वन्यजन्तु तस्करीको ट्रान्जिट बन्दै बाँके !

चितुवाको छाला सहित २ जना पक्राउ

बाँके वन्यजन्तु तस्करीको ट्रान्जिट बन्दै गएको पछिल्ला पक्राउका घटनाहरुले देखाएको छ । बाँकेमा विभिन्न प्रजातिको अंग सहित मानिसहरु पक्राउ पर्ने गरेका छन् । निषेधाज्ञाको असहज अवस्थामा पनि वन्यजन्तुको तस्करी हुने गरेको प्रहरी तथ्यांकले देखाएको छ ।

बाँके प्रहरीले मंगलबार दुई जनालाई चितुवाको छाला सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले राप्तीसोनारी गाउँपालिका वडा नं. १ कुशुम बजार स्थित वन्यजन्तुको छालाको खरिदबिक्री भइरहेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले जिल्ला दाङ घोराही उप–महानगरपालिका वडा नं. ९ वस्ने सन्तोष कँुवर र दैलखका जितेन्द्र शाहीलाई पक्राउ गरिएको हो । कुँवरले चलाएको स्कुटरमा शाह पछाडि बसेका थिए ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक अधिकारीले उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिमको ५ लाख देखि १० लाखसम्म जरिवाना र ५ वर्ष देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने जानकारी दिएका थिए ।

प्रहरीले अनुसन्धानका क्रममा जितेन्द्र शाहीलाई बाँके कोहलपुर घर बताउने रविन खड्काले चितुवाको छाला भएको र बिक्री गरी पैसा बाँढ्ने बताएको खुलेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । खड्काले मंगलबार जितेन्द्र शाही लाई दाङ घोराहीमा चितुवाको छाला लिन पठाएको प्रहरीले बताएका छन् । जितेन्द्र शाही र सन्तोष कुवर दाङ घोराही गई मिलन राना भन्ने व्यक्ति बाट बरामद छाला लिई आउने क्रममा बाँके जिल्लाको कुसुम बजारमा बरामद छाला सहित पक्राउ परेको प्रहरीले अनुसन्धानबाट खुलेको हो ।

पछिल्लो समय बाँकेमा वन्यजन्तुको अंगहरु सहित मानिस फेला पर्दै गएका छन् । प्रहरीले रेडपाण्डा, हात्ती, गैडा लगायत वन्यजन्तुको अंग सहित मानिस फेला पार्दै आएको छ ।

गत चैत्र ४ गते पनि प्रहरीले बाघको छाला सहित ४ जना पक्राउ गरेको थियो । प्रहरीले बैजनाथ–१ च्यामा स्थित सुर्खेत–कोहलपुर सडकखण्ड अबैध बाघको छाला, हड्डीको कारोबार भइरहेको भन्ने सुचनाको आधारमा खटिएको प्रहरी टोलीले चिसापानी तर्फबाट कोहलपुर तर्फ संगै पैदल आउँदै गरेका गंग बहादुर खत्री, प्रकाश खत्री, चन्द्र अधिकारी र जयलाल नेपालीलाई रोकी तलासी लिँदा जयलाल नेपालीले बोकेको झोलामा पाटेबाघको छाला १ र गंग बहादुर खत्रीले हातमा समातेको अवस्थामा प्लाष्टिकको बोरा भित्र बाघको जस्तो देखिने हड्डी २ के.जि.५०० ग्राम फेला परेको थियो ।

बाँके प्रहरीले त्यसअघि गैडाको खाग सहित २ जना मानिस पक्राउ गरेको छ । कोहलपुर–११ नजिकै वन्यजन्तुको अंग तस्करी भैरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले गैडाको २ थान खाग सहित नवलपरासी पूर्व बुलिङटार गाउँपालिका वडा नं.२ बस्ने कृष्ण पुलामी मगर र सिन्धुली ग्याङलेख गाउँपालिकाका सुरेश सिंजालीलाई पक्राउ गरेको हो । प्रहरीले कृष्णको साथबाट खाग बरामद गरेको हो ।

