चर्को गर्मीका बेला पटकपटक विद्युत अनियमित हुँदा नेपालगन्जबासीले पछिल्ला केही दिन सास्ती व्यहोर्नु परेको छ । हरेक बर्ष जस्तै यस बर्ष पनि गर्मीमा नेपालगन्जबासीले विद्युत अनियमित हुँदा सास्ती व्यहोर्नु परेको हो ।
विद्युत अनियमित हुँदा यहाँका उद्योगी, व्यवसायीले पनि सहज ढंगले काम गर्न पाएका छैनन् । कोरोना संक्रमणका कारण लकडाउन झेलिरहेका व्यवसायीलाई विद्युत अनियमित अर्को समस्या बनेको छ । गर्मीमा विद्युत अनियमित हुँदा मानिसहरु राम्रोसँग निदाउन समेत नपाउने गरेको गुनासो गर्दछन् । ‘पटक पटक विद्युत जान्छ, उम्सो गर्मी छ, पंखाको हावा समेत खान पाइँदैन’, फुल्टेक्रका सुमित्रा पौडेल भन्छिन् ।
नेपालगन्जमा बुधबार अधिकतम तापक्रम ३६.५ र न्यूनतम २८ डिग्री सेल्सियस रहेको छ । चर्को गर्मी र निषेधाज्ञा खुकुलो हुँदै गर्दा सञ्चालनमा आएको व्यवसायमा प्रतिकुल प्रभाव पर्ने गरी विद्युत अनियमित भएपछि यहाँका स्थानीय बासिन्दा तथा उद्योगी, व्यवसायीहरुले नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्र प्रमुखलाई भेटेर गुनासो गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठको पहलमा विद्युत कार्यालय पुगेका विभिन्न क्षेत्रका व्यक्ति तथा व्यवसायीहरुले प्राधिकरणसँग विद्युत नियमित गर्न माग गरेका थिए । त्यसक्रममा उनले ठूलो उद्योगका लागि औद्योगिक फिडर भएपनि त्यसबाहेक रहेका साना तथा मझौला उद्योग विद्युत अनियमित हुँदा प्रभावित रहेको बताएका थिए ।
खुद्रा व्यवसायी संघ बाँकेका निवर्तमान अध्यक्ष भीम बहादुर रानाभाटले विद्युत अनियमित हुँदा व्यवसायीले थप समस्या झेल्नु परिरहेको बताएका छन् । ‘कोरोना संक्रमणको जोखिमले व्यवसाय ठप्प छ, कुरेर मात्रै बस्ने अवस्थामा पनि बत्ती नहुँदा थप गर्मी झेल्नुपरिरहेको छ’, उनले भने ।
वितरण केन्द्र प्रमुख लखन लला मल्लिकले प्राविधिक समस्याले विद्युत अनियमित भएको बताएका छन् । उनले नेपालगन्जको माग धान्न सक्ने विद्युत प्रसारण रहेपनि विभिन्न ठाउँमा भैरहेको मर्मत सम्भारका कार्य तथा गर्मीमा आइपर्ने प्राविधिक समस्याले गर्दा प्रसारण केही समय अनियमित हुने गरेको बताएका थिए ।
व्यवसायीहरु भने वितरण केन्द्रको जवाफ नियमित रेडिमेड हुने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ‘पहिले भारतबाट विद्युत नआएर विद्युत अनियमित भयो भनिन्थ्यो, अहिले प्राविधिक समस्या देखाइँदैछ’, व्यवसायी भन्छन् ।
नेपालगन्जका लागि राष्ट्रिय प्रसारण लाइनबाट विद्युत प्राप्त हुन थालेपछि भारतीय प्रसारणबाट विद्युत लिन बन्द जस्तै भएको छ । माग धानेसम्म भारतमा विद्युत लिइने गरेको छैन ।