जाफर बिन अबूतालिबसंग भयो जब हजरत जाफर बिन अबूतालिब युद्धमा शहीद भए । यो भनेर तब उनलाई जीवनको मजधार एक्लै छाडिएन् कि पतिको मृत्यु पश्चात अब जीवन नै समाप्त भयो । अब मर्ने बांच्ने उसको भाग्यको कुरा हो भनी एक्लै जीवन व्यतीत गर्न बाध्य बनाइएन उनका बच्चाहरुलाई टुहुरा हुन विवश पारिएन् । वक्तका खलीफा (त्यतिबेलाका शासक) हजरत अबू बक्र सिद्दीक (रजि.) अगाडि बढेर सम्मान पुर्वक ती पवित्र खातुनलाई विवाहको सन्देश पठाउनुभयो । हजरत अस्मा सम्मानका साथ उहांको प्रस्ताव स्वीकार गर्नुभयो र ससम्मान विधिपुर्वक विवाह भयो । जस पश्चात हजरत अस्माले पतिको साथ सहयोग र माया पाइन् र बच्चाहरूले बुवाको छत्रछाया र स्नेह अनि उचित पालनपोषण पनि । विवाहको केही समयपछि अबु बक्र सिद्दीकले पैगम्बरे इस्लाम हजरत मोहम्मद सल्लल्लाहो अलैहे वसल्लमले यो फानी संसारलाई छाडेर जानु भएकोले उहांको कमी महसुस गर्दा गर्दै साह्रै बिरामी हुनुभयो र केही समय पछि उहां बित्नुभयो । जसले गर्दा उनी एकल भइसकेकी थिईन् इद्दतको समय पुरा भयो । हुन त हाम्रो समाजमा दुई दुई पटक विधवा भएकी महिला कति प्रताडित हुनुपर्ने हो यसको अनुमान सहजै गर्न सकिन्छ । तर यस्तो भएन् यो पालि शेरे खुदा हजरत मौला अली अलैहिस्सलाम हात थाम्न सहारा दिन अघि बढ्नुभयो र उहांसंग निकाह गरी उहांलाई सम्मान र बच्चाहरूलाई बुबाको स्नेह दिनुभयो । हजरत मौला अली शेरे खुदा हैदरे कर्रार एक दिन फजरको नमाज पढ्न जानुभयो । तब अब्दुल रहमान बिन मुल्जिमले बिष लगाइको तरवारले उहांमाथि लुकेर प्रहार गर्यो र उहां शहीद हुनुभयो । हजरत अली अलैहिस्सलामको शहादतपछि उनले धेरै चिन्ता गर्न थालिन् जसले गर्दा उनी निकै बिरामी भइन् र उनको पनि स्वर्गवास भयो । यो हो असल इस्लामिक समाज जहां महिलाको सम्मान र अस्तिव पुरुष भन्दा कम छैन् चाहे एकल महिला किन नहुन । हजरत अतिका रजि.जो सहाबिया पनि थिईन् । उनी तीन शहीदहरुको पत्नी बन्ने सौभाग्य पाईन् । हजरत अतिका रजि.को पहिलो विवाह हजरत अब्दुल्लाह बिन अबूबक्रसंग भयो । दुबै जना बीच अतुलनीय प्रेम थियो तर विवाहको केही समय पश्चात उनको स्वर्गवास भयो । इस्लामको धारणा छैन् कि समाजमा महिलालाई आफुसंग र आफ्नो इच्छा आकंक्षासंग लड्नका लागि एक्लै छोड्दिनुपर्छ भनी । महिलालाई ससम्मान बांच्ने अधिकार छ यसलाई उदाहरण बनाएर पेश गर्न खलीफा हजरत उमरले हजरत आतिकालाई विवाहको प्रस्ताव पठाएपछि उनले स्वीकार गरिन् र विवाह भयो । जब हजरत उमर रजि. पनि शहीद भए । तब प्रसिद्ध सहाबी हजरत जुबैर बिन अवामले हजरत अतिकालाई विवाहको सन्देश पठाए उनले स्वीकार गरिन् । विवाहको केही दिनमै हजरत जुबैर पनि शहीद भए । यो केवल आदर्श इस्लामी समाजको एक झलक मात्र हो । जहां विधवा (एकल) महिलाहरुलाई पुनः विवाह गरी आफ्नो जीवन जिउने पुर्ण स्वतंत्रता र अधिकार छ । यस्ता अनेकौं उदाहरणहरू छन् जसबाट यो दर्शाउंछ कि इस्लामले विधवा (एकल) महिलालाई सम्मान प्रदान गरेको छ जसरी पुरुष मान्छेलाई सम्मान दिइन्छ । यो घटनाहरु इस्लामको जीवन्त उदाहरण हो कि कुनै पनि महिला किन न होस् चाहे तिनी आमाको रुपमा, चाहे छोरीको रुपमा, चाहे पत्नीको रुपमा चाहे अन्य कुनै तर हुन्छिन् सबैको आफ्नो स्थान छ जो आदर र सम्मान की हकदार हुन् । इस्लामको धारणा यो छैन् कि समाजमा महिलालाई आफुसंग, आफ्नो इच्छा –आकंक्षा र आफ्नो आवश्यकतासंग लड्नका लागि एक्लै छोड्दिनुपर्छ भनी जे सुकै गरुन् हामीलाई के मतलब भनी । इस्लामले भन्छ महिलालाई ससम्मान बांच्ने अधिकार छ उनीहरु पनि आफ्नो जीवनका फैसला गर्न स्वतंत्र हुन् । अझ् यहां यी त विधवा जस्ती एकल महिलालाई इस्लामले दिएको सम्मान स्थानका उदाहरण हुन् । जसलाई आज एकाईसौं सताब्दीमा पनि घृणा, श्राप, अशुभ, कुल्क्षणी जस्ता शब्द र भावको भेट चढाइदैंछ ।
चुनौती
मुस्लिम समाजमा देखासिकीपना एकदमै ठुलो चुनौतीको रुपमा देखापरिरहेछ । हुन त माथि इस्लामका एतिहासिक घटनाक्रमहरुले प्रष्ट पार्दैछ कि एकल महिलाको पनि आफ्नो जीवन हुन्छ । जसलाई उसले सम्मान पुर्वक जिउन पाउनु उसको अधिकार हो । तर अरु समुदायको देखासिकी मुस्लिमहरु पनि एकल महिलाहरुलाई समुदायको कलंकको रुप देख्दछन् । उनीमाथि दुव्र्यवहार गरिन्छ जसले गर्दा अधिकांश महिला त हौसला र जीवन नै हारिदिन्छिन् ।
सिकाई
हामीले हाम्रो समुदायमा एकल महिला प्रतिको धारणा फेर्न आवश्यक छ । इस्लामले देखाएको बाटो र दिएको उदाहरण अनुसार एकल महिलाहरुसंग सम्मनित व्यवहार गरिनुपर्छ । उनीहरुलाई पुनः समाजमा सम्मानका स्थापित हुने वातावरण निर्माण गरिनुपर्छ ।
गर्नु पर्ने पहल
अविवाहितहरुसंग त जो कोहीले विवाह गर्न तयार भइहाल्छ तर समुदायमा रहेका युवा पुस्ताले आफ्नो वरपर नजरसानी गरेर कोही त्यस्ती एकल महिला छिन् कि जसलाई सिथ सहयोगको खांचो छ भने खोजेर तिनीहरुसंग विवाह गरी समाज पुनः ससम्मान स्थापित गराउन अघि बढ्नुपर्छ । परिवारले पनि एकल महिलाहरु प्रति रहेको रुढिवादी र परम्परागत सोचलाई हटाउन सोच र हृदयको विशाल द्वार खोल्नुपर्छ । परिवार र समाजले एकल महिलाहरुलाई उनीहरुको इच्छा अनुसार आफ्नो लागि जीवनसाथी खोज्न सहयोग गर्नुपर्छ । जसले गर्दा उनीहरुको र उनको बच्चाको सुन्दर भविष्य सुनिश्चित हुन सकोस् । शरीयते इस्लामका आदेश र कानून बारे सही जानकारी गराईनुपर्छ ।
परिकल्पना
एकल महिलाहरु पनि ससम्मान समाजमा बांच्न सक्नेछन् । यदि कुनै महिलाले आफ्नो र आफ्नो बच्चाहरुको भविष्य उज्जवल बनाउन चाहे उनले बिना बाधा अवयोध पुनः विवाह गर्न सक्नेछिन् । एकल महिलाका बच्चाहरुले बुवा सरह अभिभावक पाउनेछन् जसले गर्दा समाजमा उनीहरुको मान सम्मान र उज्जवल भविष्य र सफल जीवन कायम हुनेछ । शरीयते इस्लामको बारेमा सही जानकारी हुनेछ जसलाई मानिसले व्यवहारमा लागु गरी सभ्य शान्तिपूर्ण उदाहरणीय समाजको निर्माण गर्नेछन् ।