रेडपाण्डाको तस्करले कहाँ लगेर बेच्छन् भन्ने एकिन छैन । तर, पनि बजारमा रेडपाण्डाको ठूलै मूल्य पाउने भ्रममा तस्करी हुने गरेको प्रहरी अधिकारी बताउँछन् । गत चैत्र ५ गते बाँके प्रहरीले रेड पाण्डाको छाला, भालुको पित्त र कस्तुरीको बिना सहित ३ जना मानिस पक्राउ गरेको जानकारी दिएको छ । बैजनाथ गाउँपालिका वडा नं.१ चिसापानी बजारबाट दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला थान १ (एक), भालुको पित्त थान–२, कस्तुरीको बिना थान–१ फेला पारेको बाँके प्रहरीले जानकारी दिएको छ । दैलेखका चिन बहादुर थामी मगर, कैलाली घोडाघोडी नगरपालिकाका रत्न बहादुर खत्री, जाजरकोटका खले बि.क.लाई पक्राउ गरेको हो ।

प्रहरीले फागुन १२ गते बाँके वैजनाथ गा.पा.वडा नं.२ बाट १० किलोग्रामको हात्तीको दाँत सहित १ जनालाई पक्राउ गर्यो । तिलकपुर वस्ने पुर्ण बहादुर थारुले वन्यजन्तुको कारोबार गर्ने गरेको भन्ने सूचनामा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको बिशेष प्रहरी टोलीले थारुको घर तलासी गर्ने क्रममा २९ ईन्च लम्बाई, तौल गर्दा १० किलोग्राम रहेको हात्तीको दाँत फेला पारेको थियो ।

त्यस्तै, बाँके प्रहरीले गत माघको ९ गते चितुवाको छाला सहित ३ जनालाई पक्राउ गर्यो । राप्तीसोनारी गाउँपालिकाबाट ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलिले सल्यान बाघचौरका जित बहादुर डि.सी, कुमाख गाउँपालिकाका कमल डि.सी. र हिमेन्द्र वलीलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा जित बहादुर डि.सी.को झोलाबाट चितुवाको छाला २ थान फेला परेको थियो ।

प्रहरीले नेपालगन्ज १ बाट गत माघको २८ गते कस्तुरीको बिना र जंगली जनावरको दाँत सहित ५ जना मानिस पक्राउ गर्यो । लौटन थारुको घर कोठामा अवैध बन्य जन्तुको खरिद बिक्रि भई रहेको भन्ने गुप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा लौटन थारु, पार्वति थापा, कमल परियार, रामशरण थारु, र धनराज थापालाई फेला पारी खान तलासी लिने क्रममा पार्वति थापले बोकेको रातो लेडिज ब्याग भित्र खैरो रङ सहितको कस्तुरीको बिना र जंगली जनावरको दाँत फेरापारि बरामद गरेको थियो ।

माघ १४ गते रेड पाण्डाको छाला सहित ३ जना मानिस पक्राउ गर्यो । बाँके कोहलपुर नगरपालिका–१२ चप्परगौरी स्थित दैलेखी होटलमा लोपउन्मुख बन्यजन्तु रेड पाण्डाको छालाको अबैध कारोबार भइरहेकोे विषेश सूचनामा खटिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयको ब्युरोको टोली र ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दैलेखी होटलको कोठामा लुकाई छिपाई राखेको लोपन्मुख बन्यजन्तु रेड पाण्डाको छाला थान २ फेला पारी नियन्त्रणमा लिएको थियो ।

बाँकेमा वन्यजन्तु तस्करी भैरहेको प्रहरीले पक्राउ गरेका विवरणहरुबाट पुष्टि हुन्छ । विभिन्न जिल्लाबाट तस्करहरुले वन्यजन्तुका अंग बाँके हुँदै अन्य जिल्ला लग्न खोज्दा तथा बाँकेमै अर्को व्यक्तिलाई बिक्री गर्न खोज्दा प्रहरीको फन्दामा पर्ने गरेका छन् । यसले पहाडी जिल्लामा वन्यजन्तु मार्ने र त्यसका अंगहरु बाँकेलाई ट्रान्जिट बनाएर तस्करीका लागि लग्ने गरेको पाइन्छ ।

((

प्रतिक्रिया

प्रतिक्रिया